
त्यो रात आखिर यस्तो भएको थियो
कथा
एसबि सेर्पाइली
७८ साल माघमा अनलाइन खबरमा प्रकाशित भूमिका विष्टको लेख पढेपछि हँसियाजत्रो पश्नचिन्ह पुछारमा राखेर उहीँ सर्वव्यापी प्रश्न मकहाँ पनि आइपुग्यो- त्यो रात आखिर के भएको थियो ?
आम मानिसमा जस्तै ममा पनि उल्लेखित प्रश्नले कुस्ती खेल्न थाल्यो । बेचैनी बढ्दै गयो । सोच्न थालेँ- यसको जवाफ कसले देला ! कोसँग होला यसको उत्तर ! त्यो सम्भावित मान्छे को होला ? के स्वयम् भूमिका विष्ट ? अँह, मरुभूमिमा जीवन खोजौँ तर उनिबाट यो आस नगरौँ । किनकि यहि प्रश्न लिएर उनको घरको कम्पाउण्ड बाहिर हुलका हुल मान्छेहरू पहिल्यैदेखि डेरा जमाएर बसेका छन् । तर पनि उत्तर असुल्न सकेका छैनन् । यहि प्रश्न लिएर म पनि त्यहि भिडमा नहराऔँ होला ।
कमेन्ट बक्समा डेरा जमाएर बसेका प्रश्नहरूलाई उनले गरेको बेवास्ता देख्दा दुईओटा कुरा लाग्छ- उनी यो बारेमा थप केही बोल्न चाहदिनन् । वा उनिसँग पनि यसको जवाफ नभएर नैँ प्रश्नलाई अडियन्समा फालिदिएकी हुन् ! खैर जेसुकै होस्, उनिबाट यसको जवाफ आउँदैन । र म त्यो कोसिस गर्नु पनि हुदैन ।
सम्भावित मान्छेबाट हुनसक्ने असहयोगको आकलनपछि ममा झन बेचैनी बढ्यो । मसँग भएको निर्विकल्प धिरज कायम गर्न तर्फ लागेँ । तर दिनदुई र रातचार गर्दै मभित्र बेचैनी बर्षायामको आँधी खोलाझैँ झनझन उर्लिएर आउन थाल्यो ।
कुनै उपाय नआएपछि अनन्त: अनलाइन खबरमा छापिएको भुमिका विष्टको त्यहि लेखलाई प्रिन्ट गरेर म प्रेमको घर खोज्न निस्किएँ । लेखमा उल्लेखित लोकेसनहरूको आधारमा म एक बिहान घाम सँगसँगै प्रेमको घरमा पुगेँ । प्रेम अन्तिमपल्ट सुतेको पिँढीमा रोइरहेकी बसन्तीलाई भेट्टाएँ ।
आमा मरेको खबर छोरालाई सुनाईदिए हुन्छ, छोरा मरेको खबर आमालाई नसुनाई दिनुहोस् ।
यो समाज प्रदिप रोदन स्तरको संवेदना बुझ्दैन । छोरो मरेको खबरले थला परेकी आमा त्यसपछि उठिनन् । मृत्युुपर्यन्त उनमा बसन्तीको कारण छोरो मरेको भन्ने गुनासो थियोे रे । यस कुराले मलाई झन भतभती पोल्यो ।
बिचरा बसन्ती ! ऊ मर्माहत थिई । टोलाइरहन्थी ।
दिन उघ्रिदै थियो । प्रेम र उसकी आमाको माला लगाएको फोटो ढोकाको निधारमा टाँगिएको थियोे ।
‘पोस्टमार्टम रिपोर्ट के भन्छ ?’ मैले बसन्तीलाई सोधेँ ।
‘आत्महत्या भन्छ,’ बसन्तीले रूँदै भनिन्- ‘उक्त फरेन्सिक ल्याबमा काम गर्ने एकजना दलित समुदायकै कर्मचारी आएर मेरो मनले भनिरहेकै कुरा भने- ‘प्रेमको आत्महत्या नभएर हत्या भएको हो । शरिरको अन्य भागमा स-साना निलडाम थिए भने घाँटीको हड्डी खुस्किएको थिएन । सर्जनको घाँटीमा तरबार राखेर त्यस्तो रिपोर्ट निकालिएको थियोे ।’
म अवाक् बनेँ । बसन्तीले रुँदै भनिन- ‘उच्चजातका पैसा र पहुँचवालाले गरीब दलितको घर उजाडिदिए । उनिहरूले मेरो श्रीमानलाई मारिदिए । पहरामा मुठ्ठी बज्जार्नुजस्तै भएको छ उनिहरूसँग जुध्न जानू । म सक्दिन- उनिहरूलाई सजाय दिन । र यो पनि सक्दिन- उसको हत्यारालाई खुलियाम हेर्दै बाँचिरहन् । म यतिमात्रै सक्छु- छोरा सँगसँगै मरिदिन । र अन्तिम विकल्प अब यहि गर्नेछु ।’
रातो हुँदै गएको घाम दक्षिण आकाशमा ढिलो हिडिरहेको थियो । प्रेम र बसन्तीको प्रेमको निशानी भुइँमा खेलिरहेको थियोे । रुँदारुदै थाकेका बसन्तीका आँखाहरू आकाशतिर हेर्दै टोलाइरहेका थिए । सायद बादल भित्र- प्रेमलाई खोजिरहेका थिए । ‘म मर्न चाहान्न । छोरा र म तिमीलाई पर्खिरहेका छौँ । कहाँ छौ ? छिटो आउ न ।’ बादलमाथी मरिजानेहरूको संसार हेर्दै टोलाइरहेका उसका आँखा सायद यसै भनिरहेका थिए ।
भारी मन लिएर म त्यहाँबाट उठेँ । गाउँ चहारेँ । चारैतिर डुलेँ । जान्ने-सुन्ने सबैलाई सोधेँ । तर कसैले यो मानेको भटिएन कि, उसको हत्या भएको थियो ।
सुराक पाउने ठाउँ कतै भेटिएन । बसन्तीको मन झुठो होला भन्ने कुरापनि मेरो मनले मान्न सकिरहेको थिएन । झनै उसले फरेन्सिक ल्याबमा काम गर्ने उक्त कर्मचारीलाई आधार प्रस्तुत गरेकी थिई ।
अबको पालो मैले उसैलाई भेट्ने निधो गरेँ । बसन्तीलाई उसले आफ्नो कार्ड दिएर गएको रहेछ । सजिलो भयो ।
कार्ड हातमा लिएर आवश्यक कुराहरूमा नजर लगाएँ । लेखिएको थियो- विनोद सेन्चुरी । नेपालगन्ज । तर जति कोसिस गर्दा पनि उसका नम्बरहरूमा फोन लागेन ।
भोलिपल्ट पनि बाटोभरी नै फोन लागेन । अफ मात्रै भन्यो । तर केही छैन, नम्बर परिवर्तन भएको पनि हुनसक्छ । ठेगाना छँदैछ थियो, टाइममै म उसको अफिसमा पुगेँ ।
उसले काम गर्ने भवनको ढोकाभित्र जुन मन लिएर म छिरेको थिएँ, निस्किदा मसँग त्यो थिएन । भाउन्न छुटेर आयो । पिढिमा थचक्क बसेँ । फेसबुकमा छ्याप्छ्याप्ती भएको एकबर्ष पहिलेको सडक दुर्घटना आँखामा आयो ।
उनासी सालको सुरुआतमा धम्बोजीमा टिपरले एउटा पल्सरलाई किचेको थियो । टिपरको ज्यादतीबारे जनस्तरबाट उग्र आन्दोलन भएको थियोे । असुर ग्यास र कर्फ्यु पनि लगाउनु परेको थियो । त्यतिबेलाका घटनाका फुटेजहरू फेसबुकभरी छाएका थिए । सामाजिक सञ्जाल बहसमा उत्रिएको थियो । मैले पनि न्यायको पक्षमा लेखेको थिएँ । तर यतिबेला मात्रै थाहा भयो- आज म उहि विनोदलाई खोज्न आएको रहेछु, जसले त्यतिबेला टिपरको टायर मुनि आफ्नो जिवन गुमाएको थियोे ।
जडवत् वस्तुजस्तो बसन्ती यथास्थानमै हराइरहेकी हुन्थी । उसलाई प्रेमको यादमा रुनु र हराउनु मात्रै थियो । छोराको सुर्ता थिएन । भोक लाग्दा आमाको छेउमा गएर उसलाई कोट्याउँथ्यो । मुर्तिजस्तो जडवत ऊ कुनै प्रतिक्रिया दिन्नथिई । ऊ चिच्याउदै भुइँभरि फत्तफत्तिन्थ्यो । लोटन हालिहालि रुन्थ्यो । र, रुदारुदै निदाउँथ्यो ।
ममा उकुसमुकुस थियोे । विनोद पनि संसारमा नभएको कुरा मभित्रै थुनिएको थियो । बसन्तीलाई भनेर काम पनि थिएन । परिस्थितिले म थप बेचैन बन्दै गएँ । त्यो रात आखिर के भएको थियो ? तथ्य भेटाउन सकस पर्दै गयो । आफुलाई निराधार पाएर झन उकुसमुकुस हुनथाल्यो ।
साँझको बेला थियो । भूमिकाजीलाई सन्देश पठाएँ । सन्देश उहाँसम्म गए पनि हत्तपत्त सिन भएन । सिन भए पनि कुनै प्रतिक्रिया आएन ।
घर आएको दुईदिनपछि फेसबुकको इन्बक्समा रातो टिक देखियो । खोलेर हेरेँ । भुमिकाजीले लेख्नुभएको थियो- कुरा तपाईले मेरो लेखमा पढ्नु भएजस्तै हो ।
प्रेम र बसन्तीले अन्तरजातीय बिबाह गरेका थिए । प्रेमको परिवारमा बृद्धआमा मात्रै थिइन । माइती पक्षको डरधम्की पछि प्रेमको परिवार तराई झरेको थियो । परिस्थिति प्रतिकूल हुँदै गएपछि बृद्धआमा र बसन्तीलाई छोडेर ऊ कमाउन भारत पसेको थियोे । पाँच बर्षपछि त्यसदिन घर फर्किएको ऊ त्यससाँझ मदिराले लठ भएर पिढीमै निदाएको थियो । भोलिपल्ट रूखमा त्यो अवस्थामा भेटिएको उसको मृत्युको यकिन कारणबारे म पनि अनविज्ञ नै छु ।
पाठकहरूबाट थेग्नै नसकिने गरी प्रश्न आएपछि आफुलाई थाहा भएजति कुराहरू समेटेर ‘पार्ट टु’ त्यहीँ सार्वजनिक गरिदिएकी छु । त्यसमा मृत्यु रहस्य बारेमा त्यस्तो केही छैन । आशंकाको बारेमा मात्रै केही छ । घर भएपछि झगडा र माया भएपछि शंका हुनु स्वभाविकै होला । त्यहि कुरालाई लिएर राति उठेर नाइके दाईको घरमा गएको ऊ त्यहाँबाट पनि फर्किएको थियोे । खास मलाई यकिन छैन, उसको मृत्यु रहस्यमय नै छ ।
- भूमिका ।
भूमिकाजीको सन्देश दोहोर्याई-तेह्रर्याई पढेँ । तर जति पटक पढेपनि पढ्न चाहेको कुरा पढ्न पाइन ।
परिस्थितिले झनै उकुसमुकुस बनायो । सोचमा डुब्न थालेँ । हालतले गाँज्दै लियो । दैनिकी भूल्दै गएँ । म आफ्नै काबुबाट आफै फुत्किदै गए, असामान्य हुँदै गएँ । भोक र निद्राले पनि मलाई पूर्व-प्रेमिकालेजस्तै चटक्क छोडेर जान थाले । नखाएको चार दिन भइसकेको थियोे भने ननिदाएको पाँचदिन । एकबजेको एक रात, छोडिजानेहरूको यादझैँ फर्किएर निद्रा मेरो आँखामा आयो । र निमेषभरमै म उसमा भुसुक्क हराएँ ।
-म प्रेम । यानेकि बसन्तीको प्रेम । प्रेम गर्नु पनि गल्ती भयो, अपराध भयो मेरो जिवनमा । जसको बदलामा मैले एकबारमा पाएको जीवननै दिनुपर्यो । मलाई कू-टाइममै मर्नुमा भन्दा धेरै दुख बसन्तीसँग छुट्टिनुमा भएको छ । उसले म एकजनालाई प्राप्त गर्ने दाउमा सबै आफ्नालाई गुमाएकि थिई । उसले मलाई आफ्नो बनाएदेखी उसका आफ्ना जति सबै पराइ भएका थिएँ । दलितसँग बिहे गरेको निहुँमा उसका आफन्त र परिवारले उसको काजकिरिया नै गरेका थिए । उसको आफ्नो भन्नू ममात्रै बचेको थिएँ । आज उसँग म पनि छैन । ‘मलाई माफ गर मेरी बसन्ती ! तिमीलाई रोएको मात्रै देख्नसक्छु म, आँसु पुछिदिन सक्दिनँ । मेरो लागि रुँदारूदैँ लथालिङ्ग भएकी तिमीलाई सम्हाल्न आउन सक्दिन । मलाई माफ गर !’
जीवनमा मेरो दुश्मन कोहि थिएन । बसन्तीलाई माया गरेर बसन्तीका आफ्नाहरू दुश्मन भएका थिए । ठूलो परिणाममा ज्यान मार्ने धम्कीहरू आइनैरहन्थे । बेलाबखत हमलाका प्रयासहरू पनि भए । नेपालमै केही गर्न सकिन्थ्यो । तर उनिहरूले हाम्रो पिछा गरिरहेका थिए । हामी दुवैजनाले त्यसै कुरालाई मध्यनजर गरेर छलफल गरियौँ । र कमाउनलाई भारत जाने निर्णय तब मात्रै भएको थियोे । परिवार पनि चल्ने, ज्यान पनि जोगिने र सबै व्यवस्था मिलिसकेपछि बसन्ती सहित स-परिवार उतै जाने सल्लाह पनि भएको थियो । र जीन्दगी, यही योजना अनुसार चलिरहेको थियोे ।
रक्सीको ताल र निद्राको रातमा म त्यति भेउ पाउदिन । म आफै आफ्नो नियन्त्रणमा हुँदिन । कहाँ गएँ, के गरेँ त्यति याद हुदैन पनि ।
त्यसरात, रक्सीको नसाले तलाउमा डुबेको मुढोझैँ मेरो जिउँ गरुँगो हुँदै गयो । आफ्नै जिउँले आफैलाई थिच्दै लग्यो । म थाक्दै गएँ । यति थाकेँ कि, पिढीमै निदाएँ ।
-बसन्ती र म मेलामा गएका थियौँ । उसले पिङ खेल्ने रहर गरि । हामी पिङ चढ्यौँ । ओहो ! फ्रि-फल भयो, एक्कासी आफुलाई तौल-बिहिन पाएँ । हावामा पो तैरिन थालेँ । मज्जा भन्दा पनि अनौठो, अनौठो भन्दा पनि डर पो लाग्न थाल्यो । हातखुट्टा लगलग काँप्न थाले । दशौँपटक माथिबाट सुइययय तल झरिरहँदा डिब्बाबाट फुत्त फुत्किएँ । भ्यात्त भुइँमा पछ्छारिन के आँटेको थिएँ, झसङ्ग भएँ ।
ओहो ! निद्रा पो रहेछ । आँखा खोलेँ । चारजना मान्छेले मलाई एक-एकओटा हात खुट्टा समाएर लैलै बनाउदै कतै लगिरहेका थिए । आत्तिए – प्रतिकार स्वरुप काटेको कुखुराझैँ फत्फत्तिएँ । तर उनिहरूले यसरी अँठ्याएका थिए कि, कमिलाले हात्तीलाई हल्लाउन खोजेजस्तो भयो । उनिहरूको रौँ पनि हल्लिएन ।
छिप्पिएको निस्पट्ट कालो रात आँखाअघि थियोे । बाटो पहिल्याउन अगाडि एकजनाले मधुरो लाइट बालिरहेको थियो । मैले उनिहरूलाई एकछिनमै ठम्याएँ,- लाइट बाल्ने बसन्तीका बा थिए भने मलाई समाएका उसका दाइ र छिमेकीहरू । मैले चिच्याउने कोसिस गरेँ । फेटाले मेरो मुख कसेर बाँधिदिए । मेरो आवाज म भित्रै दबियो ।
यसलाई यत्तिकै छोड्न हाम्रो धर्म हराएको छैन अझै । ठूलो जात ताक्नु परेको यसलाई ।´बेलाबेला उनिहरू फत्फत्ताइरहेका थिए,-
हाम्रो हातबाट मर्नलाई आज बल्ल आइपुग्यो । आजनै यसको अन्तिम दिन रहेछ !´
एककोष टाढाको बिरङ्गी नदि-किनारको बालुवा फाटमा उनिहरूले मलाई पुर्याए । मैले रुँदै हात जोडेर उनिहरूसँग जिवनको भिख मागेँ । ढुंगो पग्लिन्थ्यो होला तर उनिहरूको मन पग्लिएन । बसन्तीका दाइहरूले ममाथि लात्ती बज्जार्न थाले । बसन्तीका बाले उनिहरूलाई रोके । भने- `यसलाई यसरी मार्नु हुदैन । आफ्नै खुट्टामा बन्चरो हान्ने काम नगर । भोलि हत्या होइन, आत्महत्या देखिनुपर्छ । अंगभंग गराएर होइन यसलाई घाँटी थिचेर मार ।´
म झस्किएँ । मेरी बसन्तीलाई सम्झिएँ । प्रतिकार गर्न थालेँ । मेरो केही उपाय चलेन । सबैजनाले एकमुष्ट थिचेँ । बसन्तीका दाईले मेरो घाँटीको स्वास-नली बेस्सरी च्यापे ।
म मर्ने पक्का भयो । आमालाई सम्झिएँ,छोरालाई सम्झिएँ र बसन्तीलाई सम्झिएँ । मेरा आँखाबाट बलिन्द्रधारा आँसुहरू धाराप्रवाह बग्नथाले ।
मैले जति कोसिस गरेपनि आफ्नो मृत्युलाई रोक्न सकिन- मलाई भाउन्न छुटेर आयो । सास छातिभित्रै थुनियो । आँखाका नानीहरू खुर्सानी लागेजस्तै पिरा भए र उल्टिए ।
त्यसपछि बडो मेहनतकासाथ मलाई उनिहरूले रुखमा झुन्ड्याए र घरतिर लागे । सधैंको लागि छोडेर जान आँटेको सासलाई रोक्न म अन्तिम पटक बेस्सरी छट्पट्टाएँ । अहँ कसै गरे पनि सकिन, सासलाई रोक्न । सकिन, आफ्नो मृत्युुलाई रोक्न । अनि म मरेँ ।
ओहो! भयभीत सपना । बाहिर एकहोरो कराइरहेका स्यालका हुइयाँले मलाई बिउँझाए । तन्द्रामा आउँदा पसिनाले निथ्रुक्कै भिजेको थिएँ म । मलाई उसको मृत्यु रहस्यले थप निदाउन दिएन । बाहिर रात निख्रिएको थिएन । आकाशमा तारा झर्दै थिए, म प्रेमको घरतिर लागेँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)