श्रीको परिवारले कस्ती केटी खोजेका हुन् ?

कथाः केटीको खोजी

सागर ‘मणि’ थापा
कीर्तिपुर ७, चोभार ओपी

वरिपरिका गगनचुम्बी भवनहरूलाई थर्काउँदै धावनमार्गमा प्लेन उत्रियो र खुरुर्र साङ्लो कुदे भैmँ गुड्दै केही मिटर पर गएर रोकियो । जसै श्रीकृष्णका पाइला नेपाली धरतीमा परे, तसै घुँडा र हात टेकाएर निधारले भुइँलाई जिउ गरे ।

श्रीकृष्णको पनि लगेज पास आउट भयो । परबाट हात पैmलाउँदै कुदेकी रेशमीले झ्याप्पै अँगालो हालिहालिन् र उद्गार छाडिन्, ‘ओएलकम ब्याक माइ फेवरेट !’ तिनीले त्यसो भन्दै गरिरहँदा निर्वन्ध केशराशिले श्रीकृष्णको अनुहारलाई ढपक्कै ढाकिदिएको थियो ।

करिब एघार वर्षसम्म विदेशी युवतीहरूको नाइटो देख्दा देख्दा वाक्क भएका श्रीकृष्णलाई रेशमीको उत्ताउलो फेसनले नमज्जा लाग्यो तैपनि कुनै प्रतिक्रिया जनाएनन् । रेशमीले आफ्नो फेवरेटलाई पिकअप गर्न रातो कार लगेकी थिइन् ।

कार हाँक्दै रेशमीले गुनासो गरिन््, ‘किन तिमी मसँगै नबसेको माइ फेवरेट ?’

श्रीकृष्णले रमाइलो जवाफ दिए, ‘म पछि बस्नुका दुई कारण छन् रेशमा । नम्बर एक, तिम्रो ध्यान ड्राइभिङ्गतिर मात्र होस् । अनि नम्बर दुई, मैले मोबाइलको एसएमएस चेक गर्न पाउँछु ।’

‘ओ सेट् !’ रेशमी ठुस्सिँदै बोलिन्, ‘तिमीले त मेरो नाम पनि भुलिसकेछौ माइ फेवरेट ! रेशमा हैन, रेशमी हो मेरो नाम ।’

तिनी एकोहारो बोलिरहेकी थिइन् तर श्रीकृष्णले वास्तै गरेनन् । उनी त सकभर छिटो आफ्नी हजुरआमालाई भेट्न चाहन्थे तर रेशमीले आफ्नो घर लगिन् । श्रीकृष्णले रेशमीको रहरलाई मार्न चाहेनन्, यद्यपि उनी हतार गर्दै थिए र आराम नगरी बाथरुमभित्र पसे ।

रेशमीले गिज्याइन्, ‘के हो मिस्टर ? लुगै नखोली पस्छौ ? कि विदेशमा लुगैसमेत सावर लिने बानी थियो ? हेहेहे…, हेहेहे…।’

श्रीकृष्ण सातआठ मिनेटमै स्नान गरेर निस्किए । उनको बलिष्ठ ज्यानलाई रेशमीले गौर गरेर हेरिरहिन् । श्रीकृष्णलाई तौलिया फुस्केला भन्ने चिन्ता थियो । उनको मुखबाट फ्याट्ट फुस्किहाल्यो, ‘मैले त हतारमा तल्लो अन्तरवस्त्र नै भुलेछु !’

त्यो वाक्य सुन्दासाथ रेशमी आन्द्रा बटारिने गरी हाँसिरहिन् ।

केके न रमाइलो घटना भयो होला भनेर शान्ता कुदेर आइन् । कुरा सुनेर तिनीले पनि हाँसो रोक्न सकिनन् । श्रीकृष्णचाहिँ लाज मान्दै चाहिने कुरा लिएर फेरि बाथारुमभित्र पसिहाले ।

केही बेरपछि उनीहरू खाना खान लागे । श्रीकृष्णलाई हजुरआमाको यादले सताइरहेको थियो । नरमाइलो पनि लागिरहेको थियो । उनले जब फोन गरे, तब हजुरआमा भोक्कै बस्नुभएको कुरा थाहा पाए । उनले रेशमीसँग क्षमा माग्दै थालको खाना छाडेर हिँडे ।

बेलुका रेशमीको घर भरियो । अभिभावकहरू बैठक कोठामा जम्मा भएका थिए । रेशमीलाई बेखुसी देखेर उनका बाबा डायमन्डराजले सोधे, ‘किन छोरू ? तिम्रो मुहार निकै मलिन देखिएको छ त ! कतै तिम्रो बालसखाले केही वचन त लगाएन ?’

उनी रेशमीलाई निकै माया गर्दथे र प्रेमभावले छोरू सम्बोधन गर्दथे । प्यारी छोरूको अनुहार अँध्यारिएको देख्दा बाबालाई पीर त पर्ने नै भयो नि । शान्ताले थोरै कुरा चुहाइदिइन् ।

भोलिपल्टको कुरा हो । बुबा ध्रुवचन्द्रले श्रीकृष्णको कुममा धाप मार्दै भने, ‘अब बिहे गर्ने हैन त केटा ? बैँस ढल्किन ढल्किन लागिसक्यो । हाम्रो नजरमा भनेजस्ता केटीहरू छन् । त्यसो त तेरी रेशमी पनि त उत्पातै राम्री छे नि । के छ विचार ?’

छोराले गोलमटोल जवाफ दिए, ‘म्यारिज नगरी कसरी रेशमी मेरी भइन् र बुबा ? न बा तिनीको स्पेसल अरू कोही छ कि ? भाग्यमा जो लेखेको छ, उही पर्छे नि । हैन त हजुरआमा ?’

त्यही बेला डायमन्डराजको आगमान भयो । नमस्कार आदानप्रदान भएपछि चियाखाजाको सिलसिला अघि बढ्यो । डायमन्डराजले केही पनि खाएनन् तर खास विषयलाई प्रवेश गराइहाले, ‘आज मलाई बहुतै खुसी लागेको छ । मेरी छोरीलार्ई असारभित्रै यस घरमा पठाउनुपर्छ भन्ने विराट् चाहना छ मेरो । केटा र केटीको चिनापर्ची भएकै हो । फेसबुकको च्याटिङ्गस्याटिङ्गको त कुरै गर्न परेन । आमाहरूको विचार बुझ्न आएको म ।’

ध्रुवचन्द्रकी आमाले सोभैm भनिदिनुभयो— ‘रेशमीसँग मेरो नातिको बिहे हुन सत्तैmन डाइमन्ड बाबू !’

‘आमा ! यो के भन्नुभएकी हजुरले ?’ ध्रुवचन्द्रले टिठाइलो अनुहार लगाउँदै प्रतिप्रश्न गरे । श्रीकृष्णले हत्त न पत्त कुरा मिलाइहाले, ‘डायमन्ड अङ्कल ! हजुरआमाले एकलाखभन्दा बढी बत्ती कातिसक्नुभएको रहेछ । पहिले पूजा सकियोस् अनि बिहेको कुरा गरौँला नि ।’

ध्रुवचन्द्रको घरमा सप्ताह महायज्ञ कार्यक्रम चलिरहेको थियो । ध्रुवचन्द्रका सालोभाइको बोल्ने ढङ्ग थिएन । उनले प्याच्चै भनिदिए, ‘यो त गरुडपुराण लगाएजस्तो भएन र भेना ? खै माइक ? खै स्पिकर ?’

भेनाको सट्टा विद्वान भाञ्जाको जवाफ पाए, ‘लोकतन्त्र ल्याइयो भन्दैमा अर्काको अधिकार हनन गर्न पाइन्न नि मामा ! आवश्यकताअनुसार निमन्त्रणापत्र बाँडेकै छौँ । पत्रको पुछारमा केही सूचना पनि लेखेकै छौँ । टोल थर्काएर ठूलो भइँदैन मामा । कसैको निद्रा भाँडिन्छ अनि कसैको पढाइमा असर पर्छ । किन डिस्टर्व गर्ने हामीले ?’

मामा निरुत्तर भए । रेशमी पनि किस्तीमा पूजासामग्री बोकेर आइन् । तिनीले त्यहाँ प्रवेश पाइनन् र रिसाइहालिइन्, ‘यो के चाला हो तिम्रो मिस्टर ? घरमा निम्तो कार्ड पठाउनी तर पूजामा रोक लगाउनी ?’

‘मेरी प्यारी बालसखी ! पहिले उताको सूचना पढ । त्यसपछि डिसकस गरौँला है ?’ श्रीकृष्णले रेशमीको टाउको फ्लेक्स ब्यानरतिर सोझ्याइदिए । सूचना पढेपछि तिनी झसङ्ग भइन् । तिनीले आफ्नो पहिरनतिर नजर गाडिन् ।

त्यस्तैमा सातआठ जना महिला र युवतीहरू आइपुगे । कसैले सारी पहिरिएर आएछन् । कसैले कुर्तासुरूवाल । उनीहरूलाई भित्र जान दिइयो । रेशमीले कुरा बुझिहालिन् । श्रीकृष्णसँग क्षमा माग्दै किस्ती थमाइन् र लुगा फेर्नका लागि घरतिर फर्किइन् ।

श्रीकृष्णले बुबाको मार्बल कम्पनीमा एकाउन्टको जिम्मेवारी सम्हालिसकेका थिए । त्यसैका लागि त उनी फेरि विदेश नजाने गरेर फर्किएका थिए ।

एक दिन हजुरआमाले थाहा नपाउने गरेर श्रीकृष्णले रेशमीसँग भेट गरेका थिए । अपरान्ह चार बजेतिर रेशमी आफ्नै कार हाँकेर बालाजुनेरको मार्बल शोरुममा पुगिन् ।

रेशमीले एक रुफटप क्याफेमा लगिन् । कफी र खाजाचाहिँ श्रीकृष्णले अर्डर गरे । कुनातिरको टेबल छानेर बस्दै रेशमीले भनिहालिन्, ‘मेरो कुरा ध्यान दिएर सुन श्री ! यदि तिमीले मसँग बिहे गरेनौ भने अरू कसैसँग हुन दिन्नँ । म पनि कुमारी नै बसिदिन्छु । बुझ्यौ नि मेरो कुरा ?’

उनले सम्झाए, ‘हेर रेशमी ! सरसर्ती हेर्दा त जिन्दगी बिताउने केटा र केटीले मात्र होजस्तो लाग्छ । तर दुईजनाको सम्बन्धबाहिर पनि अर्को परिवारको ठूलो समूह लुकेको हुन्छ, जसप्रति हाम्रो महत्त्वपूर्ण दायित्त्व रहेको हुन्छ । त्यसैले….।’

‘किन कुरो घुमाउँछौ मिस्टर !’ आम्मै ! रेशमी त जुरूक्कै उठिन् र चेताउनीको भाषा बोल्न लागिन्— ‘तिम्री हजुरआमाको सपनालाई म कहिल्यै पनि पूरा हुन दिन्नँ श्री ! यो मेरो च्यालेन्ज भयो ध्रुवचन्द्रको परिवारलाई । हस् त, नमस्कार ।’ तिनी हिँडिन् ।

श्रीकृष्णले बाँकी कफी र खाजा खाएर जान आग्रह गर्दै थिए । अहँ, रेशमी अडिनन् । ‘मेरो भाग पनि तिमी नै खप्टेर खाऊ’ भन्दै कटुवचन लगाएर ओझेल परिन् ।

‘झिङ्गाको सरापले डिङ्गा मर्दैन मेरो नाति !’ त्यसै दिन साँझ हजुरआमाले श्रीकृष्णको कपाल सुमसुम्याउँदै सान्त्वना दिनुभयो । नातिका लागि एउटी राम्री केटीको कुरा आइसकेको रहेछ ।

नभन्दै अर्को दिन श्रीकृष्णहरू केटीको घरमा पुगेका थिए । घर ठूलै थियो । वातावरण सफा थियो । केटीको कुरा चलाउने लमी ध्रुवचन्द्रकी कान्छी बहिनी थिइन् तर तिनी नै आइपुगेकी थिइनन् ।

भव्य बैठक कोठामा केटा र केटीका परिवार जम्मा भएका थिए । एकातिर मीठा मीठा पकवानहरूको बासना । अर्कोतिर आथित्यको शीतलपना । वातावरण रमाइलो थियो ।

हस्याङ्ग र फस्याङ्ग गर्दै श्रीकृष्णकी कान्छी फुपू आइपुगिन् । ट्राफिक जाम भएर तिनी केही तनावमा देखिन्थिन् । एसीको चिसोले नपुगेर सारीको सप्कोले हम्किन थालिन् ।

भदाहाले जिस्क्याए, ‘म कोट फुकालेर हम्किदिऊँ स्यानी फुपू ?’ कोठामा हाँसोको फोहोरा फुट्यो । फुपूले गाला तानिदिँदै ठट्टा गरिन्, ‘तैँले गर्दा त हो मैले दुःख पाएकी । केटी मन पराइनस् भने पर्खी न, म के गर्छु तँलाई ।’

फेरि रमाइलो थपियो । केटीका परिवारले चिसो पेय पदार्थ र उच्चस्तरको खानेकुराद्वारा सत्कार गरेर झनै आनन्दित बनाइदिए । केटा र केटी आमन्नेसामन्ने बसेका थिए । कान्छी फुपूले फेरि गाला तान्दै सोधिन्— ‘तँलाई केटी कस्तो लागी त केटा ? विचार गर् है । बूढो हुन लागिसकिस् ।’

लजाएर केटीले मुख छोपेकी थिइन् । श्रीले दाइजो प्रथाको घोर विरोध गरे । दर्शनभेट कार्यक्रममा दुलाहाका नातेदारहरूलाई समेत सुनैसुनका गहना दिनुपर्ने चलनलाई कुसँस्कारको उपमा दिएर घृणा गरे । त्यति हुँदाहुँदै पनि एकाएक कोठाको वातावरण केही तिक्त बन्न पुग्यो ।

श्रीले केटीलाई अनपेक्षित प्रश्न सोधेका थिए, ’डिभोर्सबारे तिम्रो धारणा के छ अस्मिता ? आइ मिन, अहिलेको अवस्थामा किन डिभोर्सलाई सस्तो बनाइँदै छ ?’

‘ए नाति !’ हजुरआमाले कुरा काटिहाल्नुभयो, ‘तँ होशमा त छस् ? बिहेको कुरा चल्न पाएको छैन, छुट्टिने सवाल किन गरेको भन् त ?’

अस्मिताले जवाफ दिइन्, ‘हेर्नोस् कृृष्णजी, खासमा भन्नुपर्दा विचार नमिलेर डिभोर्ससम्म कुरा पुग्छ । प्रायः धनकै कारणले घर भाँडिएको छ । धेरैले त अर्काको देखासिकी गर्न थालेका छन् ।’

श्रीकृष्णले आफ्नो विचार प्रकट्याउँदै दोस्रो तथा निर्णायक प्रश्न सोधे, ‘विचार नमिल्नुमा दुईजनाको उमेरले पनि धोखा दिइरहेको हुन्छ । त्यसैगरी परिवारलाई बुझ्ने दृष्टिकोणमा पनि भर पर्छ । तिमी एकल परिवार मन पराउँछ्यौ कि संयुक्त परिवार ?’

तिनीले मनको कुरा व्यक्त गरिन्, ‘म श्रीकृष्णजीसँगै विदेशको हावापानीमा घुलमिल भएर आफ्नो करिएरलाई धेरै माथि पु¥याउन चाहन्छु ।’

उठेर लुगा तन्याकतुनुक पार्दै गरेको भदाहालाई समाउँदै फुपूले सोधिन्, ‘के भो ? तँलाई अस्मिता मन परिन ?’ भदाहा केटोले नकारात्मक कुरा त गरेनन् तर ‘फाइनल डिसिजन’ भरे फोनबाट सुनाइदिने आश्वासन दिए ।

राति निद्राले झकाउन लाग्नुभएकी हजुरआमासामु दुई घुँडा टेकाएर नातिले सोधे, ‘हजुरआमा ! त्यो केटी त बिहे गरेपछि नेपालमा नबस्ने रे । हजुर के भन्नुहुन्छ हजुरआमा ?’

हजुरआमाले सिधै भनिदिनुभयो, ‘त्यस्ती स्वार्थी केटी मेरी नातिनीब्वारी बन्न सुहाउँदिन केटा । त्यल्ले त म मरेँ भने पनि जुठो नबार्लीजस्ती छ ! तु. फोन गरेर नो भन्दे बाबू ।’

नभन्दै केटीको घरमा त्यही खबर पुग्यो । केटीको परिवारमा नैराश्यता छायो । केटीका जेठा दाजु रिसाउँदै भनिरहेका थिए— ‘सिल्ली केटो ! टोलभरि हल्लाखल्ला भैसक्या छ । दिनभरि चुप लागेर बस्यो । सुत्ने बेलामा रिजेक्ट गर्ने ? हेर्छु म पनि । कस्ती केटी मन पाउँदोरहेछ । भो ! नरो अस्मिता । खुट्टा भए जुत्ता कति कति ।’

केही दिनपछि रेशमीले पनि थाहा पाइन् । तिनीले मध्यरामा कल गरिन् । श्रीकृष्ण निदाइसकेका थिए । रेशमीको पटक पटकको प्रयास विफल भयो ।

अन्ततः रेशमीले मेसेज पठाइन्, ‘मान्छे त कुम्भकर्णै भैसकिछस् तँ त ! के हो केटा ? बिहेपछि चाहिने चीज पनि विदेशमै छाडेर आइस् कि के हो ? हाहाहा….।’

अघिल्लो रात गिज्याएको कुफल रेशमीलाई भोलिपल्टै मिलिहाल्यो । श्रीकृष्णले फेसबुक आइडी र मोबाइल नम्बर ब्लक गरिदिए । त्यसै दिन हजुरआमा बिरामी पर्नुभयो ।

हजुरआमालाई पीरले गाल्दै लगिरहेको थियो । आफन्त र टोलछिमेकतिर नराम्रो हल्ला चल्न थालिसकेको थियो । हुँदाहुँदा कार्यालयमा समेत तीतो कुरा सुनाइदिन थालेका थिए ।

एक महिला कर्मचारीले प्याच्चै भनिदिइन्, ‘हैन हो हाकिम साहेब ! बिहेको कुरा चलेको पनि यत्रो महिना भैसक्यो तर अभैm सुरसार छैन । अभैm केटी पाइएन र ?’

‘हराएकी केटी खोजेको हो र पाउनलाई ?’ श्रीकृष्ण सरले पढाउन थाले, ‘विवाह गर्नु भनेको भाँडाकुटी खेल खेल्नु होइन मैया । म तिमीहरूजस्ता टिकटककुमारीको खोजीमा लागेको छैन । फेरि म बलेको आगो ताप्ने मान्छे पनि होइन नि ।’

फागुन पनि सुरू भयो । श्रीकृष्णको विवाहको चर्चा पुनः घनिभूत किसिमले चल्न थाल्यो । त्यस्तैमा ध्रुवचन्द्रकी जेठी सालीकी छोरीले कुरा ल्याइन् ।

तिनी सुनाउँदै थिइन्, ‘केटीको घर चितवन हो । प्लस टुदेखि राजधानीमा बसेर पढ्न थालेकी । अहिले त्रिभुवन विश्वविद्यालयबाट तथ्याङ्क शास्त्रमा मास्टर्स सकेर लोकसेवाको तयारीमा छे ।’

‘बहिनी रस्मिता ! होस्टेलमा बस्ने केटी हो ?’ श्रीकृष्णले त्यति रूचाएको देखिएन । भन्दै थिए— ‘आमा, बाबुको काख छाडेर बाहिर बस्ने गरेकी केटीले कसरी घर गरेर खालिन् र ?’

आजित हुँदै श्रीकृष्णकी आमाले चिन्ता प्रकट गरिन्, ‘त्यो पनि हुन्न भन्छस् । यो पनि हुन्न भन्छस् । हे भगवान् ! के गर्ने होला त अब ? तेरी हजुरआमा नातिको बिहे नगरी मर्छु कि भनेर सुर्ता लिइरहनुभएको छ । नातिचाहिँ…।’

रस्मिताले प्रताव गरिन्, ‘अब यसो गरम् ठुली ममी ! केटीको घरमा गएर केटी हेर्दा फापेन । म त्यो केटीलाई यही घरमा लिएर आउँछु । मेरो दाजुको हातले बनाएको खानेकुरा खाएपछि कस्सो मन नपर्ला त । कि कसो श्री दाजु ?’

श्रीकृष्णले मन्जुर गरिहाले । नभन्दै उनले भान्सा सम्हाले । केही स्न्याक्सहरू तयार पारे । केही बेरपछि रस्मिताले केटीलाई लिएर आइन् । पहिलो पटक त्यो घरमा अनौठो घटना भैरहेको थियो ।

रस्मिताले सबै जनासँग परिचय गराइन्, यद्यपि श्रीकृष्णको बारेमा बढी नै भूमिका बाँधेर कुरा गरिन् । श्रीकृष्णले केटीको स्वभावको बारेमा एउटा सानो जाँच लिए । उनले आग्रह गरे, ‘सारिकाजी ! एक टुक्रा कागज भुइँमा खसेको रहेछ । टिपेर डस्टबिनमा हालिदिनुस् न ।’

सारिकाले झटपट जवाफ दिइहालिन्, ‘यो कागज मैले फालेको होइन है ।’

सारिका पहिलो टेष्टमा फेल भइन् । तिनीलाई स्न्याक्स खान दिइएको थियो । खाइसकेपछि प्लेटलाई मेचको तल घुसाइदिइन् । रस्मिता र श्रीकृष्णले उदेक मान्दै मुखामुख गरे ।

त्यस्तैमा हजुरआमाले भन्नुभयो, ‘ए सारिका नानी ! मेरो लुगामा खानेकुरा पोखियो । ऊः त्यो रूमालले पुछिदेऊ न बा ।’

सारिकाले सुनाइन्, ‘कृष्णजी ! तपाईँकी हजुरआमाको लुगा फोहर भयो रे ।’

उप्m ! सारिका तेस्रो जाँचमा पनि फेल भइन् । तिनीको उक्त हर्कत देखेर रस्मिता पनि शरमले निहुरिइन् । सारिकालाई लिएर तिनी बाहिर निस्किइन् ।

पर पुगेपछि सारिकाले जिज्ञासा राखिन्, ‘तिम्रो दाजुले मलाई मन पराए कि पराएनन् होला हगि रस्मिता ?’

‘केको मन पराउनी हो र !’ रस्मिताले बेसरी झपारिन्, ‘मेरो दाजुले लिएको परीक्षामा जिरो अङ्क पाइस् तैँले ! किताबको तथ्याङ्क मात्र पढेर हुन्छ ? जीवनको तथ्याङ्कबारे जान्न पर्दैन केटी ?’ रस्मिताको जवाफ सुनेर सारिका ट्वाँ परेर हेरिरहेकी थिइन् ।

उता घरभित्र श्रीकृष्णहरू पनि सारिकाको व्यहोरा देखेर कुरा काटिरहेका थिए । त्यस्तैमा रेशमी टुप्लुक्क आइपुगिन् । तिनीलाई देखेर उनीहरू मुखामुख गर्न लागे ।

रेशमी श्रीकृष्णले दिएको गिफ्ट फिर्ता गर्न आएकी थिइन् । त्यही भएर कसैले नदेख्ने गरी लुसुक्क एकब ठाउँमा राखिदिएकी थिइन् । रेशमीले विशेष अनुरोध गर्दै भनिन्, ‘श्रीकृष्ण ! एकैछिन बाहिर हिँड न । तिमीसँग एउटा जरूरी कुुरा गर्नु छ ।’

उनले नाइनास्ती गरेनन् । रेशमी पछि पछि थिइन् । रेशमीले आफ्नो जिज्ञासा मेटाउन सवाल गरेकी थिइन्, ‘श्रीकृष्ण ! के तिमीलाई पनि शङ्का लाग्छ, मैले धेरै ब्वाइफ्रेन्ड्स् फेरिसकेकी छु भनेर ?’

श्रीकृष्णले अनुहारमा नहेरी जवाफ दिए, ‘मैले तिम्रो चरित्रमाथि औँला उठाएको छैन नि रेशमी । यद्यपि, म तिमीलाई तत्कालै अपनाउन सक्षम छैन ।’

‘किन नि ?’, तिनीले छोटो प्रश्न गरिन् ।

श्रीकृष्ण फरक्क फर्किएर घरतिर लागे । रेशमीले हेरिरहेकी थिइन् । तिनीलाई अभैm पनि आशा थियो, श्रीले फर्केर हेर्छन् कि भनेर । केही बोल्छन् कि भनेर । तर उनको चाहना पूरा भएन । श्रीको परिवारले कस्ती केटी खोजेका हुन्, रेशमीलाई थाहै भएन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button