‘हातमा हथौडा हुँदा संसारका सबै वस्तु किलाकाँटी जस्ता लाग्छन्’
घरभन्दा टाढा पोखराको छात्रावासे जीवन, स्कुले शिक्षिकशिक्षिकाले सुनाउने गीत र कथाको प्रभाव, सानैदेखि पाठ्यक्रमबाहिरको पुस्तक पढ्ने बानी, पुस्तकालय सुविधा र अन्तरमुखी स्वभावको कारणले थाहै नपाई सृजनातिर डोहोरिए । उनको पहिलो रचना, ‘म अध्याँरोमा चम्कने तारा हुँ ।’
उनको निम्ति सृजनात्मक लेखन (गैरआख्यान) विचारको संगठनलाई थप प्रष्ट, सुल्झिएको बनाउने र मान्छेको मनोविज्ञान बुझ्ने माध्यम । सृजनात्मक लेखनलाई आफ्नो कुल समयको १५–२० प्रतिशत समयमात्र दिने यी लेखकको कोठाको सेतोपाटीमा आफ्नो व्यवसायीक क्षेत्र, परिवार र साथीभाई, साहित्य र ईक्विटीलाई मोटामोटी कति समय दिने भनेर प्रष्ट लेखेका छन् । भन्छन्, ‘म पूर्णकालिन लेखक होइन ।’
‘एकै स्कुलिङको पुस्तकमा सिमाबद्ध नहुऔं । यसले मान्छेलाई मानसिक दास बनाउँछ । दूर्भाग्य यसखाले मानिसहरुलाई स्वयम मानसिक दास भएको थाहा हुँदैन । त्यसो हुनुको कारण फेरि त्यहि एकसरो चिन्तन पद्धति हो’, उनको सुझाव छ, ‘बहुविधात्मक ज्ञान पद्धति अत्यावश्यक छ । अन्यथा, हातमा हथौडा हुँदा, संसारका सबै वस्तु किलाकाँटी जस्ता लाग्छन् ।’
‘लेखक बोल्छ‘मा नेपालनाम्चा प्रस्तुत गर्छ, रोशन शेरचन ।
कुन घटना, कारण वा प्रेरणाले तपाईं कहिलेदेखि लेखनमा आउनुभयो ?
घटना त्यस्तो केहि छैन । मेरो पहिलो प्रकाशित रचना कविता थियो । कक्षा ३ वा ४ मा पढ्दा स्कुलको बार्षिक पत्रिकामा प्रकाशित भएको थियो, ‘म अध्याँरोमा चम्कने तारा हुँ ।’
घरभन्दा टाढा पोखराको छात्रावासको जीवन, स्कुलको शिक्षिकशिक्षिकाहरुले सुनाउने गीत र कथाको प्रभाव, सानैदेखि पाठ्यक्रमबाहिरको पुस्तक पढ्ने बानी, पुस्तकालय सुविधा र अन्तरमुखी स्वभावको कारणले थाहै नपाई सृजनातिर डोहोरिएको रहेछु कि भन्ने सोच्छु ।
लेख्दा के हुन्छ ? र, नलेख्दैमा के हुन्छ ?
लेख्दा के हुन्छ वा के हुदैन भन्ने प्रश्नको जवाफ शायद लेख्नेले सृजनालाई कसरी लिएको छ, त्यसले निर्धारण गर्दछ । भौतिक वा शारिरिक तहमा त नलेख्दैमा खासै के फरक पर्छ र ? मानसिक तहमा केहि फरक चाहि पर्छ ।
मेरो निम्ति सृजनात्मक लेखन (गैरआख्यान) विचारको संगठनलाई थप प्रष्ट, सुल्झिएको बनाउने र मान्छेको मनोविज्ञान बुझ्ने माध्यम भएकोले, लेख्दा (पठनलाई समेत लेखन यात्राको अभिन्न पाटो मान्दा) आफ्नो जीवन बढी भन्दा बढी सार्थकतापूर्वक बांच्न सकेको अनुभव गर्छु ।
तपाईंले लेखेकै कारण के भएको छ ? केही त्यस्ता घटना सम्झनु हुन्छ, जसको जगमा तपाईंको लेखन थियो ?
छैन । मेरो लेखको कारणले त्यस्तो कुनै घटना भएको, घटेको सम्झना छैन ।
तपाईं यदि लेखक नभएकोे भए समाज र संसारलाई केही फरक पथ्र्यो ?
वर्तमानको कुरो, मेरो लेखनको प्रभाव सानो भएकोले समाज र संसारलाई केहि फरक पर्दैनथ्यो । भविष्यको कुरा, समयको गर्भमा नै रहन दिऔं । तर, यसको अर्थ साहित्यले समाज र संसारलाई फरक पार्दैनथ्यो भन्ने होइन । माथिल्लो तहमा हेर्ने हो भने, माक्र्स, चाल्र्स डार्बिन, सिग्मन फ्रायड र गान्धीकै पुस्तकहरु हेरौं न । यी पुस्तकहरुको प्रभावको व्याप्ति देखेर हामी छक्क पर्छौ नि ।
तपाईका लेखनका विषय तपाईं कसरी रोज्नु हुन्छ ? खोज्नु हुन्छ ?
लेखन यात्राको पछिल्लो समयमा विषयवस्तुको छनौट अत्यन्त महत्वको पाटो हो भन्ने सोचेको छु । कसरी लेख्ने (शैली) त खोज्ने कुरा होइन, बन्ने कुरा हो । तर, कस्तो विषय छान्छ, त्यसले साहित्यको प्रभावमा दुरगामी अर्थ राख्छ ।
गैरआख्यानमा लागेको हुनाले आफ्ना अनुभव, समाज अवलोकन, सामाजिक तथा प्रकृतिसंगको सम्बन्ध, पठन र पदयात्राहबाट बढी विषयहरु टिपेको छु जस्तो लाग्छ ।
लेख्दालेख्दै विरक्त पनि लाग्दो होला है ?
मलाई लेख्दा विरक्त लाग्दैन । यसै म सृजनात्मक लेखनलाई आफ्नो कुल समयको १५–२० प्रतिशत समयमात्र दिन्छु । कोठाको सेतोपाटीमा आफ्नो व्यवसायीक क्षेत्र, परिवार र साथीभाई, साहित्य र ईक्विटीलाई मोटामोटी कति समय दिने मैले प्रष्ट लेखेको छु । विशेष सन्दर्भमा केहि प्रतिशत तलमाथि हुन सक्छ तर ठूलो फेरबदल हुँदैन । म पूर्णकालिन लेखक होइन र हुँदिन पनि । साहित्यमा लाग्दा धेरै आशा नगरेकोले पनि होला, दिक्दारी लागेको छैन ।
मैले लेख्नुपर्छ भनेर करमा लेख्दिन । केहि नौला र मस्तिष्कलाई उद्धेलित गर्ने विषयवस्तु मनमा उठेको देख्दामात्र लेख्छु । त्यसैले होला विरक्तिले गाँजेको छैन ।
तपाईलाई एउटा कुरा खोलुँ, धेरै साहित्यिक साथीहरुले मैले लेख नपठाएकोमा गुनासो गरेका छन् । रचनाकर्म अरुको आग्रहमा, करमा लेख्दा त्यो व्यवसायीक क्षेत्र (प्रोफेशनल फिल्ड) बन्छ । व्यवसायीक क्षेत्रको एकरसतालाई भंगगर्न त साहित्यकर्म गरिन्छ । यसमा पनि बाध्यता आईलागे वा विरक्त लागे, लेखकले पुनर्विचार गर्नुपर्छ ।
तपाईं लेख्नु हुन्छ तर त्यसको संप्रेषण संकुचित वा व्यापक हुँदा तपाईंमा आउने फेरबदल के हुन्छ ?
प्रश्न बुझ्न कठिन भयो । के कारणले संप्रेषण व्यापक वा खुम्चन्छ त्यतातिर केहि प्रष्ट भएको भए, प्रष्ट जवाफ दिन सघाउ हुन्थ्यो ।
मेरो विचारमा, साहित्यको प्रभाव विषयवस्तुको छनौट र त्यसको प्रस्तुतिको योगले निर्धारण गर्छ । पछिल्लो समय म के कुरामा प्रष्ट हुदै गएको छु जस्तो लाग्छ भने (म भ्रममा नहुँला), लेख्नेले के अभिव्यक्त गर्न खोज्दैछ, लेखनको प्रयोजन मोटामोटी थाहा पाउन वा देख्न सक्नुपर्छ नत्र जीवनभर साहित्यको कुईरीमण्डलमै अल्मलिने जोखिम हुन्छ । म त्यस्ता धेरै अस्पष्टता र विरोधाभाषहरु देख्छु, वरपरका लेखकहरुमा । शैली त निरन्तरको अभ्यासबाट आर्जन हुने कुरा हो ।
प्रष्टता, विषयवस्तुको सान्दर्भिकता र कलात्मक प्रस्तुतीले नै त हो, व्यापक तहमा प्रभावको संप्रेषण गर्ने । समयलाई जितेका बाहिर र हाम्रै साहित्य हेर्न हो भने त्यो देख्न सक्छौं ।
फेरबदलको बारेमा त खै के भनु ?
एकातिर लेखनको लोक छ, अर्कोतिर तपाईंको मन–लोक। अझ अर्कोतिर समाजलोक ।यी तीन लोकलाई कसरी एक वा फरक रुपमा बुझ्नु हुन्छ ?
यी अन्तरसम्बन्धित लोक हुन् । मेरो विचारमा यी लोकहरुबीच विरोधाभाष छैनन् । कहिले लेखकले आफूभित्र भिन्न मनोजगतको रचना गर्छ जुन तर बाहिरको समाजबाट असम्बन्धित वा अछुतो हुदैन । बाहिरको समाजकै प्रभाव त्यसमा पर्छ । लेखकको विश्व दृष्टिकोण र समाजको गति निरन्तर अन्तरक्रियामा रहन्छ ।
माथि भनिएका लोकहरुलाई फरक रुपमा नबुझदा राम्रो । फरकै मान्ने हो भने पनि (तर, त्यो भाषिकमात्र हुन्छ), यी एक आपसमा सम्बन्धित छन् भनेर बिर्सनु भने हुदैन ।
नयाँ आउने लेखकहरुलाई तपाईंको अनुभवमा आधारित केही टिप्स, सल्लाह र सुझाव ?
मेरो अढाई दशकको अनुभवको आधारमा (पहिलो संग्रह २०५३ लाई आधार लिँदा) नयां लेखकहरुलाई शायद यी तीन सुझावहरु उपयोगी होला ।
पहिलो, मान्छेको अनुभवको सीमा छ तर पठनको संसारको दायरा धेरै फराकिलो । पठनको संसारबाट व्यापक लाभ लिऔ ।
दोश्रो, एकै स्कुलिङको पुस्तकमा सिमाबद्ध नहुऔं । यसले मान्छेलाई मानसिक दास बनाउँछ । दूर्भाग्य यसखाले मानिसहरुलाई स्वयम मानसिक दास भएको थाहा हुँदैन । त्यसो हुनुको कारण फेरि त्यहि एकसरो चिन्तन पद्धति हो । बहुविधात्मक ज्ञान पद्धति अत्यावश्यक छ । अन्यथा, हातमा हथौडा हुँदा, संसारका सबै वस्तु किलाकाँटी जस्ता लाग्छन् । चार्लीमंगर बाजेको भनाई ।
तेश्रो, आफूलाई अभिव्यक्त (एक्सप्रेस) गर्ने उत्प्रेरणाले लेखौ, कसैलाई प्रभाव (इम्प्रेस) पार्न होइन । लेखनमा ईमान्दारिता अत्यावश्यक छ । अघिल्लो उत्प्रेरणा नै मुहान हो, जहाबाट इमान्दारिता निसृत हुन्छ ।