धनीमाया, जसबाट सबैले प्रेरणा लिनसक्छन्
कथाः धन र सम्बन्धको कसी
दुर्गा शर्मा
पुस महिनाको कठ्याङ्ग्रिने मौसम छ । धनीमायाको सासुआमा एकाबिहानै उठ्छिन । उनी भने अघि पछिभन्दा विदाको दिनमा अलि ढिलो उठ्ने गर्छिन् ।
उता ससुरा बा बिस्ताराबाटै भन्दछन्, ‘ए बुहारी, कति अबेरसम्म सुतेकी हौ ! तिम्री आमा उनको पालामा यतिन्जेलसम्म त कति काम धन्दा भ्याउने गर्थिन तिमी भने महाअल्छिनी रहिछौ ।’
धनीमाया भन्दछिन्, ‘उहिलेको जमाना हो र बुबा अहिले, खेतीपाती वस्तु भाउ केही छैनन्, किन छिटो उठ्नुपर्यो र ? बाहिर निकै जाडो छ, यही खाना बनाएर खाने, हजुरको छोरोलाई अफिस अनि बालबच्चालाई स्कुल पठाउने काम त हो नि बुबाहजुर, अरु के नै काम छ र ?’
ससुराबा थप्छन्, ‘खुबै कमाइ धमाइ गर्ने जस्तो मुखमुखै लाएकी, हेर न मानेकी आमा ।’
उता आमा भन्छिन्, ‘पल्लाघरकी सुन्तलीले जागिर गर्छे, तँ भने बसेर खान पल्केकी, के को काम गर्थिस् र !’
बुहारीले एक छिन सुनिरहन्छिन् । यत्तिकैमा छोरा पनि आउँछन् ।
छोरा भन्छन् ‘आमाबुबाको पक्ष लिएर, ‘यसको त के कुरा गरौं र आमा, गरीखाने क्षमता नै छैन, बस्ने खाने मात्र हो, कस्तिलाई सिन्दुर हालेछु मैले, हे भगवान् !’
उता सासु बजै थप्छिन, ‘पुर्खाले कुलको छोरी मुलको पानी भित्राउनु, राम्रो मानिन्छ भन्थे । यो कुलकी छोरी पनि हैन बाबु । मैले त दर्जनौ सन्तान जन्माइवरी सबको लालनपालन एक्लै गरेकी हुँ । टोल समाजको मेखै मार्ने गरी छोराछोरी जन्माएकी थिएँ । समाजले सुइँकोसम्म नपाउनेगरी कहिले रातारात माइतीवाट ल्याएर आफ्ना सन्तानलाई पालन पोषण गरी शिक्षा दीक्षा राम्रोसँग दिएँ । कति मुस्किलले घरबार गरेकी हुँ छोरा । अहिलेजस्तो श्रीमान सँगसँगै पनि बस्ने थिएनन् । हाम्रो पालामा त श्रीमानसँग बोल्ने, हाँस्ने चलनै थिएन, कठै बिचरा म । सासु ससुराले एक रति रुचाउनुहुन्थ्यो तापनि म निडरतासाथ टिकेर सब दुःख कष्ट झेल्दै आएँ । यसले त ढलेको सिन्को पनि उभ्याउँदिन, दिनभरी खाने बस्ने र फेसबुकमा आफ्ना भनाउँदा साथीभाइ र माइतीसँग मस्किनेबाहेक ।’
यस्तै गनगन् भइरहँदा तल्लाघरको सुमने काका आउँछन् र भन्छन्, ‘केको फैसला हो यो घरमा दिनरात हँ ?’
मानेले ‘केही हैन, हामीले घरसल्लाह गरेका मात्र हौ, काका तिमीलाई हामीले जे कुरा गरे नि के को मतलव !’ भन्छ ।
एक छिनपछि माने अफिस जान्छ । बुढाबुढी गाउँघरतिर घुम्न निस्कन्छन् ।
धनीमायाले एसइइसम्मको अध्ययन सकेकी थिइन् । उनको मनमा आत्मनिर्भर बन्ने भित्री दृढ इच्छा जागेर आयो । सानोतिनो तरकारी र फलफुल पसल खोल्नलाई आफ्नो मिल्ने साथीसंगीसँग केही रकम सरसापट गरिन् । आजभन्दा भोलि व्यापार बढाउँदै गइन् । आयस्रोत बढ्दै गएपछि त घरमा सबैजना खुसी हुँदै गए । श्रीमानले पनि पहिलाभन्दा निकै माया र सहानुभुति देखाउँदै गए । सासु ससुराले पनि मेरी बुहारी कमाउने भइन् भन्दै उनैको हाइहाइ गर्न थाले ।
धनीमाया पहिलाभन्दा जोशिली र जाँगरिली बन्दै गइन् । छोराछोरी पनि हुर्कदै पढ्दै, बढ्दै जवान बने । पसलमा सबैले सरसहयोग गर्दै गए । उनले गरेको व्यापारबाट आएको आम्दानीले गति लिन पुग्यो । त्यो परिवार आन्तरिक र बाह्य रूपबाट निकै सुखी, खुसी र संवृद्ध देखिन्थ्यो ।
छरछिमेकमा गाउँलेले सुटुक्क कानेखुसी गर्दथे, ‘पहिला हेला भएकी धनीमाया आफ्नो धर्म र कर्ममा दिलोज्यानले ध्यान दिँदा सबैको प्यारी बनिन् है । रही व्यापार र सही बुहारी भनेको यही हो ।’ सबैलाइ प्रेरणाको स्रोत बनेकी धनीमाया आउँदो चुनावमा वडाको अध्यक्ष पदमा निर्वाचित हुन पुगिन् । तब त त्यो परिवारमा खुसीको सीमा नै रहेन । यदि विगतमा घरपरिवारबाट एक्लिँदामा पनि उनी रत्तिभर पनि नडगी आफ्नो धर्म र कर्तव्यमा अडिग भएर निरन्तर सेवासाथ अघि बढेको हुँदा आज आफ्नो जीवनमा मेहेनतको गहिरो सफलता हात पारेकी हुन् ।
जीवनमा आउने सुखदुख सबै जीवनका उकाली–ओराली सरह ठान्दै यी त केवल आरोहûअवरोह मात्र हुन् भन्ने कुरालाई मनन गरेकी थिइन् धनीमायाले । जसरी हामीले दिन र रातलाई सहजै अपनाउँछौ, त्यसैगरी जीवनका सारा उज्याला र अँध्यारा पाटाहरुमा एकैनासले अघि बढाउन सकियो भने पक्कै पनि जीवनमा संवृद्धी र ऐश्वर्य हात पर्नेछन् ।
परिवारमा गहिरो मिलन, प्रेम, सद्भाव, एक अर्काको आत्मसम्मानको रक्षा गर्ने सुमुधुर वातावरणमा पनि सिंगो परिवारको ऐश्वर्य र खुसी लुकेको हुन्छ । हामीले परिवार, नातागोता, इष्टमित्रसँगको सम्बन्धमा लेनदेन जोडेर नहेरौं । घरको रेखभाल र घरायुी सम्पूर्ण कार्यलाइ अन्तह्रदयबाट नै आत्मसम्मानको नजरले हेर्ने गरौं । गहन मिठासले भरिभराउ प्रेमिल पारिवारिक सम्बन्ध नै प्रगतिको पहिलो खुट्किलो हो।
आजको व्यस्त जीवनका हरेक परिवारमा सकारात्मक रूपबाट निश्वार्थ प्रेम सम्बन्ध आवश्यक छ । सबैमा सेवा, प्रेम, श्रद्धा, भक्ति, करुणा र सद्भाव दुबोसरी मौलाउदै जाओस् । लोकप्रिय नेपाली उखान छ, छन् गेडी सबै मेरा, छैनन् गेडी सबै टेढी । सक्षमलाई मात्र साथ सहयोग हैन, पहुँच नभएकालाई पनि सेवासाथ ह्रदयबाट साथ सहयोग गरौं । सबैको बराबर न्यायपूर्ण भलो हुनेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)