कविताः हर्षविभोर सिंंहदरवार
छविरमण सिलवाल
न बाढी आउँछ,
न पहिरो जान्छ,
भूकम्पको धक्का पनि
पचाइसक्यो उसले
कोभिड–१९ ले पनि
छुन सकेको छैन
आखिर नामै काफी छ
सिंह, जङ्गलको राजा
यहाँ बस्नेहरु
हाम्रा राजा
एउटा राजा हटेको
भ्रम पालेका रहेछौं
सयौं राजाहरुलाई
सिंहदरवार सुम्पेर
हामी उनीहरुको
भक्तिगान गाईरहेका छौं ।
हामी हारिरहने
सिंहदरवार जितिरहने
हामी उज्यालो खोज्ने
सिंहदरवार अध्यारो मन पराउने
हामी हराउने सिंहदरवार जिताउने
किन–किन जनता र सिंहदरवारबीच
कुनै क्ुरै मिल्दैन ।
त्यसैले होला जनता
बाढीमा बग्ने
पैरोमा पर्ने
भूकम्पमा च्यापिने
कोभिड–१९को चपेटामा पर्ने
अख्तियारको आँखामा पर्ने
करको करकरमा पेलिने
दलालहरुको चेपुवामा चेपिने
टिपरको चक्कामा पर्ने
तेजाब खानुपर्ने
बलात्कृत हुनुपर्ने
बलात्कारीहरुलाई खुलेआम देख्नुपर्ने
खाडीको रापमा सेकिनु पर्ने
परिवारको मायाबाट बन्चित हुनुपर्ने
भोकले मर्नुपर्ने
शोकले मर्नुपर्ने
बन्द–बाकसमा स्वदेश फर्कनुपर्ने
खानै नपाएर
आत्महत्या गर्नुपर्ने
अँध्यारोमै बस्नुपर्ने
काकाकुल भएर हिँड्नुपर्ने
पीडाका पहाड कति–कति ?
अब भन्नुस् न महाशय !
अझै कति के के गर्नु पर्ने हो ?
तिम्रा करतुत के–के देख्नु र भोग्नुपर्ने हो ?
र, कतिन्जेल तिम्रा सिंहदरवारलाई हामीले
कुत बुझाई रहनुपर्ने हो ?
के सिंहदरवारजस्तै अपुताली हो यो देश ?
तिम्रा झण्डाभन्दा फरक हो राष्ट्रिय झण्डा ?
संवृद्धिको रटान सिंहदरवारबाट
बाहिर निस्कनसकेको अनुभूति खोई ?
फेरि तिमी सिँहदरवारबाट
आश्वासनका पोका बोकेर
वस्तीमा छिर्ने समाचार सुनिरहेका छौ
सावधान रहनु है
तिम्रा घमण्डलाई
एउटा खरायोले पनि तह लगाउनसक्छ ?
समय सान्दर्भिक, मार्मिक कविता ,,,,,!!!बधाई छ
Super fine poem !!!