‘सम्बन्ध’ कथाः पहिलो प्रेम

बबिता बस्नेत

तपाईको पहिलो प्रेम ?
मेरी श्रीमती अपेक्षा ।

भेट कहिले भएको थियो ?
२०५५ सालमा, त्यत्तिबेला म ३६ बर्षको थिएँ ।

त्यत्तिका बर्षसम्म कुनै केटीसँग तपाईको सम्बन्ध भएन ?
खै ! पढाइ र करियरको दौडादौडमा त्यतातिर सोच्दै सोचिएन ।

प्रेमको सुरुवात कसरी भएको थियो ?
पार्टीमा भेट भयो, आँखा जुध्यो, फेरि दोश्रो पटक भेट भयो यस्तै यस्तै … ।

विवाहको प्रस्ताव कस्ले राख्यो ?
मैले नै राखें, उनी त पछिसम्म ‘रिजर्भ’ थिइन् ।

टेलिभिजनमा आउदै गरेको यस्तो अन्तवार्ता खुब रमाइलो मानेर हेरिरहेका विश्वासले श्रीमतीपट्टि फर्किएर केही भन्न खोज्दा ऊ पसिना पुछिरहेकी थिइ ।

‘यस्तो जाडोमा पसिना ? के भयो ?’

प्रश्न नसकिदै उसले भनी, ‘खासै केही होइन । खै ! आज मलाई दिउँसैदेखि के भइरहेको छ … ।’

‘हैन, यो मान्छे जीवनको ३६ बर्षसम्म कसैसँग सम्बन्ध नबढाई बस्यो होला त ?’, विश्वास एक्लै बोले ।

अन्तवार्ता चलिरहेको थियो ।

उनीसँगको भेटले मलाई जिन्दगी के हो भन्ने बुझायो… जीवनमा प्रेम के हो भन्ने मैले महशुस गर्न पाएँ । म अहिले सम्झन्छु, उनलाई नभेटेको भए जीवन कति निरश हुने थियो होला…आदि आदि ।

यता आउ, विश्वासले सभ्यतालाई आफु नजिक बोलायो र उसको टाउको काखमा राख्दै भन्यो, ‘तिमीलाई सन्चो छैन, भोली काममा नजाउ ।’

‘हुन्छ’, आज्ञाकारी भावमा उसले भनी र आँखा चिम्लिइ ।

आँखा चिम्लिएपछि विगतका अनेकौं घटनाहरु सजीव भएर अगाडि आए । अन्तरवार्तामा सोधिएको प्रश्न ‘पहिलो प्रेम ?’ ले उसलाई जति झस्काएको थियो त्यसको जवाफले त्यति नै रिल्याक्स बनायो । उसले सोची त्यति ठुलो झुटमा पनि उ कति इमान्दार झैं प्रस्तुत भइरहेको थियो ।

सतिसलाई भेट्दा उ भरखरै एसएलसी गेरर कलेज प्रवेश गरेकी थिइ । गाउँबाट आएको सरल त्यो मुहार र आनीबानीले उसलाई क्रमिक रुपले आकर्षित गर्दै लगेको थियो । राजनीतिक कुराहरुमा खुब चासो राख्ने सतिसलाई उ लाइब्रेरीमा भेट्न चाहन्थी तर उनीहरुको भेट भनें सधै क्यान्टीनमा हुन्थ्यो । कालो कालो अनुहारको ऊ त्यति राम्रो थिएन तर उसको बोलीचाली र राजनीतिक सचेतना प्रशंसनीय थियो ।

‘के तिमी मलाई जिन्दगीभर साथ दिन सक्छ्यौ ?’, कलेजबाटै थानकोटमा वनभोज गएको बेला उसैले प्रस्ताव राख्यो ।
उ हडबडाई । लाजले रातो भइ र केही बोल्न सकिन । त्यसपछि बिस्तारै बिस्तारै उसका आँखाहरुले कलेजको गेटदेखि नै सतिसलाई खोज्न थालेका थिए ।

समयक्रममा सतिस राजनीतिमै लाग्यो । जेल पर्नु र बाहिरिनु सामान्य झैं भयो । ऊ जागिर खान थाली । जागिरबाट आएको आधा पैसा त ऊ सतिसमैं खर्च गर्थी ।

त्यसैबीच घरमा सभ्यताको विवाहको कुरा चल्यो । उसले सतिसलाई सुनाई । अहिले विवाह गर्ने अवस्था नरहेको सतिसको प्रतिक्रिया आएपछि बाबुआमाले मेडिकल डाक्टरसँग सभ्यताको विवाह गराइदिए । विवाहको रात उसको शरीर विश्वाससँग भए पनि भावनामा भने सतिससँगै थिइ ।

‘तिमी मेरो जिन्दगीको पहिलो प्रेम हौ, तिमीबिना बाँच्ने म कल्पना पनि गर्न सक्दिन । म सोच्छु तिमी नभएको भए यो शहरमा मेरो के हुन्थ्यो होला ?’, ऊ भन्ने गथ्र्यो ।

हुन पनि लाउने लुगादेखि जुत्तासम्म, बिरामी पर्दा औषधी सबै ऊ नै गर्थी । घट्टेकुलोको एउटा घरको अँध्यारो छिँडीमा उसको कोठा थियो । कोठाको पाँच सय भाडा पनि कतिपल्ट उसले तिरिदिएकी थिइ । सतिसको परिवार गाउँमैं बस्थ्यो, कहिलेकाहीँ आउँदा सभ्यता निकै नजिक हुन्थी, उनीहरुलाई पनि सभ्यता मन पथ्र्यो, आमा त कहिलेकांही बुहारी नै भनेर बोलाउँथिन् ।

आफु नभए सतिसले आत्महत्या नै गर्छ जस्तो लाग्थ्यो सभ्यतालाई र सोच्थी, ‘लौ न ! मलाई केही भइहाल्यो भने यो मान्छेलाई के होला ?’ तर विवाहको कुरामा उसले खासै वास्ता नगर्दा उ छाँगाबाट खसेजस्तै भएकी थिइ । उसले किन त्यसो ग-यो ? धेरै दिनसम्म त्यो प्रश्नले मनमा ठाउँ लिइरह्यो । अन्त्यमा निष्कर्ष निकाली, ‘शायद म खुशी होस्, राम्रो ठाउँमा परोस् भनेर यस्तो गरेको होला ।’

समयले सबै कुरालाई ठिक गर्दै लान्छ भन्छन् । तर, उसलाई खासै त्यस्तो लाग्दैन । डा’साबसँगको यति लामो सामिप्यतामा पनि उसले सतिसलाई बिर्सन सकेकी छैन । आफु इमान्दार भइनँ कि भनेर उसलाई कहिलेकाहीँ ग्लानी पनि हुने गर्छ । छोराछोरी ठुला भइसके तर पनि उसको मनबाट त्यो परानो घाउ हट्न सकेको छैन । सम्झन्छे। उसँग भएको भए यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो ।

त्यसबीचमा ऊ पटकपटक मन्त्री भयो, टेलिभिजनहरुमा धेरै पटक अन्तवार्ता दियो तर ती सबै राजनीतिक थिए । पहिलो पल्ट व्यक्तिगत कुराकानी गर्न थालेपछि ऊ थरथरी काँपेकी थिइ । फ्याट्ट आफ्नो नाम लिइदियो भने के गर्ने भनेर ऊ पसिनासरी भएकी थिइ । नाम लिएन, उसले मुक्ति पाई तर उसलाई त्यही कुराले पछिसम्म पनि घोचिरह्यो ।

‘उसले मेरो नाम नलिए पनि कोही थियो जीवनमा तर यो मेरो नितान्त व्यक्तिगत कुरा भएकाले यो बिषयमा बोल्न चाहन्न भन्न सक्थ्यो या त्यतातिर नजाउँ भन्न सक्थ्यो तर उसले त सरासर झुट नै बोल्यो’ भनेर उसको मन खिन्न भइरह्यो ।

यतिका बर्ष पटकपटक उसको सम्झना गरेकोमा उसलाई आफैसँग नमज्जा पनि लाग्यो । झोला बोकेर कलेजमा साथीहरुलाई नमस्कार भन्दै आएकोदेखि लिएर उसले किनिदिएको सर्ट पाइन्टमा ठाँटिएको हुँदै मन्त्री भएको सतिससम्मका दृश्यहरु उसको आँखा वरीपरी आँउदै जाँदै गरे ।

विवाह गरेदेखि अहिलेसम्म एकपल्ट पनि उसले प्रत्यक्ष देख्न पाएकी थिइन, जति देखी टेलिभिजनमै देखेकी थिइ । पहिला र अहिलेको उसको हुलियामा आकाश जमिनको फरक थियो । पहिलो प्रश्नभन्दा बढि पीडादायी भएर बीचतिरको प्रश्नको उत्तर आयो, ‘जीवनमा तपाइले कहिल्यै कसैसँग भरोसा गर्नु भएको थियो ? या त्यस्तो व्यक्ति जसलाई तपाइले बारम्बार सम्झने गर्नुहुन्छ ?’

उसको सहज उत्तर थियो, ‘खै ! मेरो जीवनमा त्यस्तो कोही आएन, जसलाई म पूर्णरुपले भरोसा गर्न सकुँ ।’ उसले सम्झिई, अंगालोमा बेरिएको बेला पटकपटक उ भन्ने गथ्र्यो, ‘तिमी मेरो जिन्दगीको सबैभन्दा ठुलो भरोसा हौ सभ्यता ! म तिमीलाई धेरै माया गर्छु ।’

ओछ्यानमा सुतिरहेको बेला अकस्मातै उसको मुखबाट ‘थुक्क’ शब्द निस्कियो । डा’साब आत्तिएर उठे, बत्ति बाले र सोधे, ‘के भो ? तिमी निन्द्रामा बोलिरहेकी थियौ, केही खराब सपना देखेउ कि ? हैन, हिजोदेखि के भइरा’छ तिमीलाई ?’

‘हो, मैले धेरै खराब सपना देखेकी थिएँ । देखें भनन । के पहिला कहिले देखे जस्तो कुरा गरेको भन्दै’ उनले पानी खान दिए ।

निदाउनलाई आँखा चिम्लिदै गर्दा बाबुआमाले कति सही निर्णय गरेछन् जस्तो लाग्यो उसलाई ।

टेलिभिजनमा उसकी श्रीमती अपेक्षालाई पनि उसका असल र खराब बानीका बारेमा बोल्न लगाइयो । आफ्नै घरको बैठक कोठामा अन्तरवार्ता दिंदै श्रीमतीले भनिन, ‘साह्रै अव्यवस्थित हुनुहुन्छ, लाउने कोटदेखि मोजासम्म मैले मिलाएर राखिदिनु पर्छ । मलाई मनपर्ने कुरा चाहीँ के हो भने खाने कुरामा कुनै बिशेष सौख छैन, जे बनाएर दिए पनि मिठो मानेर खानु हुन्छ ।’


यता भरखरै ड्युटी सकेर घर फर्की कपडा फेर्दै गरेका एसपी केसीको ध्यान एक्कासी ती महिलाको आवाज र मुहारतिर तानियो । उनले रिमोट हातमा लिएर साउन्ड बढाउदै गर्दा श्रीमती चिया लिएर आइ पुगिन् । एसपीसा’ब बडो ध्यान दिएर कुराकानी सुन्न थाले, उनको अनुहारमा न त पसिना थियो न त सभ्यतामा झैं छटपटी नै । भरखरै खोलेर भुइमा असरल्ल छोडेका लुगा पट्याउदै श्रीमतीले व्यङ्गांत्मक शैलीमा भनिन्, ‘हेर न, आफ्नी भुतपूर्व प्रमिकाप्रति अझै पनि कत्रो चासो ?’

जवाफमा उनी निर्धक्क मुस्कुराए मात्र । ‘उनका ठाउँमा म भएकी भए ?’, श्रीमतीले मनमनमा सोचिन्, व्यक्त गरिनन् । विवाहको केही दिनपछि नै उनले विगतमा भएकी आफ्नी प्रेमिकाका बारेमा बताएका थिए । केही समयअघि मात्र कसैकी श्रीमती बनेकी अपेक्षाले बोलेका कुराले भने उनलाई पनि अलि कस्तो कस्तो लाग्यो । कुनै बेला सर्टको कलर मिलाई दिदैं उनी भन्ने गर्थिन्, ‘कस्तो मान्छे होला, अलिकति आफुलाई पनि ध्यान दिनु पर्छ नि, अव्यवस्थित ।’

जवाफमा ‘तिमी आएपछि व्यवस्थित हुँला नि !’ भन्ने गरेका थिए उनले । ‘तिमी जे पनि मिठो मानेर खान्छौ, मलाई यो बानी असाध्यै मन पर्छ’, उनी प्रायः भन्ने गर्थिन् । आज फेरि तिनै कुरा सुनेर हैन, महिलाहरु सबैतिर एउटै सूत्र प्रयोग गर्छन् कि क्या हो जस्तो पनि लाग्यो ।

‘पूर्व प्रमिकाको कुरा कस्तो लाग्यो त ?’ श्रीमतीले सोधिन् ।

‘त्यस्तो केही थिएन साथी मात्रै थियौं हामी, मैले तिमीलाई त्यसै भनिदिएको, ल खाना पस्क’, जवाफमा उनले भने । भावुक भएर श्रीमतीलाई सबै कुरा सेयर गर्न पनि नहुने रहेछ भन्ने कुराको बोध उनलाई भइरहेको थियो ।

पत्रकारले अन्तिम अन्तिममा दुवै जनालाई संयुक्त प्रश्न गरे, ‘पहिलो प्रेमको अनुभव कस्तो भइ रहेको छ त ? ’
केटाः विगतमा ठुलो कुरा मिस गरिएछ जस्तो लागिरा’छ ।
केटी: हामी पहिल्यै किन भेटेनौं भन्ने सोच्छु ।

‘विगतलाई कसरी सम्झनु हुन्छ ?’, पत्रकारको प्रश्न ।
केटाः राजनीति या भनौं न सार्वजनिक जीवनमा अगाडि बढे पनि व्यक्तिगत जीवन खाली खाली थियो, त्यो रित्तोपन भनौं एक प्रकारको अभाव सम्झन्छु ।
केटीः एक्लै हुँदाका ती दिन पनि आफ्नै प्रकारका थिए तर मायाको अनुभव फरक कुरा रहेछ । जीवनमा कोही हुनु र नहुनुले फरक पार्दो रहेछ ।

पत्रकारले ती दुइलाई धन्यवाद दिएर कार्यक्रम क्लोजिङ गरिरहँदा एकार्कामा पूर्णतः अपरिचित एसपीसा’ब र सभ्यता मन मनमा सोचिरहेका थिए, त्यतिका बर्ष मैले उसको जीवनमा के गरेर बसेछु त ?

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button