रिना सुब्बाको ‘परिवर्तित अनुहार’ले बोकेको उग्र नारीवादी चिन्तन
सरमान सुब्बा ‘रसिक’
उपन्यासकार रिना सुब्बाको ‘परिवर्तित अनुहार’ उपन्यास पढेपछि केही लेख्ने रहरले हुतहुत्यायो । हुन त उपन्यास धेरैले लेखिसकेका छन् तर रिना सुब्बाको उपन्यास विशेष प्रकारको लाग्छ मलाई चाहिँ। फरक फरक परिवेश, फरक फरक घटना र फरक फरक पात्रहरुलाई एउटै कथा वस्तुमा ल्याएर उपन्यासलाई रोचक बनाएको छ। उनको ‘परिवर्तित अनुहार ‘ डल्लै परिसकेपछि यति चाहिँ अनुमान लगाउन सकिन्छ उनी उग्र नारीवादी खेमाको हुन्। अध्ययन अनुसार नारीवाद 6 साहित्य छ प्रकारको हुन्छन्:
१. उदारवादी नारीवाद (Liberal Feminism)
२. उग्रवादी नारीवाद तथा अमुल परिवर्तनवादी नारीवाद (Radical Feminism)
३. समाजवादी/मार्क्सवादी नारीवाद (Socialism /Marxism Feminism)
४. उत्तराधुनिक नारीवाद (Post Modernism Feminism)
५. साँस्कृतिक नारीवाद (Cultural Feminism)
६. पर्यावरणीय नारीवाद (Eco Feminism)
यी माथिका वर्गीकरण गरिएको नारीवादी विचार अनुसार रिना सुब्बाकृत उपन्यास ”परिवर्तितअनुहार’लाई उग्र नारीवादी चिन्तनको पक्षमा लेखिएको साहित्य मान्न सकिन्छ। उग्र नारीवाद साहित्य तथा चिन्तन अनुसार पितृसत्तात्मक व्यवस्था नै नारीहरुको समस्याको मूल जड हो। उग्र नारीवादीहरुको निम्न यी मान्यता छ:
१. पितृसत्तात्मकताकै प्रभावको कारण पुरुषहरुले आफ्नो स्त्रीहरुलाई सबै क्षेत्रमा अधिनमा ल्याएको हो ।
२. विवाह प्रणाली पुरुषहरुको निम्ति पितृसत्तात्मक व्यवस्थालाई दह्रिलो बनाउँदै स्त्रीहरुमाथि शासन गर्ने एउटा माध्यम हो। यसकारण उग्र नारीवादी विचारकहरु विवाह प्रणालीको विरोध गर्दछन्।
३. नारीहरुको स्वतन्त्रताको निम्ति पितृसत्तात्मक प्रणालीलाई नष्ट गर्न पर्छ। पितृसत्तात्मक प्रणालीको आधार नै परिवार हो।
४. एक नारीवादी चिन्तक फायर स्टोनको यो धारणा रहेको छ कि महिला तथा पुरुषमा जैविक अन्तर छ। यदि महिला (स्त्री) हरुलाई बच्चा जन्माउनबाट मुक्त गराउनु हो भने उनीहरुमाथि पुरुषहरुको वर्चस्व समाप्त हुनेछ।I
यहाँ उल्लेख गरिएको परिवर्तित अनुहार उपन्यासको पात्रा जरिनाले भोग्न परिरहेको समस्याको मूल जड पनि नारीवादी चिन्तक फायर स्टोनले उल्लेख गरेको जैविक अन्तरकै कारण हो। अर्थात नारीहरुको जनन क्षमता नै उनीहरुमाथि पुरुषहरुको अधिनता मूल कारण हुन्। यसकारण उग्रवादी नारीवादीहरुह वुमेन बायोलाजिकल टर्मको सट्टा जेण्डर कल्चरल (Gender Cultural) धर्मलाई प्रयोग गर्नमा जोड दिन्छन्।
रिना सुब्बाकृत उपन्यास ‘परिवर्तित अनुहार’मा जरिनाकी सासु र ससुराले आफ्नो बुहारीको गर्भमा बव्चा रहँदा नै त्यो बच्चा छोरी रहेको चिकित्सकबाट थाहा लागेपछि भ्रुण हत्या गर्नमा लागी परेकोले जरिनाले आफ्नो गर्भमा रहेको शिशुको रक्षा गर्न अनेक संघर्ष गर्न परेको कथाले भारतीय हिन्दु तथा मुस्लिम संस्कारमा पितृसत्तात्मक सोच हावी रहेको चित्रण पाइन्छ। जरिनालाई उसको लोग्नेले केवल भोग्य वस्तुको रुपमा हेरेको अनि उनको परिवारले पनि जरिनालाई सन्तान जन्माउने मेशिनको रुपमा हेरेका छन्। यस उपन्यासमा मूल पात्रा याने उपन्यासकी मूल नायिका उपन्यासकार स्वंयम रहेकी छिन् जसको बोलाउने नाम सुशिला हो भने उनको सबैभन्दा मिल्ने साथी जरिना जात र धर्मले मुस्लिम परिवारकी हुन्छिन्। कथाको शुरुवात रोजी र उनी आफै स्कूलबाट घर फर्किरहेको समय विपरीत दिशाबाट सुमो गाडीभित्रबाट एकजना मोटो मान्छेले प्याच्च पानसरीको थुक रोजीको वस्त्रमा रात्तै थुक्छ। यसको प्रतिउत्तरमा सुशिला याने उपन्यासको मूल पात्राले ढुंगाले गाडीको शिशा फुट्ने गरी हिर्काउँछिन। त्यसपछि सुमोको चालकसित भनाबैरी चल्छ र अन्त्यमा त्यो थुक्ने मान्छेले रोजीसित माफी मागे पछि दुवै तर्फको समस्या समाधान हुन्छ। यस घटनाबाटै सुशिला कति उग्र स्वाभवकी छिन् भन्ने कुराले उपन्यासकारको उग्र नारीवादी स्वभावलाई दर्शाएको छ। उपन्यासकारले यस उपन्यासमा धेरै ठाउँमा पुरुषको निन्दा गरेताज पनि कुनै कुनै पुरुषलाई भने ? आदर्श पुरुषको रुपमा पनि स्वीकारेका छन्। यस घटना पश्चात संयोगवश जसरी रोजीकोज प्रेम विवाह उनै सुमोको ड्राइभरसित हुन्छ, ती ड्राइभर खुबै रमाइला र आदर्श पुरुषको रुपमा उपन्यासकारले स्वीकारेकी छिन्। सबै पुरुष एकैनाशको हुँदैन भन्ने यस उपन्यासमार्फत अवगत पनि गराएकी छिन्।
यस उपन्यासको विशेषता भनेकै अलग अलग पात्र पात्र, अलग अलग संस्कृति र अलग अलग परिवेश हो। बंगाली परिवार, मुस्लिम परिवार तथा नेपाली परिवारहरु माझको मिश्रित धर्म र संस्कृतिको वर्णनले उपन्यासलाई साँस्कृतिक नारीवाद उपन्यासको रुपमा पनि हेर्न सकिन्छ यद्यपि यस उपन्यासको मूल विषयवस्तु भनेकै उग्र नारीवादी चिन्तन हो जहाँ पितृसत्तात्मक प्रणालीलाई जरैबाट उखेली फ्याँकनु पर्ने उपन्यासकारको धारणा रहेको छ।
उपन्यास ‘परिवर्तित अनुहार’को माध्यमबाट उपन्यासकारले महिलाहरुको सुरक्षा र अधिकारको निम्ति अमुल परिवर्तन नारीवाद चेतनाको आह्वान गरेको छ। समाजवादी चिन्तक एञ्जेलले भने जस्तै महिलाहरुलाई पुरुषले आफ्नो निजी सम्पत्ति मान्छन् भन्ने तर्ककै आधारमा यस उपन्यासकी सर्जक रिना सुब्बाले पुञ्जीवादनै यसको जड हो भन्ने बुझाईसम्म पुगेको छ। यहाँ मैले परिवर्तित अनुहार उपन्यासकी सर्जक रिना सुब्बाले थालेको क्रान्तिको चर्चा गर्न भन्दा अघि नारीवादी आन्दोलनको विषयमा पृष्ठभूमि बाँच्नु पर्ने भएकाले यसको ऐतिहासिकतातिर पछि फर्किनु पर्ने हुन्छ। नारीवादी आन्दोलनको विषयमा भन्न पर्दा नारीवादी आन्दोलनलाई प्रायः तीन लहरमा विभाजित गरेको पाइन्छ।
नारीवादी आन्दोलनको प्रथम लहर 19 औं सदाको आरम्भदेखि प्रायः 1920 इस्वी सम्म मानिन्छ भने 1960 को दशकमा दोस्रो लहर र बीसऔं सदीको आठौ दशकको बाद (1980-90) तेस्रो लहरको नारीवादी आन्दोलन शुरु भएको विभिन्न स्रोतबाट थाहा लाग्दछ। नारीवादी आन्दोलनको* प्रथम लहर 1950 देखि 1920 को बीचलाई मानिन्छ। यही लहरको समयमा महिलाहरुले निजी र सार्वजनिक दायरामा पितृसत्ताको वर्चस्वको चुनौती दिएका थिए भन्ने तर्क छ। यसै आन्दोलनको तहत भोकको अधिकार, समान वेतन तथा सम्मान शिक्षा एवं सम्पतिमा कानुनी अधिकार प्राप्त गर्नलाई संघर्ष गरेको जानकारी पाइन्छ।
जति बेला अमेरिका र युरोपमा नारीवादी आन्दोलनको पहिलो लहर चलिरहेको थियो, नेपालमा राणाशासन उत्कर्षमा थियो । त्यति नै बेला अर्थात् विसं १९७४ तिर योगमाया न्यौपानेको नेतृत्वमा महिला समिति गठन भएको थियो, जसले सती प्रथा, बालविवाह जस्ता सामाजिक कुरीतिविरुद्ध अभियान थालेको थियो । राणाशासकले माग पूरा नगरेको भन्दै योगमायाले ६८ अनुयायीसहित अरुण नदीमा हामफालेर देहत्याग गरेको इतिहास छ। यस घटनाको तीन वर्षपछि १९७७ असार २५ मा प्रधानमन्त्री चन्द्रशमशेरले सती प्रथामा प्रतिबन्ध लगाएका थिए ।परिवर्तित अनुहारको मूल पात्रा नै उपन्यासकार आफै भएकीले यो उपन्यास झण्डै झण्डै आत्म संस्मरणात्मक भएको छ। उपन्यासकारले आफुलाई निरीह र लाचारीको रूपमा नदेखाएर हिम्मतवाली र विद्रोही देखा परेकी छिन्। महिलाहरुको रक्षा पुरुषहरुले नै गर्नु पर्दछ भन्ने एउटा पुरुष प्रधान समाजको सोचाई छ जुन सोचको विपरीत यस उपन्यासकी मुख्य पात्रा सुशिला देखापरेकी छिन्। उपन्यासको भाग दुईमा पुग्दा घरेलु हिंसाले पिडित स्वास्नी मानिसको कथा छ। उनी बसेको केही पर एउटा अस्पतालमा घुम्दै जाँदा उपन्यासकारले केही स्वास्नी मानिसहरु रोगले ग्रस्त भएको पाउँछिन् र ती मध्ये एउटी महिला कुष्ठरोगले ग्रसित हुन्छिन्। ती कुष्ठरोगी महिलासित सम्वाद हुँदा थाहा पाउँछिन् कि ती महिलालाई आफ्नै ससुराले लोग्ने विदेश गएको मौका छोपी बार बार बलात्कार गर्छन तर उनको रक्षा गर्नको साटो आफ्नै सासु आमाले बुहारीमाथि जम्मै दोष खन्याएर एक्लाउँछन्। एकदिन घरमा परिवार नभएको मौका छोपी ससुराले ती महिलालाई (बुहारी) बलात्कार गर्न खोज्छन् तर आफ्नो नारीत्व जोगाउन उनले आफ्नो यौन पिपासु ससुरामाथि खुकुरी प्रहार गरेर हत्या गर्छिन्। त्यस घटनादेखि परिवारबाट एक्लिएकी ती महिलालाई आफ्नो लोग्नेले उपचारको बहना बनाएर कुष्ठरोग अस्पताल पुर्याएर छोड्छन्। ती महिलाले ससुरामाथि खुकुरी प्रहार गरेर नारीत्वको रक्षा गर्नु एउटा पितृसत्तात्मक प्रणाली माथि विद्रोह मानिन्छ।
उपन्यासको भाग तीनमा पुग्दा यस उपन्यासको मुख्य पात्राले एउटी झरझराउँदो आदिवासी युवतीलाई भेट्छिन। कुराकानी हुँदा थाहा लाग्छ ती युवती पनि घरेलु हिंसाको पिडित हुन्। चरम गरीबीको कारणले उनलाई सानै उमेरमा एउटा नेपाली परिवारको घरमा कामदारको रुपमा राखेको हुन्छ तर त्यहाँ उनीमाथि अन्याय र अत्याचार भई रहेकै समय एउटा मानव तस्करीको गिरोहले भेटाउँछ र विवाह गर्ने प्रलोभनमा तिनलाई लाँदै गरेको समय सुशिलाले एन जे पी रेलवे स्टेसनमा भेटाएको कथा यहाँ उल्लेख गरिएको छ छ। त्यसपछि सुसिला आफ्नो साथी जरिनाको निमन्त्रणामा कोलकोताको जाधवपुर गएकी हुन्छिन्। त्यहाँ पनि उनले ठाउँ ठाउँमा महिलाहरूमाथि हिंसात्मक व्यवहार गरिएको घटनाहरु देख्दा उनको मनमा पुरुष जातिप्रति घृणा र विद्रोह एकसाथ जागेर आउँछ।
उपन्यासको भाग चारमा आइपुग्दा डुवर्स आदिवासी जनजाति समाज र त्यहाँको नेपाली समाजको दृष्य देखिन्छ। सुशिला डुवर्सको मटेली चिया कमानमा आफ्नो बहिनी ज्वाइँ पर्नेको घरमा जाँदा उसको सम्बन्ध उषा नामको सानो जातको युवतीसित हुन्छ। उनले मटेलीमा पुग्दा एउटा घरमा महिलाहरुको चित्कार सुन्छिन्। छेउमा गएर बुझ्दा उषाको दाजुले उषा,उसको आमा र स्वास्नीलाई निर्ममतापूर्वक हातपात गरेको देख्छ। त्यहाँ पुगेर बुझ्दा सुशिलाले त्यो घरमा सँधै आफ्नो बहिनी, आमा र स्वास्नीमाथि त्यो नर पिशाच जँड्याहाले कुटपिट गरेको थाहा पाउँछे। सुशिला आफु एउटी नारी भए पनि त्यो ठाउँको गुण्डा उपाधिले कुख्यात उषाको दाजुसित एक्लै भिड्ने हिम्मत गर्दा गर्दै उसको बहिनीले आएर तानेर सुशिलालाई लाँदै सम्झाउँछिन्- ‘त्यो त गुण्डा हो गुण्डा। घरको समान रक्सी पिउनलाई सब बेची खाइसक्यो। घरका स्त्रीहरुलाई स्त्रीहतुलाई कुटेर धुलो पिठो पार्छ। गाउँ -घर एक शब्द बोले उसैमाथि झम्टिन्छ, कसैले मुख खोल्ने आँट गर्न सक्तैन। अघि देख्नु भयो होला त आमा, बहिनी, बुढी सबलाई मरणासन्न अवस्थामा पुर्याउँदा पनि कोही बोलेनन्। त्यो घरमा स्त्रीहरुको पशुजस्तै कुटाई हुन्छ ।’
सुशिलाको मनमा पुरुष जाति प्रति अझ घृणा बढ्छ। उषालाई जसरी हुन्छ उसको राक्षस दाजुको पञ्जाबाट मुक्त गर्ने उसले निश्चय गरेकी हुन्छिन्। यस उपन्यासमा जातीय र रंगभेद विरुद्धमा पछि उपन्यासकार सुब्बाले प्रखर आवाज उठाएकी छिन्। ‘परिवर्तित अनुहार’ उपन्यास बहु सांस्कृतिक झलक बोकेको एउटा झाँकी पनि हो। यस उपन्यासमा आदिवासी जनजाति, नेपाली समुदाय, बंगाली -मुस्लिम समुदायको अलग अलग संस्कृति र परम्पराको वर्णन गर्दै अलग अलग ठाउँको महिलाहरुको समस्यमा समानता नभए पनि यसको जड लिंग भेद नै हो भन्ने यस उपन्यासले देखाएको छ।
अर्को पक्ष यसमा उपन्यास परिवर्तित अनुहारले पितृसत्तात्मक आधारित रुढीवादी परम्पराको जही ताही विरोध गरिएको पाइन्छ। एक ठाउँ क्रान्ति (सुशिलाको परिवर्तित नाम) ले उषालाई भन्छिन्- ‘समाजको धार्मिक नीतिहरुको म कट्टर विरोधी। मान्छे भए पछि सवैले समान अधिकार पाउनु पर्छ भन्ने पक्षमा म छु। कसैको दबाउमा परी हातमा बाइँ -बाला लगाई म हिँड्न चाहन्नँ।’ उषा र क्रान्ति माझको यी सम्वादले नव साँस्कृतिक आन्दोलनलाई परिवर्तित अनुहार ले निम्त्याएको पाइन्छ। प्रसङ्गवश उत्तर आधुनिक नारीवादी दर्शन (Post Modern Feminist Philosophy) को मान्यतालाई पनि अवलम्बन गर्दै समय तथा परिस्थिति सँग सँगै मान्छेको विचार र धारणा पनि परिवर्तन हुन्छ भन्ने कुराको पुष्टि यस उपन्यासले देखाएको छ। यहाँ उपन्यासकारले समलिङ्गी विवाहको पक्षमा वकालत गर्नु पनि रुढीवादी मान्यतालाई चुनौती दिनु रहेको पाइन्छ। कथाको मध्यमा क्रान्तिले उषालाई मानवताको नातामा आफ्नो घरमा शरण दिएको देखाइएको छ भने कथाको अन्त्यमा दुवै समलैंगिक भएर नयाँ जीवन थालनी गरेर कथालाई बिट मारेकी छिन्। जहाँ हाम्रो समाजले समलैंगिक विवाहलाई मान्यता दिएका छैनन् त्यही क्रान्ति र उषा समलैंगिक भएर बस्नु रुढीवादी विचारधारा माथि उपन्यासकार रिना सुब्बाले थालेकी आन्दोलन हो।
परिवर्तित अनुहारभित्रका प्रमुख अनुहारहरु
सुशिला- यस उन्यासकी प्रमुख नायिका । समाजमा उत्पिडित महिलाहरुको प्रतिनिधित्व गर्दै पितृसत्तात्मक प्रणालीलाई जरैबाट उखेल्न अमुल नारीवादी परिवर्तनलाई स्वीकार्दै पुरुषहरुको अधिनायकवादी प्रवृत्तिमाथि विद्रोह गरेकी छिन। एक ठाउँमा यस उपन्यासकी पात्रा सुजुलाई महिलाहरुको भुमिका माथि प्रकाश पार्दै भन्छिन्- ‘तिम्रो पहिचान यो समाजमा स्वयं बनाउन पर्नेछ। समाज क्रूर छ जसले स्त्रीलाई खेदो गरेर आफ्नो वशमा ल्याउन तत्पर रहन्छ। हामी स्त्री केवल पुरुषकै अधीनता स्वीकार गरेर प्रताडित बन्न जन्मेका होइनौ..’
रोजी- सुशिलाकी सहपाठी। स्वाभावले शान्त र कसैप्रति आक्रोशित नबन्ने। कथाको शुरुवातमा सुशिला र रोजी कतै गई रहेको समयमा एउटा सुमो गाडीभित्रबाट एकजना अपरिचित प्यासेञ्जरले रोजीको वस्त्र बिग्रिने गरी थुकी पठाउँछ। यसको प्रतिक्रिया स्वरुप सुशीलाले पछ्याउँदै गएर त्यो सुमो गाडीमा ढुंगा हानेर शिशा फुटाई दिन्छ। केही क्षण ड्राइभरसित रोजीको चर्का चर्की भएपछि त्यो मोटो थुक्ने प्यासेञ्जरले माफी माग्छ र क्षतिपुर्ति पनि उसैले दिने आश्वासन पछि कुरा मिल्छ। त्यसदिनको घटनापछि रोजी र ड्राइभरको सम्बन्ध प्रेम हुँदै विवाहमा परिणत हुन्छ। यसपछि रोजीको भुमिका उपन्यासमा सकिन्छ। उपन्यासकारले सबै पुरुषमा गलत नियत हुँदैन भनेर ड्राइभरको चरित्र चित्रण गरेको छ।
जरिना- जरिना एउटी बंगाली मुस्लिम समुदायको हुन्छिन्। उनीहरुको जात र धर्ममा रही आएको रुढीवादी पारम्परिक प्रणालीहरु जस्तै मुस्लिम महिलाहरुले अनिवार्य रूपमा पहिरिनै पर्ने कालो बुर्काको विरोधमा जरिना उभिएकी एक योद्धा हुन्छिन्। आफ्नो मुस्लिम धार्मिक आस्थाको विपरित यस उपन्यासमा उनले अनुहार छोप्ने गरी कालो बुर्का कहिल्यै पहिरिँदैनन्। उनी पनि सुशिला जस्तै हठी र विद्रोही स्वाभावको कारण आफ्नो नरपिशाच मानिएको लोग्नेसित तलाक लिन्छन् र पुरुष प्रधान दबदबादेखि मुक्त हुन्छिन्।
उषा- उषा एउटी आदिवासी समाजमा रहेकी दलित समुदायको युवती हुन्। मटेली डुवर्समा रहेकी उषालाई एकदिन सुशिलाले आफ्नो बहिनी ज्वाइँको घर जाँदै गर्दा एउटा घरमा महिलाहरुको चित्कार र पुरुषको कर्कश स्वर सुन्छिन्। त्यहाँ उषाको परिवारमा त्यस घरको महिलाहरुमाथि पुरुषको ठुलो अत्याचार देखेपछि सुशिलाको मनमा पुरुषप्रति अझ घृणा बढेर जान्छ र पुरुषहरुको महिलाहरु माथिल्लो हुने हिंसाको अन्त्य गरेरै छाड्ने निश्चय गर्छिन्। उसले त्यो परिवारमा उषा, उनकी आमा र उषाको भाउजुलाई उनको दाजुले पशुसरह व्यवहार गरेको पटक्कै मन पराउँदैनन्। उषाको दाजु त्यो गाउँको खुँखार खलनायक हुन्छ र पनि सुशिलाले त्यस्ता नीच पुरुषसित आँखामा आँखा जुधाएर तर्क गर्ने हिम्मत गरेको दृष्यले सबै नारी कम्जोर र अबला हुँदैनन् भन्ने सन्देश छोडेको छ। त्यसदिनदेखि उपन्यासको अन्तिम भागसम्म उषा सुशिलासित जोडिएर उनीहरु समलिङ्गी भएर बस्छिन् जुन त्यो रुढीवादी परम्पराको निम्ति ठुलो चुनौती हुन्छन्। उषालाई साहसी, चेतनशील र पितृसत्तात्मक व्यवस्थाको विद्रोहमा उभ्याउने भुमिका निर्वाह पनि सुशीलाले गरेको हुन्छिन्।
सुजन- सुजनलाई त्यो गाउँमा आवारा र स्त्री भोगी भएर हिँड्ने नलायक पुरुषको रुपमा उभ्याइएको छ। एकरात सुशिलालाई बलात्कार गर्ने नियतले गएको हुन्छ सुजन तर सुशिलाको खुकुरीको प्रहारले त्यसदिनदेखि गाउँ छाडेर भाग्छ र आफ्नै बज्युको अन्तिम संस्कारमा पनि आउँदैनन्। त्यसदिनदेखि सुशिलालाई मान्छे काट्ने केटीको रुपमा हेरेर सबै उनीसित डराउँछन्।
रोशनी- यस उपन्यासमा अर्की सह नायिका रोशनी हुन्। पुरुष प्रधान समाजमा रोशनीले पनि घरेलु हिंसाको शिकार बनाउन उनको पति र परिवार लागी परेका हुन्छन्। महिला जातिलाई मनोरञ्जन र सन्तान उत्पादन गर्ने एउटा तुच्छ मेशिन सम्झिने समाजमा रोशनीलाई पनि उनको पति र सासू ससुराले त्यही नजरमा हेर्छन। उनको पति र सासू ससुराले सन्तान जन्माउन नसक्ने बाँझी आइमेको नजरले हेर्दै उनीमाथि सौता हाल्ने षड्यन्त्र रच्छन् तर रोशनीले आफु बाँझी नरहेको प्रमाण दिन गाउँकै एउटा राकेश नामको स्त्री लम्पट केटासित शारिरिक सम्बन्ध राखी छोरी जन्माएर त्यो रुढीवादी समाजलाई चुनौती दिन्छिन्। वास्तवमा प्रजनन् क्षमता उनको पतिसित हुँदैन तरै पनि आफ्नो पति त्यो दोष लुकाउँदै पर स्त्रीसित सम्बन्ध गाँस्दै हिँड्छन्। रोशनीले पनि जरिनाले जस्तै आफ्नो लोग्नेसित सम्बन्ध विच्छेद गर्छिन् र अलग्गै आफ्नो छोरीसित बस्छिन्। उपन्यासकाले पात्रा रोशनीलाई पनि उग्र नारीवादी भुमिकामा उभ्याएकी छिन् जहाँ सन्तान प्राप्त नहुनमा स्त्री दोष देखाउने पुरुष सत्तामाथि विद्रोह पाइन्छ।
सतीश- यस उपन्यासमा सतीशलाई खलनायक भुमिकामा उभ्याएको छ। पितृसत्तात्मक समाजमा महिला जातिलाई एउटा मनोरञ्जनको साधन मानेर उनीहरुमाथि शारिरिक र मानसिक दोहन गर्ने भिलेनको प्रतिनिधित्व सतीश नामको पुरुषले गरेको छ। आफ्नै बहिनी समेतलाई यौन हिंसाको शिकार बनाएर सतीशले तथाकथित पितृसत्तात्मक व्यवस्थाको फाइदा उठाउँदै उषा नामको पात्रालाई पनि मानसिक दोहन गर्न पछि पर्दैनन्। तर सुशिलाको उग्र रुपको अगाडि सतीशको पनि केही जोड चल्दैनन्। सतीश जस्तो लबस्तरोलाई प्रोत्साहन दिनुमा उनकै घरको परिवारको भुमिका रहेको पनि यस उपन्यासले देखाएको छ।
सुजु- यस उपन्यासमा सुजुलाई सतीशको बहिनीको रुपमा उभ्याइएको छ। सतीश त्यो गाउँको गुण्डा हुन्छ र उसको अगाडि परेको कुनै पनि महिलालाई उसले यौन दुव्र्यवहार गरिरहन्छ र युवतीको नग्न तस्बिरको भिडियो बनाएर उसले धन्दा गर्छ। उसले आफ्नै निज बहिनी सुजुको पनि डर र धम्की देखाउँदै नग्न तस्बिर सहितको भिडियो बनाउँछ र अन्य गुण्डाहरु लगाएर सुजुलाई बलात्कार गर्न लगाउँछ। यति हुँदाहुँदै पनि उसको आमाले सतीशलाई दोष रहित देखाउन सुजुलाई नै आत्महत्या गर्न प्रेरित गराउँछे। महिलाहरुको सुरक्षा र अधिकारको निम्ति अघि आएको सुशिलालाई सतीशको आमाले पटक्कै मन पराउँदैनन् र सुधिलासित सम्पर्क नगर्ने हुकुम पनि उनकै आमाले गरेको हुन्छिन्। सतीशलाई सुशिलाको भुमिकाले जेलमा हाल्न सफल त हुन्छ तर त्यही सुजु बसेको रुढीवादी समाजले सुजुलाई उल्टै चरित्रहीन युवतीको उपमा दिएकै कारण उनले आत्महत्या गर्न बाध्य भएको घटनाले उपन्यासलाई अझ रहस्यमय बनाएको छ।
सुनिता- यस परिवर्तित अनुहार उपन्यासको विध्यार्थी पात्रा हुन्। रुढीवादी परम्पराले जरो गाडेको समाजमा यस्ता पितृसत्ता प्रणालीलाई उखेल्न सुनिताले भुमिका निर्वाह गरेकी छिन्। पुरुषप्रधान समाजमा छोरालाई वर र छोरीलाई पर गर्ने चलन भएकै कारण आफ्नो जन्मदिने बाबु आमा मर्दा डाक बत्ती बाल्नदेखि लिएर कोरा बस्न समेत छोराकै भुमिका भई रहेको समय सुनिताले व्यवहारिक रुपमा यस कुचलनलाई किल्चेर उसले साँस्कृतिक आन्दोलन गरेकी छिन्।
स्मृति मिस- यस उपन्यासमा स्मृति मिसलाई केही छिन पर्दामा देखापएको छ। उनले पनि पितृसत्तात्मक सोंच विपरीत सुशिलालाई सहयोग पुर्याउँछन् र छोरा र छोरीमाझ समान हक र अधिकारको वकालत गरेकी छिन्।
शर्मिला र किशोर- शर्मिला र किशोर दुईलाई एक आदर्श प्रेमी प्रेमिकाको भुमिकामा देखाइएको छ। दुईजना प्रेम सम्बन्ध बाँधिए पछि एकदिन शर्मिला किशोरसित भाग्छिन् तर अभाग्यवश होटलमा बसेको रात किशोर अचानक दुर्घटनामा पर्छ र त्यो कुरा न त शर्मिलालाई थाहा हुन्छ न त होटल मालिकलाई थाहा हुन्छ। होटल मालिकले उसलाई वेश्या सम्झेर होटलको भाडा नदिएको भन्दै कुटपिट गर्छ। त्यतिनै बेला शर्मिलालाई उद्धार गरेर सुशिलाले लान्छिन्। पछि संयोगवश विवाह पार्टीमा सुशीलालाई बोलाउँछिन् र उषासित उनी विवाह पार्टीमा जाँदा शर्मिला र किशोर वैवाहिक सम्बन्धमा भेट्छन्। सबैकुरा सुशिलाले त्यहाँ पुगेर बुझ्छिन्।
उमा- उमा उषाकै मटेली चिया कमानबाट गाउँबाट आएकी आदिवासी युवती हुन्छिन् जो कामदारको रुपमा सुशिलाकै गाउँमा आएको समय शर्मिलाको विवाहमा भेट हुन्छ। यस उपन्यासमा उमाले चम्चाको भुमिकामा हुन्छिन् जसले गाउँभरिको पोल पुर्याएर आपसमा बझाउने काम गरेकी छिन्। उषा सुशिलासित बसेको पोल पनि उमालेनै उषाको दाजुलाई लगाएकी अड्कल उषाले लगाउँछिन्।
जहाँसम्म मार्क्सवादले पुञ्जीवाद नै महिलाहरुको निम्ति प्रमुख समस्या हो भनेका छन्, त्यहीं समाजवादी नारीवादीहरुले यौनिकता (सेक्स्युलिटी) तथा बौद्धिकता (इन्टेलेक्ट्युलिटी) तथा लिंग सम्बन्ध तथा प्रभुत्व एवं अधिनतामा आधारितलाई प्रमुख समस्याहरु मानेका छन् । यता पर्यावरणीय नारीवादमा प्रकृतिसित महिलालाई तुलना गरेका छन् भने साँस्कृतिक नारीवाद (Cultural Feminism) ले अलग अलग देशको अलग अलग संस्कृति हुने भएकोले अलग अलग देशको अलग अलग विचारहरु भएकै कारणले दुनियाँ महिलाहरुलाई एउटै वर्गमा समेटिनु नसकिने बताएका छन्। जस्तो कि अमेरिकी महिलाहरुको समस्या क्लब जानु हो भने अफ्रिकन हब्सी महिलाहरुको समस्या शिक्षासित जडित छ। भारतमा विविध जाति र संस्कृति भएको कारणले अतिनारीवाद याने उग्र नारीवाद सम्भव छैन पनि भनिरहेका छन्। यता परिवर्तित अनुहार उपन्यासमा पनि जरिनाले भोग्नु परेको समस्या तलाक तथा बुर्का प्रथासित जोडिएको छ भने उषाले भोगेको समस्या मध्ये एउटा छुवाछुतको भावना हो। सुशिलाहरुको अर्कै समस्या छ। यद्यपि उपन्यासकारले यी सबै नारी पात्राहरुलाई एउटै वर्गमा समेट्ने प्रयास गरेकी छिन्। उत्तर आधुनिक नारीवाद चिन्तनले त समय, परिस्थिति र विज्ञानसित जोडेर महिलाहरुको समस्याको समाधान खोजेका छन्। आदर्शवाद नारीवादीहरुले महिला पुरुषमा समान हक अधिकार र समान रुपमा मतदान गर्न पाउनु पर्ने वकालत मात्रै गरेका छन्।
परिवर्तित अनुहारमा देखाइएका प्रायः सबै घटनाक्रमहरु स्वभाविक रुपमा भई रहेको एउटा यथार्थ चित्रण पनि भएकोले यसलाई यथार्थवादी समाजिक नारीवादी उपन्यास पनि भन्न सकिन्छ तर जहाँसम्म मेरो व्यक्तिगत धारणा सबैको निम्ति स्वीकार्य हुनै पर्छ भन्ने पनि छैन।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)