मङ्गली गायब भएपछि बिहे-घरमा खैलाबैला

(यस कथाका घटना, परिवेश तथा पात्रहरु काल्पनिक हुन् । यदि कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ । -लेखक)

कथाः जाडोका पाहुना

सागर ‘मणि’ थापा
कीर्तिपुर–७, चोभार ओपी, काठमाडौं

मध्यजाडोको याम छ । कार्यालय प्रमुख छड्के हान्न गइरहेका छन् । उनको खास नाम हो, औतारीलाल । चल्तीमा छ, औतारी सर । दर्ता, चलानी फाँटका तीनैजना कर्मचारीहरू देखिँदैनन् । सेवाग्राहीहरूले कार्यलयको कामप्रति आलोचना गरिरहेका छन् । औतारी सर आपैm काम गर्न थाल्छन् ।

खाजाको समय सकिएको छ । औतारी सर अर्को फाँटको निरीक्षण गर्न पसेका छन् । कोठामा हिटर बालिएको हुन्छ । औतारी सरलाई दिक्क लाग्छ र आग्रह गर्छन्, ‘हेल्लो सर ! त्यो टेबलमुनिको हिटर निभाए हुन्थ्यो नि । तपाईँलाई स्वासप्रस्वासमा अलि असहज भएको पनि होला ।’

‘औतारी सरको फोक्सो जँचाउनुपर्ला जस्तो छ !’

कर्मचारीले उल्टै अर्ती दिएका छन्, ‘सरको शरीरमा अक्सिजनको मात्रा कम भएजस्तो छ ! आजै गएर जँचाउँदा राम्रो होला सर । हिटर बालेर हैन, हिटर नबाल्यो भनेचाहिँ हामीलाई दमको रोग लाग्छ र सास फेर्न गाह्रो हुन्छ सर ।’

औतारी सर घर पुग्दा झमक्क साँझ परिसकेको स्थिति छ । सधैँको ‘रूटिन’ हो, पत्नीको सान्निध्यता पाउनु । अहिले त्यस्तै भएको छ तर कार्यालयमा झैँ औतारी सरको दिक्दारी घरमा पनि पोखिन्छ, ‘खै, आज त थर्मस र गिलास देख्दिनँ नि !’

‘मान्छे हो र गोडा टेकेर आउनलाई ?’

उफ् ! श्रीमती नन्दाले ओठ चलाइदिएकी छन्, ‘हामी पनि त घरमा हात बाँधेर बसेका छैनौँ नि । गृहिणी हो भन्दैमा धेरै पेल्नु पनि त युग सुहाउँदो भएन श्रीमान्जी !’

श्रीमान्लाई श्रीमतीको असन्तुष्टि अस्वाभाविक लागेको छैन । पटक्कै छैन । सन्तानोत्पादन पनि मिलेरै गरेका हुन् । तिनीहरूको स्याहारसुसार पनि मिलेरै गर्नुपर्ने थियो तर जागीर र घर धान्नलाई मुश्किल नै छ । हरेक घरको कथा हो यो ।

श्रीमती नन्दा पानी ल्याइदिने मनसुवा राख्दै भान्छातिर जाँदै हुन्छिन् । ए, थर्मस र गिलास त कान्छी छोरीको हातमा पो रहेछ ! आमा–छोरीको मुखामुख हुन्छ । थर्मस र गिलास ‘डाइनिङ्ग टेबल’ मै राखिन्छ । औतारी सरको भान्छामा प्रवेश भएको छ ।

उपासनाले प्लेट नै रित्तिने गरी बाबाको खाजालाई सिनित्तै पारिदिएकी छिन् । अघि भर्खरै त पतिप्रति गुनासोका छर्रा उडाएकी हुन् नन्दाले । तर अब कान्छी छोरीप्रति गालीको पर्रा छरपस्टिन्छ । त्यसबाट बच्ने उपाय पनि त छ, कान्छी छोरीसँग ।

उपासनाको मुखबाट कर्कश ध्वनि निस्किएको छ, ‘मलाई चाहिँ ‘नाफाकी छोरी’ भनेर रातदिन टोकस्न हुनी । अनि मैलेचाहिँ नाफाको खाजा खान नहुनी ? कान्छो सन्तान हुनाको नाताले यति हक त लाग्छ नि हो मेरो ।’

‘हक लाग्छ भन्दैमा बाबाको पेट मार्न पनि त भएन ।’

कृपा टुप्लुकिएकी छिन् र बहिनीमाथि अधिकार जमाउँछिन् । उपासनालाई कृपाको भनाइले फिटिक्कै छुँदैन । यहाँनेर पनि नन्दाको आलोचना रहन्छ र टिप्पणी गर्छिन् । औतारी सरलाई बडो रमाइलो लागेको छ । यही त हो वास्तविक घर–संसार ।

सबैभन्दा जेठो सन्तान छोरा हो । नामचाहिँ नन्दलाल । उनी भारतको बङ्गलोरमा चिकित्सा विज्ञान पढ्न गएका छन् । पूर्ण चिकित्सक बन्ने समयको पर्खाइमा छन् । कृपा स्नातकोत्तर कक्षाको ‘थेसिस’ को तयारीमा छिन् ।

तिनी एक प्रतिष्ठित ‘प्राइभेट कम्पनी’ की कर्मचारी हुनु पनि तिनीको अर्को परिचय बनेको छ । तिनीबाट थो–थोरै आर्थिक सहायता पुग्ने गर्छ, घरका लागि । तैपनि बाबा–ममीको कुनै गुनासो छैन । किनकि सन्तानका लागि खर्च कम गर्न पाउनु पनि कमाउनु जस्तै नै हो रे ।

उपासना बच्चैदेखिकी रोगी । दिदीजस्ती बन्न सकिनन् । आधा घण्टाकी दिदीभन्दा तीन—चार वर्षले पछि परेकी छिन् । तैपनि तिनीले हरेष खाएकी छैनन् । दिमाग त तेज नै छ । ‘ड्राइभिङ्ग’ मा पोख्त छिन् र ‘कम्प्युटर ट्रेनिङ्ग क्लास’ की अब्बल ‘ट्रेनी’ हुन् रे !

नन्दाको शैक्षिक योग्यता पनि त लरतरो होइन । गणित विषयकी उपप्राध्यापक थिइन् । घरपरिवार चलाउनका लागि पूर्ण गृहिणी बनिन् । तिनीको सौख भनेको ‘लोकल टुरिष्ट’ बनेर भ्रमण गर्नु हो । उसै पनि सरकारले समय समयमा ‘भ्रमण वर्ष’ को घोषणा गरेकै हुन्छ ।

हिउँद सकिन लागिसकेको हुन्छ तर श्रीमती नन्दाको मागप्रति सुनुवाइ भएजस्तो लाग्दैन । सुत्ने बेलामा त्यो विषयको उठान भएको छ । तिनीले चेताउनीको अन्तिम स्वर उरालेकी छिन्, ‘अब म थाकिसकेँ । भोलिदेखि भन्ने छैन । म एक्लै कार्यान्वयनमा जान्छु ।’

औतारी सर विस्मित हुँदै बोल्छन्, ‘छोराको पनि छुट्टी मिल्छ कि भनेर कुरेको । नत्र त….।’

‘नाइँ नाइँ बाबा !’

कान्छी छोरी नाके स्वरमा आपत्ति जनाउँछिन्, ‘दादालाई कुर्न थाल्यौँ भने त यस्ता हिउँदहरू धरै बित्न सक्छन् । मबाट त रोकिन्न है । मेरो बिदा मिल्छ ।’

कृपालाई अलिक चित्त नबुझेर बहिनीको आलोचना गरेकी छन्, ‘यहाँ राजकुमारीलाई त मोज छ नि । बाँकी क्लास पछि लिए भैहाल्छ । समस्या त मलाई पो पर्छ ।’

ममीको निर्णयमा तलमाथि हुँदैन । मिल्ने जान्छन् । नमिल्नेहरू घर कुरेर बस्छन् । सधैँभरि गृहश्रमिक झैँ एकोतार कसरी काम गर्न सकिन्छ हँ ? गृहिणीलाई पनि त ‘रिफ्रेसमेन्ट’ चाहिन्छ ।

औतारी सर आफ्नै मामाघर पहाडको चिसो हावा खान जाने रे । जेठी छोरीको रोजाइ हिमालको हिउँ । तिनीलाई हिउँसँग खेल्न अति मन पर्छ । फूलचोकी र चन्द्रागिरि डाँडामा हिउँ खेलेको स्मरण ताजै छ, तिनीको स्मृति पटमा ।

कान्छीलाई हिमाल–पहाड–तराईसँग कुनै मतलव छैन । मतलव छ त ऐतिहासिक देवस्थलहरूको अवलोकन । नन्दाले घरको फोनबाट कुरा गरेकी छन्, ‘मेरो कुरा सून् मङ्गली ! तेरो मालिक साहेवलाई भन् कि हामीहरू शनिबार बिहान त्यहाँ आइपुग्छौँ । नबिर्सीकन भनेस् नि ।’

‘गृहमन्त्री’ को जस्तो निर्णय सुनेर सबैजना आश्चर्यमा परेका छन् ! कृपालाई मङ्गली मन नपर्ने । किनकि एक पटक मङ्गलीले गट्टा खेल्दा कृपाको कन्चटमा टुटुल्को उठाइदिएकी छिन् । त्यसो त औतारी सरलाई पनि पत्नीको मामाघर जाने रहरको विषय लाग्दैन ।

नन्दाको मामा जीवनलालकी कान्छी छोरीको विवाहको कुरो टुङ्गिएको अवस्था छ । नातेदारहरूसँग भेटघाट त हुने नै भयो अनि बिहेमा संलग्न पनि हुने भइयो र ऐतिहासिक देवदेवालयहरूको परिभ्रमण पनि हुने भयो । फेरि भ्रमण गर्न जाने माध्यमको बारेमा लामो ‘डिसकस’ चलिरहेको अवस्था छ । आकाशबाट जाने र बसबाट जाने कुरामा मत बाझिएको अवस्था छ । दुवै साधन खतरा छन् ।

अन्ततः बसकै टिकेट ‘अनलाइन बुकिङ्ग’ भैसकेको छ । कान्छी छोरीले धेरै राम्रो र व्यवहारिक कुरा गरेकी छिन् । सिरक, डसनाको व्यवस्था पनि गर्न पर्ने हो कि ? उहिले उहिले जाडो छल्न मधेश झरिन्थ्यो । अहिले काठमाडौँतिर उक्लिनु पर्ने भैसक्यो । ‘ग्लोबल वार्मिङ्ग रे !’

चार–पाँच दिनदेखि तराई–मधेशमा घाम नलागेको खबर हेरियो र सुनियो । समस्याको समाधान छ नि । ‘स्लिपिङ्ग ब्याग’ जिन्दाबाद !

नन्दालाई नौबीसेको घुम्ती आउन थालेपछि रिङ्गटा चल्न थालेको छ । शिशाको झ्याल भन्नुको मात्र । खोल्न नमिल्ने । ‘ए.सी. सिस्टम’ । धन्न परमात्मा ! हातमा ‘प्लाास्टिक ब्याग’ थियो र मात्र । नत्र बरबादै हुने । पत्नीको त्यही खराब बानीको कारण औतारी सर जेठी छोरीसँग बसेका हुन् ।

ममीको कारण उपासनालाई पनि गाह्रो प-यो र बान्ता गर्नपर्ने अवस्थाको सिर्जना भएको छ । खराब सडकको कारण करिब चौध घण्टाको बस–यात्रा गर्न विवश भएका छन् । बसको बसैमा मिति फेरिएको छ । रात सकिएको छ अनि बसको यात्रा पनि टुङ्गिएको छ ।

बसको घन्च्याङ, घुन्चुङ्गको कारण सबैको ज्यान थिलोथिलो भएको छ । भैरहवा नजीकको एउटा गाउँ जसलाई ‘बर्मेली टोल’ को नामले चिनिन्छ, त्यहाँको एउटा धौले घरको आँगनमा पुगेर ‘अटो’ ले विश्राम लिन्छ ।

नन्दालाई पतिले सहारा दिन लाग्दा झण्डैले झटारिन पुग्छन् । कारण उही त हो । बान्तादेखि घृणा गर्ने पतिको अब आएर आवश्यकता किन जब कि मङ्गलीको सहारा मिलिसकेको छ । मङ्गलीलाई देख्नासाथ कृपाको मन तमतमाइलो भएको छ ।

आफ्नो क्षेत्रको महानायक कहलिएका जीवनलाल फलैँचामा बसिरहेका छन् । बिहानको खाजाको साथमा छन्, उनको पार्टीका कार्यकर्ताहरू । उनका बाले पञ्चायती व्यवस्थालाई सफलिभूत बनाउन साम, दाम, दण्ड र भेद प्रयोग गरेका थिए । उनीचाहिँ गणतन्त्र खाइरहेका छन् ।

दर्शन–भेटको श्रृङ्खला सकिएपछि मङ्गलीको ईशाराअनुसार औतारी सरको परिवार विश्राम कक्षमा पुग्छ । औतारी सर त्यति खुसी देखिएका छैनन् । मधेशको मौसम झन्झन् खराब भएको छ । बाक्लो कुहिरोले भैरहवाको पूरै बस्तीलाई अँठ्याइरहेको छ । हवाईजहाज चलेका छैनन् ।

दिउँसो बर्मेली टोल घुम्दै गर्दा औतारी सरको मुखबाट नमिठो वाणी फुत्किन पुग्छ, ‘शिक्षक जयनारायणलाई पार्टीले गायवै पारिदियो हगि मामाजी ? तपाईँले त सुझाव दिनुभएकै थियो नि हैन ? तर मास्टरको जागीर छाडेनन् क्यारे बूढाले । उहाँँजस्तो विद्वान्का लागि राजनीति सुहाउने पेसा थिएन ।’

‘राजनीति त मजस्तो मूर्ख व्यक्तिले मात्र गर्ने चीज हो र ?’

एक्कासि मामा–ससुरा चिच्याएका छन्, ‘मैले पहिले पनि भनिसकेको छु । फेरि पनि भन्छु कि हजुरले ती पुराना कुरा नकोट्यानोस् ज्वाइँ नारान । मास्टरी पेसाले पनि त समाजको उत्थान गर्न सकिन्थ्यो । गर्नेले गरिराखेकै छन् । जयनारानले जिद्धी छाडेन, म-यो ।’

दिउँसोकोे खानापछि आराम गरिरहेका पतिलाई पत्नीले सम्झाएकी छिन्, ‘भान्जी–जुवाइँ र मामा–ससुराको ग्रह बिग्रेको त पक्कै हैन होला तर पनि कहिल्यै कुरा मिल्दैन । आज पनि मास्टरको कुरा निकाल्नुभएछ । ए बाबा ! हजुर त दुई दिनको पाहुना हो नि । किन अन्टसन्ट कुरा गरेर सम्बन्धलाई धमिलो बनाउनुहुन्छ हँ ?’

‘मलाई तिम्रा मामाको राजनीति नै मन पर्दैन ।’

औतारी सर आफ्नो आत्माको आवाज बोल्छन्, ‘यस्तो पनि राजनीति ? गणतन्त्र त सिँहदरबारमा मात्र सीमित रहेछ नन्दा । यहाँ के पञ्चायत काल । के गणतान्त्रिक काल । केही फरक छैन । बिचरी मङ्गली ! उसलाई आफ्नै बाउको हत्याराको घरमा सेवा गरेर बस्नु परिराखेको छ ।’

चियाको कप हातमा लिँदै औतारी सर सवाल गर्छन्, ‘एउटा कुरा नढाँटी भन है मङ्गली ? तिमीलाई बिहे गर्न रहर लाग्दैन ? तिमीभन्दा कान्छीको बिहे हुँदैछ यो घरमा ।’

अहँ, तिनी बोल्दिनन् । थाहा छ नि तिनीलाई, मालिकका पाहुना पनि एकै ड्याङ्गका मुला हुन् भनेर । अतः सही जवाफ दिएकी छैनन् । कुराचाहिँ निकै गहिरो गरेकी छिन् है । ‘अर्र्काको घरमा नोकर बस्नेको भाग्यमा बिहे लेखेकै कहाँ हुन्छ र’ रे !

औतारी सरबाट निकै ठूलो आश्वासन मिल्छ । यदि मङ्गलीले कुनै केटो मन पराएकी छिन् भने सरले सक्दो सहयोग गर्नेछन् । त्यस्तो आश्वासन पाएपछि मङ्गली हल्का तवरले औतारी सरको कुरामा विश्वास गर्न थाल्छिन् । अलिकति समय पाएकी बखत मङ्गलीले आफ्नो वेदना पोखेकी छिन् ।

मालिक जीवनलालले तर्साएर राखेका छन् । उनीसँग मङ्गलीले बिहकोे प्रसङ्ग झिक्नै हुन्न । राम्रा नाना र मीठा खाना दिएर पालेको हर्जाना तिर्नुपर्छ रे । औतारी सरलाई अवगत गराएकी छिन्, मङ्गलीको एउटा केटासँग गोप्यरूपमा प्रेम परेको छ ।

ती केटा मोटर ग्यारेजमा श्रम गर्छन् । कतै टाढा भगाएर लाने हैसियत छैन तिनको । मङ्गली बिस्तरा ठीक पारेर अर्को कक्षतिर लागेकी छन् । नन्दा छोरीहरूलाई अर्ती दिन थाल्छिन्, ‘अब यो घरको बिहे कार्यक्रम नसकिन्जेल हामी यही कोठामा सुत्नुपर्छ ।’

‘रामरामराम…!’

अनायासै कृपाको मुखमा विश्मयाधिबोधक चिन्ह उभिन्छ र तिनी बाँकी असन्तुष्टि पोख्छिन्, ‘बाहिरबाट हेर्दा घर भयङ्कर छ त ! तर रुमहरू त स–साना रहेछन् । यस्तो कुचुक्क परेको कोठामा हामी तीनजना कसरी सुत्नु हो ममी ? फेरि एउटै बेडमा रे !’

ददीको दाँजोमा बहिनी बढी आज्ञाकारी देखिएकी छिन् । तिनीलाई राम्रोसँग थाहा छ, भोलिबाट अरू पाहुनाहरू पनि थपिने छन् । कान्छी छोरीको समझदारीप्रति ममी औधि खुसी छिन् । त्यस्तै परेमा बाबालाई पनि यही कोठामा ओछ्यान मिलाउन पर्ने हुन्छ ।

पहिलो रात राम्रैसँग कटेको छ । नास्तापछि जीवनलाललाई सामाजिक कार्यमा जानु परेको छ । झुपडपट्टीमा न्याना कपडाहरू वितरण गर्ने कार्यक्रम तय भएको छ । दाताले दिएका ‘दान’ मा उनी आफ्नो धाक र रवाफ देखाउन चाहन्छन् ।

औतारी सर जान मान्दैनन् । उनको आफ्नै विश्लेषण छ, ‘उता हुँदा त परिवारसँग डुल्न पाइएन । यता आउँदा पनि कोही एकातिर अनि कोही अर्कातिर भइदिँदा भ्रमण गर्न आएको के सार भो र ?’

आज धेरै दिनपछि मङ्गली स्वतन्त्र हुन पाएकी छिन् । तिनीकै पथ प्रदर्शनमा औतारी सरहरू तोरीबालीका फाँट हेर्न पुगेका छन् ।

आम्मामा….! यतै फाँट, उतै फाँट । चारै दिशाका क्षितिजहरूले जमिनलाई स्पर्श गरे झैँ लाग्ने ! कृपाको विशेष जिज्ञासा पोखिएको छ, ‘ए ड्याडी ! यता त त्यति धेरै घरहरू पनि छैनन् । भएका पनि खपटाका छाना भएका झुप्राझुप्रीहरू मात्र रहेछन् । यत्ति धेरै जमिनहरू कसका मात्र होलान् हगि ?’

मङ्गली बोल्छिन्, ‘यी जग्गाहरू ठूलाठूला जिमिनदार र नेताहरूका हुन् मैँसाप । उनीहरू सबै काठमाण्डुमा महल ठडाएर बसेका छन् । राजनीति गरेका छन् ।’

अब जिज्ञासाको पर्खाल उभ्याउने पालो परेको छ उपासनाको । तिनी सोध्छिन्, ‘यत्रा यत्रा फाँटका जग्गाहरूमा कामचाहिँ कस्ले गर्छ नि मङ्गली ?’

‘किर्षि मजदुरहरूले ।’

अपर्झट मङ्गलीको बोली फुत्किहाल्छ, ‘भ्याएसम्म यहीँका गरीबहरूले काम गर्ने हुन् । नभ्याए पारिको देशबाट आउँछन् नि मैँसाप । यहाँ त हाम्रै मालिकको पनि सयौँ बिगाहा जमिन छ तर घरमा काम गर्ने मान्छे मैँ एक जना मात्र…।’

‘भो भो धेरै जान्ने न हो तँ !’

नन्दालाई झर्को लागेको छ र मङ्गलीको मुख बन्द गर्नतिर लागेकी छन् ।

तीन दिनपछिको मौसम…।

मधेशतिर झन् बढी बाक्लो हुस्सूको नौलो औतार देखापरेको छ । आगो तापेर समय काट्न विवश छन् गाउँका मानिसहरू । स्थानीय सरकारले दाउरा सहयोग गरिरहेको छ । त्यही पृष्ठभूमिमा जीवनलालकी कान्छी छोरीको ‘इङ्गेजमेन्ट प्रोग्राम’ को मिति आइपुगेको छ ।

जीवनलालको धाक र रवाफसामु धौले घरको आँगनले पनि झुक्नै पर्ने रहेछ । नेता न परे । त्यसमाथि जमिनदार । छोरी, त्यो पनि अन्तिम बिहे । त्यसमाथि हुनेवाला जुवाइँ डाक्टर । उनले अमेरिका उड्नलाई ‘भिसा अप्लाइ’ गरिसकेका छन् ।

बिहेको केही महिनापछि त दुलही पनि उतै जाने रे । अनि त जीवनलालले किन कम खर्चमा कार्यक्रम गर्थे ! भैरहवा क्षेत्रकै गतिलो मानिने ‘पार्टी प्यालेस’ मा भव्य किसिमले प्रोग्राम सम्पन्न भएको छ । त्यसपछिका ‘हल्दी, मेहेन्दी, संगीत’ जस्ता विलासी कुसँस्कारको श्रृङ्खला त छँदैछ !

लौ मा-यो ! त्यसकै भोलिपल्ट मङ्गली गायब भएकी छिन् ! बिहे–घरमा खैलाबैला मच्चिएको छ । छरछिमेकीहरूको मूल्याङ्कन पनि विनोदपूर्ण लाग्छ, ‘बैँसले पट्ट फुट्न लागेकी तरूनी भागी । भागी त भागी ।’

जीवनलाल पत्नीलाई पो बल्ड्याङ्ग्रा आँखाले हेर्छन् बा ! तिनीले नै भगाइदिएजस्तो पो छ । जीवनलालको आदेशमा केही गुण्डाहरूलाई खटाएका छन् । आकाश, पाताल जहाँ भए पनि खोजेर हाजिर गराउन कडा निर्देशन दिएका छन् । पछि समाचार राम्रो पाएनन् । पहिलो गुण्डा बताउँछ, ‘मङ्गलीलाई ग्यारेजको केटोले बुटवल बजारमाथिको सिद्धबाबाको मन्दिरतिर भगाएको भन्छन् ।’

दोस्रो अनुमान लगाउँछ, ‘यतिखेरसम्म त गुल्मीको बसमा चढेर भागिसके होलान् ।’

तेस्रो देखे झैँ गरी भन्छ, ‘तिनीहरू गुल्मी–सुल्मी कतै गएका छैनन् । काठमाण्डु भागे होलान् ।’

चौथोचाहिँ त्यही सिद्धबाबाको पुुजारीले लुकाएर राखेको ठोकुवा गरिदिन्छ ।

जीवनलाल चिच्याउँछन्, ‘मन्दिरमा छे भने जाओ न त मुन्ट्याएर ल्याओ । खालि नचाहिने कुरा गरेर बसिरहने हो हरिलट्ठकहरू ? जाओ छिटो । पुजारी न सुजारी । ठोक त्यस्लाई पनि ।’

बिहेघरमा पाहुनाहरूका लागि ओढ्ने र ओछ्याउने कुराहरू पु¥याउन हम्मेहम्मे परेको छ । औतारी सरको परिवारलाई एउटै कोठामा सुत्ने प्रबन्ध मिलाउन पनि असम्भव भएको छ । बूढाखाडाहरू एकातिर, बच्चाबच्ची र युवतीहरू अर्कोतिर ।

कोही पदुवा छन् । कोही घुरूवा छन् । कोही राति बढी पटक चर्पी धाउन पर्ने छन् त कोही बत्ती बालेर निदाउन नसक्ने छन् । सन्जोगवश कृपाका दिदीबहिनी एउटै खाटमा परेका छन् । तथापि, उक्त खाटमा अरू दुई बालबाालिका पनि सुत्न विवश छन् ।

कृपाहरू सुतेका खाटमा ओढिएको सिरकले पूरा काम गरेकोे छैन ।

कृपाले भनेकी छन्, ‘त्यता धेरै नतान् न उपासना । मेरो आधा ढाड नाङ्गो भयो ।’

‘हुन्छ नाङ्गो !’

हत्त न पत्त प्रतिवाद गर्छिन् उपासना, ‘त्यस्तो बाक्लो लुगा लगाएकी छेस् र पनि नाङ्गै भन्ने ? यता मेरो पनि त आधा शरीर ढाकिएको छैन ।’

ती दुई दिदीहरूको संवाद सुनेर बीचमा सुतेका केटाकेटी खितित्त खितित्त हाँसिरहेका छन् । तब त उपासनालाई झोक चल्छ र झपार्छिन्, ‘ए फुच्चाफुच्ची हो ! बढ्ता नहाँस त । आओ अब तिमीहरू दुईतिर छेउछेउमा सूत ।’

कृपालाई बहिनीको भनाइले रन्का छुटेको छ र गाली गर्छिन्, ‘तँलाई माया लाग्दैन यी भाइबहिनीको ? बिचराहरूलाई जाडो भैहाल्छ नि ।’

‘लौ त त्यसो भए !’

उपासनाले सिरक तानेर आफूतिर ढाकेकी छन् । कृपाको बर्बनी तात्छ र झन् जोडले तानिन् । ती दुईको तानातानको जुहारीले गर्दा अन्ततः सिरक चिल्लर बिल्लर हुन पुगेको छ ।

रातले बिहानीको प्रतीक्षा गर्न सकेन । त्यो कोठाको घटनाले घरभरि खैलाबैला मच्चिएको छ । नन्दा र उनकी माइजू हस्याङ्ग र फस्याङ्ग गर्दै कोठामा आइपुगेका छन् । सिरकको कन्तबिजोग भएको देख्छन् । नन्दालाई हाँसो थाम्न मुश्किल परेको छ र मुख छोपेकी छन् ।

माइजू–बजै हकार्छिन्, ‘के गरेका तिमीहरूले ? हेर त नयाँ सिरक च्यातेर बरबाद पारेका ! अब के ओढ्छौ ? छैन अर्को ओढ्ने ।’

साना केटाकेटी डरले थुरथुर भएका छन् । कृपा र उपासनाले केही जवाफ दिन सकिरहेका छैनन् । च्यातिएको सिरकका कपासहरू छिरलबिरल भएका छन् । नन्दाले माइजूसँग छोरीहरूलाई क्षमा गरिदिन आग्रह गर्छिन् । जान–अनजानमा गल्ती हुन्छ नै ।

नामै त जाडोका पाहुना । अलिकति गाह्रो उनीहरूलाई परेको छ । अलिकति साह्रो पाहुना स्याहार्नेहरूलाई परेको छ । घर जत्ति नै ठूलो भए पनि, कोठाहरू जत्ति नै भए पनि धनाढ्य जीवनलालको घरमा आज यस्तो घटना घट्न पुगेको ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button