भ्यालेन्टाइनमा ‘एक मुटु मुन्धुमी प्रेम’
विशाल नाल्बो
आँखाको थुन्सेंमा बोकेर सेप्माङ्
गुलाबको बदला टिपेर सेंक्मुरी
थापेर तागेंरामाङ्को आर्शिवाद
जुग जुगसम्म राखेर धरतीलाई साक्षी
म आइपुग्ने छु तिम्रो सामुन्ने
लिएर एक मुटु मुन्धुमी प्रेम ।
तिमी पर्खिराखेको हुनु
उही लिम्बुनी खोला नजिक बरफेदको चौतारीमा
म आइ पुगूलाँ मनाउँन
तिमीसित भ्यालेन्टाइन्डेको उत्सव।
र, साटौंला प्रेम कटुवाको जुँठो ठुटामा बेरेर ।
जीवनको पेरूङगें घुम्तीनिर
आउलान् बिपतिको आँधीबेहरी
भत्काउन खोज्लान् सपनाको घर
थाक्लान् जीवनदेखि पैंतालाको आँट ।
त्यो बेला थापेर अञ्जुलीभरि
म गर्ने छु प्रेमको संरक्षण
तिमी पटुकीले कस्सी
बाँधेर बचाइँ राख्नु त्यसलाई ।
साँझको बेला बरू बेस्मारी इत्रियोस् बतास
डाहा नै गरोस् हाम्रो प्रेमलाई
पर्मबाट फर्केको एकहूल तरूणी तन्नेरीहरूले
जिस्काउन् बरू हामीलाई पर पर परसम्म।
हामी बिनाप्रवार्ह मनाइँ रहूँ
भ्यालेन्टाइनको खुसी
उँन्धै उँन्धो उँन्धै उँन्धो उँन्धै उँन्धो
बगि जाने लिम्बूनी खोलाको
पानीमाथि ओछ्याएर पैंताला।
त्यति नैं बेला बजोस्
तिम्रो मनको कतै गाउँमा एउटा प्रेमिल हाक्पारे
एकछिन छेकी राखोस् मेरो मौनताले तिम्रो बाटो
डाँढाको शिरमै पुगोस् समय बोकेर घाम
हामीलाई भैंराखेको होस् कस्सरी छुटिनुको मिठो दुख्ख ।
ठिक त्यतिखेर म
लेखेर गगुणको पातमा चिट्ठी
थमाउने छु तिम्रो हातमा
र भन्ने छु हेप्पी भ्यालेन्टाइन्डे ।
त्यो साँझ हाम्रो प्रेमलाई देखेर
ठोक्ने छ सलामी
एउटा योध्दा भ्यालेन्टाइन्ले चिहानैबाट
र गाउने छ बेस्मारी अत्मा सन्तुष्टीको पालाम् ।
…
(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)