हिजोआज धेरै लेखक ‘सूर्यमुखी फूल’जस्ता
उनकी निरक्षर आमा रामायण, महाभारत र गुणरत्नमाला भट्याउँथिन् । आमाले गुनगुनाउने तिनै श्लोकहरुले उनीभित्र लेखकीय बीउ उम्रिन, झ्याँगिन र फैलिन मद्दत ग-यो । १८ वटा किताब लेखिसके । तर, थकान र अल्छी पटक्कै छैन । लेखनलाई उत्साह दिन रातोदिन खटिरहेकै छन् । भन्छन्, ‘खेती किसानी गर्दा आली लाउन जान्दिनँ, व्यापार गर्दा सम्भवतः नोक्सान मात्र हुन्छ होला, उद्यमी बन्दा ऋणले डुब्न सक्छु होला– अक्षरबाहेक अरु मेरो कुनै जिन्दगीको ग्रन्थ पनि छैन, पूजाआराधना पनि छैन र सिद्धान्त पनि छैन ।’ उनलाई लाग्छ, ‘लेखनले एन्टीबायोटिकको नभए पनि जिरापानीको काम भने अवश्य गरेको हुन्छ ।’
नेपालनाम्चाले सुरु गरेको नयाँ श्रृंखला हो, ‘लेखक बोल्छ’ र पहिलो अंकमा निबन्ध र नियात्राका ‘उस्ताद’ युवराज नयाँघरे ।
कुन घटना, कारण वा प्रेरणाले तपाईं कहिलेदेखि लेखन लोकमा आउनु भयो ?
प्रतिभाबाट कुनै पनि व्यक्ति पर रहेको हुँदैन । धेरथोरको कुरा मात्र हो । मभित्र पनि लेखन, विचार र प्रस्तुतिको प्रतिभा रहेछ । त्यसले अलि व्यवस्थित ढंगले बाटो खोजेको रहेछ । त्यो बाटो नै मेरा लागि सिर्जनात्मक लेखन हुन पुग्यो ।
मेरो जीवनमा आमाको ठूलो प्रभाव रहेको छ । मेरी निरक्षर आमा रामायण, महाभारत र गुणरत्नमाला भट्याउनु हुन्थ्यो । उहाँले सधैँ गुनगुनाउने गरेका यिनै धार्मिक श्लोकहरुले म भित्रको लेखकीय बीउ उम्रिन, झ्याँगिन र फैलिन मद्दत ग-यो । आफ्नै कापीमा सीमित मेरो लेखन कला २०३६ को आसपासदेखि सार्वजनिक रुपमा देखापर्न थालेको हो ।
लेख्दा के हुन्छ ? र, नलेख्दैमा के हुन्छ ?
लेख्नु भनेको आफूलाई पोख्नु हो । आफूलाई हलुँगो पार्नु हो । सुरुका दिनहरुमा लहडबाजी र रहरको गोरेटोमा कुदे पनि पछि गएर जिम्मेवारी र कर्तव्य बोधले गर्दा मेरो लेखन यात्रा आजका मितिसम्म निरन्तर छ । सुरुमा मैले समय चिन्नको लागि लेखेको थिएँ भने अहिले आएर चिनेको समयले आपूmलाई सचेत भएर लेख्न लगाउँछ ।
त्यही समयभित्र समाज, संस्कृति, सभ्यता, जनजीवन, प्रकृति र प्रविधिका अनेक उतारचढावहरु गाँसिन पुग्छन् । लेख्दा यी माथिका पक्षहरु समाजलाई नै लेखकले दिएको हुन्छ । नलेख्दा माथि उल्लेख गरिएका पक्षहरु मेरो दृष्टिकोणबाट आउने प्रतिक्रियाबाट समाज वञ्चित हुन्छ । यसैले नलेख्नुभन्दा लेख्नु धेरै अर्थले अमूल्य, अर्थपूर्ण र अनन्य हुन्छ ।
तपाईंले लेखेकै कारण के भएको छ ? केही त्यस्ता घटना सम्झनु हुन्छ, जसको जगमा तपाईंको लेखन थियो ?
लेख्नु भनेको बन्दुक पड्काएर, तीर चलाएर वा बाँध फुटाएर ल्याइने परिवर्तन होइन । यसले त समाजलाई, समुदायलाई, व्यक्तिलाई अनुशासित र मर्यादित बनाउने अनुभूतिजन्य शिक्षा बाँड्छ । अझ मानवीय गुणले उदात्त भएर आफूलाई मात्र नभएर पृथ्वीसँग गाँसिएका धेरै जीवजन्तु, खोलानाला र अदृश्यपक्षलाई समेत स्नेह र आदर गर्न मानिसलाई सिकाउँछ ।
समग्रमा मानिस हुन सिकाउने ज्यादै भावनात्मक र कोमल चरित्रको विकास लेखनले नै गराउँछ । म अँध्यारो, अन्याय, अत्याचार र विभेदका विरुद्धमा निबन्ध र नियात्रामा सम्बोधन गरिरहेको हुन्छु । मलाई लाग्छ, यसले एन्टीबायोटिकको काम नगरे पनि जिरापानीको काम भने अवश्य गरेको हुन्छ । किनभने मेरै लेख, रचना पढेर कतिले यात्रा गरेको र त्यहाँ गएर प्रकृति र संस्कृतिको आनन्द लिएको मैले मनग्गै सुनेको छु । त्यसलाई अर्थसँग वा ठूलो उपलब्धीसँग नगाँसे पनि समाजको चेतनालाई सकारात्मकताको तरंग दिएको मैले अनुभव गरेको छु ।
हरेक लेखकले राजमार्ग होइन, गोरेटो नै पहिला त कोरेको हुन्छ । तिनै गोरेटोमा हजारौं वर्षको अभ्यास र प्रभावले चिल्ला राजमार्गहरु बन्न पुगेका हुन्छन् । मेरो लेखन पनि एक अर्थमा त्यस्तै हो ।
तपाईं यदि लेखक नभएकोे भए समाज र संसारलाई केही फरक पथ्र्यो ?
केही फरक पर्दैनथ्यो । रुखबाट खसेका पातहरु तुलसीको मोठमा प-यो भने ती प्रसादको रुपमा कहलिन्छन् । मलखाडीमा खसे भने ती कुहिएर मल बन्न पुग्छन् । म आफूलाई हावाले उडाएर ल्याएको र तुलसीको मठमा खसेको रुखको पातको रुपमा मूल्यांकन गर्छु ।
हरेक व्यक्तिले संसारलाई कुनै न कुनै सेवा, समर्पण र साधनाले गति दिएको हुन्छ । कोही बालुवाको चित्र बन्छन् भने कोही बगिरहेको पानीको भूमरी बनेका हुन्छन् । कोही हावाको गुजुल्टो जस्तो भएर पोखिन्छन् भने कोही पग्लेर जाने हिमालमा पनि आकार बनेका हुन्छन् । हेर्न सक्दा, बुझ्न सक्दा र नियाल्न सक्दा हरेक चित्रले एउटा भावना र एउटा गहिरो दर्शनको तथ्य पस्केका हुन्छन् । सम्भवतः मेरो उपस्थिति पनि समाजको लागि त्यही नै हो ।
लेखन विषय कसरी रोज्नु हुन्छ ? खोज्नु हुन्छ ?
समाजले बेवास्ता गरेका विषयहरु मेरा निबन्धका आधार हुन् । राजनीति, अर्थनीतिबाट कोल्टो परेको समुदायलाई म आफ्ना निबन्धका विषय बन्न रुचाउँछु । म ठूला–ठूला दर्शन र सिद्धान्तका कुरा गर्दिनँ । उपेक्षित, अपहेलित र सबैबाट दुत्कारिएका मानिसहरुका कथालाई म आफ्नो ठेट र झर्रो शैलीमा निबन्धमा पोख्छु । यो पोख्नको लागि समाज पढ्नु पर्छ ।
विशेष गरी दुरदराज र अत्यन्त विकट भूगोलमा रहेको समाजमा अन्तर्निहित संस्कृति र त्यहाँको जनजीवन पर्गेलेर लेख्न मलाई विशेष मन पर्छ । त्यसै कारणले म यात्रा धेरै गर्छु । ७७ जिल्ला घुमिसके पनि मैले सबै चित्र र चरित्रलाई उतार्न सकेको छैन । समय क्रममा लिपिबद्ध गर्नेछु । दुःख र अभाव, आँसु र हेला, भोक र खाँचो, अविकास र अपमानका चित्रहरु धेरै हेरेँ । तर, तिनलाई अझै पनि मनैदेखि खिपेर लेख्न सकिरहेको छैन, भ्याइरहेको छैन ।
हाम्रा माझीका कथाहरु, गोठालाका कथाहरु, भरियाका कथाहरुलाई नजिकबाट देखे पनि अक्षरका लहरमा उतारिहाल्न कहिले पाउँछु भनेर सधैँ आतुर हुन्छु । खासगरी देश भित्रै पनि कतिपय यस्ता भूमिहरु मैले देखेँ, जहाँ नेपालको सरकार, कानुन, पार्टीहरु र प्रशासनको एक थोपो उपस्थिति छैन । ती ठाउँको बारेमा आउँदा दिनमा लेख्ने मेरो विशेष इच्छा र हुटहुटी छ ।
लेख्दालेख्दै विरक्त पनि लाग्दो होला है ?
१८ वटा किताब लेखिसक्दा पनि मलाई थकान र अल्छी पटक्कै लागेको छैन । मेरो लेखनलाई उत्साह दिन म नै रातोदिन खटिरहेको छु ।
हिजोआज स्वतन्त्र लेखक, प्रतिबद्ध लेखक मात्र भएर पुग्दैन– हनुमान वा गणेश लेखक हुनु पनि जरुरी छ । म हनुमान वा गणेश लेखक बन्ने पक्षमा छैन । त्यसो हुँदा जीवन यापनमा यदाकदा कठिनाइ भए पनि त्यसलाई जित्दै अगाडि बढिरहेको छु ।
बेला–बेला विरक्तभन्दा पनि दुःखी हुन्छु । तर त्यो दुःखलाई मेरो आफ्नै उत्साह, जोस र समर्पणले फेरि मलमपट्टीको काम गरिहाल्छ ।
तपाईं लेख्नु हुन्छ तर त्यसको संप्रेषण संकुचित वा व्यापक हुँदा तपाईंमा आउने फेरबदल के हुन्छ ?
आजको लेखकलाई प्रविधिसँग पनि जोडिएर काम गर्नु परेको छ भने लेखकीय सत्ताको चोखो भावनागत संसारमा पनि अडिनु परेको छ । यसैले राम्रो कुरा लेखिसकेपछि फैलिनु त आवश्यकै छ । तर फैलिने नाउँमा अनावश्यक प्रचारप्रसार र दगुरादगुरको महत्व हुन्छ जस्तो मलाई लाग्दैन ।
म तातै खाऊँ जली मरौं भन्ने स्वभावको परिनँ । राम्रो विषय, गम्भीर प्रस्तुति, विशिष्ट शिल्प कलामार्फत् समाजमा उभिन सकियो भने त्यसले राम्रो नतिजा त ल्याइहाल्छ । साथै त्यो लेखकले समाजमा राम्रो र आदरभाव पनि पाइहाल्छ ।
हिजोआज धेरै लेखकहरुको अवस्था सूर्यमुखी फूलको जस्तो छ । बिहान सूर्यतिर फर्के पनि बिस्तारै–बिस्तारै बेलुकीपख निहुरिएर पश्चिमको भूइँतिर लत्रिन पुगेको हुन्छ । म यो स्थितिबाट पनि सचेत छु ।
एकातिर लेखनको लोक छ, अर्कोतिर तपाईंको मन–लोक । अझ अर्कोतिर समाजलोक । यी तीनलोकलाई कसरी एक वा फरक रुपमा बुझ्नु हुन्छ ?
हरेक प्राणीको अवस्था जस्तै हो यो लेखन संसार पनि । गर्भावस्था, जन्माइ र त्यसपछिको जीवनयात्रा । मैले आफ्ना रचनाहरु पूर्णताका लागि लामै समय पनि खर्चेको छु । त्यसलाई सम्पादन र सिँगारपटार गरेर धेरै समय लगानी पनि गरेको छु । त्यसपछि त्यसबाट पाठकले दिएको गाली, ताली पनि दुवै पाएको छु । लेखकले ध्यान अथवा दर्शनलाई बुझिसकेपछि सबै कुरा साम्य हुन्छन् । म आफ्नो सिर्जनायात्रालाई त्यही हेराइले बुझ्ने गर्छु ।
लेखेरै जीवन बिताइदिने हो ?
जीवनको आगमन पनि थाहा भएन, प्रस्थान पनि थाहा छैन । आपूmले पाएको यो लोकको उमेर मोटामोटी हिसाबमा तीन खण्ड बितिसक्यो जस्तो लाग्छ । अब कति पृथ्वीमा बाँचिन्छ होला र ?
यत्तिका उमेर त संसार पढेर, मानिस बुझेर, संस्कृति गमेर— कपी, कलम र भावनामै बित्यो भने अब अर्को पेशा वा धन्दा के होला र मेरा लागि ? खेती किसानी गर्दा आली लाउन जान्दिनँ, व्यापार गर्दा सम्भवतः नोक्सान मात्र हुन्छ होला, उद्यमी बन्दा ऋणले डुब्न सक्छु होला– अक्षर बाहेक अरु मेरो कुनै जिन्दगीको ग्रन्थ पनि छैन, पूजाआराधना पनि छैन र सिद्धान्त पनि छैन ।
अब अहिलेसम्म पढेको जिन्दगीको ग्रन्थ, गरिएको पूजाआराधना र मानिएको सिद्धान्त छोडेर म समयको उल्टो धारतिर कसरी बग्न सकुँला ? जीवन तपाईंले भनेजस्तै साँच्चि नै लेखेरै बिताइन्छ ।
नयाँ आउने लेखकहरुलाई तपाईंको अनुभवमा आधारित केही टिप्स, सल्लाह र सुझाव ?
हिजोआज संसार नपढ्ने, आफूलाई मात्र पढाउने हुटहुटी धेरैको देखिन्छ । हिजोआज आफू दुनियाँलाई हेर्दै नहेर्ने आफूलाई मात्र दुनियाँसामु पस्कने होडबाजी धेरैको छ । हिजोआज आफूलाई ननिहाल्ने तर जगत्लाई चिनेको हुइँया देखाउने तुजुक मनग्गेको छ ।
नयाँ साथीहरुले मेरा यत्ति कुरा सुनिदिनु भए पुग्छ । आफ्नो घरको भित्तो, आफ्नो कमेरो, कालीमाटी, आफ्नै चुनढुंगा र आफ्नै हत्केलाले मुछेर पुछपाछ गरेको जाती । सिको गरेर हल्लाको पछि नकुदेकै राम्रो ।
नेपाली भाषा भनेको आमाको गर्भबाटै आफ्ना नसामार्फत् आएको चेतनाको पहिलो रगतको सिर्का हो । त्यो सिर्कालाई हेला गरेर जानु भनेको मुटुमा कुद्ने रगतलाई बिखालु बनाउनु हो । नयाँ पुस्ताले विष हुनबाट आफ्नो रगत बचाउने मैले आशा गरेको छु ।