कविताः तिम्रा आँखाभन्दा पर हरदिन म बदमास हुँदैछु
किशोर सापकोटा
मनमा आउने तर जीवनमा नआउने ए परदेशी,
बिर्सिसक्यौ कि सम्झिएका छौ ?
मलाइ भुल्यौ कि न्यास्रिएका छौ ?
मलाइ त आजकल लाग्छ,
तिम्रो लागि परदेश घरजस्तो लाग्ला
घर परदेशजस्तो लाग्ला ।
मैले त परदेश देखेकी छैन,
वैंशले भरीएकी पत्नी छाड्ने गरी
त्यो परदेशले मन कसरी तान्ला ?
मनमा आउने तर जीवनमा नआउने ए परदेशी,
तिमी मेरै लागि फरिया चोली किन्न गएको हो कि ?
हाम्रा लालावालाको भविश्य चिन्न गएको हो कि ?
मलाइ त आजकल लाग्छ,
न त तिमी मेरा वैंशले भरिएका यी रातमा रह्यौ
न त आफैंले वीज रोपेका लालावालाका साथमा रह्यौ
मैले त यो संसार बुझेकी छैन
के तिमी अझै हाम्रा सपनाहरु सम्झेर फर्किन्छौ ?
वा सपनाहरु अलपत्र पारेर वाकसमा फर्किन्छौ ?
मनमा आउने तर जीवनमा नआउने ए परदेशी,
मलाइजस्तै
तिम्रा मनमा प्रश्न आउँछन् कि आउँदैनन् ?
साँच्चि,
कुनै कुनै प्रश्नले त छिर्के लाउँछन् कि लाउँदैनन् ?
मलाई त आजकल लाग्छ,
कुरिरहेछु तिमीलाई, तर न त तिम्री नै भएँ ?
ठोक्किरहन्छु अनेकौ अनेकसँग,
न त म तिनीहरुकै नै भएँ ?
मैले त आफ्नै जीवन पनि बुझेकी छैन
कुनै दिन तिमी फर्किन्छौ कि भनेर कुरेर बसौं ?
वा तिमीलाई चटक्कै बिर्सेर अर्को कुनै दुनियाँ रचौ ?
मनमा आउने तर जीवनमा नआउने ए परदेशी,
आजकल,
डाले घाँस झारिदिन रुख चढको छिमेकी साल्दाइ
मेरो मनको भर्याङवाट किन माथिमाथि चढ्छ
वाउसे वोलाएको जीते भाइ
मौका मिलाएर किन मेरै मन सम्याउन थाल्छ ।
आजकल मेरो मनमा प्रश्नको चाङ लाग्छ,
म आफुलाई जोगाउँ कि चाहनालाई जोगाउँ ?
मेरो घर सम्झिसम्झिी आउने
छिमेकी साल्दाइ र जीते एकातिर छन्,
यो घर कहिल्यै नसम्झिए झैं पदेशमा बसिरहने
तिमी अर्कोतिर छौ,
तन र मनले जब खोज्न थाल्छ
म कसलाई बोलाउँ ?
मनमा आउने तर जीवनमा नआउने ए परदेशी,
तिम्रा आँखाभन्दा पर हरदिन म बदमास हुँदैछु,
साँच्चि तिमी मप्रति इमान्दार छौ ?