कविता प्रेमको सत्ता हो
‘नेपालनाम्चा’को नियमित नयाँ स्तम्भ ‘कविका कुरा‘मा हरि अधिकारी ।
किन र केका लागि कविता लेख्नुहन्छ ?
म लय र भाव मिलेका शब्दहरूका माध्यमबाट मनको भावना प्रकट गर्न कविता लेख्छु ।
कविता लेखेर के हुन्छ ?
राम्रो कविता लेख्न सकियो भने आनन्दको अनुभूति हुन्छ ।
कवि भएर चिनिनुमा कति मजा छ ?
कवि हुनुमा सुखानुभूति नै हुन्छ । तर कवि भनेर चिनिनुमा केही बेग्लै मज्जा हुन्छ जस्तो लाग्दैन ।
कविहरु आममानिसभन्दा फरक हुन्छन् वा उनीहरु पनि आम मानिसजस्तै हुन् ?
असल कवि छ भने मानिस पनि ऊ असल नै हुन्छ र आम मानिसभन्दा दृष्टिसम्पन्न, सम्वेदनशील र विनयी पनि हुन्छ । त्यस अर्थमा केही फरक पनि हुन्छ ऊ ।
कविता यदि सत्ता हो भने यो कस्तो सत्ता हो ? र, कवि कस्तो शासक ?
कविता प्रेमको सत्ता हो । उच्च कोटीको कवि गतिलो समर्पित प्रेमी हो र ऊ प्रेमको सत्ता सम्हालेको शक्तिशाली शासक पनि हो ।
प्रेम हुन्थेन भने पनि कविता हुन्थ्यो ? हुन्थ्यो भने त्यो कस्तो कविता हुन्थ्यो ?
मानिसको हृदयमा प्रेमको भावना हुन्थेन भने मानिसले कविता लेख्ने नै थिएन ।
कविताको संसार कस्तो हुन्छ ? के त्यहाँ खुशी मात्र हुन्छ ?
कविताको संसारमा मानिसको दिल र दिमागमा रहने सबै प्रकारका संवेगहरू हुन्छन् । कवितामा खुशी मात्र हुने होइन ।
‘कविता एक वाहियात विलाश हो’, यदि कसैले भन्छ भने, त्यसमा तपाईं के भन्नु हुन्छ ?
त्यस्तो वाहियात भनाइलाई म वास्तै गर्दिनँ ।
कविहरु जन्मन्छन् । तर, कहिल्यै मर्दैनन् । के यो सही हो ?
कहिल्यै नमर्ने कविहरू अत्यन्त थोरै हुन्छन् । मान्छेले लेख्न थालेपछि संसारमा प्रचलित लाखौँ भाषामा करोडौँ कविता /काव्यको रचना भयो होला । तर, ती सबै मध्ये अजरामर सर्जक कतिजना छन् ?
तपाईंका कविता पाठक र समाजका लागि कविता मात्र हुन् कि त्यसभन्दा बढी ?
मेरा कविता सबैभन्दा पहिले म स्वयम्का लागि हुन् । त्यसपछि कविताको मर्म बुझ्नसक्ने पाठकहरूका लागि र ती पाठकहरूले निर्माण गरेको समाजका लागि ।