मनप्रसादको ‘स्मृतिमा तरङ्गिरहेको अम्बरधुन’

सन्दर्भः अम्बर गुरुङको ८३औँ जन्म जयन्ती

मनप्रसाद सुब्बा

अम्बर गुरुङ अब सशरीर छैनन् सुनेको बिहानदेखि यो ग¥हुङ्गो यथार्थ मेरो चेतनामा बसिराखेको छ । ‘जिन्दगी जिन्दावाद जिन्दावाद र जिन्दगी जिन्दावाद जिन्दावाद’ भन्ने त्यो असाधारण सङ्गीतस्रष्टाको देह मुर्दा भइराखेको मेरो आँखाअघि तेर्सियो । अनि माथि आकाशतिर हेर्छु, अनि सुन्छु हजारौँ प्रतिध्वनिहरूमा उही जिन्दगी जिन्दावाद ! उनी त कहिलेदेखि सारा नेपाली संसारमाथि फैलिराखेको नीलो अम्बर भइसकेका हुन् र त्यहींबाट हेर्छन् आज तल धरतीको सतहमा आफूले फ्याँकिराखेको क्षीण काया जससित अब जिन्दगी छैन । उनको जिन्दावादले गहिरो नीलो अम्बर उचालेको जिन्दगी त हाम्रो छानो टाँगिएको अम्बरसित छ जो अम्बरीय वैशिष्ट्ययुक्त सङ्गीतरचना र काव्यिक उच्चतामा पुगेका गीतका हातहरू फैल्याएर हामीलाई माथि माथि उचाल्न आइरहन्छ ।

अम्बर गुरुङ बितेको खबर किन ममा यति बढी हाबी भइराखेको हँ ? वास्तवमा अम्बर दाइसित मेरो भेटघाट कति नै पो भएको हो र ! बस् तीनपल्ट, बढीमा चारपल्ट ।

अम्बर गुरुङलाई पहिलोपल्ट मैले देख्न–सुन्न पाउँदा म भर्खर प्राथमिक पाठशाला छिचोल्न खोज्दै थिएँ । बिजनबारी बजारको माझमा स्थित यौटा लामो खुला हाट्घर । त्यसैको एक छेउमा मञ्च सजाई कार्यक्रम भएको थियो । पश्चिम बङ्गाल सूचना–संस्कृति विभाग अधीनस्थ लोक मनोरञ्जन शाखाको टोली थिएछ त्यो । उस बेलाका अम्बर गुरुङ, शान्ती ठटाल, मनबहादुर गुरुङ, इन्द्र थपलियाका युवा अनुहारहरू मेरो स्मृतिमा छ्याप्प बसेका छन् । ढुङ्गाको सोलिङ मात्र छापेको त्यस समयको बिजनबारीको चौडादार नाङ्गो सडकमा बिहानपख अम्बर गुरुङ र शान्ती ठटाल हिँडेका पुरानो श्याम–श्वेत चलचित्र जस्तो मेरो आँखामा फिलिक्क गर्छ कहिलेकाहीं ।

अनि हाम्रो बाल्य ओठमा झुन्डिएका थिए उनका सङ्गीत–गीतहरू ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न’, ‘घामजून पञ्च राखी वाचा मार…’, ‘बाँध बाँध ओठमा बाँध मुस्कानलाई, धेरै नबाँध मायाले’, ‘नौलाख तारा’ इत्यादि । पछि आफूले किशोरकाल पार गरेपछि कतिपय सामान्य कार्यक्रमको मञ्चमै उभेर या त कहिले भने कुनै अनौपचारिक बैठकतिर उनका केही गम्भीर गीतहरू गाउने–गुन्गुनाउने गरिन्थ्यो र (गरिन्छ अहिले पनि कहिलेकाहीं)– ‘सुन हे सुन नेपाली हामीलाई डाक्छ हिमाली’, ‘ऊ पनि त कोही पराया त होइन’, ‘म दूर भएर के भो’, ‘बतासले झारेका फूलहरू सँगाली’, ‘बिर्सन देऊ फूलहरूलाई’, ‘खोला कति ओभानो’, ‘टाढा पुगिसकेछ छायाँ’ इत्यादि।
विगत ख्रीष्ताब्द पचासको दशकको अन्त्यदेखि अर्थात् साठीको प्रारम्भदेखि अम्बर गुरुङको साङ्गीतिक रचनाले नेपाली आधुनिक सङ्गीतमा दीर्घकालसम्म रहिरहने एक विशेष प्रभाव–तरङ्ग ल्याउन थालेको हो । र यो साङ्गीतिक प्रभाव–तरङ्गको आयतन निरन्तर बढिनैरह्यो, केही वर्षअघि मात्र गरिएको गणतान्त्रिक नेपालको राष्ट्रिय गीतको सङ्गीत रचनासम्म । (सायद त्यै राष्ट्रिय गीतको धुन नै उनको अन्तिम प्रकाशित सङ्गीत रचना हो कि ! तर होइन, हालैमा युट्युबमा हेरेको–सुनेको छु लोकशैलीमा रचित उनको अर्को गीत झुमा लिम्बुलाई गाउन दिइएको ‘पहरामा फूल फुल्यो के गरी म झारूँ नि’। यद्यपि उनको यो गीत वि. सं. २०६० मा प्रकाशित ‘अक्षरका आवाज’हरूमा सङ्कलित पाइन्छ । तर सङ्गीत र स्वरमा भने भर्खरै मात्र सुन्न पाइएको हो।)

काठमाडौंबाट प्रकाश सायमीले अम्बर गुरुङसम्बन्धी पोस्ट गरेको फेसबुक स्ट्याटसमा मैले टिप्पणी गरेको थिएँ, ‘‘आधुनिक नेपाली सङ्गीतमा अम्बर गुरुङ पहिलो सफल प्रयोगवादी सङ्गीतकार हुन् ।’’ मेरो यो भनाइसित नेपाली सङ्गीतका पारखीहरू सहमत हुनसक्लान्–नसक्लान्, त्यो अर्कै कुरो हो । तर सचेततापूर्वक प्रयोगात्मक ढङ्गले आफ्नो सङ्गीत–सृजनालाई वैशिष्ट्य प्रदान गर्नखोज्ने सूक्ष्म संवेदनाका धनी सङ्गीतकार थिए अम्बर गुरुङ । त्यसैले अम्बरका सङ्गीत–रचनाहरू अत्यन्त अम्बरीय छन्, धुनहरूको ठूलो भीडमा पनि अलग्गै चिनिने आफ्नै विशिष्ट अनुहार र स्वभावका । नेपाली लोकधुन र आधुनिक सङ्गीतको संयोजन भनौं या त नेपाली आधुनिक सङ्गीतसित पाश्चात्य सङ्गीत–शैलीको फ्युजन भनौं, उनको प्रायोगिक रचना अत्यन्त सहज र स्वाभाविकतापूर्वक सामान्यतादेखि माथि उठेको पाउँछौं । अघिल्लो परिपाटीको यौटा उत्कर्ष देख्छौं कवि माधवप्रसाद घिमिरेको गीतिनाटक ‘मालती–मङ्गले’को निमित्त सृजित सङ्गीतमा, अनि पछिल्लो प्रकारको आंशिक तर सुन्दर फ्युजन यौटा बेग्लै मार्मिक मिठाससित सुन्छौं ‘बतासले झारेका फूलहरू सँगाली’, ‘तिमी भूलमा पर्यौ म पनि झुक्किएँ’, ‘बिर्सन देऊ फूलहरूलाई’, ‘आज राती बेहोशीमा कराउँदै गएँ’ ‘स्वप्निल आँखाभरि लौ..’ जस्ता गीतहरूमा ।

पाश्चात्य सङ्गीतसित युजनको प्रसङ्गमाथि उल्लेख गरिएका गीतहरूमध्ये ‘स्वप्निल आँखाभरि…’ अम्बर गुरुङले अरुणा लामासित गाएका युगल गीत हो जसबारे थप यहाँ भन्न मन लागेको छ कि यो युगल गीतको सङ्गीत उच्च आधुनिकतावादी किसिमले सृजित छ– उनका अन्य सङ्गीत रचनाभन्दा एकदमै बेग्लै, पारम्परिक आधुनिक नेपाली सङ्गीतभन्दा छुट्टै । र यसले अपारम्परिक स्रोताहरुको अपेक्षा राख्छ जसको सङ्ख्या तर थोरै हुन्छ । त्यसैले यो गीत उच्च कलात्मक मूल्यको भए तापनि ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न’ जस्तो ओंठ–ओंठमा झुन्डिने भएन ।
पाश्चात्य शैलीको मोड्युलेसनको सफल प्रयोग पनि नेपाली सङ्गीतमा अम्बर गुरुङकै पहिलो हो कि ठान्छु म । ईश्वी साठी–सत्तरीको दशकका प्रखर प्रयोगवादी (आधुनिकतावादी) साहित्यकारहरुसित उनको सङ्गत थियो नै । यता दार्जीलिङमा आयामेलीत्रय इबरा–वल्लभ–काइँलाको सान्निध्य थियो भने उता काठमाडौंमा शङ्कर लामिछाने, भूपीहरूको सामीप्य । यिनै नवचेतयुक्त सङ्गतले उनीभित्रको सुषुप्त प्रयोगवादी चेतना प्रखरतापूर्वक विकसित भइउठेको भन्न सकिन्छ । यसअघि अगमसिंह गिरीको रोमान्टिकीय भाव र जातीय चेतको प्रभावमा उनको सृजनशीलता उर्वर भइराखेकै थियो । त्यो जातीय चेतको तिक्खर अभिव्यक्ति ‘म प्रीति लाउनलाई आएँ’ गीतमा सुन्छौँ ।

अत्यन्त संवेदनशील प्रयोगप्रिय सङ्गीतकार अर्थात् सङ्गीतसर्जक मात्र नभएर एक उच्च र गहकिला सङ्गीतज्ञ पनि उभिएका उनलाई हामी पूर्वेली र युरोपेली दुवै सङ्गीतका गम्भीर अध्येता चिन्छौँ, जो सङ्गीतसित दार्शनिक गाम्भीर्यकासाथ आत्मसात थिए । यै दार्शनिक गाम्भीर्यले उनको साङ्गीतिक सौन्दर्यबोधमा तेस्रो आयाम अर्थात् गहिराइ थपिदिएको थियो । तर उनको त्रिआयामी आधुनिकतावादी सङ्गीतले कहिल्यै नेपाली ढुकढुकी बिर्सेन ।

यस्ता सङ्गीतकार कदाचित कविता लेख्नपट्टि लागेका भए अवश्यै हामीले टाउको उँभो फर्काएर हेर्नुपर्ने अग्ला कवि बन्नेथिए भन्ने प्रबल विश्वास त्यसबेला लाग्छ जब हामी उनले लेखेका गीतहरू सुन्छौं र पढ्छौं । उपल्लो काव्यिक उच्चतामा उक्लेका गीत रचना गर्ने प्रखर मेधायुक्त नेपाली सङ्गीतकारहरू मैले आजपर्यन्त पढ्न–सुन्न पाएको दुइजना हुन् –अम्बर गुरुङ र गोपाल योञ्जन । उनको ‘अक्षरका आवाजहरू’मा सङ्कलित गीतहरु, अधिकांशतः, उच्च काव्य कौशलले विशिष्ट बनेका अर्थात् तीक्ष्ण र सूक्ष्म दृष्टिको काव्यिक अभिव्यक्ति छन् । उनले आफ्ना गीत रचनामा लिएका मूल विषयहरू छन् प्रेम अनि जीवन । उनको प्रेम तथा प्रेमजन्य भावको अभिव्यक्तिले तर सामान्य सतहदेखि गहिराइतिर जरा हान्दै संवेदनशील श्रोताको अनुभूतिलाई नजानिँदो किसिमले तरङ्ग्याइरहेको हुन्छ । उनको यौटा पुरानो गीत ‘‘तिम्रो माया मेरो लागि’’का केही पङ्तिहरू हेरौँ –

 ठेल्यौ भने मेरो किल्ला काङ्ग्डामा पहिरो जान्छ,
 हेप्यौ भने मेरो रगत चिसिएर पानी हुन्छ ।
 तिम्रो माया मेरो लागि अन्त बुँद जत्रो हुन्छ,
 जमिएर न केही हुन्छ पग्लिएर न केही हुन्छ ।   

 अर्को, चाक्षुशः बिम्बको रहरलाग्दो सिर्जना ‘जसै केश’ का यी पङ्तिहरूमा हेरौँ – 

 जसै केश तिमीले फुकायौ हावा गजबसँग लहरायो 
 जिन्दगीले हेर मुस्कुरायो 

 कलकल झरनामा तिमी नुहायौ
 जस्तो पहाड झरीमा नुहायो 
 घाम ताप्दा कलिलो दिनमा जिन्दगी नै तिमीलाई सुहायो 
 ...    ...
 जसै डोरीमा रुमाल सुकायौ अधीर भई त्यो फर्फरायो
 जिन्दगीले हेर मुस्कुरायो 

कहिले आफ्नो प्रीतिलाई वैयक्तिकताको निजी आँगनदेखि उठाएर जातिगत समष्टिको आकाशमा फैल्याउँछन् उनी जसको साह्रै सुन्दर नमूना छ गीत म प्रीति लाउनलाई आएँ । यस गीतको उद्धरण टिप्नुपर्यो भने आरम्भदेखि अन्त्यसम्मका सोह्र पङ्ति जम्मै टिप्नुपर्ने हुन्छ।

प्रेमजन्य सूक्ष्म भावबाहेक जीवनका बिडम्बना र विसङ्गीत, विषाद र व्यथालाई त उनले गीतको तानमा खुबै प्रभावकारी ढङ्ग्मा बुनेकै छन्, तर सामाजिक असमानता र अव्यवस्थालाई पनि उत्तिकै मार्मिकतापूर्वक तथा झक्झकाउँदो सशक्ततासित उनेका छन् ।

 ऊ पनि त कोही पराई त होइन,
 रातै रगत बग्छ रङ्ग्को पानी होइन।
 ...    ...    ...
 झोपडीको जीवन उसको सबकुछ होइन,
 भोको नाङ्गे बस्नु उसको भूल होइन।
 तब एउटै आकाश किन बेग्लै सहवास,
 किन सास भिन्नै किन एउटै बतास।

कुनै सामाजिक समानतावादी क्रान्तिकामी कविको कविताभन्दा कम शक्तिशाली छैन यो गीत । उसरी नै सामाजिक अव्यवस्था र अराजकतालाई पनि ‘होशियार यस बखत’ शीर्षक रहेको उनको गीतले उदाङ्ग््याएको छ: ‘यो बेला यस्तो हो, संहार साँधमा उभेको र छलीले अँगालो हाली पछाडि छुरी धसेको…।’

उनका सामान्य गीतहरूमा पनि असामान्य काव्यिक छटाहरू थुप्रै देख्न पाइन्छ । ‘फूलले लाजले गुलाबी गाला पातले छोपेछ,’ ‘कहाँ दीप बाल्नु हावा होसमा छैन,’ ‘हावा अल्झ्यो जस्तो लाग्छ पानी सक्र्याे जस्तो लाग्छ,’ जस्ता पङ्तिहरू कति छन् कति उनका गीतहरूमा । गीत र सङ्गीतको सन्तुलित संयोजनसम्बन्धी उनले ‘अक्षरका आवाजहरू’को भूमिकामा भनेका छन् – ‘उच्च कोटीको गीत–रचनाअनुरूप रचिएको सबल र मार्मिक सङ्गीत नै साहित्य र सङ्गीतको अनुपम सङ्गीत हुनसक्छ… गीतकारले यो मर्म बुझेन भने र सङ्गीतकारले काव्यको मर्म बुझेन भने त्योजस्तो पीडादायक कुरा सम्भवतः अरू हुँदैन होला ।’’

उनका गम्भीर किसिमका गीतहरूले चर्चाको निमित्त अरू नै पृष्ठको माग गर्छन् । तर अहिले त्यतापट्टि जाने यो लेखको उद्देश्य छैन । यी गीतहरूको चर्चा पछिलाई थाँतीमा राखी यहाँ अरू एक–दुइ संस्मरणात्मक कुरा राख्छु ।

सन् १९६९ मा अम्बर गुरुङको जीवनले यौटा महत्वपूर्ण मोड लियो; उनी नेपाल पसे सधंैलाई, नेपालकै भएर बाँच्नलाई । ‘घरको माया बिर्सेर किन पो यहाँ आयौ नि’ प्रवासी व्यथालाई उनको स्वर–सङ्गीतले दार्जीलिङको पाखाभित्ताभरि थर्काएको एक दशक नपुग्दै उनी पुख्र्यौली ‘घरको माया’मा भिज्न काठमाडौं पुगे । तत्कालीन राजा महेन्द्रकै विशेष निगाह परेर उनी नेपाल भित्रिएको कुरो विदित छ सर्वत्र । ‘नौलाख तारा उदाए’ गीतले राजा महेन्द्र निकै स्पर्शित भएको कुरो पनि धेरैले गर्छन् । महेन्द्रले यो गीत पहिले कहाँ र कहिले सुने ? यसबारे यौटा चाखलाग्दो तथ्य यस्तो छ– सन् १९६१ को नोवेम्बर । दार्जीलिङ भ्रमणमा आएका राजा महेन्द्र माउन्ट एवरेस्ट होटलमा बसेका थिए । कलाप्रेमी राजालाई मनोरञ्जन दिलाउन होटेलपक्षबाट कला मन्दिर, दार्जीलिङका केही गायक–सङ्गीतकारहरूलाई बोलाइएछ अनि त्यस साङ्गीतिक टोलीमा गायकका रुपमा गएका थिएछन् गगन गुरुङ जसलाई अघिबाटै अम्बर गुरुङले नौलाख तारा गीत, एच. एम. भी.मा आफ्नै स्वरमा रिकर्ड गर्नुभन्दा पहिले सिकाएका थिए । गगन गुरुङ भन्छन्, ‘यो गीतको ताल पहिले तामाङ सेलोमा थियो । राजाको अघि यो गीतको गीतकार र सङ्गीतकारको नाम उल्लेख गरी मैले तामाङ सेलोमा यो गीत गाएर सुनाएँ । राजाले निकै सह्राना गरी मलाई एक हजार रुपियाँ इनाम पनि दिएका थिए जो मैले कला मन्दीरलाई नै सुम्पें ।’
यौटा अन्तर्वार्तामा सोधिएको प्रश्नलाई उत्तर दिँदै अम्बर गुरुङले पनि भनेका थिए, ‘राजा महेन्द्रको अघि यो गीत मैले गाएको थिइनँ, गगन गुरुङले गाएका थिए ।’

त्यसबेलाको अठहत्तर आर. पी. एम. डिस्क रेकर्डको नियम अनुसार तीन मिनटमै गाइसक्नुपर्ने वाध्यता भए तापनि जुन जीवन्ततासित यो गीत संयोजित र प्रवाहित भएको छ यसले आजपर्यन्त स्रोताहरूलाई समातिराखेको छ। गिरीकृत यो गीतमा निहित प्रवासी नेपाली व्यथाको अभिव्यक्तिले अम्बरको गायनमा अझ बढी मार्मिकता पाई यसले नेपालीभाषी भारतीयको हृदय पनि हल्लाउँछ भने त्यो हल्लाउने शक्ति गीतको कुन तत्वमा छ ? यो प्रश्नलाई हामी सहजै उत्तर गर्छौं, यो शक्तिको बृहत्तर स्रोत छ यसको सङ्गीतमा । नेपाली लोकताल समलामा लहरिएको अनि आफ्नै गायकीले उत्कृष्टताको उचाइ उक्लेको यो गीत अम्बरकै साङ्गीतिक यात्राको पहिलो माइलखुट्टी मान्छौं । हुनसक्छ, भारतेली आधुनिक नेपाली सङ्गीतकै बाटोमा पनि त्यो एक मानक बिन्दु थियो ।

अम्बर गुरुङ दाइसित मेरो दोस्रो भेट युगौंको अन्तरालपछि मात्र भयो । २००० को २० सेप्टेम्बर । अरुणा लामाको प्रथम सालिक अनावरणको अवसरमा बिजनबारीमा साङ्गीतिक महामेला लागेको छ । प्रमुख अतिथि अम्बर गुरुङ । काठमाडौंबाटै लिएर आएका छन् आयोजकहरूले सङ्गीतका ती शिखरपुरुषलाई । पच्चीस किलोमिटर टाढा घुम भञ्ज्याङमै स्वागतमा उभिएका सय–डेडसय स्वागतकारी सदस्यहरू मोटरबाइक र कारका ताँतीसित । ठाउँठाउँमै आकर्षक तोरणद्वार । बिजनबारी बजारको प्रवेशविन्दुदेखि नै झ्याइँझ्याइँ नौमती बाजाले डोहो¥याएर भव्य कार्यक्रम स्थलमा ल्याइपु¥याइन्छ अम्बर गुरुङलाई । यस किसिमको भव्य स्वागत दार्जीलिङभरि नै न त अघि कहिल्यै, कसैको निमित्त, आयोजन गरिएको थियो न त आजसम्म गरिएको छ । त्यस भव्य स्वागत आयोजनाले त्यस दिनको कार्यक्रमको केन्द्रविन्दु अरुणा लामाको सालिकभन्दा बढी अम्बर गुरुङ बनेका थिए । त्यो ऐतिहासिक कार्यक्रममा प्रमुख अतिथि गुरुङले भाषण दिने औपचारिकता मात्र गरेनन् तर साँझपखको गायन कार्यक्रममा सोत्साह तीन–चारवटा गीत पनि गाएर त्यस साँझलाई अझ अविस्मरणीय तुल्याएका थिए ।

अनि पाँच–छ वर्षपछि दार्जीलिङ–सिक्किमको एक मैत्री सङ्घले उनको एकल गायन कार्यक्रम दार्जीलिङ र गान्तोकमा आयोजन ग¥यो । दार्जीलिङ शहरमा उनलाई राखिएको थियो जजबजार स्थित होटल अम्बा प्यालेसमा । बिहान दस बजीतिर उनलाई भेट्न जाँदा भेट्न चाहनेहरू अरु पनि निकै थिए । एक छिन कुराकानी ग¥यौं । साँझपख जिमखाना हलमा उनको कार्यक्रम । मलाई मन परेका धेरै गीतहरू सुन्न पाएर एक किसिमले तृप्त भएँ । भोलिपल्ट बिहान फेरि पुगें होटल अम्बा प्यालेस । यसपल्ट निकै बेर कुरा गर्ने मौका पाएँ । उनका सङ्गीत–रचनाशैली र प्रयोगबारे मैले आनो विचार राखें । गायनबारे पनि कुरा गरियो । त्यसबेला उनले भनेका थिए, ‘‘भाइ, गाउनेहरू त छन् नि, स्वर घुमाई घुमाई गाउनेहरू ! तर खै हृदयबाटै गाउनेहरू भने हत्तपत्त देखिंदैन ।’’ त्यसदिन मसित उनी निकै उत्साहित भएर कुरा गरिरहेका थिए । अनि मैले विदा लिने बेलामा उनले ‘‘एक छिन है त !’’ भनी भित्र अर्को रूममा गई त्यहाँबाट केही बेरपछि हातमा यौटा किताब लिएर निस्केका थिए । मेरो हातमा त्यो किताब थम्याउँदै भने, ‘‘भाइ, हामी फेरि भेट्नुपर्छ है !’’

‘दाइलाई म काठमाडौं आउँदा भेट्छु नि !’ भनें । सडकमा निस्केर ‘अक्षरका आवाजहरू’को अघिल्लो पृष्ठ पल्टाएर हेरें अनि देखें तेस्रो पाताको सिरानमा कालो मसिले लेखेको उनको हस्ताक्षर, ‘मनप्रसाद सुब्बा, सशक्त कवि र मार्मिक सङ्गीतप्रेमी भाइलाई मेरो हार्दिक र अजस्र शुभकामना । हामी भेट्नपर्छ है भाइ । –अम्बर दाई ।’’

उनको यो अटोग्राफ एक बिरल साङ्गीतिक उपहार भएको छ मलाई ।

त्यसपछि म कतिचोटी काठमाडौं गएँ, तर उनलाई भेट्ने सुयोग केकेले छेकिरह्यो । म केकेमा भुलिरहें । तर अढाई वर्षअघि एक दिन काठमाडौंका एक युवाकवि भाइ सन्जीव राईले मलाई बुढानिलकण्ठ स्थित अम्बर दाइको निवासस्थानमा पु-याउने उत्साह देखाए । म त्यसदिन गोल्फुटारमा मेरा आफन्तको निमन्त्रणामा बस्न आएको थिएँ । मैले अम्बर दाइलाई फोन गरेर भेट्न आउने कुरो सूचित गरिसकेको थिएँ । सन्जीब भाइ उनको बाइक लिएर आइपुगे गोल्फुटार चौकमा अनि हामी हानियौं बुढानिलकण्ठतर्फ । यौटा सुन्दर परिवेश भएको हाउजिङ अपार्टमेन्टमा पुगेपछि उनको ल्याटभित्र पस्छौं । उज्यालो अनुहार लिएर उनी मेरो स्वागतमा उभिएका थिए । मैले ‘‘नमस्ते दाजु !’’ भनें । तर उनको शारीरिक अवस्था देखेर मलाई रून मन लागेको थियो । ‘‘दाजुको स्वास्थ्य के भो ?’’ सोधें । केही अस्पष्ट बोलीमा उनले उत्तर दिए, ‘‘पोहोर–परारदेखि पार्किन्सन्स डिजिजले निकै चाप्दै लगेको छ । डायबिटिज पनि छ ।’’
नेपाली सङ्गीतका ती विराट व्यक्तित्वको त्यस्तो अवस्था देखेर म एक छिन स्तब्ध भएको थिएँ। सोचेको थिएँ– आज दाइबाट गीत–सङ्गीत सुनौंला, सङ्गीतबारे उनका कुराहरूको मूल्यवान उपहार लिएर फर्कुंला । तर अब उनका औंलाहरू कीबोर्डमा खेल्न नसक्ने भइसकेका थिए । मेरो छातीभित्र कता गाँठो प¥यो । उनकी ठूली बुहारीले हामीलाई चिया–चमेना ल्याएर राखिदिइन् ।

‘‘दाजु, म कतिपल्ट काठमाडौं आएर पनि तपाइँलाई भेट्नआउन सकिनँ ।’’ मैले माफ माग्ने प्रकारले भनें ।

‘‘आज यतै बसौं भाइ’’ भन्नुभो ।

‘‘दाइ, म पर्सी बिहान फर्किने । आज एक रात गोल्फुटारमा आफन्तको घरमा बसिदिनैपर्ने भ’कोछ । फेरि आउँदा बस्छु नि ।’’

हामी उनीसँग सामान्य कुराकानी गर्दै झन्डै एक–डेड घण्टा बस्यौं । साँझ खसिसकेथ्यो । हामीले विदा माग्यौं । दाइले फेरि मलिन अनुहार लाएर भन्नुभो, ‘‘आज यतै बसेको भए हुन्थ्यो नि !’’

डेडवर्षपछि फेरि एकपल्ट काठमाडौं जाने काम प-यो । चार–पाँच दिन बसें, तर फेरि दाइसित भेट्ने सुयोग मिलेन ।

अम्बर दाजु, फेरि आउँदा तपाइँसित बस्छु भनेर दिएको वचन पूरा गर्न सकिनँ । दुर्भाग्य मेरो ! यसबेला तपाइँको गीत मेरो आँखामा टिल्पिलाउँदैछ, ‘फेरि आँसुले आँखा भरियो र फेरि कालो रात घेरेर आयो र यसपालि त म घेरामा पर्छु र एकै झरीले पारि पुल बगायो !’

आज फेरि हामी धरतीको यौटा गहिरो खाल्डोमा व्यस्त भइराखेको बेला हाम्रो शिरमाथि आँखाले भ्याई नसक्नु नीलो अम्बर फैलिएर अम्बरले गाउँदैछन् – ‘म अम्बर हूँ…’

दार्जीलिङ ।


(लेख उपलब्ध गराइदिन संयोजन गर्ने नेपालनाम्चा मित्र शशी लुमुम्बु र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद । सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button