यो शहर मेरो होइन, कठै ! तिम्रो पनि रहेन
मणि लोहनी / कथा
अन्ततः उनले काठमाडौं छाड्ने नै निर्णय गरिन् ।
एयर टिकट र खर्चको जोरजाम समेत भइसक्यो । अर्कै कुनै नयाँ शहरमा आफ्नो काम र बस्ने व्यवस्था मिलाएर हिजो भर्खर उनी यहाँ आएकी । उनलाई लिन हिजो म आफै एअरपोर्ट गएको थिएँ । एयरपोर्टको बाहिरी लबीमा उनी निस्किदै गर्दा उनको अनुहारमा मैले एकसाथ उत्साह र उदाशीका नसुहाएका रंगहरु देखेको थिएँ । मैले सोधें पनि, ‘किन, खुशी छैनौं ?’
‘म यो शहर छाडेर जाने भएँ ।’
‘कहाँ ?’ मैले फेरि सोधें ।
‘हेरौं, समयले कता पु-याउछ ?’ उनी गंभीर बनिन् । उनी मसंगका यावत समयमा अक्सर गंभीर नै बन्छिन् । सायद म उनको गंभीरताको असल दर्शक हुं । या यसौ भनौ मेरो अगाडि गंभीर बन्दा उनी आफुलाई बढी सुरक्षित महशुश गर्छिन् ।
काठमाडौं छाड्ने पक्का भएपछि उनले यँहा बसुन्जेर आफुले प्रयोग गरेका सामानहरुको व्यवस्थापनको जिम्मा मलाई दिइन् ।
भनिन्, ‘तपाई हुदाहुदै मैले अरु कोसंग सहयोग माग्नु ?’
मलाई ठीकै पनि लाग्यो । हो पनि, उनको यो शहरमा म सिवाय अरु को छ र ? त्यसो त उनलाई मरिहत्ते गरेर माया गर्नेहरुको कहिल्यै कमी भएन । उनको शारिरिक बनावट र अनुहार नराम्रो छैन तर दुधैले नुवाएको जस्तो पनि होइन । तर पनि मानिसहरु उनीप्रति किन यति छिट्टै आकर्षित हुन्छन् होला भनेर उनीसंगको पुरै दुई वर्ष मैले सोचिरहें । उनको बोलीमा एउटा भिन्नै आकर्षण छ । शायद त्यही भएर मानिसहरु उनीसँग झुम्मिएका होलान् भन्ने मेरो निष्कर्ष छ । त्यसो त म आफै चाही उनको बोलीले भन्दा बढ्ता उनको व्यवहारले आकर्षित भएको थिएँ ।
उनी मनमा पाप नभएको स्वास्नीमानिस हुन् । पापै पापले भरिएको यो शहरमा उनी एक जना यस्तो स्वास्नीमानिस मैले भेटें, जोसँग आफ्ना लागि भन्दा आफ्ना नजिकका मानिसका खुशीका लागि बलिदान हुनसक्ने सामथ्र्य छ ।
‘यो शहरमा म नयाँ होइन । यहाका प्रत्येक कुरालाई मैले टीठपूर्वक भोगेकी छु ।’ पहिलो भेटको संभवतः उनको पहिलो सम्वाद यहि थियो । त्यसपछि उनले आफुलाई प्याजसंग तुलना गरेकी थिईन् । जति पत्र खोले पनि नबुझिने र अन्तिममा केही नभएको । मैले त्यतिखेर शंकर लामिछानेको ‘एब्स्टयाक चिन्तन प्याज’ सम्झेको थिएँ । र उनलाई ‘तिमी पूर्णतातिर उन्मुख छ्यौ’ भनेर बताएको थिएँ ।
यसरी कुराकानी भएको पनि दुइ वर्ष बितेछ ।
यस दुइ बर्षमा हामी बीच भिन्न र स्वभाविक आकर्षण विकर्षणका खेलहरु भए । यसलाई खेल पनि किन भन्नु ? हामी यस अवधिमा आकर्षण विकर्षणको रोटेपिङमा मच्चिरह्यौं । हामीबीच दुई बर्षको दौरानमा सम्बन्धको माथापच्चिसी धेरै भए । उनका यावत कुरा असल भएर पनि मलाई उनका केही कुराहरु मन परेनन् । मेरा केही कुराहरुबाट आकर्षित उनलाई मेरा धेरै कुराहरु मन परेनन् । र, पनि हामी टाढिन सकेनौं । खराबीबीच रुचाउनु नै प्रेम हो भन्ने दर्शनले यहाँनेर काम गरेको हुनु पर्छ भन्ने मलाई लाग्छ । किनभने हामी नभेटी बस्न सक्दैनथ्यौं । भेट्ने बहाना अनेक हुन्थे । ती सब बहानाका पछाडी हाम्रा भेट्ने चाहनाले नै काम गरिरहेको छ भन्ने हामी दुबैलाई थाहा हुन्थ्यो र पनि हामी एक अर्कालाई यो जानकारी दिदैनथ्यौं ।
‘प्रेम गर्छौं’ नभनीकनै हामीबीच एक प्रकारको आत्मिय प्रेम छ भन्ने मलाई लाग्छ । यस्तो प्रेम जहाँ स्वार्थ कम छ । हामीबीच उमेरको आकर्षणले पनि काम गरेको होला । तर त्यसैलाई हामीले कहिल्यै ठुलो मानेनौं । सेक्स नै मानिसको जीवनमा सवथोक कहाँ हुदों रहेछ र ? म विवाहित मानिस र उनी सर्वाधिक माया गर्ने प्रेमी भएको स्वास्नीमानिस । र, पनि हामी एक अर्काको उपस्थितीमा रमाउँथ्यौं । भला त्यो रमाइलो अनुभूति हामी एक अर्काका अगाडि देखाउन सक्दैनथ्यौं । हामीलाई आ–आफ्ना इगोले रोक्थ्यो सायद ।
मैले जीवनमा धेरै स्वास्नीमानिसहरुको संगत गरें तर मेरो सौभाग्य हो कि दुभाग्य मैले भेटेका अक्सर स्वास्नीमानिसहरुले सदैव मेरा कुराहरुलाई मन नै पराई रहे । उनी मात्र एक जना यस्तो स्वास्नीमानिस हो, जो मेरा काम र व्यवहारहरुमा खोट देखाउन सक्छिन् । भन्थी, ‘अरुहरु तपाईसंग हुनु थिएन त्यही भएर तपाईको प्रंशशा मात्र गर्थे । तर, मलाई तपाईसंग हुनुछ ।’
म उनलाई सर्वाधिक माया गर्ने उनको प्रेमीको नाम लिएर सोध्थें, ‘अनि उसलाई के गछौं त ?’ यसरी मैले उनलाई प्रश्न गरिरहदां म आफुले मन पराएर विबाह गरेकी आफ्नी श्रीमतीलाई सम्झिन्थे ।
‘उ प्रेमी हुन सक्छ लोग्ने हुन सक्दैन तर तपाई मेरो लोग्ने हुन सक्नुहुन्छ भन्ने विश्वास मैले भेटेकी छु ।’ अक्सर कपाल जुरो बनाउन रुचाउने उनले जुरोको काटा चलाउदै भनिन्, ‘तर तपाईले मलाई उसले जस्तै भुतुक्क भएर चाहानु पर्छ ।’
यहीँनेर मलाई उदेक लागेर आउथ्यों । भुतुक्क भएर कसैले कसैलाई बिना स्वार्थ चाहन्छ भनेर मलाई विश्वास नै लाग्दैन । म तिमीलाई माया गर्छु त्यही भएर तिमीले मलाई माया गर्नु पर्छ भन्ने शैलीको मायालाई म वाध्यता भन्छु । माया त रहर हो । इच्छा हो … स्वतन्त्र इच्छा । शर्तहरुमा मायाको बलि चढ्न सक्छ । तर, मायाहरु शर्तमा जिउन सक्दैनन् भन्ने मेरो ठम्याई छ । जहाँ शर्त छ त्यहीबाट शुरु हुन्छ बाध्यताको श्रृखंला । परास्त प्रेमको आरम्भ ।
मैले उनलाई मन नपराएको होइन । तर मन पराउनु र आफ्नो बनाउनु नसक्नुको नियतीले म पटक पटक दुःखेको छु । हुन त उनको उपस्थिती मेरो जीवनमा एउटा ठुलो आधार बनेर आयो । उनीसँगको संगतपछि नै हो मैले आफ्ना धेरै कमजोरीहरुलाई चिन्न र सुधार्न पाएको । एक किसिमले अनौपचारिक रुपमा भन्नु पर्दा उनी मेरो जीवनको शिक्षिका नै हुन् । मैले यति धेरै सम्मान गरेको र रुचाएको स्वास्नीमानिस संभवतः अहिले सम्मको उनी नै हुन् ।
‘तपाईलाई खराबै त म भन्दिन । तर किन अरुका अगाडि बढी बोलिदिनु हुन्छ र आफुलाई सस्तो बनाउनु हुन्छ ।’ उनको यो शहरमा बसुन्जेलको मप्रतिको सबभन्दा ठुलो गुनासो भनेको नै यही हो ।
यहानेर मेरो आफ्नै दर्शन छ ।
दुई दिनको जिन्दगीलाई कम बोलेर किन जटिल बनाउनु । प्रत्येक समस्याको जन्म सम्वादहीनताबाट हुन्छ भन्ने मेरो अनुभव छ । जब प्रेमी प्रेमीका बोल्न छाड्छन् या श्रीमान श्रीमति कुरा गर्न छाड्छन् त्यहीबाट शुरु हुन्छ सम्वन्धको चीसोपना । छोरी र आमा जस्तै सासु बुहारीले सब इगो छाडेर बोलिरहने हो भने के घर शान्त हुदैन र ?
उनी शहर छाडेर जाने कुराले एक किसिमको खिन्नता मभित्र छ । थाहा छैन उनी जाने खवरले आक्रान्त म उनी गएपछि के हुन्छु ?
‘तिमी नगए हुदैन?’ मैले भावुकतावश बोलिदिंएँ ।
‘यो शहर मेरो होइन ।’ उनी जंगिई, ‘फेरि को छ भनेर बस्नु म यो शहरमा ?’
‘म छैन त बाबा ?’
‘तपाईको पनि आफ्नै सीमा छ । माया गर्ने श्रीमती, मुटुभन्दा प्यारी मनुश्री र बुबा हुनुहुन्छ । मेरो त कोही पनि छैनन् । जति थिए सबैसंग सम्बन्धहरु निखारेकी छु ।’ उनको गहिरो कालो आँखाले मलाई हेरिरहन्छ, ‘अहिले म स्वतन्त्र छु, एकदम स्वतन्त्र, बतास जत्तिकै स्वच्छन्द र बतास जत्तिकै स्वतन्त्र ।’
Is it the end of the story? I was eager to read some more.