भ्यालेन्टाइन विशेषः यस्तो कथा म लेख्न सक्दिन

बबिता बस्नेत
कथा

‘तिम्रो कथा सेक्सी भएन’ पुल्चोकस्थित राष्ट्र संघ भवन अगाडिको रेष्टुरेन्टको टेबुलमा पेन ड्राइभ राख्दै उसले भन्यो ।
‘दुखको कथा कहाँ त्यस्तो हुन्छ त?’, आफु सामुन्नेको कुर्सीमा बस्न इशारा गर्दै उसले भनी ।

‘सुख कसलाई छ र ? तिमी–हामी जसलाई सुखी ठानिरा’छौं नि ! तिनीहरु हामीभन्दा दुखी छन् । हिराको फुलीका आशपास आँशुले भरिएका आँखा, ब्रान्डेड कपडाबीच थाकेको शरीर या दुखेको मन, जिन्दगीका भोगाइहरु अनेक हुन सक्छन्, ती सबैलाई समेटेर तिमी सेक्सी कथा लेख्न सक्छ्यौ, आकर्षक, पढुँ–पढुँ लाग्ने…’, भन्दै उसले टेबुलमा आइपुगेको तातो कफीमा चिनी राखेर निकै बेर चलाइरह्यो ।

जीवनमा अनेकथरी मान्छे भेटिन्छन् । शहरको चर्चित ठुलै बैंकको जागिरे ऊ धेरै किताब पढ्ने मानिसमध्ये एक हो । बिषेशगरी कथामा उसलाई रुची छ । साथीहरुसँगकै भेटघाटमा उनीहरुको परिचय भएको थियो । उसले लेखेका कथाहरुको चर्चा गर्दागर्दै उनीहरु एकार्काका राम्रा साथी भएका थिए । कतिपय मानिसहरु केटा र केटीको ‘फ्रेण्डसीप’मा त्यति विश्वास गर्दैनन् । तर, उनीहरु भने अहिलेसम्म टिकिरहेकै छन् ।

‘साँच्ची ! केटीहरु केटाका बारेमा के कुरा गर्छन हँ ?’, कुरैकुरामा उसले भन्यो ।

‘जे जे गरे पनि तिमीहरुजस्तो शरीरको कुरा गर्दैनन्, कुन केटी अगाडि आउदै गर्दा राम्रो र कुन केटी पछाडि जाँदै गर्दा राम्रो भनेर बिश्लेषण गर्दैनन’, अर्को टेबुलमा देखिएको एक परिचितलाई हाईको इशारा गर्दै उसले भनी, ‘बोलीचाली, आफ्नोपनको अभाष, कियरिङजस्ता कुराले केटीहरुको जीवनमा ठुलो अर्थ राख्छ ।’

एक हातमा मेनु राखेर वेटरलाई आफुतर्फ आउन संकेत गर्दै प्रशान्तले भन्यो, ‘छोडिदेउ त्यस्ता कुरा, हामीलाई पनि थाहा छ, राम्री देखिएकी छ्यौ भनेर कतिबेला भन्ला भनेर प्रसंशा ढुकेर बस्छन् केटीहरु ।’

‘यता आउ, तिमी यसको कथा लेख’, मोबाइलमा कसैको फोटो खोज्दै उसले भन्यो । उसको मोबाइलमा फोटो हेर्न कुर्सीबाट उठ्दै गर्दा पल्लो टेबुलमा रहेको मानिसले सिगरेटको धुँवा उडाउदै आफ्नो साथीसंग भनेको सुनियो, ‘संसारमा चुरोट र रक्सी नहुँदो हो त धेरै मानिसले आत्महत्या गर्ने थिए भनेर कतै पढेको थिएँ, मलाई हिजोआज त्यो कुरा साँच्चीकै हो कि जस्तो लाग्छ ।’

‘सुन्यौ यो मान्छेको कुरा?’, मोबाइलबाट ध्यान अन्त खिच्दै उसले भन्यो, ‘हेर, यो मान्छे ३३ लाखको गाडी चढेर हिड्छ, अघि बाहिर सडकमा गाडी पार्क गर्दै गरेको बेला मैंले देखेको थिएँ । उसलाई अहिले लागिरहेको छ कि चुरोट नभएको भए सायद उसले आत्महत्या गर्ने थियो अनि तिमी कसलाई सुखी भन्छ्यौ ? हेर, शुन्यता ! अरुले देख्ने र आफुले भोग्नेबीचको दुरी जीवनमा निकै ठुलो हुन्छ जुन तिमीले पनि बुझेकै छ्यौ । लेउ यो फोटो हेर’, भन्दै उसले मोबाइल हातमा राखिदियो ।

मोबाइलमा तिलचामले कपाल र कालो कालो अनुहारको त्यो अधबैंशे मानिसलाई देखेपछि उसका हातखुट्टा गले झैं भए । मंसिरको अन्तिम हप्ताको चिसो काठमाडौंमा उसलाई चिट्चिट् पसिना आए झैं भयो ।

‘अहिले ऊ कहाँ छ ?’, उसले सोधी ।

‘उ को हो भनेर सोधन…कहाँ छ भन्ने त पछिको कुरा…’, उसले भन्यो ।

सरी…को हो ऊ ?

कुनै बेला यो मान्छेका एकैपल्ट तीन जना गर्लफ्रेण्ड हुन्थे, बाबुआमाको एक्लो छोरो, पैसा प्रसस्त थियो, तीनवटा विवाह भए तर अहिले ऊ एक्लै छ ।

लागु पदार्थ दुव्र्यसनी होला…आफुलाई छुपाउने कोशिस गर्दै उसले सहजतापूर्वक भनी दिई ।

होइन, जाँड रक्सी, चुरोट बिडीं केही पनि खादैन यसले ।

यो आम लोग्नेमान्छेको कथा होइन भन्दै प्रशान्तले भन्यो, ‘ऊ र म संगै पढेका हौं, केही समय हामीले संगै काम पनि ग¥यौं । उसको पहिलो विवाह एक अन्तराष्ट्रिय संस्थामा काम गर्ने समाजशास्त्रमा पीएचडी गरेकी युवतीसंग भएको थियो । ती डा.सा’ब तीन महिना जति पनि संगै बसिनन् । त्यसपछि उसका प्रेमका श्रृंखलाहरु सुरु भए । नर्स, पत्रकार, वकिल, इन्जिनियर, सरकारी कर्मचारी, शिक्षक…ओहो…कुरै नगरुँ उसका पे्रमिकाहरु… एकपछि अर्को को भन्दा को कमका केटीहरुसंग उसको सम्बन्ध भयो । अचम्म त के भनें जो–जो केटीहरु उसको संगतमा आए, ती सबै नै कुनै न कुनै पेशा ब्यवसायसंग जोडिएका थिए । जीवनमा केटीलाई भ्रम दिने र नजिक्याउने काम कति सजिलो कुरा रहेछ भन्ने पनि मैंले उसबाटै थाहा पाएको हुँ । एक पटक हामी यही ठाउँमा यसैगरी कफी खाएर बसेका थियौ, ऊ त्यो (इशारा गदै) टेबुलमा दुइ जना केटीहरु केही खाँदै थिए । उसलाई तीमध्ये एउटी केटी मन प-यो, म यसलाई पट्याइदिउँ ? भन्यो, केटी असाध्यै भलाद्मी देखिन्थी, मैंले सिधै यसलाई चांही सक्दैनस् भनिदिएँ । हामीले बाजी राख्यौं, त्यसको तीन दिनपछि यही ठाउँमा ‘ऊ मान्यता, इन्जिनियर हुन मेरी साथी’ भन्दै चिनाउन ल्यायो । केटी दङ्ग थिई, भलाद्मी परेकी… यसो मुख छोपेर हाँस्ने, मलाई कस्तो नरमाइलो लाग्यो ।’

‘धेरै केटीहरु हेरेर होला दोश्रो विवाह ठिकै केटीसँग भयो, व्यवहार कस्तो थियो थाहा भएन तर अनुहार राम्रो थिएन । दुइ चार महिना संसारै पाएँ झैं गरेर त्यही केटीलाई मात्र लिएर हिड्यो तर ऊ पनि एक बर्षभन्दा बढी बसिन । तेश्री श्रीमतीले आत्महत्या गरी, कारण थाहा भएन, माइतीले हत्या भयो भनेर मुद्दा हालेका थिए तर खासै केही भएन ।’

‘कारण नखुलेका त्यस्ता गुमनाम आत्महत्या त यो मुलुकमा कति स्वास्नीमान्छेहरुले गरे गरे’ प्रशान्त बोल्दै गर्दा उसको मनले भनिरहेको थियो ।

टेबुलमा आइपुगेको खानेकुरा खान इशारा गर्दै उसले भन्यो, ‘एक दिन अकस्मात उसले फोन ग¥यो र घरमा बोलायो । म घरमा पुग्दा बाहिर कोही थिएन । सरासर कोठाभित्र गएँ, कुनामा उभिएर हात समाइरहेको उसको हत्केलामाथिको नाडीबाट भलभली रगत बगिरहेको थियो । के गरेको ? प्रश्न नसकिदै उसले भन्यो, अब मलाई जिन्दगी पुग्यो प्रशान्त । म बाँच्न चाहन्नँ । पछिल्ली श्रीमतीले आत्महत्या गरेपछि फैलाएको फ्रस्टेसनले डिप्रेसनको रुप लिइसकेको रहेछ ।
त्यसअघिको भेटमा डा. उपाशनाको कुरा गर्दै उसले भनेको थियो, मैले त उसलाई तिमी कसैसंग सम्पर्क राखेर एउटा बच्चा जन्माउ, हामी उसलाई सन्तानका रुपमा हुर्काऔं, तिमी क्षणिक रुपमा जोसंग खुशी हुन्छ्यौ जाउ तर मलाई नछोडसम्म भनेको थिएँ । वास्तवमा ऊ किन त्यति धेरै केटी फेर्दै हिँड्थ्यो भन्ने कुरा मैंले पनि त्यस दिन पहिलो पल्ट थाहा पाएको थिएँ । जीवनमा अदृश्य अभावको असन्तुष्टीपूर्ण अनुभुतिलाई उसले अरुले हेर्दा एउटा इश्र्यालाग्दो परिवेशमा बदल्न खोजिरहेको हुन्थ्यो । उसको जिन्दगीमा छाएको दीर्घकालीन असन्तुष्टीको परिणामस्वरुप धेरै युवतीहरुले जीवनमा कहिल्यै नसोचेको धोका महशुस गर्नु प¥यो जुन उसले अपनाएको गलत बाटो थियो । दोश्रो श्रीमतीको बारेमा थाहा भएन तर तेश्रीलाई उसैले मानसिक यातना दियो । ऊ एउटा फाइनान्स कम्पनीमा काम गर्थी, काम परेको बेला अबेलासम्म पनि बस्नु पथ्र्यो । ऊमाथि अनेक शंका उपशंकाका साथ गालीगलौज गरेर आफ्नो शारीरिक कमजोरीलाई ढाकछोप गर्ने कोशिस गथ्र्यो ऊ । मलाई केही चाहिदैन तिम्रो माया भए पुग्छ, मलाई यसो नगर भन्दै ऊ रुन्थी भनेर आत्महत्यापछि छिमेकीहरुले सुनाएका थिए ।

त्यसबीचमा पल्लो टेबुलमा दुइ पटक मानिसहरु फेरिइसकेका थिए । ‘अब चांही कालो कफी खाउँ’, लामो सास फेर्दै शुन्यताले कफी मगाई ।

प्रशान्तको कुराले उसको पुरै शरीर चिसो भएको थियो र हातका औंलाहरु थरथर काँपिरहेका थिए । आँखा वरीपरी उही तिलचामले आकृतिले ठाउँ लिइरहेको थियो ।

सम्झिई, उसले औंलाले खेलाउँदा ती कपालहरु कालै थिए । अहिले आम अनुहार लागेको त्यो आकृति कुनै बेला उसका लागि सबैभन्दा राम्रो उसको जीवनमा अकस्मातै आइपुगेको राजकुमार झैं लागेको थियो ।

उसलाई ऊ यति धेरै माया गर्थी कि उसले पढेका स्कुल, कलेज, उनीहरु हिँडेका बाटाहरु, आफन्त र नाताहरु सबै नै उसलाई आफ्नो झैं लाग्थे । बृद्धावस्थामा दाँत झर्दा या कपाल फुलेर सेतै हुँदा कस्तो देखिएला भनेर दुबै जनाले ऐना हेर्दै कुरा गर्दा ऊबाहेक अरुसंगै जीवन बिताउने काम त के कल्पनासम्म पनि उसले गर्ला जस्तो शुन्यतालाई लागेको थिएन ।
एक दिन बाहिर असाध्यै हुरी बताससहितको पानी परिरहेको थियो । अनायसै आएको आँधीबाट बच्न ऊ आफुले आफुलाई भन्दा बढी माया गरेको सोही मान्छे कहाँ ओत लाग्न पुगेकी थिई । जोमाथि उसलाई जीवनमा कहिल्यै नभएको भरोसा थियो । केही क्षणको ढकढकाइपछि खुलेको ढोकाबाट उसको ओछ्यानमा जे जस्तो दृश्य देखियो, त्यसको सामना कसरी गरी भन्ने कुरा अहिले उसलाई सम्झदा मात्र पनि जीउ सिरिङ्ग हुन्छ ।

शहरमा नयाँ झैं लाग्ने एउटी केटीसँग बडो आत्मिय भावका साथ बसेको थियो ऊ । केही क्षणपछि बाहिर हुरी रोकियो तर सोही दिनदेखि उसको मनभित्र फैलिएको आँधी भने कायमै थियो । सिनेमामा झैं घरी न घरी आँखा वरीपरी आइरहने त्यो दृश्य आँखाबाट हटाउन अहिलेसम्म पनि उसले सकिरहेकी थिइन ।

केटीको मामिलामा धोकेवाज आफ्नो एउटा साथीको मानवीय पक्षलाई समेटेर कथा लेखिदिए हुन्थ्यो भन्ने प्रशान्तको चाहनालाई पुरा गर्न सक्छु जस्तो उसलाई लागेन ।

‘यो त प्लेन स्टोरी हो बुझयौ, यसभित्रका मसलाहरु प्रसस्त छन्’, अलिअलि मुस्कुराउदै उसले भन्यो ।

मनमनमा लाग्यो, त्यो मसलाभित्रको एउटा पाटो कुनै दिन म आफै पनि थिएँ भनेर तिमीलाई कसरी बताउँ ?

उसको बारेमा अझ बढी सुन्नु नपरोस् भनेर उसले भनी, ‘प्रशान्त, भयो अब । यो मान्छेको बारेमा धेरै कुरा नगरौं । यस्ता मान्छेहरुका बारेमा म तिमीले सोचेजस्तो सेक्सी कथा लेख्न सक्दिनँ ।’

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button