सुर्खेत साँझ कर्णाली बोल्छ

संवेदनाका सुकुमार स्मृतिमा रूखहरू बोल्छन्, फूलपात कुरा गर्छन् र आकाश ओर्लिएर आउँछ अँगालो मार्न । मन उज्यालो भएपछि रात अँध्यारो हुँदो रहेनछ ।

डा. नवराज लम्साल

काँक्रे बिहारको हरियोपन बिस्तारै कालो बन्दै आए झैँ, देउती बज्यै मन्दिरमा भक्तहरूले सल्काएको धूपको धुवाँ फैलिएर ढाक्दै आए झैँ वा गहिरिँदै गरेको साँझ ओर्लेर एसओएस हर्मन माइनर विद्यालय सुर्खेतको प्राङ्गणमा झरे झैँ माघे सङ्क्रान्तिको साँझ । समय साँझ सात बजेतिर । वातावरण अँध्यारिँदो थियो, शान्त थियो । अँध्यारो भएर शान्त वा शान्ति आफैँ गहिरोजस्तो । निकै मौन र हृदयको सम्वाद कानैले सुन्ला कि जस्तो ।

घिउचाकु, तरुल, सखरखन्ड, तिलको लड्डु ! क्यान्टिनका दिदीहरूले बिहानै खुवाएको परिकार । दिदीहरू भन्थे– यो पनि खाऊ त्यो पनि खाऊ । हृदय खुुकुलो भयो भने जहाँ पुग्यो त्यहीँ घर । देउती बज्यैको दर्शन गरेर फर्केपछि दिन बित्यो साहित्यिक भेटघाट र बजार घुमाइमा । थाहै नदिई फुत्त आएछ साँझ ।

माघी मनाएर सुर्खेत बजार निधारभरि रातो टीकामा हिँडेको हिँड्यै छ बिहानैदेखि साँझैसम्म । सुर्खेतको शोभा मानिने थारु बस्ती माघीको रौनकमा रमाएकै छ । टाढा टाढासम्म देखिएका छन् बत्तीहरू र ठिङ्ग उभिएको देखिन्छ रेडियो नेपालको बल्दै गरेको टावर सुर्खेतको आकाशमा ।

विद्यालय प्राङ्गण आफैँमा शान्त । आफैँमा चित्ताकर्षक । आफैँमा हर्षोल्लासपूर्ण । चिटिक्क पारेर सजाइएको बगैँचा । लोभै लाग्दा लालुपाते । शिल्पपूर्ण कौशलले सजाइएका सानासाना बोटहरू । कतै कतै बेल र तुलसीको मठ पनि । बीचमा पर्ने गरी कचौराजस्तो गोलाकारमा तयार सभाहल । माघे साँझको कालोलाई चिर्दैचिर्दै बले रङरङका बत्तीहरू । बत्ती बलेपछि हृदय पनि बल्दोरहेछ खुसीले । खुसीको पनि त रङ हुन्छ !

सभाहलको उज्यालो यसरी ब्युँझियो, लाग्छ दर्जन सूर्य एकै पटक उदाउँदै छन् । झन्डै मूल गेटदेखि कार्पेट ओच्छ्याएर रातो पारिएको बाटो । बाहिरै राखेर -याक, -याकमै छन् जुत्ताहरू । मन्दिर प्रवेश गरेझैँ चोखो गोडा भित्रिएको छ सभाहलमा । चोखो साहित्यिक अनुष्ठानका लागि होला यो चोखोपन शायद । हलभित्रको सजावट र रङहरूको संयोजनमा देखिन्छ आकर्षक कालिगरी । सजाउन जान्नेहरूका लागि संसार सुन्दर छ र झन् सुन्दर देखिन्छ कलाको आँखामा !

मञ्चमा भव्य व्यानर । होशियारीपूर्वक बनाइएको ब्यानर । सुन्दर अक्षरमा लेखिएको छ – कर्णाली गजल उत्सव २०७७ । मसिना अक्षरमा छन् आयोजक र अन्य सन्दर्भ । सानो र हल्का अग्लो अर्धगोलाकार छ मञ्चको अग्रासन तर भरिपूर्ण छ । बीचमा प्रमुख अतिथि दम्पतीको आसन छ । पलेटी कसेर बस्ने आसन । साधनापूर्ण आसन । दायाँ पाँच र बायाँ पाँच गरी दश जना गजलकार छन् साथमा । यिनै हुन् आजका मूल आकर्षण । कञ्चन, निर्दोष र सिर्जनाले भिजेको निर्दोष अनुहार तिनका । गजल अनुहार, गजलका अनुहार । ती गजलकार कर्णाली प्रदेशको गजललाई जुरक्क बोक्ने गजलकार । ती मध्ये धेरैजना बेला बेला काठमाडौँ आएर काठमाडौँकै मञ्च तताएर फर्केका गजलकार । संघसंस्थाको नेतृत्व गरेकाहरू र विचारले दीक्षितहरू । वैचारिक चेतनाले दीक्षित नभई लेखक लेखक हुँदैन । काठमाडौँ र देशका अन्य प्रमुख शहरको आँखामा अटाएका ती गजल स्रष्टा दर्शक दीर्घासँग मौन सम्वादमा छन् । प्रमुख अतिथिलाई मञ्चमा बोलाउनुअघि नै उद्घोषक महेन्द्र चन्द महासागरले तिनको परिचयसहित मञ्चमा बोलाइसकेका छन् । उद्घोषक हुनु सजिलो काम हो तर उद्घोषकै हुनचाहिँ कठिन छ । महासागर आफैँ सिद्धहस्त गजलकार भएको हुनाले उनलाई गजल र ती गजलकारको प्रशस्तिमा समस्या रहेन । उनको अभिव्यक्ति आफैँमा गजल सौन्दर्यजस्तै छ ।

मञ्चमा बसिसकेका थिए – आकर्षणका अनुहारहरू ऋषि शर्मा सुदामा, धिरेन थापा अनुपम, सरस्वती पन्त, पहल असिम थापा, कृष्ण विरही, सीता यरी, भरतप्रमोद दाहाल, पुनम धमला, महेश के भट्टराई र ज्ञानेन्द्रबहादुर सिंह । यी गजल उत्सवका लागि छानिएका दश स्रष्टा । आयोजकहरू भन्थे यसरी सजाउने खालका गजलमन धेरै छन्, तिनको पालो अर्कोपल्ट । भोलिको कुरो भोलिलाई छोडूँ ! आज यिनीहरूको अनुहार उत्साहपूर्ण देखिन्थ्यो र मनमनमा खुल्दुलीको कल्पना गर्न सकिन्थ्यो । गजलका लागि बर्षौँदेखि हुरुक्क यी स्रष्टाहरूले सोचेजस्तो मञ्च पाएका थिए, सोचेजस्तै दर्शक । दर्शक आफैँमा छानिएका दर्शक । चिठ्ठीमा निम्तो पठाएर बोलाइएका सामाजिक प्रतिष्ठासहितका जिम्मेवार दर्शक । ती दर्शकालाई गजल सुनाउनु त थियो नै तर त्योभन्दा बढी त ती गजलकार गजलकार हुनुको गम्भीरता र जिम्मेवारीबोध देखाउनु थियो शायद । कला, साहित्य र सञ्चारका मात्र होइन राजनीति, समाजसेवा र प्रशासनिक वृत्तका अगुवाहरूको समेत प्रतिनिधिमूलक उपस्थिति थियो त्यो । प्रत्येक व्यक्ति एक न एक संस्थाको प्रतिनिधित्व गर्थे ।

रङरङका उज्याला बत्ती । तिहारको सम्झना । झिलिमिली याद । पलेटी कसेर बसेका दर्शक । शान्त वातावरण । आफैँ बोल्ला कि जस्तो व्यानर । मञ्चमा बसेका दश गजलकार र ती सबै आफैँमा मौन । एक अर्कालाई पल्याकपुलुक हेर्छन्, मुस्कुराउँछन् । हेराइ र मुस्कान नै गजलका एक एक शेरजस्ता ।

वातावरण चकमन्न, शान्त, स्निग्घ । मौनता आफै मौन बसेझैँ । यति ठूलो जमात यसरी शान्त कसरी हुन्छ ? यही हुन्छ, भएको छ र त विशेष छ ! आज केही होला होलाजस्तो ! केही हुँदै छ, गम्भीर तरिकाले हुँदै छजस्तो ।

प्राचार्य जगदीश ढकाल प्रमुख अतिथि दम्पतीसहित भित्र प्रवेश गरे । प्रवेशसँगै महासागरले उद्घोषण प्रारम्भ गरे । प्रमुख अतिथि दम्पतीलाई सिधै मञ्चमा बोलाए । प्राचार्य बसे तलै दर्शक दीर्घाको अग्रभागमा पलेटी कसेर । दायाँ पाँच र बायाँ पाँच गजलकारसहित मञ्च भरिलो भयो । दर्शकहरूले खै किन हो लामो ताली दिइरहे । मधुरध्वनि । योगजस्तो । साधनाजस्तो । आफैँभित्र आफू प्रवेश गरेजस्तो । धुनले धड्कनमा नयाँ सञ्चार दिएजस्तो । मूलाधार चक्रबाट उठेर एउटा खुसी आज्ञा चक्रसम्मै पुगेजस्तो । सहस्रारतिर जाला जालाजस्तो । असम्भव पनि अनुभूतिमा सम्भवजस्तो ।

कार्यक्रम प्रारम्भ भयो । माघको चिसो चिरेर दीप प्रज्वलन । तोरीको तेलमा भिजेको कपासको दीपसँगै दीपकै छेउछेउमा बालिए बढेबढे दुई मैनबत्ती । दुई जोर अङ्क पनि हो, तीन हुनुको सुन्दर अङ्क पनि हो र तीन आफैँमा शक्तिपूर्ण अङ्क पनि हो । त्यही मौकामा पाश्र्वमा बज्यो एउटा पुरानो सुमधुर गीत –

विकासको सन्देश बोकी
गाउँबेसी उठ्नुपर्छ हाम्रो गीतबाट
एकतामा बाँधिएर
मेचीकाली जुट्नुपर्छ सङ्लो प्रीतबाट ।

यस गीतमा सजिएका आवाज सुर्खेतकै कलाकारहरूको हो । गङ्गा केसी, ललित सिंजाली, डम्मर आचार्य, मञ्जु मेदासी, मिना आले मगर र साथीहरूको स्वर हो यो र सङ्गीतकार हुन् गङ्गा केसी । केसी सुर्खेतकै कलाकार र एकजना पुराना शिक्षक पनि । संयोग के थियो भने यस गीतका रचनाकार प्रमुख अतिथि आफैँ र गायक सिंजाली आयोजकमध्येका एक । सिंजाली उम्दा सङ्गीतकार, कुशल वाद्यवादक र गायक पनि हुन् र हर्मन माइनर स्कुलका सङ्गीत शिक्षक पनि । आफैँ मिलेको संयोग हो यो तर २५ वर्ष पुरानो यो गीतको हेक्का हुनुलाई चाहिँ आयोजकको सङ्गीतप्रेम र पारख हो भन्न सकिन्छ । इतिहास नबिर्सेको मान्न सकिन्छ ।

दश जना गजलकारका प्रस्तुति दुई चरणमा । दुवै पटक दुई दुई गजल । अलिअलि फर्माइस र वान्समोर त छँदै थियो । उद्घोषक महासागरले बीचबीचमा दिने उनको गम्भीर र भावपूर्ण गजल, कार्यक्रमको थप आकर्षण थियो । प्राचार्य जगदीश ढकालको सारपूर्ण र अर्थयुक्त मन्तव्य र उनकै गजल दर्शकको रोजाइमा प-यो र यसले कार्यक्रमलाई उचाइदियो । हरेक वर्ष माघ एक गते यस प्रकार कार्यक्रमको निरन्तरता उनको सपना रहेछ । शायद यो पूरा हुनेछ पनि ।

पहिलो चरणका गजलहरूको प्रस्तुतिपछि विद्यालयका तर्फबाट छात्रछात्राहरू समीक्षा नेपाल, नरेन्द्र बूढा, रीता कठायत र नवीन पाण्डेले गजल सुनाए । लाग्यो: एक दिन यिनीहरू यसै गरी मञ्चमा हुनेछन् र हल्लाउने छन् गजलसत्ता ।

अतिथिहरूका बीचबाट मञ्चमा आए– वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी प्रमुख टीकाराम ढकाल अज्ञात । टीकाराम ढकाल मात्रै भएको भए प्रशासक मात्रै हुन्थे होलान्, त्यो अज्ञात शब्दसँग गजल जोडिएछ, उनले सुनाए तीन गजल । वडाअध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका सदस्य नीलकण्ठ खनालबाहेक अरूको मन्तव्य थिएन ।

शुरु भयो दोस्रो चरण । फेरि सउत्साह पालैपालो गुञ्जिए– ऋषि शर्मा सुदामा, धिरेन थापा अनुपम, सरस्वती पन्त, पहल असिम थापा, कृष्ण विरही, सीता यरी, भरत प्रमोद दाहाल, पुनम धमला, महेश के भट्टराई र ज्ञानेन्द्रबहादुर सिंह ।


सुर्खेत कर्णालीको राजधानी । सुर्खेत आफैँमा मुलुककै एक प्रतिष्ठित र आकर्षक ठाउँ । यहाँ सङ्गीत, बाजा र नाचको विशेष सम्बन्ध र मौलिकता छ । काँक्रेबिहार, बुलबुले ताल, देउती बज्यैआदि पुरातात्विक, प्राकृतिक र धार्मिक स्थलको महत्व र महिमा निकै छ । तुलनात्मक रूपमा यहाँबाट उठेको राष्ट्रिय राजनीति पनि त्यति खराब छैन । आमसञ्चार, शिक्षा र साहित्यमा पनि सुर्खेत अगाडि नै छ । मध्यपश्चिम विश्वविद्यालय र शैक्षिक गतिविधि पनि अगाडि नै छ । सबै कुरा सापेक्षित हुन्छन् । एक अर्कासँग एकअर्कोको सापेक्ष सम्बन्ध हुन्छ । तुलना नभई पनि हुन्न र तुलनामात्रै पनि केही होइन तर सुर्खेत तुलनात्मक रूपमा आदर्श स्थल हो । एसओएस हर्मन माइनर विद्यालय सुर्खेत आफैँमा सुर्खेती शिक्षाको अघिल्लो पाना मानिन्छ । पछिल्ला दिनमा यसले कला साहित्यको विकासमा निर्वाह गरेको भूमिकाबारे साहित्यकारहरूले नै प्रशंसा गरेको सुनिन्छ ।

२०२० को उत्तरार्धदेखि कलामा क्रियाशील व्यक्तिहरू अझै सक्रिय छन् । प्रेमदेव गिरिले बजाउने मादल कर्णाली प्रदेशको मात्र नभएर देशकै गौरव हो । त्यहाँको सिंगारु भाका, थारु संस्कृति, मगर संस्कृति, देउती बज्यैका पुजारी राजीहरू र वादीहरूको कथा खोज्नै बाँकी छ । पछिल्लो पुस्तामा गजलका लागि तन्नेरी पुस्ताले निकै सक्रियता देखाएको छ । गजल प्रधान पत्रिका प्रकाशन, गजलसङ्ग्रहहरूको निरन्तरता, नियमित रूपमा आयोजना हुने कार्यक्रमहरू र अन्तरक्रियाले यसलाई खँदिलो पार्दै लगेको छ । गजलकारहरू र रेडियोको बढ्दो लोकप्रियताबीच गहिरो मिलन छ । गुणात्मक रूपले उठ्दै छ गजलको गमक, कविताको कथ्य र गीतको सरगम । लेखन समाज र आमसञ्चारसँग हातेमालो गर्दै उठेझैँ लाग्छ । यो सान्निध्यपूर्ण सक्रियतामा लोकभाका र लोकसंस्कृति पनि मिसिँदै आउन सक्यो भने सुनमा सुगन्ध हुनेछ शायद ।

रङ्गमञ्च र रङगसंस्कृति पनि उपल्लो छ सुर्खेतमा । नाटकको विकास पनि सुर्खेतको अर्को पाटो हो । नाटक लेखिएका पनि छन् र अभिनय पनि गरिएका छन् । गोविन्द कोइराला, गणेश गौतमहरूको बलियो टिम नाटकको विकासमा लागेकै छन् । तर, पछिल्लो सक्रियता गजल र कवितामा बढी देखिएको छ भन्छन् जानकारहरू ।

हो, यही र यस्तै सक्रियताको पछिल्लो उदाहरण हो– कर्णाली गजल उत्सव । ‘यति भव्य मञ्च’, ‘यति भव्य व्यवस्था’, ‘यति विद्वत् र जिम्मेवार दर्शक’, ‘यति राम्रो आयोजना’, प्रत्येक गजलकारले गजल शुरू गर्नुअघि यी शब्द प्रयोग गर्थे । ‘यसरी गजल सुनाउन पाउनु हाम्रो सपना हो’ यसो पनि भन्थे गजलकारहरू पटक पटक । कार्यक्रमको अन्तिम क्षणसम्म पनि सबै दर्शक स्थिर भएर रहेका थिए । कोही चट्पटाएनन्, कतै गएनन् । हो, गजलसँगै बगे, रमे, रमाए र स्वरमा स्वर मिलाइरहे तर रात बित्दै गएको पत्तै पाएनन् ।

शित परिसकेको थियो बाहिर रूखरूखमा, भुइँभुइँमा । माघे सङ्क्रान्ति । चिसो थियो वातावरण । रेडियो नेपालका कार्यक्रम अधिकृत भानुभक्त खड्का भन्दै थिए– यस पटक चिसो निकै बढेकै छ दाइ । गजलको न्यानो र मौसमको चिसो कुन बढी ? दुवै हाँस्यौ मज्जाले । उनी निकै राम्रा रेडियोकर्मी हुन् । दीपक उपाध्याय र मोहन रानाले थपे– यी र यस्ता कार्यक्रमहरूबाट हामीले आफ्नोपन र पहिचान सिक्नु छ । आज निकै उच्चकोटीको कार्यक्रम भयो । दीपक संस्कृत पृष्ठभूमिका निकै राम्रा विद्यार्थी र मोहन राम्रा विद्यार्थी नेता हुन् ।


प्राचार्य ढकाल र ललित सिंजालीको खटाइ र व्यवस्थापन निकै लोभलाग्दो । ती दुईका आँखा आपसमा निकै मजाको सम्वाद गर्दारहेछन् । गजलको गङ्गा बगिरहेछ, त्यही बेला प्रत्येक दर्शक छेउ पुगेकै छ– चिया, कफी र तातो पानी । प्याकेटमा माघे सङ्क्रान्तिको परिकारयुक्त प्याकेट । सिंजाली आफैले तातो पानी र कफी बोकेर गजलकारलाई खुवाउँदै, गजल वाचन गराउँदै गरेको दृश्य आफै एउटा गजलजस्तो !

विद्यालयका भाइबहिनीहरू कति शान्त ! कति सुन्दर तरिकाले परिचालित ! विद्यार्थी काँचा माटा हुन् जस्तो बनायो त्यस्तै बन्ने ! उनीहरूको शालिनता र सक्रियता दुवै सुन्दर ! कार्यक्रमपछि तिनले जुन ढङ्गले मसँग कुरा गरे त्यसपछि लाग्यो यिनीहरू गम्भीर र दार्शनिक सोचका पनि छन् । हुने विरुवाको चिल्लो पात !

माइकमा जाने पालो आयो प्रमुख अतिथिको ! धेरै ठाउँमा त प्रमुख अतिथि बोल्ने बेला आधा ठाउँ खाली भइसक्छ तर यहाँ उही दर्शक, उत्ति दर्शक ! टम्म भरिएको सभाहल !

घर फर्कदा सबैलाई विद्यालयकै बसले पु-याइदिने छ । चिसो छ । साधन हुनेले पनि साधन छोडेर यहीँको बसमा जानसक्नुहुन्छ । महासागरले मञ्चबाट पटक पटक गरेको यो उद्घोषण सार्थक भयो शायद् । उत्तिकै भरिभराउछ दर्शक दीर्घा । माघे सङ्क्रान्ति मान्न ससुराली, मावली पुगेकाहरू पनि खाना खाइवरि ढिलै भए पनि कार्यक्रममा आएजस्तो । झन् बढी दर्शक ! सात बजे शुरु भएको कार्यक्रम । कार्यक्रमको गुञ्जनले तानेर राती ११ छेउछाउ पुगिसक्यो । प्रमुख अतिथिले कति बोल्ने ? के के विषयमा बोल्ने ? उद्घोषकले आमन्त्रण गर्दैमा भने– दाजुले आफ्ना कुरा, सुर्खेतको स्मृति र युवा साहित्यकारहरूलाई केही … !

… मलाई आदेश वा उपदेशमा होइन, सन्देशमाथि विश्वास छ । सिक्न खोज्नेलाई सन्देश नदिने सृष्टिमा केही छैन । अग्रजहरूमा पनि भ्रम छ । आफ्नो अज्ञानताको भ्रम अनुजहरूलाई ज्ञान बाँडेझैँ बाँड्ने अग्रजहरू हावी भएसम्म खास रूपान्तरण न समाजमा न लेखनमा ! बोल्नु के छ र ? युवा पुस्ताको लेखन तथाकथित अघिल्लोको भन्दा राम्रो छ, चोटिलो छ । तर्कपूर्ण छ र सार्थक छ । समय र जीवनको जटिलताबोध छ र दीर्घजीवी हुने सम्भावनायुक्त छ तर ती युवाले आफूलाई आकार दिन बाँकी छ र आफूले आफैँलाई पढ्न र परिमार्जन गर्न बाँकी छ …

कति बेला सकियो कार्यक्रम । कति बेला गए मान्छेहरू । कसरी छिचोलियो चिसो । यी सबैसँग एकएक निबन्ध गाँसिएजस्तो । एकएकमा समूहसमूहमा तस्बिर । हाँसो, खुसी आनन्द । क्षमाकुशल र हृदय आदानप्रदान । साक्षी छन्: फूलहरू शित ओढेर, आकाश ओढेर । साक्षी छन्: बत्तीहरू रङ बालेर छातीमा । संवेदनाका सुकुमार स्मृतिमा रूखहरू बोल्छन्, फूलपात कुरा गर्छन् र आकाश ओर्लिएर आउँछ अँगालो मार्न । मन उज्यालो भएपछि रात अँध्यारो हुँदो रहेनछ । खुसीहरूको बिस्कुन छ आज आँगनभरि ।


सुर्खेत एअरपोर्टबाट काठमाडौँ फर्किनै लाग्दा जगदीश ढकाल, हरिहर बस्नेत र ललित सिंजालीका हातका फूलहरू मेरा र सङ्गीताका हातमा सरिसकेका थिए । हामी मूल गेटमा थियौँ, छुट्ने तयारीमा थियौँ । गिटारका तार खेलाएर हृदय रसाउन खप्पिस ललितका आँखा बिना गिटार भिजेका थिए त्यस क्षण, प्राचार्य ढकाल र सहायक प्राचार्य बस्नेतका मुहारबाट अघिल्लो साँझको रौनक हटिसकेको थियो र मलिन थियो मुहार । कसैले कसैको आँखामा हेर्न सकेनौँ । मन त जे सुकै होस् तर आँखा र अनुहार नबदलियोस् भनेर नजिकैको लालुपातेमा आँखा अड्काएँ मैले । मन अँध्यारो हुँदा त लालुपातेको रङ पनि उज्यालो हुँदोरहेनछ ।

जहाज उड्यो एकछिनमा !

शब्दशिबिर आइपुगेर कल्पना गर्दैछु- केवल दुई दिन र एक कार्यक्रमको भेटले मात्रै पनि छिप्पिएको दिल यसरी किन भत्कँदो रहेछ हँ ?


सुर्खेतसँगको साइनो २०५१ वैशाख २१ देखिको हो तर हरेक वर्ष मलाई उसै गरी सम्झन्छ सुर्खेत सप्रेम, सदाबहार ।
२०५१ वैशाख २१, रेडियो नेपाल प्रवेशको मेरो पहिलो दिन थियो, पहिलो औपचारिक उद्घोषण थियो । २०७७ माघ १ गते साँझ मञ्चमा उभिएर बोलिरहँदा आँखाभरि आइरहेथ्यो त्यही दिन …

बलवान स्मृतिसँग वर्तमान मिसिएपछि जीत के हो ? हार के हो ? थाहा हुँदोरहेनछ । थाहा नहुनुको शून्य जति मिठो त अरू के होला र ?

सुर्खेत तिमीलाई फेरि भेटौँला !

३ माघ २०७७
शब्दशिबिर, काठमाडौँ


2 Comments

  1. लेख पढ्दै गर्दा कार्यक्रममा प्रतक्ष सहभागी भएको अनुभूति भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button