म कतै हराएर भेटिनका लागि लेख्छु

उनी कविता लेख्छन्, मनमा कुन्डली मारेर बसेका उकुसमुकुस र आनन्दहरूलाई जीवनको नदी छेउ वा कुनै बिरानो जंङगलमा बसेर बुशक्राफ्ट गर्न । र, लेख्ने समय आफूलाई कुनै निर्जन दुनियाँमा हराएर सबैभन्दा बढी पाउँछन् आफैलाई, सबैभन्दा स्पष्ट । कतै हराएर भेटिनका लागि लेख्छन् ।

‘कविता खराब सत्ताको विरुद्धमा उभिने र त्यसलाई कुशल अभिभावक बन्न सतर्क गराउने असल सत्ता हो’, उनलाई लाग्छ, ‘कतिपयलाई यो प्रतिबन्धित नै गरिनुपर्ने बेकामको विधा लाग्छ किनकि कवितासँग सत्ता डराउँछ ।’

‘अतिसयोक्ति नमानियोस्, कारणवस पृथ्वीको अन्त भयो भने पनि यदि कुनै अर्को ग्रहमा पृथ्वीको कुनै चीज बाँच्दछ भने त्यो एलियनले पृथ्वीबाट उठाएर लगेको कुनै कला वा कविता हुनेछ’, भन्छन्, ‘सार्थक कविता पाठक, समाज र समयका लागि विशेष उपहार हो ।’

नियमित स्तम्भ कविका कुरामा नेपालनाम्चा प्रस्तुत गर्छ, भूपिन

किन र केका लागि कविता लेख्नुहन्छ ?
म कविता लेख्छु- मभित्रको मौलिक र सिर्जनशिल मानिसको समय, समाज, प्रकृति र मानव जीवन हेर्ने दृष्टिकोणलाई शाब्दिक पेन्टिङ गर्न । म कविता लेख्छु- मनमा कुन्डली मारेर बसेका उकुसमुकुस, छटपटि र आनन्दहरूलाई जीवनको नदी छेउ वा कुनै बिरानो जंङगलमा बसेर बुशक्राफ्ट गर्न ।

कविता लेखेर के हुन्छ ?
लेख्ने समय म आफूलाई कुनै निर्जन दुनियाँमा हराएर सबैभन्दा बढी पाउँछु आफूलाई । सबैभन्दा स्पष्ट पाउँछु आफूलाई । विशेष कुरा पाउनका लागि कलाको जङ्गलमा हराउनु मेरो व्यसन हो । म कतै हराएर भेटिनका लागि लेख्छु । म विश्वास गर्छु- लेखनले मेरो सिर्जनात्मक संस्कृतिलाई जीवित राख्छ । आफूलाई परिष्कृत गर्ने पर्यावरण निर्माण गरिदिन्छ ।

कवि भएर चिनिनुमा कति मजा छ ?
प्रतिभा र सिर्जनात्मक क्षमताका कारण चिनिने अन्य धेरै माध्यमहरू छन् दुनियाँमा । कविता केवल एक माध्यम हो । अहिले कैयन ठाउँमा नामले भन्दा बदनामले, सत्कर्मले भन्दा कुकर्मले चिनिने र गर्वले हिँड्ने कैयौँ मानिससँग तर्किएर हिँड्नु पर्ने समय पनि आयो । यस मामलामा म जडसुत्रवादी छु । कविता अपराध नभएकाले कविता-कर्म गरेर चिनिनुमा बढी गर्वको अनुभूति हुन्छ । मैले विश्वपीडा बोकेर हिँड्ने केही कवि-बुद्धहरू पढेको छु र उनीहरूको बाटो पछ्याएको छु । म उनीहरूको बाटोको एक उत्तराधिकारी हुँ । यो बाटो मेरो मनले रोजेको सर्वप्रिय बाटो हो । मनले रोजेको बाटो भएकाले यसप्रति कुनै गुनासो छैन । गुनासो नभएकाले कुनै दुख पनि छैन । आनन्द मात्र छ । मजा मात्र छ ।

कविहरु आम मानिसभन्दा फरक हुन्छन् वा उनीहरु पनि आम मानिसजस्तै हुन् ?
कविहरू आम मानिसका दुखहरू पनि बाँचिदिने, तिनलाई लेखिदिने र व्यवस्थालाई प्रश्न र खबरदारी गर्ने चेतना हुन् । एक कविलाई आफ्नो जीवन मात्रै बाँच्ने अवसर मिल्दैन । कवि एकसाथ धेरै जीवन बाँचिरहेको हुन्छ । त्यसकारण असन्तुलनको खतरा पनि भोगिरहेको हुन्छ ।

कविता यदि सत्ता हो भने यो कस्तो सत्ता हो ? र, कवि कस्तो शासक ?
कविता खराब सत्ताको विरुद्धमा उभिने र त्यसलाई कुशल अभिभावक बन्न सतर्क गराउने असल सत्ता हो । कतिपयलाई यो प्रतिबन्धित नै गरिनुपर्ने बेकामको विधा लाग्छ किनकि कवितासँग सत्ता डराउँछ । यो कविताको शक्ति हो ।

प्रेम हुन्थेन भने पनि कविता हुन्थ्यो ? हुन्थ्यो भने त्यो कस्तो कविता हुन्थ्यो ?
कविता प्रेम यात्रा हो । मानवप्रेम, माटोप्रेम, देशप्रेम, हृदयप्रेम, ज्ञानप्रेम, प्रकृतिप्रेम… प्रेमबिना कविताको अस्तित्व सम्भव छैन । मैले मेरो कविता सङ्ग्रह ‘हजार वर्षको निद्रा’मा यही लेखेको छु । प्रेमबिना सायद कविता त हुन्थ्यो, तर यति सुन्दर, आनन्ददायक र मात लाग्ने चाहीँ अवश्य हुँदैनथ्यो ।

कविताको संसार कस्तो हुन्छ ? के त्यहाँ खुशी मात्र हुन्छ ?
कविता जीवनका बहुल रङ्गहरूको सुन्दर ग्यालरी हो । कुनै एक रङ्गले मात्रै न जीवनको ग्यालरी आकर्षक बन्छ, न ग्यालरीको जीवन पूर्ण हुन्छ । कविताको ग्यालरीमा जीवनको प्रतिबिम्व हुने हुनाले बहुल रङ्गका स्ट्रोक जरुरी हुन्छन् । स्ट्रोकमा बहुल रङ्गहरू जरूरी हुन्छन् ।
दुख, खुसी, उज्यालो, अँध्यारो, तनाव, संघर्ष, पूर्णता, शून्यता, हल्ला, मौनता, संगठन, विघटन, नियम, अराजकता, सिर्जना, विध्वंस आदि यावत रङ्गहरूको कोलाजले नै जीवनको क्यानभाश सजिन्छ । त्यसकारण कुनै एक रङ्गको उपस्थिती वा अनुपस्थितीलाई नै जीवन मान्नु भ्रम हो । कविताको संसार न दुख मात्र भएर पूर्ण छ, न खुसी मात्र भएर ।

‘कविता एक वाहियात विलाश हो’, यदि कसैले भन्छ भने, त्यसमा तपाईं के भन्नु हुन्छ ?
यदि कविता (सिर्जना/कला) वाहियात विलास हो भने, जीवनमा गुणवत्ताको खोजी पनि वाहियात विलास हो, वाहियात खोजी हो । सिर्जनात्मकता बिनाको जीवन पानी बिनाको धरती समान हुन्छ । पानी बन्नका लागि हाइड्रोजनको एक अणुसँग अक्सिजनको डबल अणु मिल्नु पर्छ ।

कविहरु जन्मन्छन् । तर, कहिल्यै मर्दैनन् । के यो सही हो ?
नक्कली कवि वा कविता धेरै बाँच्दैन । साँचो कवि वा कविता छिट्टै मर्दैन । अतिसयोक्ति नमानियोस्, कारणवस पृथ्वीको अन्त भयो भने पनि यदि कुनै अर्को ग्रहमा पृथ्वीको कुनै चिज बाँच्दछ भने त्यो एलियनले पृथ्वीबाट उठाएर लगेको कुनै कला वा कविता हुनेछ । मलाई यस्तो लाग्छ ।

तपाईंका कविता पाठक र समाजका लागि कविता मात्र हुन् कि त्यसभन्दा बढी ?
आफ्ना कविताको बारेमा आफैले टिप्पणी गर्नु मलाई रुचीकर लाग्दैन । सत्य के हो भने हरेक सार्थक कविता पाठक, समाज र समयका लागि विशेष उपहार हो ।

अन्त्यमा केही ?
थप कुरा मेरा कविताहरू नै बोलुन् । म अल्छी कविलाई यति धेरै गफ गर्न प्रेरित गर्ने पत्रकार मित्र अशोक जीलाई धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button