लघुकथा: भाग्यमानी आमाबा
धनराज गिरी
अष्ट्रेलिया गयो प्रोफ़ेसर ‘अजयनारायण विवेकी’- पत्नी ‘कल्याणीसित’ पूरा एक बर्षको योजना बनाएर | नातिनी पीयूषाको माया, बुहारी र छोरा पनि देवी र देवताजस्ता | झिनामसिना कुराहरू त जसको घरमा पनि हुन्छ | केही वादविवाद उत्पन्न भए प्रोफ़ेसर विवेकी ‘गजल – कविता – कथा ‘वा ‘कपिल कमेडीको सहयोगमा पारिवारिक संतुलन कायम गर्दथ्यो | वार्ताद्वारा सबै कुराको हल- साथमा ‘अल्कोहल !’
‘बा,ख़ुशी हुनुहुन्छ ?’, पुत्र वरदानको प्रश्न |
‘छोरा,यस्तो स्वर्गजस्तो सन्सारमा यति आनन्दसित जीवन यापन गर्दा पनि मन ख़ुशी हुन्न भने त्यो बाउ, त्यो मान्छे अभागी हो या घमण्डी हो, अहँकारले मनमा वास गरेको ‘स्वपीडक’ हो ! हामी पूर्ण आनन्दमा छौं !’, प्रोफ़ेसरले मिठो स्वरमा उत्तर दियो |
‘नाटक गरेको त होइन नि बा ?’
‘छोरा, तेरो बाउले न नाटक पढायो, न लेख्यो, न जान्यो, मलाई नक्कली सम्मानभन्दा सक्कली आलोचना मनपर्छ !नक्कली नामभन्दा गुमनाम ठीक !’
दिनहरू बिते | अनेक समाचार आए, अष्ट्रेलियाको | सासू-बुहारी नमिलेर एक महिनामा नेपाल फिरता, पति अर्की केटी लिएर टाप ! पत्नीद्वारा पतिको हत्या … नकारात्मक समाचार, उग्र बुश फायर, पी आर- तनाव ! समस्या जहाँ पनि छ | जहाँ मान्छे, त्यहाँ समस्या ! तर, प्रोफ़ेसरको सोच सकारात्मक- हामी ‘भाग्यमानी आमाबा’, उसले फेसबुकमा लेखिरह्यो | मनको शान्ति र मुहारको कान्ति- साक्षी ! प्रोफेसरको उज्यालो अनुहार देखेर सबै आफन्त प्रशन्न !
बुहारीको प्रश्न,’बाबा,हजुरहरू कसरी भाग्यमानी ‘बा आमा ?’ ‘मलाई प्रमाण चाहियो !’, नरम बुहारी नम्रताको कड़क प्रश्न !
‘लक्ष्मीजस्ती बुहारी छौ,नारायणजस्तो छोरो छ, फूलजस्ती नातिनी- अरू के चाहियो पुत्री ? हेर छोरी,ती ‘आमाबा भाग्यमानी’ परमसौभाग्यशाली, जो विदेश आएर छोराबुहारीसित उही छानामुनि ३६५ दिन आनन्दसित गुजारी स्वदेश वापस हुन्छन् ! वी आर लक्की- रियाल्ली लक्की बिटुवा !’
‘हामी पनि लक्की जोड़ी !’, नम्रता उज्यालो अनुहार बनाएर गीत गाउन थालिन्, ‘चौबन्दीमा …