नौनीजस्तो कोमल मन पनि मान्छेको व्यवहारले चट्टान बन्छ
सुनिता प्रसाईं
मान्छे
इन्द्रियलाई बसमा राख्न नसक्दा
सपनाको कैदी बन्छ
यथार्थमा जीउन नसक्दा
खुशी बेचेर आँसु किन्छ ।
मान्छे किन यति निर्दयी हुन्छ ?
अरुलाई आँसुमा डुबाएर
नयाँ सपनाको महल बुन्छ
सपना त सपना नै हो नि
वास्तविकता त आफूलाई परेपछि थाहा हुन्छ ।
आफ्नोपन देखाउने धेरै भेटिन्छ
आफ्नै भ्रमले मान्छे लुटिन्छ
निराशा र अभिनयको पर्दा हटाऊँ
सत्कर्ममा लागे खुशी भेटिन्छ ।
लगनशील बने उकालो चढिन्छ
मान्छे भएर जिउन सिकौँ
अरुको भरमा बाँच्ने त जनावर हुन्छ ।
खाने मुखलाई जुंगाले छेक्दैन
आफूलाई जगाए भाग्यले ठग्दैन
बदलाको भावना राख्नु हुँदैन
जीवनको हिसाब किताब समयले छोड्दैन ।
सत्य सधैं पिरो हुन्छ
नौनी जस्तो कोमल मन पनि मान्छेको व्यवहारले चट्टान बन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)