धर्तीमा कहिल्यै ननिभ्ने एउटा जून
सन्दर्भः अम्बर गुरुङको ८३औँ जन्म जयन्ती
टेकबहादुर जिरेल
“नौलाख तारा उदाए धर्तीको आकाश हाँसेछ
शरद लाग्यो वनमा फूलले पिरती गाँसेछ ।”
स्व. अगमसिंह गिरी
सुमधुर, कर्णप्रिय र वेदनामय हुँदा हुँदै पनि जातिय आत्म सम्मानको भावपूर्ण सन्देश सुनाउने उपर्युक्त मार्मिक गीत सुन्दा आज पनि म मेरा दाई स्व. होम बहादुर जिरेललाई सम्झिन्छु । उवेला पहाडमा यस्तो युग थियो, पहाडसित आधुनिक संसारलाई नियालेर हेर्ने कुनै आँखीझयाल थिएन । पहाड आधुनिक दुनियाँले नदेखेको छुट्टै एउटा अदेख र अभेग भूमि थियो शायद । पहाड गाईबस्तु पाल्थ्यो र परम्परागत खेतीपातीमै जीवन गुजाथ्र्यो । वन जंगल चर्हानु, दाउरा घाँस गर्नु विहान उठेदेखि वेलुका सुत्ने वेलासम्म गाईबस्तु र गोठको सम्भार गर्ने दैनिक रुटिन जिन्दगीको अर्को नाम थियो । म सानै थिएँ । गाउँ घरका ठूला गोठाले दाइदिदीहरु घरबाट लुकीछिपी भाग्थे र मुग्लान पस्थे । धेरै बर्षपछि कोही फर्कन्थे ÷ कोही उतै भासिन्थे । त्यस पछिका अरु साना उमेरकाहरुलाई पनि लाग्थ्ये — जिन्दगी यसरी चल्दैन कतै जानु पर्छ ÷ कतै जानैपर्छ । उनीहरुका अस्थिर मनस्थिति यस्तै सोचले घर जमाएर आँधीमय हुन्थ्यो । त्यही मनका आँधीले उनीहरु हुत्तिन्थे पहिले कहिल्यै थाहा नपाएको एक्लो विरानो मुलुक तिर । गोठाला गोठाल्नीका पनि त जिन्दगी हुँदो हो, उनीहरु पनि त यौवनको नशामा चुर्लुम्म डुब्दा हुन् । त्यसैले एकलासे वनजंगलहरुमा यस्ता गीतहरु घन्कन्थ्ये: ‘जाऊँ त भने कहाँ हो कहाँ कलकता नजाउँ भने माया भो बेपत्ता पानी तालैमा, मलाई पनि बोलाऊ है जाने बेलैमा ।’ यसरी गीतबाटै सम्वाद चल्थ्यो । पहाडबाट भागेर मुग्लान जानेहरु रात साँझ या भालेको डाकको साइत पारेर घरका मान्छेलाई थाहा पत्तै नदिई सुँइकुच्चा ठोक्थे । यसरी गाउँ छाडी डाँडा काट्नेहरु जिविकाका लागि जम्मा हुने सपनाको मुलुक हुन्थ्यो त्यस बेलाको मुग्लान अर्थात् दार्जिलिङ्ग, सिक्कम, भुटान, असम, खरसाङ, कालिमपोङ आदि भारतखण्डका विरानो भूभागहरु । यसरी नयाँ जीवनको सपना देख्दै विदेशिएका र प्रेमी प्रेमीकाको खोजीमा मुग्लान भास्सिने कतिपय अनाम पहाडी ‘नायक’ ‘नायिकाहरु’ उतै गुमनाम रहन्थे र सदाका लागि हराउँथे । तिनताका गाउँघरमा रेडियो भन्ने कुन चिडियाको नाउँ हो अत्तोपत्तो थिएन् । यस्तैमा स्व. अगमसिंह गिरीको शब्द रचनामा अम्बर दाईको श्वरलहरी मुग्लानको पीडा र सुस्केरा बनेर दार्जिलिङ्गको पहाडबाट गुञ्जँदै देशहरुका सीमा नाघ्दै नेपालीका मनमुटुमा स्पन्दित र झंकृत हुँदै थियो । त्यही गीतलाई मेरा दाईले पनि मुग्लानबाट घर फर्कदा आफ्नो हृदयको झोली भित्रको अन्तर कुन्तरमा हालेर ल्याएका रहेछन् । उनले दाउरा घाँस गर्दा रनवन गुञ्जाए अनि जिरी÷ सिक्री खोलाको सुशेलीमा त्यही गीत मिसाइदिए । यसरी नेपाली गीत संगीतका अमर विभूति स्व. अम्बर गुरुङ्गको नाम मैले यही गीतबाट सुनेजानेको हुँ । शायद अम्बरलाई अम्वर बनाउने अगमका यही गीतलाई सम्झेर होला भूपिले भनेका छन् “शब्द हुन्छ जब अगमको, अनि संगीत अम्बरको तब हुन्छ गीत त्यो एक नम्बरको ।”
अम्बर दाई त्यसबेलादेखि नै मेरा मनमुटूका अत्यन्त प्रिय र आदरणीय गायक संगीतकार हुनुहुन्थ्यो । धेरै पहिले राष्ट्रिय सभा गृहमा आयोजित एउटा कार्यक्रममा कवि मञ्जुलसँगै गाडीमा हुँइकिरहनु भएका बखत हतार हतार अभिवादन गर्न सम्म भ्याएको थिएँ अम्बर गुरुङलाई । तर उहाँसित भेटेर कुरा गर्ने धोको भने सधै रहेको थियो । यस्तैमा व्याकुल माइला रचित गीतले राष्ट्रगानको मान्यता प्राप्त ग-र्यो र अम्बर दाईको संगीतद्वारा त्यो सुनमा सुगन्धित मात्र भएन अजर अमर समेत बन्यो भन्दा कुनै अतिशयोक्ति नहोला । मलाई टेलिफोन मार्फत् मात्र भए पनि अम्वर दाईसित बोल्न मन लाग्यो । मेरो छोरा दिपक जिरेलले उहाँको सम्पर्क नम्वर खोजेर मलाई उपलब्ध गराइसकेको थियो । फेरि ‘चिन्नु न जान्नु घँचेडी माग्नु’ जस्तो त नहोलोे मनमा यस्तै आशंका लागिरह्यो । त्यसकारण अभिसरसित सल्लाह मागें । अभि अर्थात् डा. अभि सुवेदी । उहाँहरु दुवैजना आ—आफ्ना क्षेत्रमा यस मुलुकका निष्काम कर्मयोगी र आपसमा एक अर्कालाई बुझेर सम्मान गर्ने कल्चर्ड मनिषीहरु हुन भन्ने लाग्छ । अभि सरले पनि अम्वर दाईसित जो कोही अपरिचितले फोनमा भेट पाउन गाह्रो छ, तैपनि प्रयास चाहिं गर्नोस् न,” भन्नु भयो । तब जे पर्ला भन्दै फोन नम्बर डायल गरें । उताबाट के को अहिले कुरा गर्ने फूर्सद छैनको प्रतिक्रिया प्राप्त हुन साथ रिसिभर राख्न नपाउँदै मैले ‘पहाड सुक्यो जस्तो लाग्छ, बस्ती डुब्यो जस्तो लाग्छ सम्झिनेले बिस्र्यो बिस्र्यो एकदम बिस्र्यो जस्तो लाग्छ,’ भन्ने पंक्तिहरु निकै उच्च श्वरमा खरर भने पछि उहाँ रोकिनु भयो र १५ मिनट भन्दा बढ्ता समय दिनु भयो । राष्ट्रगानलाई आफनो अमूल्य संगीत दिएर गौरवशाली र कालजयी तुल्याउनु भएकोमा एक नागरिकको तर्फबाट आभार प्रकट गर्दा उहाँ ज्यादै खुशी हुनु भई धन्यवाद दिनु भयो । कुराकै सिलसिलामा प्रस्तुत राष्ट्रगान वीरस्सपूर्ण र जोसिलो नभएको भन्ने भनाइ छ नि, दाई, मैले भनें । प्रत्युत्तरमा उहाँले, ‘त्यसो त नाङ्गो खुकुरी नचाउँदैमा केही हुने होइन । देशलाई त मनमुटूमा सजाएर सुमसुम्याउनु पो पर्छ, दीलै देखि माया गर्नुपर्छ,’ भनिरहनु हुँदा कता कता ‘टिठाइ नदेऊ हामीलाई निर्बल बन्न सिकाई, फर्कन परे फर्कौंला फेरि त नालापानीमा छोडेर ज्यूँदो निशानी,’ देखि ‘सुगौली सन्धि हामीले बिर्सेका छौनौं भनिदेऊ,’ सम्मका शब्द रचना र श्वरलहरी मेरा अन्तर हृदयमा प्रतिध्वनित भैइरहे झैं लाग्थ्यो । उहाँसितको यो सम्वाद मेरा लागि जीवनभर विर्सि नसक्नुको प्राप्ति भएको छ ÷ भैरहने छ । दोस्रो पटक कान्तिपुरे सहृदयी पत्रकार मित्र देवेन्द्र भट्टराईसित जिरीको चिज फयाक्ट्री रहेको च्चोर्दोङ्को लेकमा थियौं । कुरैकुरामा मैले अम्वर दाईको प्रसंङ्ग उठाएँ । मलाई त के खोज्छस् कानो ? आँखा पो भएछ । देवेन्द्रको अम्वर दाईसितको निकटता एउटै परिवारको जस्तो रहेछ । देवेन्द्रले आफ्ना मोबाइल मार्फत जिरीको अनकन्टर लेकमा समेत उहाँप्रति मरिहत्ते गर्ने फ्यान फेला परेको कुरा बत्ताएर अम्वर दाईलाई मसित कुरा गर्ने प्रसङ्ग जोडिदिनु भयो । निकै वेरको फोनवार्ता पछि काठमाण्डौं आउँदा घरमा आउनू भनी निम्तो समेत दिनु भयो जुन मेरा लागि जीवनको एउटा सुखद आश्चर्य थियो । पछि देवेन्द्रसित उहाँको निवास गएँ । घरमा दाई एक्लै हुनु हुन्थ्यो । सामान्य कुराकानी भयो । दाइसित बसेर फोटो खिच्ने ईच्छा थियो । त्यो पनि पूरा भयो । फेरी भेट्ने वाचासहित विदा भइयो ।
दोस्रो पटकको भेट पनि देवेन्द्रजीले जुराउनु भयो । तिथी मिति हेक्का रहेन । उहाँ कहाँ पुग्दा दाजु भाउजू दुवै स्वस्थ्य र हँसिला भाव मुद्रामा हुनुहुन्थ्यो । दाइले मलाई आफूसँगै सोफामा राख्नु भयो । दाजु भाउजु दायाँ बायाँ अनि बीचमा म । निकै दङ्ग परेको थिएँ । यस्तैमा देवेन्द्रले क्यामेरा चलाए । म झन हर्षित र महिमामण्डित भएँ । दाई भन्दै हुनु हुन्थ्यो, ‘चिया, कफी के चल्छ ?’ मैले जवाफ फर्काएँ, ‘चिया, कफी जे भन्नु हुन्छ त्यही चल्छ ।’ कुरा भुँइमा खस्नै पाएको थिएन, देवेन्द्रले हातका पाँचै औंलालाई रक्सीको प्याला जस्तो बनाएर माथि उठाउँदै ‘जिरेल सर, कि यस्तो चल्छ ?’ भन्दा मैले, ‘त्यो पनि चल्छ,’ भनें । भाउजु मुसुक्क हाँस्नु भयो र तुरुन्तै ब्यालेन्टीना भन्ने एक बोत्तल स्कच लिएर आउनु भयो । वास्तवमा अम्वर दाईसितका भेटलाई म अविस्मरणीय बनाउन चाहिरहेको थिएँ । त्यसमा पनि स्कचले थप रौनकता दिने नै भयो । कुराकानीकै सिलसिलामा अम्वर दाइलाई जिरी आउने निम्तो दिएँ । ‘ल हुन्छ, अब दोहो-याएर सम्झाउनु पर्दैन ई देवेन्द्र छदैछन्”, भन्नु भयो । यद्यपि कहिले भन्ने निधो चाहि भएन । नियतिले त्यस्तो साइत बाँचुञ्जेल जुराएन पनि ।
नेपालका ८७ बर्षीय जेष्ठ नागरिक डा. केदार कर्माचार्यले एक दिन अम्वर दाईको प्रसङ्ग उठाउनु भयो । उहाँ र उहाँका छोरा दुवै जना बेला बखत नौलाख तारा गुनगुनाउने अम्वर दाईका प्रशंसक रहेछन् । उहाँले अम्वर दाइलाई घरमा निम्त्याउने कुरा गर्नु भयो । मैले उहाँलाई अम्वर दाईको सम्र्पक नम्बर दिएं । पछि एक दिन अम्वर दाई, डा. कर्माचार्य, प्रसिद्ध उपन्यासकार डाइमण्ड शम्शेर (साथमा पत्रकार देवेन्द्र भट्टराई) जम्मा भएर रमाइलो गरिरहेको कुुरा फोनबाट सुनाउनु भयो र भन्नु भयो, “वी आर सरी वी मिस्ड यू दीस मोमेन्ट ।” भोलीपल्ट कान्तिपुरको फ्रन्टपेजमा सयपत्री फूल ढकमक्क फुलेको बगैंचामा तीनैजनाको हँसिला अनुहारका तस्वीर सहित ‘हामी बुढाहरु सञ्चै छौं, भन्ने वाक्य छापेको थियो । भित्रपट्टि उहाँहरुको तस्वीरसहित ‘तीन बाघ एकै ठाउँ,’ शीर्षकमा देवेन्द्र भट्टराईको लेख पढ्न पाउँदा मनमा अर्कै रोमाञ्च पैदा भएको थियो ।
अम्वर गुरुङ सैन्य पृष्ठभूमिकै परिवारमा जन्मेका थिए । शारीरिकरुपमा खातापिता चल्तापुर्जा र सुगठित देखिनु हुने उहाँ आकर्षक हुनुहुन्थ्यो । तर उनी मुखमा चाँदीका चम्चा लिएर जन्मेका थिएनन् । सानैदेखि संगीतका सौखिन अम्वर लक्ष्मीको अराधनातिर नलागी सरस्वती माताका सेवा र अर्चनामा आफूलाई समर्पित गरिरहे । यसकारण उहाँलाई लक्ष्मीको साथ नमिलेको र अरुहरुले जस्तो धन दौलत कमाएर विलासितापूर्ण जीवन बिताउने फूर्सद समेत उहाँलाई भएन नत उहाँमा त्यस्तो शौख नै थियो । लामो समय आफ्नो व्यक्तिगत आवास नभै भाडाको कोठामा जीवन गुजार्दै राष्ट्र सेवामा समर्पित अम्वरका के कस्ता समस्या थिए ? उनको व्यक्तिगत स्वास्थ्य कस्तो थियो ? त्यसबेला राज्यको आफ्नै सांस्कृतिक धरोहरका बारे चिन्ता गर्ने के कुनै जिम्मेवारी थिएन ? प्रश्न गर्न सकिन्छ । अरबौं सम्पतिका लागि विश्व विख्यात बिलगेट सुनका थालीमा सुनकै चम्चाले चौरासी व्यञ्जन ज्यूनार गर्दै सुनकै कमोटमा दिसा पिसाब गर्दा हुन् । अनि फूलै फूलको सुगन्धित र कोमल ओछयानमा सुतेर स्वर्गका अपार सपना देख्दा हुन् । तर खासमा उनी त्यस सम्पतिका मालिक वा चाकर के हुन् ? यसमा आ—आफ्ना तर्क अनुसार मान्छेका आफनै उत्तर होलान् । आधुनिक धनकुवेरहरुका तुलनामा भौतिक सम्पति रत्तिभर नकमाएका अम्वर तर जीवनभर आफ्ना मालिक आफै रहे अनि रहे आफ्नो सांगितिक दुनियाँका एकल युग नायक । अन्त्यमा सांस्कृतिक विरासतका रुपमा जे छाडेर गए त्यसको मूल्य कहिल्यै र किमार्थ चुक्ता गर्न नसक्ने गरी राष्ट्रलाई ऋणी बनाएर गए । यसरी बिचार गर्दा दुनियाँका अरबपति अमीरहरु पनि सरस्वतीका पुत्र अम्वर गुरुङका तुलनामा धेरै पुड्का र दरिद्र सावित हुन सक्छन् । सम्पति, सत्ता र शक्तिका उन्मादले मातेका बेला अम्वर र अम्वरको प्रतिभामा दम नदेख्ने अभिजातहरुले कम्तीमा एक बार अम्बर तिर फर्केर हेरुन् । भौतिक संसारबाट बिदा भएर गएका अम्वर आज समयका पर्दामा कस्ता देखिन्छन् ! आफ्ना निष्ठामा विश्वास गर्ने र इमानको रोटी खाएर वेदाग छवि बनाएका स्व. अम्वर गुरुङ आजको भौतिक संसारले मानिसको नियतिप्रति गर्ने खेलवाड, दम्भ र उपेक्षाको साम्राज्यमा नहारेका एक होनहार योद्धा हुन् । उनी आफ्नै सरल र शान्तिप्रिय जीवनको घामछायाँमा रमाए कसैको ईष्र्या गरेनन् र कतै हात थापेनन् । लाग्छ, उनी जिन्दगीमा यसरी नै सधैं जितिरहे । जीवनको अन्तिम महायात्रामा उनलाई राष्ट्र र समाजले एकसाथ जुन सलामी र सम्मान अर्पण गरे उनी त्यसका लागि योग्य र सही हकदार थिए ।
आफ्ना पीडा र आँशु लुकाएर अरुका खुशीमा हाँस्न सक्ने नेपालीका दुर्लभ र अदम्य सांस्कृतिक क्षमतालाई आफ्नो कालजयी संगीतद्वारा दुनियाँमा चरितार्थ गराउने अम्वर वास्तवमा स्वाभिमानी र शान्तिप्रेमी नेपालीका असली परिचायक हुन् । सहिष्णुता, शान्तिप्रियता र अरुका सुखमा पनि हाँसेर साथ दिन सक्ने मानवीय सम्वेदनाद्वारा प्रेममय दुनियाँको सृजना गर्नेतर्फ उहाँको गीतको श्वर र सन्देश परिलक्ष्यित थियो । कुनै बेला भियतनामी आकाशमा अमेरिकी बमबर्षक विमानहरु चीलसरी उड्दै त्यो सुन्दर मुलुकमाथि भीषण बमबर्षा गर्थे र तल टंकीनको खाडीमा पानीको सट्टा मान्छेको रगत बग्थ्यो । त्यसबेला अमेरिकी स्वेतचर्मी गायक बब डिलनले शान्ति र मानवताको पक्षमा आफ्नो सांगितिक श्वर उराल्दै युद्ध पिपासु नीतिका विरुद्ध खबरदारी गरे । यस अघि नै निकै पहिले नौलाख तारा मार्फत यसका गायक अम्वर गुरुङले पनि भिन्नै प्रसङ्गमा किन नहोस् शान्ति र सहिष्णुताका पक्षमा मानवीय जीवन संघर्षको कठोर यथार्थलाई उजागार गरे । त्यसो त अम्वर संगीत क्षेत्रमा मात्र नभै साहित्य सृजनाका पनि अव्वल दर्जाका हस्ताक्षर हुन् भन्ने दरो प्रमाण उनका ‘कहाँ गए ती मेरा दिनहरु’ ले प्रस्तुत गर्दछ । यहाँनेर स्मरणीय के छ भने साहित्यमा आफना कुनै कृति नभएका बब डिलनले गायककै रुपमा विश्व प्रसिद्ध नोबेल पुरस्कार प्राप्त गरेका हुन । पछिल्ला समयमा राज्यले अम्वरप्रति विशेष चासो देखायो र इतिहासमै नेपाल नाट्य तथा सांस्कृतिक प्रज्ञा प्रतिष्ठानका पहिलो कुलपति वन्ने उनलाई सौभाग्य पनि प्राप्त भयो । त्यस पछिका दिनहरुमा राज्यद्वारा उनलाई दिएको सम्मान र सहयोगको प्रशंसा गर्नै पर्छ । तथापि उनका बहुआयामिक व्यक्तित्व र भूमिकाको अझै व्यापक र वैज्ञानिक मूल्यांकन गरी राष्ट्रिय संस्कृतिको हितमा संस्थागत गरिनु पर्छ भन्नु कुनै गलत ठम्याइ हुने छैन ।
अम्वर दाइ आफैंमा एउटा संस्था, एउटा इतिहास र एउटा सिङ्गो युग हुनुहुन्थ्यो । व्यक्तिका रुपमा अत्यन्त स्वाभिमानी र सृजनशील अनि सरल हृदयका असाधारण मानिस । उनलाई कुनै दिन स्व. अगमसिंह गिरीले भनेका थिए रे, ‘यो जिन्दगीले कहिले कहि त मारिहाल्छ कि जस्तो गर्छ, तर मान्छे मरिचाहिं हाल्दैन है भाई ।’ उनलाई थाहा थियो जिन्दगी के हो र यो कति सारै निर्मम हुन्छ । लामो जीवनमा उनले कहिल्यै न अरुबाट कुनै कुराको अपेक्षा गरे नत शक्ति र सत्ताको सामु कुनै पद वा अवसरका लागि आत्मसर्मपण नै गरे । अहँ, भरपुर आत्मसम्मानको जीवन ज्यूँने उदाहरणीय अम्वर कुनै दम्भ, द्वेष र सिकायत विना आफना महान् सांगितिक यात्रामा सप्तकोशी जस्तै जिन्दगीको वाटो अविरल गतिमा बगिरहे । नेपाली संगीतमा उनले निर्माण गरेको अतुलनीय इतिहास र योगदानको राज्यले ढिलाइ गरेर भए पनि अम्वरको जीवनको गोधूलि समयमा जुन सम्मान ग¥र्यो त्यो यस अघि भने झै अत्यन्त सराहनीय छ । नत्र भने लेखक, साहित्यकार, संगीतकार जसले आफना सृजना र साधनाद्वारा राष्ट्रलाई सधैं उन्नत र सम्पोषित तुल्याउन प्रभावकारी दायित्व निर्वाह गरेका हुन्छन् उनीहरुको उचित सम्मान गर्न हाम्रो समाज र राज्य पछि परेका उदाहरणहरु छन् । राजा महेन्द्रले अम्वरको व्यक्तित्वको पहिचान गरी दार्जिलिङ्गबाट टपक्क टिपेर नेपाल भित्रयाएका उनका प्रतिभालाई पनि राज्यले लामो समयसम्म उपेक्षा गरेकै हो र सही अवसर र जिम्मेवारीबाट अलग राखेकै हो । स्मरणीय छ, यस वीच देशका सांस्कृतिक क्षेत्रका धेरै प्रतिभाहरु देश छोडेर सपनाको संसार खोज्दै अन्यत्र लागेका बग्रेल्ती उदाहरणहरु छन् । तर सुगौली र टिस्टा कांगडाको गीत सुनाउँदै पूर्वजको भूमि नेपाल प्रवेश गरेका अम्वरले नेपाल छाडी अन्यत्र जाने कुराको कल्पनासम्म गरेनन् । ती देशभक्तिका अर्का सगरमाथा बनेर अविचल रहे । आज देश छाड्दै वेलायत र अमेरिका पुगेका , सपनाको दुनियाँ खोज्ने क्रममा विस्तारै अनविकमीङ सिटिजनमा रुपान्तरण भैरहेका अभागी पुस्ताका लागि अम्वरले जीवनभर देखाएको हिमाल देशभक्ति प्रेरणाको ठूलै श्रोत हुन सक्छ । जुन मामुली कुरा होइन ।
देश वाहिरको यात्रा पछि स्वदेश फर्कदा अम्वर दाई सधै प्रफुल्ल मुद्रामा देखिनु हुन्थ्यो । हाँसीखुशी भेटिनु हुन्थ्यो । तर देखे पनि नदेखे जस्तो, चिने पनि नचिने जस्तो गर्ने हाम्रो उपेक्षापूर्ण आनी वानी र संस्कार दुर्भाग्य वश विडम्वनापूर्ण छ । अम्वरदाइ भारतको मेदान्त अस्पतालबाट उपचार पछि नेपाल पर्कदै हुनु हुन्थ्यो । त्रिभुवन विमानस्थलमा राष्ट्रगान बजाएर उहाँलाई स्वागत गर्ने कार्यक्रम थियो । विमानस्थलका कर्मचारीहरु भने उक्त कार्यक्रमहरु प्रति चासो देखाइरहेका थिएनन् । उल्टै उनीहरुले किन, को अम्वर गुरुङ ? भन्दै प्रश्न गरे । स्वागत कार्यक्रमका संयोजक साहित्यकार प्रकाश सायमीले ‘थाहा छैन तिमीहरुलाई?’ को टोनमा तातो जवाफ फरक्क फर्काए ः “जुन गीत बज्दा सिङगो नेपाल जुरुक्क उठ्छ, सम्मान र श्रद्धा प्रकट गर्छ त्यही गीतका संगीतकार तथा राष्ट्रगायक श्रद्धेय अम्वर गुरुङ ।” अम्वर गुरुङलाई नचिन्नेहरु कसरी नेपाली हुन सक्लान ? आफैं सित प्रश्न गरेको थिएं ।
स्वास्थ्य उपचार गरी स्वदेश फर्के पछि पनि अम्वर दाइको स्वास्थ्यमा खासै सुधार हुन नसकेको कुराले हामी चिन्तित थियौं । बीचमा कवि चन्द्र घिमिरे लगायतका हामीहरु उहाँलाई भेट्न जाने भयौं । तर स्वास्थ्यको कारण त्यसबेला उहाँलाई भेट्न नसकिने खबर पाएकोले भेट्न गएनौं । यस बीच पत्रकार देवेन्द्र भट्टराई, साहित्यकार प्रकाश शायमी र राष्ट्रगानका रचनाकार श्रद्धेय व्याकुल माइलासित अम्वर दाइको स्वास्थ्य बारे कुराकानी गर्दै सम्पर्कमा रहें । हुने हार दैव नटार । अन्तत्वगत्वा उहाँको दुखद निधनको खबर विद्युतीय समाचार माध्यम र पत्रपत्रिकाहरुबाट लगातार प्रसारण हुन थाल्यो । टिभी च्यानल अगाडि उभिएर शोक मनाउनुको विकल्प थिएन । प्रकाश सायमी सँग मोवाइल मार्फत् सम्पर्क गरें । तर उनी आफै भक्कानिएर रुँदै थिए । असहज महसुुस भया,े रोकें । अम्वर दाइको मृत्यु राष्ट्रिय शोक र पीडाको इतिहासमा एउटा अनिर्वचनीय घटना र क्षण थियो । देशभित्र र वाहिर समेत नेपालीहरुका लागि त्यो अत्यन्त गहिरो पीडाको क्षण थियो । राष्ट्र र समाजले उनको मृत्युमा जुन शोक श्रद्धा र सम्मान देखाए त्यो ऐतिहासिक थियो । टिभीमा उनको शवयात्रा हेर्दा यस्तो लाग्थ्यो त्यो कुनै देशनायकको मृत्युशोक र शवयात्रा भन्दा कम थिएन । मानव संसार र आँशुको सागर उर्लेको त्यो दृश्य हेर्दा हेर्दै कुन बेला आफैमा फुटेर भिजेछु, चालै पाइनँ । नेपाली सेनाले गाजाबाजा सहित मार्च पास गर्दै वीचमा सैनिक गाडीमा राखेको शवलाई विस्तारै अघि बढाइ रहेको थियो । देशलाई माया गर्ने र नेपाली संगीतलाई आफनो प्राण ठान्ने एक शालीन संस्कृतिका असाधारण योद्धा यस संसारबाट विदा लिइरहेको क्षण नियतिवश देश छोडेर मुग्लान लाग्दाका बखत श्वर किन्नरी मेलवा देवीले फर्की फर्की गाएको गीत सम्झिंदै थिएँ ।
“………………. झन पर जान्छु झन माया लाग्छ वरिलै सवारी मेरो रेलैमा ।”
हुन त ओस्सो रजनीश एक ठाउँमा भन्छन् , ‘मृत्यु जीवनको अन्त्य होइन त्यो त जीवनकै अर्को नविकृत रुप हो ।’ नौलाख तारा सँगै बृहतर सांस्कृतिक सीमा ढाकेर उदाएका अम्वर जीवनान्तर पनि बाँची रहनेछन् , यो धर्तीको कहिल्यै ननिभ्ने अर्को जुन भएर चम्कीरहने छन् । लाखौ लाख नेपालीका हृदय हृदयमा उनका अजम्मरी संगीत र श्वरलहरीहरु झंकृत भै नै रहने छन् । हो, ती सबैमा अम्वर हामीसित बोल्नेछन्, बोलिरहने छन् ।
…
(लेख उपलब्ध गराइदिन संयोजन गर्ने नेपालनाम्चा मित्र शशी लुमुम्बु र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद । सं)