ऊ हैन, उसको नाममात्र भेटिनेछ
कौशल काफ्ले
म खोज्दै थिएँ
उसको नाम, उसको ठेगान
गाउँ-शहर सबै चहार्दै
हो, खोज्दै थिएँ उसैलाई
जो मानवसागरको क्षितिजसम्म नियाल्दै
आफैँ खोज्दै थियो
देशमा उज्यालो ल्याउन
नेतृत्वमा सुर्यका किरणहरु
उसकै खोजीमा निरन्तर हिंड्दै गर्दा
कहिलेकाहीँ थकाइको चौतारीमा
विश्राम गर्थें र सोच्थेँ,
देश बनाउन घर छोडेको ऊ
‘कतै संसारबाटै त अस्ताएन ?
न कतै देश बदल्छु भन्ने उसले
आज आफ्नै भेष त बदलेन ?’
यस्तैयस्तै मनोवाद गर्दै
कल्पनाको हवाइजहाजमा
उडिरहेको मलाई झल्यास्स बिउँझादियो
त्यो डरलाग्दो सत्यले
र भेट्टाइदियो उसलाई
जहाँ
अब ऊ हैन, उसको नाममात्र भेटिनेछ ।
हो, सरकार
त्यो ‘ऐत ब. परियार’ उसकै नाम हो,
जो
सपनाको भारी बोक्दाबोक्दै आज
लखेटिएछ यो संसारबाट
र, लखेटिएछन् उसका सपनाहरु पनि
ल हेर्नुस् त,
मुलुक बदल्छु भनेर हिंड्दा सामन्तीहरुले
उसको जुनी नै बदल्दिएछन्
सरकार
मैले खोजेको ‘ऊ’ त आज
‘सहिद’ पो भएछ
र, भएछ सुन्दर सपनाहरुको भ्रूणहत्या ।
(नोटः कवि कौशलले यो कविताको शीर्षक राखेका थिए, ‘मैले खोजेको ऊ’)
…
(प्रिय साथी !
तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि विधामा रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)