‘विचार नभए कलाले सिँगारिएको कविता ब्युटीपार्लरमा सिँगारिएकी मृत युवतीजस्तो’
उनी समाज व्यवस्थामा व्याप्त जडतालाई कवितामार्फत भत्काउन सकिन्छ कि भनेर आफूलाई अभिव्यक्त गर्न चाहन्छन् । उनलाई लाग्छ, ‘कविता लेखेर जादु भइहाल्दैन । तर, विचार निर्माणमा त्यसले जब्बर भूमिका भने खेल्छ ।’
भन्छन्, ‘कवि मानवता र वैश्विकतामा जोड दिन्छ । सर्वसाधारण त आफ्नो जात, समुदाय, राष्ट्रियतामा सीमित हुन्छन् ।’
उनको विचारमा ‘विचार नभए कलाले सिँगारिएको कविता ब्युटी पार्लरमा सिँगारिएकी मृत युवतीजस्तो मात्र हुन्छ ।’
कविका कुरामा नेपालनाम्चा प्रस्तुत गर्छ, अभय श्रेष्ठ ।
किन र केका लागि कविता लेख्नुहन्छ ?
कविता सबैभन्दा कम शब्दमा सबैभन्दा धेरै कुरा भन्न सकिने, सबैभन्दा जटिल कुरा सबैभन्दा सरल भाषामा भन्नुपर्ने विधा हो । यसकारण म आफूलाई अभिव्यक्त गर्न कविता लेख्छु । म आफूलाई किन अभिव्यक्त गर्न चाहन्छु भन्ने कुरा यसभन्दा महत्वपूर्ण छ । म समाज व्यवस्थामा व्याप्त जडतालाई कवितामार्फत भत्काउन सकिन्छ कि भनेर आफूलाई अभिव्यक्त गर्न चाहन्छु ।
कविता लेखेर के हुन्छ ?
कविता लेखेर जादु भइहाल्दैन । विचार निर्माणमा त्यसले जब्बर भूमिका भने खेल्छ । विचार हरेक खालका परिवर्तनको बीउ हो ।
कवि भएर चिनिनुमा कति मजा छ ?
यो कुनै ग्लामरको क्षेत्र होइन । यसमा व्यापक चिनारी बन्ने आशा गर्न सकिन्न । तर, कवि भनेको आफूले सही देखेको कुरामा सम्झौता नगर्ने र कपटबिनाको व्यक्ति हो भन्ने धारणा बन्यो भने कवि भएर चिनिँदा गौरव अनुभूति हुन्छ ।
कविहरु आममानिसभन्दा फरक हुन्छन् वा उनीहरु पनि आम मानिसजस्तै हुन् ?
उनीहरूको पनि जीवन र भोगाइ सर्वसाधारणकै जस्तो हुन्छ । तर, उनीहरू सर्वसाधारणजस्तै चाहिँ हुँदैनन् किनभने विचारले नै उनीहरूलाई सर्वसाधारणभन्दा फरक बनाउँछ । जस्तो कि सर्वसाधारण आफ्नो जात, समुदाय, राष्ट्रियतामा सीमित हुन्छन् । कवि मानवता र वैश्विकतामा जोड दिन्छ ।
कविता सत्ता हो भने यो कस्तो सत्ता हो ? र, कवि कस्तो शासक ?
कविताको कक्ष सदैव प्रतिपक्ष हो । ऊ सदैव प्रतिपक्ष र विद्रोही मानसिकतामा हुन्छ । उसको सत्ता नै विद्रोह, रुढी र जीवनविरोधी, मानवताविरोधी प्रवृत्तिको विरोध हो ।
प्रेम हुन्थेन भने पनि कविता हुन्थ्यो ? हुन्थ्यो भने त्यो कस्तो कविता हुन्थ्यो ?
प्रेम हुन्थेन भने जीवन नै हुँदैनथ्यो । यस्तो बेला कविता पनि हुँदैनथ्यो ।
कविताको संसार कस्तो हुन्छ ? के त्यहाँ खुसी मात्र हुन्छ ?
सिर्जनाको संसार बाह्य र अन्तर्दृष्टि दुवै मनोजगतमा विचरण गर्ने शानदार माध्यम हो । कविता वा सिर्जनाले आफैप्रति पनि निर्मम रूपले आलोचक बन्न सिकाउँछ । यति भएपछि लेखक कुनै पनि प्रतिकूलता खप्न सक्ने हुन्छ । खुसी, दुःख वा जुनसुकै स्थितिमा पनि ऊ जीवनवादी, मानवतावादी चाहिँ हुन्छ ।
‘कविता एक वाहियात विलास हो’, कसैले भन्छ भने, त्यसमा तपाईं के भन्नुहुन्छ ?
म त्यसको प्रतिवाद गर्छु । के ऊ मानव सभ्यतालाई वाहियात बिलास भन्न सक्छ ? सक्छ भने ऊ किन यही सभ्यतामा छ ? यो आफ्नै जीवनको जरासम्म पुग्न नसकेको व्यक्तिले भन्ने कुरा हो किनभने सभ्यताको सुरुवातदेखि कविताको अस्तित्व थियो । महसुस गर्न सक्ने हो भने भर्खर जन्मेको बालकको रोदनमा पनि कविता र सङ्गीतको अनुभूति गर्न सक्छ ।
कविहरु जन्मन्छन् । तर, कहिल्यै मर्दैनन् । के यो सही हो ?
भौतिक रूपले त संसारका सबै प्राणी मर्छन् । राम्रा कविहरू आफ्ना कृति र विचारमार्फत सदैव बाँच्छन् । देवकोटा, रिमाल वा भूपीका कविता पढ्दा कसैले पनि तिनलाई मरिसकेको ठान्न सक्दैन । यस अर्थमा कविहरू मर्दैनन् भन्न सकिएला ।
तपाईंका कविता पाठक र समाजका लागि कविता मात्र हुन् कि त्यसभन्दा बढी ?
मेरा कविता खासमा विचारको साँचो हो । विचार व्यक्त गर्न त्यसले कविताको कला र माध्यम रोजेको हो ।
अन्त्यमा थप केही ?
कविता धेरै लेखिनु महत्वपूर्ण कुरा होइन । राम्रा र शक्तिशाली कविता लेखिनु महत्वपूर्ण कुरा हो । यहाँ कला र विचारका बेग्लाबेग्लै तर्क र विवाद छन् । ती दुवै कुरा अधुरा छन् । कला नभई त कविता हुँदै हुँदैन । विचार नभए कलाले सिँगारिएको कविता ब्युटीपार्लरमा सिँगारिएकी मृत युवतीजस्तो मात्र हुन्छ ।