विशेषज्ञ

व्यङ्ग्यकार नगिता लेप्चा राई भारतीय नेपाली नारी हस्ताक्षर हुन् । विद्यार्थी अवस्थादेखि नै साहित्यमा रुचि भएकोले साहित्यप्रतिको मोहले साहित्यकार बनाइ छोड्यो । जीवनका धेरै उकाली ओह्राली नाँघ्दै विवाहित जीवन आरम्भ गरेदेखि प्रथम पल्ट गाउँबाटै छापिने साहित्यिक पत्रिका हाम्रो बैकुण्ठपुरमा पहिलो कविता प्रकाशित भएको हो । त्यसपछि हाम्रो पहल र कानेखुसीमा नियमित कविता तथा व्यङ्ग्यहरू प्रकाशित भएदेखि आजसम्म देश-विदेशका साहित्यिक तथा आनलाइन पत्रिकामा कविता तथा हास्यव्यङ्ग्य रचनाहरू प्रकाशित भइरहेको पाइन्छ । त्यसपछि अल इण्डिया रेडियो खरसाङ (दार्जिलिङ)की नियमित वार्ताकार पनि हुन् । उनको एउटा काव्यकृति ‘मेरो बालापन’ प्रकाशित छ । चाँड़ै उनको हास्यव्यङ्ग्य निबन्ध कृति प्रकाशनमा आउने भएको छ ।

नगिता लेप्चा राई
जलपाइगढ़ी, भारत

दिनभरि गधाजस्तो खटेर घर पस्नेसाथै छोरो खाटमाथि लड़िरहेको देखेर डम्बरेले सोध्यो, ‘अरे तेरो कानको लोती किन यति रातो हँ…केल्ले टोक्यो कि…।’

‘खै कुनि…’

‘दुख्दैछ ?’

‘कम्ति…’

‘आमामामा…. हेर त यसको कान कान दुख्दैछ रहेछ मलाई किन नभनेको ? कानको बिमारजस्तो डेन्जर अरु केही हुँदैन । हिँड़्…हिँड़् डाक्टरकहाँ अहिले हिँड़्…उठ्…उठ् छोरा ।’

एकक्षण पनि नबिसाई छोरोलाई लिएर डम्बरे डाक्टरकहाँ लाग्यो । सोझै फेमिली डाक्टर तामाङकहाँ पुगे दुइ बाबु छोरो । डाक्टर तामाङले रोगीको छात्ती, जिब्रो, पेट, नाकको ओड़ार, कान, आँखा लाइट बालेर जाँचे । तीन सय रुपियाँ फिस लिएपछि डाक्टरले नानीलाई कानको डाक्टरकहाँ लाने सुझाव दिए । कानमै केही गड़बड़ी छ जस्तो लाग्दैछ । नानिको रगत र थूक पनि जाँच गराउनोस् । केही दिन नो बाथ….नो बुलुबुलु ।

रगत र थूक जाँच वापत् ६ सय रुपियाँ । सोझै कान डाक्टर डा. गड़्तौलाको च्याम्बरमा । फिस ५ सय । देब्रे कान झण्डै आधा घण्टाभन्दा बढ़ी जाँचे । दाहिने कान जाँच्दा डाक्टर गड़्तौला बोले, ‘हेर्नोस् हजूर…म चाहिँ देब्रे कानको विशेषज्ञ हुँ । नानीलाई दाहिने कान विशेषज्ञकहाँ लानुहोस् । त्यो बेष्ट हुन्छ । नानीको कानको लोती सारै रातो भइसकेको छ । केश भेरी कम्पलिकेटेड छ ।’

डा. गड्तौलाको कुरा सुनेर डम्बरे सुर्तामा पऱ्यो । नानीलाई तुरुन्तै दाहिने कान विशेषज्ञकहाँ पुऱ्यायो । दाहिने कान विशेषज्ञ सापकोटाले बड़ो मेहनत लाएर नानीको दाहिने कानको रातो लोती हेरिसकेपछि नानीलाई नाक विशेषज्ञकहाँ लाने सुझाव दिए । ७ सय त्यहाँ पनि । रात निकै बितिसकेको हुनाले डम्बरे नाक विशेषज्ञकहाँ नगई झण्डै डेढ़ किलोजति औषधि बोकेर बाबु-छोरा घऱ फर्के ।

‘एकदम बेड रेष्ट । नो प्ले, नो स्कूल…’, डाक्टरको निर्देश ।

हप्ता दिनपछि फेरि रगत, थूक, पिशाब, कानकोलोती आदिको रिपोर्ट आयो । दुवै कानको बाहिरी खोल, भित्री ओड़ार, नाकका दुलाहरूका एक्स रे, स्क्यानिङ रिपोर्ट आयो । नो कम्पेलेन । रिपोर्ट हेरेर डम्बरेले लामो श्वास फेऱ्यो । उसलाई सामान्य सञ्चो भयो ।

आमाको मन मानेन । फेरि उनले घरेलू डाक्टरकहाँ पुऱ्याइन् । यसपाली घरेलू डाक्टरले कुनै फिस लिएनन् । नानीको आमाको रुञ्चे र नियास्रो मुहार हेर्दै डाक्टर बोले, ‘नसुर्ताउनुहोस् । अब म यहाँ भएका जति सबै विशेषज्ञहरू लिएर एउटा कन्फरेन्स गर्नेछु अनि नानीको शीरदेखि पाइतालासम्म प्रत्येक पोइण्ट-पोइण्टसम्म चेक गराउनेछु ।’

नानीको आमा गहिरो सुर्तामा परिन् । ससुराले जण्डा झाँक्री काका बोले, ‘नानीलाई नजर लागेको छ । मुटुमा एटेक गर्ने गर्ने विचार थि यो तर नानीको ग्रह बलियो भएकोले कानकै लोतीमा एटेक गरेर नानीको कान यस्तो रातो भएको हो ।’

आँखाभरि आँसु पारेर बोलिन्, ‘यसलाई बिसेक पार्न सकिँदैन गम्भीर काका ?’

‘यो म मेरो लेफ्टह्याण्डको काम हो नानी । एउटा कालो कुखुरा– दुइवटा अण्डा…अण्डा पनि कन्ये अण्डा होइन नि ।’

‘कस्तो कन्ये अण्डा गम्भीर काका ?’

‘पोल्ट्री कुखुराको अण्डालाई म कन्ये अण्डा भन्छु, कारण त्यो भाले बिनाको अण्डा हो । कन्ये अण्डाले बनदेवी देवता मान्दैनन् । यसकारण घरमा पालेको कुखुराको अण्डा नै चाहिन्छ यताउति गर्नुलाई । अनि एक बोतल चोखो सगुन ।’

‘चोखो सगुन चाहिँ दूध कि….’

‘दूधले अचेल भूत-प्रेत, बोक्सी डाइनीलाई कहाँ रुझाउन सकिन्छ । रम, ह्विस्कीले नै देवी-देवतालाई रुझाउन सकिन्छ ।’

आइतबारको छेक पारेर सबै सेमे सामग्री घरमा ल्याइयो । झारफुक भयो । डेढ़ हजारको बुटी नानीको दाहिने पाखुरामा बाँधियो ।

बुटी लाएर पनि नानी बीसको उन्नाइस नहुँदा सेभेण्टिन मोड़का हरिप्रसाद बाजेलाई बोलाइयो.. बाजे फेरि टोटो बिना नहिँड़्ने । बाजे आए । पात्रो हेरे निकै घोरिएर अनि भने, ‘केटोको शनि अलिक डाउन रहेछ, केतु चाहिँ एकदमै चञ्चल रहेछ । नानीको नाममा मृतसञ्जीवनी जाप गर्नुपर्छ ।’

लौ त्यो पनि साङ्गो भयो । तर नानीको कानको लोती भने रातको रातै । नानीकी आमा झन् सुर्तामा परिन् ।

गाउँ-घरकाहरूले हनुमान मन्दिर गई त्यहाँका हनुमाने बाबालाई सबै वृतान्त बताउने सल्लाह दिए । आमाले नानीलाई हनुमाने बाबाकहाँ पुऱ्याई नानीको कानको लोतीबारे वृतान्त सुनाइन् ।

कानको लोती राम्ररी छामछाम छुमछुम गरेपछि बाबा बोले, ‘सुर्ता गर्ने काम छैन बालिके । यमराजले अलि-अलि गुल्चे गर्दैछन् । यमराजलाई टाइट गराइदिउँला । यही हनुमान मन्दिरमा एउटा होम गर्नपर्छ । हनुमानलाई साक्षात् बोलाउँछ मन्त्र शक्तिद्वारा । पाँच केजी खाँटी घिउ खारेको । हनुमानबाबा दस लिटर प्यूर खानेतेल, भोले बाबालाई दामी ड्रिङ्क्स अनि कैलाशदेखि यहाँसम्म आउनको निम्ति ट्रान्सपोर्ट फी । हनुमानबाबालाई पाँच केजी घिउको लड्डु । सब ठिक भइहाल्छ । जय हनुमान…बम बम भोले बाबा ।’

स्कूल निकै दिन नगएकोले एकदिन नानीको मिल्ने साथी चन्द्रबीर घरमा आयो । चन्द्रबीरलाई देखेर नानीको आमा कोहोलो मच्चाउँदै रुन थालिन् ।

‘चन्द्रबीर नानु हेर न तिम्रा साथीलाई त के भयो भयो । डाक्टर धामी झाँक्री, बाजे, बाबा क-कसलाई देखाई सकेनौं । खै अहिलेसम्म बीसको उन्नाइस भएकै छैन !’

‘खै के को दशा लाग्यो नानी ! के बिगार पऱ्यो कोनि तिम्रा साथालाई’, नानीका बाबु बोल्यो नम्र स्वरमा ।

आमा रुँदै बोलिन्, ‘स्कूलमा कति पढ़ाइ भइसक्यो होला ! तिमीले कति पढ़िसक्यौ होला नानी । खै हाम्रो यो त विचार ओछ्यानको ओछ्यानमै ।’

आमाको कुरा सुनेर चन्द्रबीर छक्कै पऱ्यो । आमा चाहिँ भक्कानो फुट्ने गरी रुन थालिन ।

अचानक चन्द्रबीर बोल्यो, ‘आमामामा ! एई कुलबीर अस्तिको हप्ता हिसाब क्लासमा किशन सरले तेरो कान मोल्नुभएको थियो होइन ? हिसाब सरको हातमा लागेको रातो मसीको दाग तेरो कानमा अहिलेसम्म पनि छ ? किशन सरले सरले यूज गर्ने रातो मसीको रङ् कस्तो हार्ड रहेछ हो कि ?’

चन्द्रबीरको यो कुरो सुन्ने बाबुका शङ्का-उपशङ्काहरू एक निमेषमै डाँड़ा काट्यो । आमा चैँ हत्त न पत्त रुई पानीमा भिजाएर ल्याई छोरीको कानको लोती पुछिदिइन् ।

नानीको सबै रोग भिजेको रुईले पुछियो ! भिजेको रुई रातै भयो ।

आमा-बाब दुवै खुसी । बाबा बजार लागे । आमा चैँ भान्सा घरमा चन्द्रबीरको लागि चिया-खाजा बनाउन लागिन् ।

मौका छोपेर चन्द्रबीरले सुस्तरी सोध्यो साथीलाई, ‘एई तैले के गरेको यस्तो ? किन ढाँटेको यसरी आमा-बाबालाई ?’

त्यसले चन्द्रबीरलाई छेवैमा बोलाएर कानमा सुटुक्कै भन्यो, ‘ठैट हेर्न मलाई स्कूल जानै मनै लाग्दैन ! पढ़्नु मनै लाग्दैन । रातो मसी आफैले कानको लोतीमा लाएर कान दुख्यो भनी फत्रक्-फत्रक् परेको नि । अहिले कम्तिको पनि खाता-किताब खोल्नु त परेको छैन ।’

आमा चिया खाजा लिएर आएकी देखेर दुवै चूपचाप भए ! चन्द्रबीरको साथी भनो ओछ्यानमै ढल्किरहयो !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button