कलाकारिताः भुवन केसी भन्दै जिस्क्याउँथे
राजन सिम्खडा
एसएलसी सकिँदासम्म म गीत गुनगुनाउने भइसकेको थिएँ । तिनताक यस्ता गीत गाएर हिंड्दा गाउँका केटीहरू आफूतर्फ आकर्षित भएको आभाष हुन्थ्यो । हुन पनि काठमाडौंमा पढ्ने गोरो, कलकलाउँदो, पढाइमा तगडा कुरकुरे वैंशको केटो । त्यसमाथि एसएलसी फस्र्ट डिभिजन पास भएको ।
घाँस काट्दा, बारीमा जाँदा र खन्दा पनि गीत गुनगुनाइरहने । मान्छेहरू मलाई ‘भुवन केसी’ भन्दै जिस्क्याउँथे । म पनि केटीहरू देखिए भने गायनको ‘भोलुम’ बढाइहाल्थें । जीवनमा आएको त्यो बहार, त्यो रौनक बेग्लैखालको थियो । बैंशसँगै मेरो कला प्रतिभा प्रस्फुटित हुँदै थियो । तिनताक भुवन केसीको फिल्म ‘सपना’ रिलिज भएको थियो । रेडियोमा बजेको सुनेर त्यो फिल्मको एउटा गीत कण्ठ पारेको थिएँ । एसएलसी पास भएको खुसीयालीमा मैले त्यही चलचित्रको गीत गुनगुनाएँ:
‘यो जीवन जिन्दगी सफल हुने भो
कल्पना मनको पूरा हुने भो
सपना सपना सपना !’
मैले कलाकारिताको कखरा गाउँमा ख्यालख्यालमै सिकेको थिएँ । दसैंको छुट्टीमा गाउँ फर्केका बेला शैलेन्द्र काका, जिवेन्द्र दाइहरूले गणेशकुण्ड स्कुलमा सांस्कृतिक कार्यक्रम गर्नुहुन्थ्यो । नाचगान मात्र नभई जिवेन्द्र दाइको लेखन र शैलेन्द्र काकाको निर्देशनमा नाटकसमेत प्रदर्शन हुने गथ्र्यो । मेरो कलाकारिता, खासगरी हाँस्यव्यङ्ग्य कलाकारितामा बाल्यकालका केही घटनाले विशेष प्रभाव पारेको छ । ‘फस्र्ट इम्प्रेसन इज द लास्ट इस्प्रेसन’ भनेझैं । म सम्झन्छु २०३८ सालको त्यो घटना । मेरो कलायात्राको पहिलो विन्दु ।
म ५ वर्ष पूरा भई ६ वर्ष टेकेको मात्रै थिएँ । घरमाथिको कटहरको बोटनजिकै पश्चिमपट्टि चरी तामाङको घर थियो । ठूला मान्छेहरू उहाँलाई ‘चरीबूढा’ भन्थे, हामीचाहिं चरीबाजे भन्थ्यौं । १९९० को भूकम्पमा लक्का जवान उहाँले २०७२ को भूकम्पमा पनि देख्नुभयो । उहाँ हाम्रो माइला हजुरबुवाको खास विश्वासपात्र र सहयोगी । त्यसैले माइला हजुरबुवाले आफ्नै जग्गामा घडेरी दिएर बसोवासको व्यवस्था गरिदिनुभएको रहेछ । जेठी श्रीमतीबाट छोरा नभएकाले उहाँले ५० नाघेपछि कान्छी भित्र्याउनुभएछ । कान्छीबाट ३ छोरी र ३ छोरा जन्मिएछन् । उहाँका छोराछोरीको नाम जुन बार जन्मियो, त्यही । जस्तो ः बिहीबार जन्मिएकी छोरीको नाम बिघा, आइतबार जन्मिएकीको आइती । शनिबार जन्मिएको छोराको नाम सन्तबहादुर तर माइलो छोराको नाम भने रेक्चे थियो, बारअनुसार थिएन । हो त्यही रेक्चे मेरो समवयी थियो । म कहिलेकाहीं खेल्दै उसको घरमा पुग्थें अनि खेल्दै ठूलो बुवाको घर वा पुछारघरतिर झर्थें । एकदिन जिवेन्द्र दाइले सन्काउनुभयो, ‘अई राजन, तँ बाहरू भएको ठाउँमा खुट्टा बटार्दै, ज्यान हल्लाउँदै जा ! अनि के भन् भने आज रेक्चेको घरमा प्रधानमन्त्री सूर्यबहादुर थापा आउनुभएको रहेछ । प्रधानमन्त्री र मैले एक–एक डबका जाँड खायौं । हामीले देश विकास गर्ने कुरा पनि ग¥यौं ।’
ठूलो बुवाहरू फलैंचामा बसेर गफ गर्दै हुनुहुँदो रहेछ । म आँगनदेखि नै खुट्टा बटार्दै, ज्यान हल्लाउँदै पिँढीमा उक्लिएँ र उहाँहरूको अगाडि उभिएर दाइले सिकाएको कुरा हाउभाउसहित भनें । एकछिन त उहाँहरू अकमक्क पर्नुभयो । पछि मैले जँड्याहाले जस्तै खुट्टा बटारेको र ज्यान हल्लाएको नियालेपछि गलल्ल हाँस्नुभो । उहाँहरूको त्यो हाँसोले मलाई ए, यस्तो हाउभाउ ग¥यो भने मान्छेहरूलाई रमाइलो लाग्दो रहेछ भन्ने प¥यो । त्यसपछि आमाहरूको अगाडि पनि त्यही हाउभाउ र भनाइ दोहो¥याएँ । उहाँहरू पनि मरिमरि हाँस्नुभयो । उहाँहरूले त ‘लौ कान्छोले नाटक पनि गर्न जानेछ’ भन्नुभयो । त्यसपछि म झन्–झन् त्यस्तै ‘नाटक गर्न’ हौसिन थालें ।
अज्ञानतावश गरेको मेरो त्यो कार्य अभिनय रहेछ । त्यस्ता कार्यले मलाई मान्छेका अगाडि प्रस्तुत हुन डर लाग्न छाड्यो । नाच्ने, गाउने, खेल्ने र अनेक रचनात्मक काममा म सधैं अगाडि । साथीहरू पनि त्यस्तै थिए । खेल्दैखेल्दै पुछारघर पुग्थें । धीरज र जनक भेटिन्थे । दुवै मेरा दौतरी तर भाइ । रेडियो सुन्न माइला बुवाकहाँ जान्थें । विष्णु दाइ, महेश दाइसँग साह्रै मिल्ने म । स्कुल छुट्नासाथ हामीहरू हतारहतार घर आउँथ्यौं । खाजा खान्थ्यौं । कहिलेकाहीं कोदो टिपेको ठाउँमा नल काट्न जान्थ्यौं । नल काटेर आएपछि खेल्न निस्कन्थ्यौं । धान काटेपछि हाम्रो घरसँगैको गरोलाई खलेगह्रो बनाउने चलन थियो । माटोले लिपेर आँगनजस्तै बनाइएको गरोमा धान झाँटिन्थ्यो, दाइँ गरिन्थ्यो । मास र कोदो चुटिन्थ्यो । हामी त्यहीं खेल्ने गथ्र्यौैं । धीरज, जनक, हरिराम दाइ, विष्णु दाइ, दीपक दाइ, पञ्चे तामाङ (जमदारुङ तामाङका छोरा, हालः दक्षिण कोरिया), नारायण दाइ (दिवङ्गत), महेश दाइ र म त्यहीं डन्डीबियो खेल्थ्यौं ।डन्डीबियोमा कसले कति ठ्याक हान्ने र कति पीर लगाउने भन्ने प्रतिस्पर्धा हुन्थ्यो । हामी मोजाको डल्लो पारेर सानो ‘बल’ बनाउँथ्यौं । अलिपर ससाना ढुङ्गा चाङ लगाउँथ्यौं । बलले हानेर त्यसलाई ढाल्ने खेल खेल्थ्यौं । विष्णु दाइकहाँ साँच्चैको फुटबल र भलिबल पनि हुन्थे । घरमुनिको ठूलो गरामा भलिबल र फुटबल खेल्थ्यौं हामी ।
माइला बुवा लेखापढी पनि गर्ने हुँदा उहाँको घरमा नेपाली कागज ताउका ताउ हुन्थ्यो । विष्णुदाइ नेपाली कागजमा बाँसको सिन्का गमले टाँसेर चङ्गा बनाउनुहुन्थ्यो र लट्टाइमा जोडेर उडाउनुहुन्थ्यो । हामी त्यसमा खुब रमाउँथ्यौं । हरिराम दाइ र पञ्चे गुलेली बोकेर हिंड्ने । चरा देख्नेबित्तिकै ठोकिहाल्ने । जुरेली र ढुकुरको गुँड पत्ता लगाएर तिनका बचेरा नै उठाएर ल्याउँथे, पाल्थे र उडाउँथे । महेश दाइसँग काठको गोरु बनाउने स्पर्धा हुन्थ्यो । हामी कोइरालो र चुवाको हाँगो काटेर गोरु बनाउँथ्यौं । गोरुका दुई सिङ र जुरोजस्तो निस्किएको हाँगो भेटियो कि काटेर जम्मा गथ्र्यौं । त्यसमा छेस्काको खुट्टा हालेर गोरु बनाउँथ्यौं । हामीले त्यस्ता गोरु दर्जनौं बनायौं । कोसँग ठूलो र धेरै गोरु हुने भन्ने प्रतिस्पर्धा हुन्थ्यो । कसको राम्रो, तिखारेको र मोटो डन्डीबियो छ भन्ने कुराले महत्व राख्थ्यो । त्यसरी जानी–नजानी म काष्ठकलाप्रति पनि आकर्षित भएको रहेछु ।
मैले पहिलोपटक टेलिभिजन हेरेको २०४४ सालमा जस्तो लाग्छ । त्यतिखेर दाइ दीपक पिपलटारस्थित मामाघर पढ्न जानुभएको थियो । दाइसँगै म पनि दसैंको टीका थाप्न मामाघर जाने भन्दै भरियाहरुलाई प्रख्यात झार्लाङ्गी आलु बोकाएर पिपलटारतर्फ लागेको थिएँ । बीचमा देउराली भन्ने ठाउँमा बास बस्नुपर्ने भयो । त्यस क्षेत्रका तत्कालीन रापंस डा. प्रकाशचन्द्र लोहनीले देउरालीमा भर्खर–भर्खर बिजुली पु¥याइदिएकाले स्थानीयले फाट्टफुट्ट टेलिभिजन राख्न थालेका रहेछन् । प्रधानपञ्च भइसकेका लौतारी नाम गरेका भलादमीको घरमा हामी बास बस्न पुगेका थियौं । उनको घरमा टेलिभिजन रहेछ । लौतारी बडा दिलदारी मान्छे रहेछन् । उनले घरको पिँढीमा टेलिभिजन निकालेर चालु गरे । आँगनभरि पचास–साठी जना गाउँले नेपाल टेलिभिजनका कार्यक्रम हेर्न झुम्मिए । मैले पनि त्यहीं हो पहिलोपटक टिभीको अनुहारदेखेको । टिभी ब्ल्याक एन्ड हवाइट (श्याम श्वेत) थियो ।
अहो, रेडियोमा आवाज मात्र आउँथ्यो, टिभीमा त बोल्ने मान्छेसमेत देखिँदो रहेछ ! अचम्मै लाग्या’थ्यो । मैले शम्भु राईको ‘चलेछ बतास सुस्तरी’ भन्ने गीत टेलिभिजनमा पहिलोचोटि हेरें । विस्तारै ममा गीत–सङ्गीतप्रति रुचि बढ्दै आयो । म रेडियोमा समाचार, गीतका साथै नाटक पनि सुन्ने गर्थें । शैलेन्द्र काका मुलुककै स्थापित कलाकार भइसक्नुभएको थियो । ‘शैलेन्द्र सिम्खडा नाटक खेल्ने ठूलो कलाकार भइसके रे ! शैलेन्द्रले त फिल्म–टेलिफिल्म पनि खेल्या छन् रे’ भन्ने सुन्थ्यौं । त्यसले नाटकप्रति उत्सुकता झन् बढाउँथ्यो । त्यसैले २०४५–०४६ सालतिर स्कुल पढ्दा नै मैले अलिअलि नाटक गर्न थालिसकेको थिएँ । २०४७ सालमा प्रजातन्त्र आउँदा म मामाघर पिपलटारमा बसेर कक्षा आठ पढ्दै थिएँ । स्कुलको वार्षिकोत्सव कार्यक्रममा हाजिरीजवाफ, निबन्धलगायत प्रतियोगिता आयोजना गरिएको थियो । प्रतिभाशाली विद्यार्थीले आ–आफ्नो कलाकौशल देखाए । सुशील रिजालले शम्भु राईको गीत ‘चलेछ बतास सुस्तरी’ सुन्दर पाराले गाएका थिए ।
मैले रेडियोका चर्चित समाचारवाचकहरू प्रवीण गिरी, सुमन खरेल आदिको स्वर निकालेर समाचार भनें । समाचार भने उट्पटयाङ खालको: ‘आज पोखरामा कोरली गाईहरूले साँढेलाई खेदिरहेको समाचार छ ।’ ‘हाँडीघोप्टे भन्ने देशमा बम विष्फोट हुँदा चारवटा लामखुट्टे र सातवटा झिँगा ठहरै भए ।’ ‘ताप्के ठ्याङठ्याङ भन्ने देशमा दुईजना तस्करलाई चार किलो सुन पुरस्कार दिइयो ।’ आदि ।
स्कुलभरि मेरो चर्चा चुलिएको थियो । ‘सिम्खडा जोकर छ, हँसाउँछ’ भन्थे । केटीहरू पनि नजिकनजिक हुन र साथी बनाउन खोज्थे । थाहा छैन, मलाई माया गरेका हुन् कि मेरो कलालाई ! मेरो हाँस्य प्रस्तुति रमाइलो मानेर दोहो¥याइ, तेह¥याइ गर्न लगाउने ती केटीहरूलाई अचेल फेसबुकका भित्तामा भेट्दा पुराना दिन सम्झन्छु । त्यसैबेलाको एकोहोरो प्रेमभाव झल्काउने गरी मैले केही वर्षपछि एउटा गीत पनि लेखेको थिएँ:
‘धेरैपछि उनीलाई बजारमा देखें
वर्षौंको प्यास मेरो उनलाई हेरी मेटें
बुझ्नै गाह्रो चिन्नै गाह्रो मायालुको नजर
खोला गयो आफ्नो बाटो रोइरह्यो बगर’
काठमाडौं आएपछि पनि शान्ति विद्यागृहको वार्षिकोत्सवमा मैले प्रवीण गिरी र सुमन खरेलको स्वरमा उट्पट्याङ समाचार भनेर सबैलाई हँसाएको थिएँ । मेरो कलाकारिताको चर्चा टोलमा पनि फैलिन थालेको थियो । बालाजुमा मेरो कोठाछेउ रामशरण सिम्खडा (हाल लन्डन) दाइ पनि कोठा लिएर बस्नुभएको थियो । त्यहाँ उहाँका मामा दीपबहादुर अधिकारी बेलाबेला आउनुहुन्थ्यो । दीपबहादुर मामा सेनाको जागिरे । शुक्रबार–शनिबार प्रायः उहाँ त्यहाँ आइरहनुहुन्थ्यो । मलाई छतमा बोलाएर भन्नुहुन्थ्यो, ‘ल भाञ्जा बाबु, तिम्रो एउटा क्यारिकेचर नसुनी भएन, सुनाऊ त !’ म पनि राजा वीरेन्द्र, प्रवीण गिरी, सुमन खरेल, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईलगायतको क्यारिकेचर गरिदिन्थें । मैले त्यसो गरिदिएबापत उहाँ कहिलेकाहीं चकलेट, बिस्कुट किनिदिनुहुन्थ्यो, कहिले भने बाहिर लगेर खाजा नै खुवाउनुहुन्थ्यो । म झन् हौसिन्थें ।
मेरो डेराको छेउमै छिमेकी गाउँ खनियाबासका मेघनाथ रिजालको घर थियो । उहाँको घरमा टिभी भएकाले हामी त्यहीं गएर हेथ्र्यौं । दृश्यचित्र तलमाथि भइरहे पनि, स्क्रिनमा झ्यारझ्यार आइरहे पनि हामी हेर्न छोड्दैनथ्यौं । रचना शर्माले चलाउने ‘गीताञ्जलि’ र प्रियाले चलाउने ‘गोरखाकाली गीतिसन्देश’ मा ‘मोहनी लाग्ला है’, ‘तीनपाते डाँडा काटेर’ आदि गीत खुबै बज्थे । तिनताक शनिबारको फिल्म, महाभारत सिरियल हेर्न मान्छेको भिड लाग्थ्यो । मह जोडीको ‘रात’, रतन सुवेदीको ‘बेमतलब’, सन्तोष पन्तको ‘हिजो आजका कुरा’ जस्ता कार्यक्रम हामी नछुटाइ हेथ्र्यौं ।
फिल्मप्रतिको मेरो मोह १० कक्षा पढ्दादेखि बढेको हो । हरेक शनिबार दिउँसो नेपाल टेलिभिजनले हिन्दी सिनेमा देखाउँथ्यो । हामी कहिले शनिबार आउला र सिनेमा हेरौंला भनेर पर्खन्थ्यौं । टेलिजिभनमा मैले हेरेको पहिलो हिन्दी सिनेमा अमिताभ बच्चनको ‘अजुबा’ हो । हलमा हेरेको पहिलो चलचित्रचाहिं ‘आशिकी’ हो । नयाँ जोडी राहुल राय र अनु अग्रवाल अभिनित यो चलचित्र विश्वज्योति हलमा कृष्ण गजुरेल दाइसँगै हेरेको थिएँ । मामाकी छोरी राधा दिदीले टिकट काटिदिनुभएको थियो । हलमा जति पछाडि बस्यो, चलचित्र उति राम्रो देखिने रहेछ तर हामी भने गाउँमा जात्रा हेरेजस्तै जति नजिक गयो, उति राम्रो देखिन्छ भन्ने ठानेर सबैभन्दा अगाडि गएर बस्यौं ।
चलचित्र सुरु भएपछि के गरुँ कसो गरुँ भयो । टाउको ठाडो पारेर हेर्नुपर्ने । चित्र पनि स्पष्ट नबुझिने । ‘फ्रन्ट बेन्च’ मा बसेर ‘आशिकी’ हेरेको धेरै दिनसम्म मैले ‘बस एक सनम चाहिए आशिकी के लिए’ गुनगुनाएँ । त्यो गीत अल्लारे ठिटाठिटीमाझ हिट थियो ।
फिल्मसम्बन्धी पत्रपत्रिका पनि पढ्न थालें । स्कुलको लाइब्रेरीतिर कमिक्स खोजीखोजी पढ्थें । कामना र भुँडीपुराणले निकाल्ने गाइजात्रे विशेषाङ्क चाख मानेर पढ्थें । शान्ति विद्यागृहनजिकै दुग्ध विकास संस्थाननेर चलचित्र ‘कन्यादान’ को ठूलो ब्यानर टाँगिएको थियो । कपडामा पेन्ट गरिएको त्यो ब्यानरमा गौरी मल्ल र भुवन केसीको आकर्षक चित्र थियो । तल लेखिएको थियो, ‘अपार सफलतासाथ चलिरहेको छ नारीप्रधान चलचित्र कन्यादान’ । शनिबार बिहान आठ बजेको आधा मूल्यमा पाइने मेटिनी शोमा हेरेको थिएँ, ‘कन्यादान’ । गौरी मल्ल र भुवन केसीको अभिनय खुबै मन परेको थियो । त्यसको ‘दुनियाँलाई टाढा छोड, आफ्नै मनलाई सोध’ बोलको गीत म प्रायः गुनगुनाइरहन्थें ।
यसरी किशोरवयमै मेरो नशानशामा ‘इन्टरटेनमेन्ट’ चढ्दै गयो ।
(सिम्खडाको पुस्तक ‘हिंडे पुगिन्छ’को कलाकारिताको कखरा शीर्षकको च्याप्टर)