यदि लेखक हुँ भने म एक अविरक्त लेखक हुँ
पूर्वका घाम हुन् उनी । काठमाडौं आइपुगे र देशैभर छरिइरहेका छन् । वैकल्पिक वैचारिक घाम, जडसुत्रबाट एकदम अलग । र, त्यही घाम अक्षरहरुमा छरिरहे । छरिरहेकै छन् । उनको राजनतिक धरातलमा वैचारिक जमिन छ र त्यहीँ छ उनकोे कलम र कला । उनको लेखन तथ्य, तर्क र विवेकको सिलसिलावद्ध संगम ।
नेपालनाम्चाको विशेष स्तम्भ ‘लेखक बोल्छ’मा डम्बर खतिवडा ।
कुन कारण, घटना र प्रेरणाले तपाई कहिलेदेखि लेखनलोकमा आउनु भयो ?
वास्तवमा म लेखक हो कि हैन भन्ने बिषयमा आफै भ्रमित छु । तपाईहरु जस्तो साथीभाईले, केही मान्छेले भन्दिदा होकी जस्तो लाग्दछ । नत्र मैले के त्यस्तो गतिलो लेखेको छु र लेखक हुँ भन्नु जस्तो पनि लाग्छ ।
फेरि लेखक भन्ने वित्तिकै धेरै ठूल्ठूला मानक र नाम मेरो अगाडि आउँछन् । म तोल्सटोय, दोस्तोभस्की, चेखब, गोर्की र शोलोखोभ संझिन्छु । दाँते, शेक्सपियर, शेली, ब्रन्ट, डिकेन्स र ओ हेनरी संझिन्छु । प्रेमचन्द, बकिमचन्द, भीष्म साहनी र राजेन्द्र यादबको झल्को आउँछ । देवकोटा, बीपी, पारिजात आदि आँखामा झलझली हुन्छन् ।
म लेख्न रहर गर्ने मान्छे हुँ, लेखक वा साहित्यकार हैन जस्तो लाग्दछ । अर्को तरिकाले भन्दा म लेखकभन्दा बढी पाठक हुँ । पाठकभन्दा किताब मात्र पढ्ने पाठक हैन, समाज र जीवन पनि पढ्ने पाठक । सानै उमेरदेखि ममा कोर्सभन्दा बाहिरका किताब पढ्ने, नयाँ मान्छे, स्थान र घटनाबारे घोत्लिने स्वभाव थियो, त्यो मेरो प्राकृतिक स्वभाव थियो भन्ने लाग्दछ ।
मेरो परिवारमा मलाई लेख्न प्रेरित गर्ने कोही थिएन । गाउँ, समाज, स्कुल, कजेजमा जुन लेख्ने, लेख्न प्रेरित गर्ने साथीहरु भए, निक्कै पछि भए, जब मलाई त्यस्तो बानी परिसकेको थियो । म जुन गाउँमा हुर्किएँ, त्यहाँ पर्याप्त किताब थिएनन् । तथापि खोजीखोजी पढ्थें । त्यही पढ्ने बानी पछि लेख्ने बानीका परिणाम भयो । अब त यो आदत भयो, नलेखी जीवन नै चल्दैन जस्तो लाग्छ ।
म लेखनलोकमा आउनुको कुनै कारण, घटना र प्रेरणा छैनन् । यो मेरो प्राकृतिक स्वभाव र जीवनवृत्ति हो । मेरो सहज मौलिक प्रवृति हो ।
लेख्दा के हुन्छ र नलेख्दा के हुन्छ ?
लेख्दा मनको बोझ बिसिन्छ । मन हल्का र खाली जस्तो हुन्छ । दिमागको आगो ओकिल्छ । दिमाग छड्किने, बल्ने र पाक्ने हुँदैन । तर, त्यो केही बेर मात्र हो । लेखेको केही बेर खाली हुन्छ, फेरि भरिन्छ, फेरि लेख्नु पर्ने हुन्छ ।
लेख्दा जीवनको सार्थकताबोध हुन्छ । केही त गर्दैछु, मरिसकेको छैन भन्ने भान हुन्छ । लेख्दा म समाजसंग, देशसँग, विश्व मानवतासँग, परमसत्तासंग जोडिए भन्ने लाग्छ । कोठामा एक्लै बसेर लेख्दा पनि म एक्लो छैन, मेरो वरिपरि लाखौं, करोडौं मान्छे छन् जस्तो लाग्दछ ।
नलेख्दा केके छुटेजस्तो, छटपटी हुन्छ । नलेखेको दिन राती सजिलै निन्द्रा पर्दैन । आज यस्तो लेखेको भए हुन्थ्यो भनेर मनमा कुरा खेल्छ, त्यही कारणले निन्द्रा पर्न दिँदैन । म समाज, देश, विश्व र परमसत्ताबाट छुटेँ, एक्लो भएँ, सिद्धिए, अर्थहीन भएँजस्तो लाग्छ ।
मैले लेखेर, नलेखेर समाजको गतिमा ठूलो असर पर्छ जस्तो लाग्दैन । मैले यो संसार थामेको छैन । बरु यो संसारले मलाई थामेको हुन सक्दछ । प्रकृतिले आफै एक सन्तुलन कायम गर्दछ । समग्र मान्छे मध्ये सन्तुलनका लागि केही मान्छेलाई लेख्ने बनाएर जन्माउँछ होला । म त्यस्तै मध्ये एक परेँ कि ?
तपाईले लेखेकै कारण के भएको छ ? केही त्यस्तो घटना संझनु हुन्छ, जसको जगमा तपाईको लेखन थियो ?
मैले लेखेकै कारण धेरै चीज भएको छ, मेरो जीवनमा, तर सार्वजनिक जीवनलाई कतिको योगदान पुगेको छ वा छैन ? म भन्न सक्दिन । त्यो मैले भन्ने कुरा पनि हैन, अरुले भन्ने हो । मेरो लेखनले कहिँ कतै प्रभाव परेको छ भने जसलाई प्रभाव पर्यो, उनीहरुलाई थाहा हुने र भन्न सक्ने कुरा हो । व्यक्तिको रुपमा भने मैले बाँचेको समाज र वृत्तमा सधै लेखनले मेरो परिचय र पहिचान बनायो । साथीभाईको समूहमा एक्लो हुन दिएन ।
त्यस्तो कुनै खास घटना छैन सम्झनयोग्य । बरु पश्चातापहरु छन् । कतिपय चिज जब लेखिन्छन्, छापिन्छन्, पछि पुन हेर्दा, त्यस्तो नलेखेको भए हुन्थ्यो, लेखिहालियो भन्ने भाव आउँछ । मैले लेखे, कसैको मन दुख्यो, चित्त दुख्यो, त्यो पाप हो कि हैन भन्ने भ्रम उत्पन्न हुन्छ । लेख्ने पात्र र प्रवृतिहरु समाजबाटै खोज्ने हो । जसको बारेमा लेखियो, उनीहरुले चित्त दुखाए कि जस्तो लाग्दछ ।
किनकी, मेरो लेखनको प्रवृति नै आलोचक प्रवृति हो । म कसैको समर्थन वा प्रसंशामा असौत लेख्दिन । बिरलै भएको होला त्यस्तो । आक्कलझुक्कल । आलोचना सिद्धान्तमा पुग कुरा हैन, नपुग कुरा खोजिन्छ । त्यही उधिनिन्छन् र लेखिन्छ । सकारात्मक कुरा त त्यसै छँदैछन् नि, नकारात्मक पाटो चित्रण गर्न सकियो भने त्यो हट्ला भन्ने आशा गरिन्छ । मानिसले प्रसंशा पनि चाहदा हुन्, समर्थन पनि चाहदा हुन् । म त्यतातिर ध्यान दिन्नँ । अझ यसो भनौं त्यतातिर मेरो ध्यान नै जान मान्दैन ।
तपाई यदि लेखक नभएको भए समाज र संसारलाई केही फरक पथ्र्यो ?
सायद पथ्र्यो, सायद पर्थेन । यो इश्वर बल्लभको कविताको शीर्षक ‘आगोका फूलहरु हुन्, आगोका फूलहरु हैनन्’, भने जस्तै कुरा हो । यत्रो समग्र सृष्टिमा म जाबो एउटा मान्छे, मेरो महत्व नै कति होला ?
मेरो स्पेश नै कति होला ? नेपाली भाषा बुझ्ने मानिस नै संसारमा मुश्किलले ५ करोड होलान् । बाँकी ७ अर्ब ४५ करोडले त यो तपाई हामीले लेख्ने भाषा नै बुझ्दैनन् । जसले बुझ्छन्, ती मध्ये मुश्किलले १ प्रतिशतले कतै पढेका छन् कि ? यस अर्थमा मैले नलेखेर समाजलाई कुनै फरक पर्दैन ।
फेरि अर्को तरिकाले हेरौं– लेख्ने मध्येकै कोही त हुने हो लेखक, लेख्दै नलेख्ने त लेखक हुन्न । लेख्दै नलेख्ने मानिस चर्चित वा प्रभावशाली लेखक हुन्न । लेखनको समग्र विश्व स्पेश जत्रो छ, त्यसमा एकदमै सानो, तिलको गेडो जत्रो भए पनि मेरो स्पेश होला, मेरा भाग होला, मेरो योगदान होला । आखिर प्रक्रिया त फेरि पनि यही हो ।
समाज र संसारलाई नै हल्लाउने गरी लेख्ने वा लेख्न सक्ने मान्छे त थोरै औलामा गन्न सकिने नै हुन्छन् । त्यसको पनि अतिरिक्त कारण हुन्छ । असाध्यै राम्रो लेखेको कारण संसार हल्लिएको हैन । ती खास समय र सन्दर्भको कारण महत्वपूर्ण बन्न पुगेका हुन् ।
लेखनका बिषयहरु तपाई कसरी रोज्नु हुन्छ ? खोज्नु हुन्छ ?
म न खोज्छु न रोज्छु बरु लेखनका बिषयलाई अझै भोग्छु । जीवनमा जे भोग्छु, त्यही लेख्छु । जे पढ्छु, सुन्छु, देख्छु, अनुभव गर्छु त्यही लेख्छु । कुन विधामा लेख्ने त्यो छनौटको कुरा होला । शुरुवातमा कविता÷गीत÷गजल लेख्थेँ । पछि कथा लेख्ने भएँ, केही समय । त्यसपछि ननफिक्सनतिर लागेँ । साहित्यको कुनै विधामा केही पनि नलेखेको एक दशकभन्दा बढी भइसक्यो ।
अहिले मैले लेख्ने भनेको दर्शन, राजनीति, अर्थतन्त्र, विश्वमामिला, समाज र संस्कृतिबारे ननफिक्सन टिप्पणीहरु हो । किताब पनि लेखेको छु– समाजवादको यात्रा भन्ने, त्यो पनि ननफिक्सन नै हो । अर्को एउटा ननफिक्सन नै लेख्दैछु, सिद्धान्तको पुनब्र्याख्या भन्ने । धेरै समय लिइसक्यो, सिध्याउन सकिरहेको छैन । असाध्यै सकस भइरहेको छ ।
यी कुनै पनि चीज मैले योजनाबद्ध, कुनै खास प्रयोजनका लागि, कसैको आर्थिक सहयोगमा वा कुनै परियोजना अन्तर्गत लेखेको हैन । तसर्थ मलाई लेखनका विषय न रोज्नु छ, न खोज्नु छ बरु भोग्नु छ ।
लेख्दालेख्दै विरक्त पनि लाग्दो होला है ?
मलाई लेखेर विरक्त लागेको थाहा छैन । विरक्त लाग्ने अरु नै कारण छन् जीवनमा । जस्तो राजनीतिको असहज यात्रा । परिवारिक तथा आर्थिक जीवन व्यवस्थापनका आयाम । बन्ने र बिग्रने सम्बन्धहरु, आफैभित्र बेलाबेला अकारणझैं उत्पन्न हुने भावुकताहरु आदि ।
बरु त्यस्तो बेला लेखनले औषधीको काम गर्दछ । जीवनका अरु पाटाहरु निरर्थक खेर गइरहेको छ भने पनि यो पाटो त छ जीवनलाई सार्थकता दिने भनेर आफूआफैभित्र गमक्क हुन्छु । मेरो सन्दर्भमा लेखन र बिरक्तिबीच कुनै सम्बन्ध छैन । यदि लेखक हुँ भने म एक अविरक्त लेखक हुँ ।
तपाई लेख्नु हुन्छ तर त्यसको संप्रेषण संकुचित र व्यापक हुँदा तपाईमा आउने फेरबदल कस्तो हुन्छ ?
यो धेरै पुरानो प्रश्न भयो मेरा लागि । लेखनका प्रारम्भिक दिनहरुमा त्यस्तो हुन्थ्यो । धेरैले पढिदिउँन चर्चा गरिदिउँनु भन्ने लाग्थ्यो । धेरैले पढे र राम्रो प्रतिक्रिया दिँदा खुशी लाग्थ्यो । करिब ५ बर्ष भयो, अचेल त्यस्तो हुँदैन ।
अचेल वैयक्तिक जीवनमा नै म मानसिक तटस्थताको अभ्यास गर्छु । राग र बैरागन्दा पर वितराग भन्ने एउटा भिन्नै भाव हुन्छ भन्ने विश्वास गर्छु । लेख्छु, दिनु पर्नेहरुलाई दिन्छु । फिडब्याक आए, सोच्छु, ग्रहण गर्ने प्रयत्न गर्छु । अन्यथा बिर्सन्छु । कतिले पढे पढेनन्, कस्ले के भन्दैछन् भन्ने मतलब नै गर्दिनँ ।
एकातिर लेखनको लोक छ,अर्कोतिर तपाईको मनोलोक छ, अझ अर्कोतिर सामाजिक लोक छ, यी तिन लोकलाई कसरी एक वा फरक रुपमा बुझ्नु हुन्छ ?
मेरो दर्शनशास्त्र नै फरक छ । म सर्वाङिगकतावादमा विश्वास गर्छु । यस अघि म भौतिकवादी थिएँ । जतिखेरसम्म भौतिकवादी थिएँ, तपाईले भनेजस्तो समस्या आउँथ्यो । मन एकातिर, परिवार र समाजको अपेक्षा अर्कोतिर, लेखनको समस्या अर्कैतिर हुन्थ्यो ।
अरु पनि धेरै लोकहरु आउँथे । चित्तवृत्ति विभक्त हुन्थ्यो । च्यातिएको कपडाले जाडो नछेकेजस्तो मानसिकता चिसो र लगलगी काँपिरहेको हुन्थ्यो । पछि मलाई के लाग्यो, मभित्र कुनै ग्याप छ, फिलोसफिकल ग्याप, त्यसपछि मैले भौतिकवादलाई परित्याग गरे र सर्वाङगिकतावादलाई अंगाले । अँगाले भन्नु पनि ठीक नहोला, मेरो मानसिकता र चित्तवृत्तिको विकासक्रम विस्तारै आफै त्यहाँ पुग्यो ।
त्यसपछि तपाईले भनेजस्तो समस्या छैन । मेरा लागि मनलोक, लेखनलोक र समाजलोक एउटै हो । एउटै अस्तित्वका फरक पाटा मात्र हुन ती । अब तिनले मलाई विभक्त गर्दैनन्, बरु एकाकार गर्दछन् । बरु एकिकृत गर्दछन् । समस्त सृष्टिसत्ताको सार अनुबोध गराउँछन् । मलाई भन्छन् कि त विराट परमसत्ताको एक अतिसय सुक्ष्मरुप मात्र होस, तँ भित्र त यति धेरै अन्तर्विरोध र दुख्खहरु छन् भने त्यो विराटसत्ताले कति धेरै अन्तर्विरोध र दुख्खहरु धानेको होला ?
म सृष्टिसत्ताको यो प्रश्नसंग कायल मान्छे हुँ । तसर्थ अविभक्त छु । समग्र छु । अस्तित्वको समग्रता नै मैले बुझेको लोक हो, म लोकका ससाना पाटो र पक्षमा विभक्त हुन चाहन्न ।
के लेखेरै जीवन बिताइ दिने हो ?
त्यस्तो भाग्य मेरो जीवनमा जुरेको रहेछ भने म आफूलाई अहोभाग्य मान्छे ठान्ने थिएँ । तर, जुरेको छ जस्तो लाग्दैन । कम्तीमा अहिलेसम्म जुरेको छैन । एक दिनलाई मानक बनाएर हेर्ने हो भने २४ घण्टामा कति घण्टा लेखिएला र ? मुश्किलले औसत ४ घण्टा, त्यो पनि बाटो, भ्रमण, यात्रामा नभएका दिनहरु । चाडपर्ब, व्यक्तिगत भेटभाट र पारिवारिक दायित्वका काम नपरेका दिन मात्र । लेखेरै जीवन बिताउने भाग्य कमैलाई जुर्दो हो ।
वास्तविक जीवनको चित्र यो हो । तर लेखनप्रतिको निष्ठालाई व्यक्त गर्न तपाईले सांकेतिक प्रश्न गरेको हो भने, हो, लेखेरै जीवन बिताउने हो । मर्नुभन्दा एक मिनेट अगाडिसम्म पनि लेख्न सक्ने सहीसलामत मानसिकता र शारिरिक क्षमता होस्, त्यो भन्दा भाग्यको कुरा अरु के होला र ?