बरिष्ठ पत्रकार श्रीरामसिंहको स्त्री-पुरुष सम्बन्धका अनेक आयाम उजागर गर्ने ‘मनको मझेरी’ आयो

नेपालनाम्चाका नियमित लेखक तथा बरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतको कविता सङ्ग्रह ‘मनको मझेरी’ प्रकाशित भएको छ ।

मञ्जुश्री साहित्यिक समाजद्वारा प्रकाशित यस पुस्तकमा बस्नेतद्वारा २०३३ देखि हालसम्म विभिन्न कालखण्डमा रचित उन्मुक्तछन्दका कविता र गीत ८७ वटा र मुक्तक १३० वटा सङ्ग्रहित छन् । उनको यो नवौं पुस्तक हो भने प्रकाशक मञ्जुश्री साहित्यिक समाजको ११ औं प्रकाशन हो । सँयुक्त लेखनको एउटा पुस्तकबाहेक श्रष्टा बस्नेतले आफ्ना अरु कुनै पनि पुस्तक विमोचन गराएका छैनन् । पुस्तक विमोचनको अहिलेको चलनलाई ‘अनावश्यक औपचारिका र प्रचारवाजी’ मान्ने बस्नेत आफ्ना आगामी पुस्तक पनि विमोचन नगराउने बताउँछन् ।

‘मनको मझेरी’मा लोकप्रिय कवि तथा गीतकार डा. बमबहादुर थापा ‘जिताली’को समालोचनात्मक भूमिका रहेको छ । श्रष्टा बस्नेतले आफ्नो कविता कृति दिवंगत श्रद्धेय कवि व्यक्तित्वहरु भूपी शेरचन, हरिभक्त कटुवाल, जीवन आचार्य र विनय रावलप्रति समर्पित गरेका छन् ।

साहित्यमा मनोवैज्ञानिक कथाकारका रुपमा चिनिएका बस्नेतको यो पहिलो कविता कृति हो । उनका कवितामा सामाजिक विसंगतिप्रति तीब्र असन्तोष, मानवीय संवेदना र स्त्री–पुरुष सम्बन्धका विभिन्न आयाम मुख्यरुपमा उजागर भएका पाइन्छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button