मुटु जलाएरै गयौ, म खरानी घसेर हिँड्न सकिनँ

सुनीता प्रसाई

सूर्य अस्ताउन लागेको थियो,
म जुनलाई खोज्दै थिएँ
आधा मुहार सूर्यको किरण पर्दा पनि
भावविभोर भएर कुन्ठित मुस्कान
फुत्त निस्कन खोजिरहेको थियो ।

सम्बन्ध त्यो खुल्ला आकाशसँग थियो
फेरि आफ्नो पहिचान बिर्सिएर
कतै साँघुरो गल्लीहरूमा हरायौ कि ?
सागरजस्ता तिम्रा नयनहरुमा फेरि मोतीबिन्दुले ढाकिदियो कि ?

हिजो त्यहि धुन सुमधुर थियो
आज ताल नमिलेको मादल बन्यो
सँगै जिउने कसमहरु समुन्द्रमा उर्लेको छाल बन्यो ।

कति रमणीय थिए ति दिनहरु
जहाँ खुशीको अनन्त सागरमा पौडियौ
तिमी त तुफान थियौ, अकस्मात रोकियौ ।

पवन बनी आयौ
फुस्स उडी गयौ, तर म कपास थिइनँ
तिमीसँगै उड्न पनि त सकिनँ ।

मुटु जलाएरै गयौ
म खरानी घसेर हिँड्न सकिनँ ।

मान्छे नै हो तिमी पनि
फेरि कतै ठोकियौ कि ?
म त खरो नुन थिएँ
जुनलाई पो रोज्यौ कि ?

तिमीले शब्दहरुको व्यापार गरिरह्यौ
म भावनामा छताछुल्ल पोखिएर किनिरहेँ
किनिरहेछु ।

नियतिको खेल पनि कस्तो ?
बिना बादल आँसुको बर्षात हुने रहेछ
जलाई आफ्नो मुटुबाहिर हाँस्नु पर्दोरहेछ ।

बन्दी आँखाभित्रको आकाशलाई नियाल्दै
म भित्रको परमानन्द खोजिरहेको छु
खोजी नै रहने छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button