फेसबुककी ऊ

कथा

अशोक सिलवाल
शुभेशा शुक्ल, कभरस्केच

एकान्त रात । फेसबुक मेरो साथी थियो । एक्कासी फ्रेन्ड रिक्वेस्ट आयो ।

को रहिछिन् भनी वालको तलसम्म हेरें । तर, चिनेको कुनै प्रमाण भेट्टाइन । रिक्वेस्ट एसेप्ट गर्ने कि नगर्ने ? केही छिन सोचिरहें ।

एउटा पत्रकारको लागि जनसम्पर्क नै सम्पति हो भन्ने सोच्दै रातको चकमन्न समयमा मैले उनको अनुरोध स्वीकारिसकेको थिएँ ।

केही छिन र फेरि केही छिन हुँदै केही दिनमै हामी निकै खुलिसकेका थियौं ।

हामी फेसबुकबाट स्काइपमा आयौं । र, सदृश्य कुरा गर्न थाल्यौं ।

‘अनि’, लामो सास तानेर उनले सोधिन्, ‘खाना खानुभयो ?’

‘छैन । तपाईंले ?’

उनले झुक्किएर गोदावरीको चिनेकै एकजना सिलवाल दाई भनेर मलाई फ्रेन्ड रिक्वेस्ट पठाएको बताईन् । तर, म त ललितपुरको थिइन् ।

उनी इजरायलको तेलाबी शहरको जुईस (यहुदी)को घरबाट बोल्दै छिन्, ‘सर सबैको एउटै हुँदैन । यहाँ एकदम दुख पाउने पनि छन् । कोहीलाई सजिलै छ । निरोगी मान्छेकहाँ प¥यो भने राम्रै हुन्छ । धेरै रोगीकहाँ प¥यो भने एकदम गाह्रो ।’

‘हामीले काम गर्ने ठाउँमा रोग नभएको त मान्छे नै हुँदैन तर पनि उसलाई कुन खालको रोग लागेको छ ? त्यसमा भर पर्छ’, उनले थपिन् ।

अनिश्चित दैनिकी सुनाइन्, ‘बिरामीलाई हेर्दा कहिले रातभर सुत्न पाईदैन । बिहानभर सुतिन्छ । बिहान पनि सुत्न पाइएन भने दिउँसो ।’

‘अनुहार हेर्दा तगडा भए पनि उनी अल्जाइमरकी रोगी हुन्, आफुले आफुलाई बिर्सने’, त्यस्तो वृद्धाको सुसार गर्दैछिन् उनी ।

नेपाल छाड्नुअघि नै अलिअलि हिब्रु सिकेकी उनी वृद्धासँग बेलाबेला हिब्रु बोल्दै थिइन् । यता मसँग पनि गफिरहेकी थिइन् ।

‘बाउआमाको सम्पति खाएर बस्न मिल्दैन । संगै बस्न आएमा घरभाडा, पानी, बत्ती, बिजुली सबै उनीहरुले पे गर्नुपर्छ,’, उनले त्यहाँको चलन सुनाइन् ।

उनले इजरायलमा काम गरेको ६ बर्ष पूरा भयो ।

कुरा गर्दैगर्दा साँढे ८ भयो । उनले भनिन्, ‘यहाँ ११ बजेर २० मिनेट गएको छ ।’ यहाँ र त्यहाँ २ घन्टा ४५ मिनेटको फरक छ रे ।

तेलावी यस्तो शहर हो, भन्छिन्, ‘डाँडा पनि छैन । काँडा पनि छैन । खोला पनि छैन । पर चाहिं परदेशखाना छ ।’ परदेशखाना भनेको हिब्रुमा खेतीपाती गर्ने ठाउँ हो ।

उनी एयरपोर्ट छेउमा छिन् । इजरायलको एन्टरनेशनल एयरपोर्ट । छिनछिनमा प्लेन आउने जाने भइरहन्छ ।
भन्छिन्, ‘शरीर इजरायलमा, मन नेपालमा ।’

उनी बसेको घर वृद्धाको आफ्नै हो । उनी अहिलेसम्म पनि क्लब जान्छिन् रे । खेलौना र पुतलीहरु पनि बनाउँछिन् रे ।
यता नेपालमा पुतलीजस्तै उनकी छोरी ११ बर्षमा लागिन् । सहज इन्टरनेटले गर्दा दैनिकजसो कुरा हुन्छ ।

त्यही बीचमा अर्को प्लेन उड्यो ।

उनले जिस्किएर भनिन्, ‘आयो आयो । हजुरलाई लिन आयो । आउने हो ?’

प्लेन उड्दा घर थर्किन्थ्यो रे । एयरपोर्टलाई नै प्यालेस्टाइनीहरुले टार्गेट गरेपछि प्लने कम उड्न थाल्यो । त्यसैले पहिलेजस्तो थर्कदैन रे ।

पहिले पहिले प्रत्येक प्लेन उडेपिच्छे त्यही प्लेनमा नेपाल फर्कन पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो रे । पहिलो बर्ष त किन आइछु, जस्तो मात्र लाग्थ्यो उनलाई ।

बिहे गरेको २–४ दिन मात्र भएको थियो । प्लस टुको एक्जाम दिन उनी काठमाडौं आएकी थिइन् ।

‘इजरायलमा केयर गिभरमा खुलेको रहेछ’, मामाले भने, ‘जान्छौ ?’

‘त्यो भनेको के हो ?’

‘बुढाबुढी हेर्ने ।’

‘विदेशका बुढाबुढीभन्दा आफ्नै घरका बुढाबुढी हेर्छु । कहाँ जानु इजरायल’, भिनाजुलाई त्यसो भनेका थिइन्, । तर, पछि बाध्यताले एक दिन उनी इजरायल उडिन् ।

उनी नेपाल छाड्ने बेला आमाले निधारमा ठूलो टीका लगाइदिएकी थिइन् । ट्रान्जीट थियो जोर्डन । जोर्डनमा उनी एक रात बसिन् ।

‘ट्वाइलेट जाँदा पनि सामान ख्याल गर्नु, होशियार रहनु’, नेपाल छाड्नुअघि उनलाई भनिएको थियो ।

तर, त्यहाँ जतिखेर पनि अरबी केटाकेटीहरु उनको अघिपछि लागे । उनी असाध्यै डराइन् ।

निधारमा आमाले लगाइदिएको टीका जस्ताको तस्तै थियो । निधार फुटेर रगत आएको भनेर केयर गर्न पो अरबीहरु अघिपछि लागिरहेका रहेछन् ।

भोलिपल्ट बिहान मुख धोएपछि बल्ल पछि लाग्न छाडे रे ।

सुरुसुरुमा इजरायलमा पनि टीका लगायो कि त्यस्तै हुन्थ्यो रे ।

इजरायलमा सबैभन्दा बढी सुविस्ता भनेको बाटो, पानी, बिजुली र रुल हो रे । भन्छिन्, ‘यहाँ नियममा मान्छे चल्छन्, नेपालमा मान्छेले मनलागी नियम बनाउँछन् ।’

त्यहाँ पुगेपछि सुरुमा उनले बेताभोत (वृद्धाश्रम)मा काम गरिन् । ९२ बर्षकी दाँत एकदमै राम्रो र कपाल पुरै फुलेकी बृद्धाको सेवामा लागिन् । तर, त्यो उनलाई जेलजस्तै फिल भयो । त्यहाँ काम गर्ने नै उनीसहित ५६ जना रहेछन् । उनी एकजना मात्र नेपाली थिइन् । एक जनालाई एकजनाले हेर्ने व्यवस्था थियो त्यहाँ ।

चिनेको मान्छे कोही थिएन । नेपालको चिनो भन्ने केही थिएन । सात दिनपछि बिरालो देखिन् । बिरालो नेपालकै जस्तो लाग्यो ।

अमिलो–पिरो खाने नेपाली । पहिलो पल्ट सखर र चिकेन मिसाएर बनाएको गुलियो खाना खाईन् । नेपाल छँदा उनी शाकाहारी थिइन् ।

त्यहाँ उनले एक महिना बाइस दिन काम गरिन् ।

त्यसपछि उनलाई अन्त लगियो । राजधानी जेरुसेलममा एक बर्ष काम गरिन् । त्यहाँ जुइस परिवार धर्मकर्ममा कडा भए पनि उनी आफ्नो पाराले बाँच्न स्वतन्त्र थिइन् ।

सारा नाम गरेकी एकजना वृद्धा थिइन् । उनी अल्जाइमरले पुरै ड्यामेज भइसकेकी थिइन् । आफ्नै छोराछोरीलाई पनि नचिन्ने ।

त्यहाँ उनलाई आफ्नै घर वा नेपालमै बसेजस्तो हुन्थ्यो । तर, केवल आफ्ना मान्छे थिएनन् । त्यो नेपाल थिएन ।

वृद्ध साराको हालतले उनी आँखा झिम्काउन पनि नपाउने भइन् । लडे फेरि उठ्न नसक्ने । त्यसपछि कहिल्यै नउठ्ने । ह्विलचियरमा बाँधरे राख्नुपर्ने जतिखेर पनि । एक मिनेट पनि खुल्ला राख्न नहुने । कुकुरलाई बाँधेर राखेकोभन्दा पनि बढी ।
उनले त्यो स्थिति हेरिरहन सकिनन् ।

साराको समस्या के भने आफ्नै घरलाई आफ्नो घर नभन्ठान्ने । उनी यति मात्र भन्थिन् रे, ‘म घर जान्छु ।’

मनोरञ्जनका साधन के ? फिल्म हेर्न हल जाने भन्ने उनलाई थाहा छैन । हल छ कि छैन त्यो पनि उनलाई थाहा छैन । नेपाली टीभी च्यानल पनि आउँदैन रे ।

भन्छिन्, ‘तर यहाँ यस्तो ठाउँ छ जहाँ हामी दृष्टिबिहिन बनेर घुम्न सक्छौं । श्रवणबिहिन बनेर घुम्न सक्छौं ।’

केही नेपाली भेटिएर तीज मनाउँछन् रे । प्रत्येक साल दशैं मनाउँछन् रे । तर, हरेक बेला हरेक चीजमा देशकै सम्झना आउँछ । अझ सुरुमा आउँदा एकदम गाह्रो थियो ।

भन्छिन्, ‘सम्पर्क सहज थिएन । त्यति बेला आशुँ नै हाम्रो साथी थियो ।’

उनले सुरुमा नरोएको नेपाली देखिनन् । सम्झन्छिन्, ‘कोही छोराछोरी त कोही आमाबाुबलाई सम्झेर रोइरहन्थे ।’

साथीभाई त भेट्नै नहुने । मनको गााठो आँशुमा बदलिहाल्थ्यो ।

काठमाडौंमा उनकी छोरी पाँच कक्षामा पढ्छिन् । उतैबाट कमाएको पैसाले उनकै शब्दमा झुपडी बनाइछिन् काठमाडैंमा ।

उनी अनुभव सुनाउँदै छिन्, ‘भन्नै नमिल्ने भोगाई त मैले यहाँ भोग्नु परेन । तर, भन्नेहरुले भनेका छन्, जीवनमा धेरै भोगियो ।’

साथीका साथीहरुलाई अनेक घटना भए रे ।

घरको घरभित्रै बसेर रोगी भएर फर्केकाहरु पनि देखिन् उनले ।

उनको निष्कर्ष छ, ‘कुनै पनि देश गइसकेपछि मान्छे मानसिक रोगी हुन्छ । किनकी ऊ घरभन्दा टाढा आएको हुन्छ । नेपाल फर्कंदा ऊ पहिलेको मान्छे रहँदैन । यहाँ मात्र होइन, मलेसिया, दुवई जहाँ गएर फर्कनेको कुरा पनि उही हो । हो, विदेश आएपछि धेरै कुरा सिकिन्छ । तर, धेरै गुमाइन्छ पनि ।’

एउटा घटना सुनाइन् उनले ।

‘काम छोड्दा यहाँ केही रकम पाइन्छ । तर, आफ्नो मर्जीले छाड्दाचाहिं नपाउने नयाँ नियम बनाइयो । त्यसपछि यस्तो क्रम सुरु भयो, जे मन लाग्छ, त्यही बोल्दिने, पिट्यो भन्ने । चो-यो भन्ने । र, कतिपय अवस्थामा त्यस्तो पनि हुन्छ । तर, एकजनाको हकमा त्यस्तो भएको थिएन । एक दिन नुहाउँदा मान्छे लड्यो । तर, उनै नेपालीलाई लडाएको आरोप लगाइयो । साँडे पाँच बर्षपछि उसले केही पनि नपाइ फर्कनु प्रयो । केही हजार नेपालीमध्ये दुई दर्जन जति नेपालीलाई त्यस्तो भएको छ ।’

उनले सुनाइन्, ‘विदेश भुमिमा कमाउन आएका कति मान्छे उल्टो ऋणमा परेर पनि फर्किएका छन् ।’

उनी आउँदा यहाँ एउटा एनआरएन मात्र थियो । अहिले त संघसंस्था च्याउसरी उम्रेका छन् । संघसंस्थाको नाम गनेरै भ्याइदैंन अहिले । तर, उनी कुनैमा आवद्ध छैनन् । जान पनि भ्याउँदिनन् रे ।

‘तपाईंको दाँत राम्रो छ । हाँस्दा झनै राम्रो देखियो’, स्काइपमा हेर्दै मैले प्रशंसा गरें ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button