बयान : आकस्मिक लेखक म

पुस्तकको हरेक अशंमा लेखक र पाठकबीच आत्मिय साक्षात्कार हुनुपर्छ । लेख होस् वा पुस्तक, लेख्ने बेला म सधै यो आत्मियताको भावपुर्ण तथ्यलाई विचार गर्छु र पुस्तकको पाना पानामा म मेरा पाठकबीच म जीवन्त भएर बाँच्न चाहन्छु ।

कर्ण शाक्य ।

व्यवहारको धरातलमा बसेर काम गर्ने श्रमजीवी उद्यमी भएको हुँदा पुस्तक लेखन मेरो लागि आफ्नो सोच, विचार, अनुभव र भावना पोख्ने एउटा माध्यम सिद्ध भएको छ । मैलै कहिले पनि आफुलाई कृति वा श्रष्टाको सिर्जना गर्न सक्ने लेखकको रुपमा हेरेको थिइन र छैन पनि । म वास्तवमा आफुलाई एउटा आकस्मिक लेखकको रुपमा हेर्छु ।
मेरो जीवनको पृथक पृथक कालखण्डमा समस्याको सागरमा हराइरहँदा त्यहाँ मैले सकारात्मक सोचका मोती फेला पारें । कहाँ, कहिले र कसरी मभित्र सकारात्मक सोचको बीजारोपण भयो, ती अनुभव समेटेर मैले आफ्नो आत्मवृतान्तलाई ‘सोच’ पुस्तकको रुप दिएँ । त्यो बेला अधिकाँश युवाहरु आशाका भोकले सताइरहेका थिए । ती युवाहरुको लागि यो पुस्तक सकारात्मक सोचको खुराक बन्न पुग्यो । यसरी अनायास मैले लेखन क्षेत्रमा पाइला टेक्न पुगें ।
आफ्नो विषयवस्तु अन्तर्गतका अग्रेजी किताबहरु त मैले पहिले पनि लेखेको थिएँ तर समसामायिक मुद्दासित अभ्यस्त रुपले जोडिएको सोच मेरो पहिलो नेपाली पुस्तक हो । यो भनिरहदा मलाई कति पनि हिनताबोध हुदैन कि मसित शब्दको भण्डार छैन । वाक्यलाई अलङकारित गर्न सक्ने साहित्यिक क्षमता र बिद्धता पनि ममा छैन । साहित्यको विद्यार्थी नभएको हँुदा लेखन शैलीको व्यवसायिक ज्ञानको पनि ममा धेरै कमी छ र कतिपय अवस्थामा मैले जानी नजानी आफ्नो रचनाहरुमा शव्द, वाक्य र भावहरु दोहो-याउने गर्छु । यसो गर्नु व्यवसायिक लेखन एवम् लेखकिय प्रस्तुतिकरणको भुल हो भनी भन्छन् । तर मैले मेरो यो कमजोरीलाई हटाउने प्रयास गरिन । रचनाको माध्यमबाट चेतनाको जागरण गरी परिवर्तन ल्याउन चाहने एउटा मान्छे भएको हुँदा जसरी गहना बनाउने क्रममा सुनलाई बारम्बार टकटकाइन्छ, त्यसरी नै मैले आफुले अनुभव गरेका व्यवहारिक ज्ञानलाई दोहो-याई तेहृयाई प्रस्तुत गर्ने गर्छु ताकि पाठकको मनमस्तिष्कमा सकारात्मक सोचको घन्टी बजिरहोस् ।अमुर्त बचतको पारखी म हैन । त्यसैले अमुर्त लेखक बन्ने कोसिस कहिले गरिन । लेखेपछि पाठकले बुझ्न सक्ने हुनुपर्छ भन्ने मेरो धारणा छ । मलाई लाग्छ लेखक र पाठकबीचको रसायनशास्त्र हो, पुस्तक । त्यहा कुनै पर्खाल हुनु हुदैन । पर्खाल मात्र किन, एक अर्कालाई छुन नसक्ने, स्पर्श गर्न नसक्ने पारदर्शिक ऐनाको छेकबार छ भने त्यो पनि हुनु भएन । पुस्तकको हरेक अशंमा लेखक र पाठकबीच आत्मिय साक्षात्कार हुनुपर्छ । लेख होस् वा पुस्तक, लेख्ने बेला म सधै यो आत्मियताको भावपुर्ण तथ्यलाई विचार गर्छु र पुस्तकको पाना पानामा म मेरा पाठकबीच म जीवन्त भएर बाँच्न चाहन्छु ।
समय र परिवेशले मलाई एउटा लेखक बनाईदिएको हुँदा व्यवहारिक र सान्दर्भिक सवेदनशीलतालाई मैले सधै प्राथमिकता दिने गरेको छु । सोचेको कुरा भन्नु पर्छ, भनेको लेख्नु पर्छ र लेखेको कुरा गर्न सक्नुपर्छ भन्ने विचारमा विश्वास राख्ने व्यक्ति भएको हुँदा मनका कुरालाई जिब्रोले नचपाई पुस्तकको पानामा पोख्न मलाई त्यति गाहृो भएन ।
मनको कुरा खुलेर नबोल्ने बौद्धिक पाठकहरुले मेरो किताब कति पढे र कतिले मन पराए त्यो मलाई थाहा छैन । तर थुपै साधारण आम पाठकहरुले मेरो किताब पढेर आफुलाई परिवर्तन समेत गरेको छु भनी पठाएका कयौ हस्तलिखित पत्रहरुले म जस्ता सिमित लेखकिय क्षमता भएका सौखिन लेखकलाई पनि एक पछि अर्को किताब लेख्न सक्ने योग्य लेखक बनाईदिए । हामी सधै अर्कोको क्षमताको मुल्यांकन गर्छौ तर आफ्नो सामथ्र्यबारे अनविज्ञ हुन्छौ । मनमस्तिष्कभित्र लुकेका अथाह शक्तिलाई खोज्दै गरे समय र परिवेशले अन्तत त्यसलाई पहिचान गराइ नै दिइहाल्छ । मेरो लेखन यात्राले मलाई यहि बोध गरायो र यहि विश्वासका साथ म अगाडि बढ्ने कोसिस गरिरहेको छु ।
(बढी पढिएका लेखक शाक्यका सोच, खोज, म सक्छु, मोजजस्ता पुस्तक चर्चित छन् ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button