… भनेपछि मर्नलाई काशी नै जाने हो त बा ? हँ आमा ?
कथाः मासु पसलेको अचानो
सागर ‘मणि’ थापा
कीर्तिपुर-७, चोभार ओपी, काठमाडौं
गोपीनाथ बा गाउँमा नाम चलेका पण्डित थिए । उनलाई ‘पण्डित बा’ को उपनामले सम्बोधन गरिन्थ्यो । पण्डित बाका एउटै मात्र पुत्र हुन् । नाम हो, रामचन्द्र । उनी सानैदेखि नास्तिक स्वभावका थिए । तैपनि पिताजीको करकापले गर्दा उनी निर्वन्ध हुन सकेनन् ।
रामचन्द्र समय समयमा पिताजीको पछि लागेर जान विवश हुन्थे । अबिर र केसरीले रङ्गिएका झोला बोक्न कर लाग्थ्यो । गोपी बा रामचन्द्रलाई एक प्रखर पण्डित बनाउन चाहन्थे । तर उनको त्यो प्रयास त्यति सफल हुन सकेन ।
योग्य भएपछि रामचन्द्रले गाउँ विकास समितिमा सचिव बनी जागीर खान थाले । पछि उनका दुई पुत्रहरू भए, विदुर र विशेष । ती नातिद्वयलाई पनि पण्डित बाले आफ्नो पेसातिर ढल्काउन सकेनन् । विदुर पढ्नमा त्यति मन नलाउने । खालि खेलकुदमा मात्र ध्यान दिने ।
विदुरको त्यही खेलकुदको पारङ्गगतताले गर्दा उनलाई नम्बर थपी, थपी हेडसरले कक्षा चढाइदिन्थे । विदुरले आदर्श माध्यमिक विद्यालयको नाम चम्काउन निकै भरथेग गरेका थिए । तर त्यो बेलाको एस. एल. सी. परीक्षा उत्तीर्ण गर्न सकेनन् ।
विदुरलाई उछिनेर उनका भाइ विशेषले पढाइमा राम्रो गरे । उनी निकै बाठा पनि थिए । त्यही बाठोपनको कारण क्याम्पस पढ्न राजधानी प्रवेश गरे ।
एक साँझ हजुरबाले बैठक कोठामा राखेर विदुरलाई भने, ‘हेर् केटा ! तँ धेरै पैसा कमाउन चाहन्छस् । अब हामीले पनि तल बाटोमा एउटा स–सानो घर बनाएर पसल थाप्नुपर्छ ।’
नातिले खुसी प्रकट गर्दै मनको चाहना व्यक्त गरे, ‘हजुरबाले मेरै मनको कुरा भन्नुभयो । तर कस्तो पसल चलाउने हजुरबा ?’
‘धार्मिक पुस्तक र पूजाका सामानहरू बेच्ने पसल राख्ने नि ।’
करूवामा पानी बोकेर आउँदै गरेकी शिवकुमारीले जवाफ दिइन् । तिनीका ससुराबाले पनि केही पुस्तक लेखेर प्रकाशन गरेका थिए । अतः बुहारीको कुरा गोपी बालाई मनासिव लाग्यो । तर विदुरले परिवारलाई नपच्ने प्रस्ताव राखे, ‘हेर्नोस् हजुरबा ! अहिले चल्ने भनेको कि त रक्सी पसल हो । कि भने मासु पसल । अरू सामानमा त त्यति नाफा हुन्न ।’
‘हेर् हेर् बोलेको !’
हजुरबाको बर्बनी तातिहाल्यो, ‘तँलाई अलिकति पनि शरम लागेन यस्ता वाइयात कुरा गर्दा ? यो कुरा हाम्रो घरबाट बाहिर गयो भने मेरो इज्जत कहाँ पुग्ला ? हाम्रो खानदानको प्रतिष्ठा के होला ? ल, ठीक छ । तेरो रहर पूरा गरेर हेर् । तर मासु र रक्सी पसल होइन ।’
पण्डित बाले जेठो नातिको लागि खेलकुद सामग्री पसल खोलिदिए । तर नातिले पसललाई कहिल्यै पूरा समय दिएनन् । किन कि आफ्नो प्यारो विधा खेलकुदलाई माया मार्न सकेनन् । विदुरको ध्यान खेलमा बढी, पसलमा कम भयो । त्यही भएर पाँच महिनामै उक्त पसल बन्द भयो ।
त्यसपछि ‘रेडिमेड’ कपडा पसल स्थापना भयो । उक्त पसलमा रामचन्द्रले पनि केही रकम लगानी गरिदिए । तर त्यो पसलमा पनि विदुरको मन लागिरहेको थिएन । फेरि समय पनि पूरा दिएनन् । धेरै सामानहरू उधारोमा बेचिन्थ्यो ।
कपडा पसल पनि बन्द भएपछि किराना पसल खोलियो । विदुरलाई सुकिलो लुगा लगाएर हिँड्नु पर्ने । तर चामल—पीठो बेच्दा उनले आपूmलाई ‘घटेरो’ जस्तो देख्न थाले । किराना पसलमा त झनै उधारो दिनु पर्ने । तर पैसा उठ्न ज्यादै मुश्किल ।
अन्ततः पण्डित बाले आफ्नो चाहना र पेसाअनुसारको पसल नै उपयुक्त देखे । त्यही भएर पूजा सामग्री पसल चलाउन थाले । केही समय त पण्डित बा पनि लागिपरे । तर उनलाई फुर्सदै कहाँ थियो र । अनि त विदुरलाई नै जिम्मा दिए ।
एक दिन हजुरबाले पसलभित्र पसेर सोधे, ‘हेर् विदुर ! अबदेखि पसलको आम्दानी जोगाएर राखेस् नि । सहकारीमा ब्याज बढी दिन्छन् । त्यहीँ जम्मा गर्नू । अनि मेरा पुस्तकहरू विक्री भएका छन् कि छैनन् नि ?’
पण्डित बाले एक किशोरलाई धार्मिक पुस्तक किन्न प्रेरित गर्दै भने, ‘ए केटा ! यी पुस्तकहरू मैले लेखेका हुन् । तीनथरी किनिस् भने एउटा फोसामा पाउँछस् । लगेर घरमा पढेस् ।’
केटोले जवाफ दियो, ‘मलाई चाहिएको चीज रैनछ । सामान त टन्न राख्नुपथ्र्यो नि पण्डित बा । चाहिएको माल नपाएपछि को आउँछ ?’
पण्डित बा झनक्क रिसाइदिए, ‘पण्डित गोपीनाथलाई अर्ती दिने तँ को होस् ?’
फेरि एक ग्राहक केटीलाई पण्डित बाले भने, ‘यो पुस्तक मैले लेखेको हो । किनेर पढिस् भने ज्ञान पाउँछेस् केटी !’
तिनीले नमिठोसँग जवाफ दिइन्, ‘घरघरमा सिँत्तैँ बाँड्ने किताब त पढिएन । निःशुल्क दिए भैगो त । पैसा लिएर त ज्ञान बेचेजस्तो हुन्छ बाजे !’
ती केटीको कुरा सुनेर विदुर मरी मरी हाँस्न थाले । आफ्नै नातिले खिज्याएको देखेर गोपीनाथ बा साह्रै मुरमुरिए । नातिलाई पनि हकारपकार पारे ।
एक छिमेकीको घरमा श्रीमद्भागवत् महापुराण अर्थात् सप्ताह सुरू भयो । मूल वाचक पण्डित गोपीनाथ नै थिए । उनले सहयोगीको रूपमा विदुरलाई पनि समावेश गरेका थिए ।
साँझको भजनकीर्तनमा विदुर पनि महिलाहरूको टोलीसँग भजनमा लीन हुन थाले । विदुरको नृत्य देखेर दर्शकहरूको मन रमाउन थाल्यो । त्यहाँ महाकाली पनि आएकी थिइन् । विदुर महाकालीलाई भित्रभित्रै मन पराउँदथे ।
मीठो बोलीमा विदुरले प्रस्ताव राखे, ‘आऊ, सँगसँगै नृत्य गरौँ । तिमीसँग नाचिनँ भने त पक्षपात गरेजस्तो हुन्छ नि ।’
महाकाली विदुरको बोलीले लट्ठ परिहालिन् । त्यो जोडीको नृत्यले दर्शकहरूको मन रमायो । भोलिपल्टै गाउँभरि हल्ला पैmलियो, ‘पण्डितको नातिले महाकालीसँग आधारातसम्म नाचे रे’ भनेर ।
हजुरबाले पूजा लगाएको घरैमा नातिलाई हप्काए, ‘तँलाई शरमहारा ! पण्डितको नाति भएर त्यो नखरमाउली केटीसँग कुम जोरीजोरी नाचिस् रे हैन !’
उता महाकालीको दाजुले पनि गाली गरे, ‘तेरो यो के चाला हो महाकाली ! आफ्नो हैसियत बिर्सेर पण्डित बाको नातिसँग हिमचिम बढाउन लागिछस् हैन ? उहाँहरू त हाम्रा पुरेत पनि हुन् । यजमानले पुरेतको खानदानको इज्जतमाथि हात हाल्दा के हुन्छ, त्यसको अन्दाज छ तँलाई ?’
‘जमाना कहाँबाट कहाँ पुगिसक्यो भीमसेन दाइ !’
टुप्लुक्क आँगनमा आइपुगेका विदुरले आदर्श वचन बोले, ‘महाकालीको के गल्ती छ र यसरी झपारिरहेका छौ भन त ? यो देश त यजमान र पुरेतहरू मिलेर चलाइरहेछन् भने हामी मिलेर बस्न सत्तैmनौँ र भीमसेन दाइ ? म महाकालीलाई माया गर्छु ।’
विदुरले त्यति वाक्य बोलिरहँदा महाकाली हत्केलाले मुख छोपेर मुसुमुसिइरहेकी थिइन् । भीमसेनलाई विदुरको दर्शनवादी कुरा चित्तबुझ्दो लागेन । पेसाले पनि असमान । जातले पनि असमान ।
एक दिन…।
पण्डित बा नातिलाई भेट्न अपरान्हतिर पसलमा पुग्छन् । बजारको वातावरण निकै बदलिसकेको पाउँछन् । पण्डित बालाई एकदमै असहज महसुस हुन्छ ।
पण्डित बा भीमसेनलाई झपार्न थाल्छन्, ‘यो के गरेको भीमसेन तैँले ? अरू केही काम नपाएर बगरेको पेसा गर्न थालिछस् हैन ? फेरि मेरै पसलसँग जोडेर बनाइछस् हैन यो टहरो !’
हजुरबाको चाला देखेर विदुर सशङ्कित भए । भीमसेनले केही जवाफ दिइरहेका थिएनन् । त्यस्तैमा महाकाली र मासु किन्ने ग्राहक एकै पटक देखा परे । महाकालीको रूपौलो देहप्रति विदुर त्यसै त्यसै मद्मद् भइरहेका थिए ।
महाकालीले सभ्य भाषामा भनिन्, ‘पण्डित बालाई थाहै छ नि, यो हाम्रो पुख्र्यौली पेसा हो भनेर । तर हामी बगरेचाहिँ हैनौँ । हजुको नातिलाई पूजा पसले भन्छन् । हामीचाहिँ मासु पसले । मेरा दाजुले यही टहरो सस्तो पाए । अनि यहीँ मासु पसल राखेको ।’
‘खुबै जान्ने भैछेस् तँ !’
पण्डित बाले बडप्पन प्रदर्शन गर्दै हकारे, ‘पण्डित गोपीनाथलाई सिकाउने तँ को होस् ? तिमीहरू षड्यन्त्रकारी हौ ! मेरो पसललाई बिटुलो बनाउन खोज्ने बगरेका सन्तान ! अन्तै सार यो गिद्धे पसल !’
महाकालीले ग्राहकको मागअनुसारको मासु काटकुट पारेर दिइन् । कपडाले हात पुछिन् र नोट लेनदेन गरिन् ।
पण्डित बाले मासु किन्ने ग्राहकलाई घृणा गर्दै भनिदिए, ‘छिः छिः कस्तो घीन नलागेको होला ! ए केटा ! त्यो अचानोलाई राम्रोसँग हेर् त । पाँच हाते अचानो दुई हाते भैसक्यो ! मासु खानेले कति काठ खायो होला ! तैपनि तिमीहरू चेत्दैनौ हैन ?’
ग्राहकलाई बालमतलब भएन । हाँस्दै झोला बोकेर टुइँटुइँ हिँडे ।
त्यसपछि पण्डित बाले भीमसेनलाई धम्क्याए, ‘यदि तैँले यहाँबाट पसल सारिनस् भने तेरो बाउ—आमाको श्राद्धकर्म गर्न म आउँदिनँ । यो कुरा ख्याल गरेस् भीमे ! मासुसँगै अचानोका टुक्रासमेत बेचेर धनी बन्न खोज्ने तँ ? नालायक कहाँको !’
नातिले सम्झाए, ‘यसरी कतिवटा पसलेसँग मनमुटाउ बढाउने हजुरबा ? दायाँतिर मासु बेच्ने । अनि बायाँतिर रक्सी । नाफा त्यसैमा छ । त्यही भएर मैले…।’
‘नकरा नालायक !’
हजुरबाले सात्तो जाने गरी हकारे, ‘पण्डित गोपीनाथलाई अर्ती दिने तैँले ? तँलाई पनि यो नखरमाउली महाकालीजस्तै बगरे बन्ने रहर लाग्यो ? खबरदार ! यसको पसलतिर हेरेको थाहा पाएँ भने घरबाट निकालिदिन्छु । बुझिस् तैँले ?’
अहँ, विदुर हजुरबाको धम्कीबाट किन्चित डराएनन् । उनले न त महाकालीको सङ्गत गर्न छाडे । न त छाडे तिनीको मासु पसलको रेखदेख गर्न नै ।
समय बित्दै जाँदा यस्तोसम्म भयो, विदुरले आफ्नो पसलको व्यापार कम, महाकालीको पसलको मासु बढी बेचिदिन थाले ! त्यसको दुश्परिणाम विदुरका लागि निकै महँगो पर्न गयो ।
एक दिनको घटना हो…।
कसैले पण्डित बालाई नमिठो वचन लगाइए, ‘ढोङ्गी पण्डित ! खालि शास्त्रका मात्र कुरा गर्नुहुन्छ । हजारौँ वर्षअघि लेखेको किताबको कुरा अहिलेको युगमा मिल्छ ? खालि महिलाको धज्जी उडाएर प्रवचन दिनुहुन्छ । समययअनुसार पो चल्नुपर्छ त ।’
फेरि अर्काले थपे, ‘यता हजुरबाउ शुद्ध शाकाहारी बनेको नाटक गर्छन् ! पण्डित्याइँ गर्दै हिँड्छन् । तर जजमानहरूसँग लुटेर लगेको मोटो रकम मासु पसलमा लगानी गरेका छन् ! हजुरबाउ पण्डित । तर नाति बगरे । वाह पण्डित बा !’
पण्डित गोपीनाथले त्यति दुर्वचन के सुनेका थिए, हृदयाघात भई कुशासनमै ढले । अस्पताल पु¥याउन पाएनन् । बाटोमै उनको देहावसान भयो !
बाको काजकिरिया सकिनासाथ रामचन्द्रले विदुरलाई घरबाट निकाला गरिदिए । पसलका सबै सामानहरू घरमा ल्याए र बन्द गरिदिए । दाजुको गलत कदमले भाइलाई फाइदा भयो । बाले पसल थापेको घर—जग्गा बेचिदिए र उनलाई उच्च शिक्षा अध्ययनका लागि क्यानाडा पठाइदिए ।
भीमसेनले महाकालीलाई सम्झाए, ‘हेर् बहिनी ! विदुरको भर गरेर तैँले आफ्नो जीवन खेर नफाल् । आफ्नै हजुरबा र बाआमालाई धोखा दिन सक्नेले तँलाई आजीवन साथ देलान् भनेर कसरी पत्याउने भन् त ? त्यसकारण मैले तेरो लागि योग्य वर र असल घर खोजेको छु । नाइँ नभन् है ?’
‘अहँ, हुन्न !’
बहिनीले अस्वीकार गर्दै भनिन्, ‘अंग्रेजीको अङ्क ९ लाई उल्टाएर हेर्दा अङ्क ६ जस्तो पनि देखिन्छ । हो, विदुरजीको जीवन पनि त्यस्तै हो । उनले सिर्पm मेरो माया पाउन त्यस्तो कदम चालेका हुन् दाइ । धोखा दिँदैनन् । शरणको मरण नगर दाइ ।’
अर्को दिन विदुर र महाकाली मासु पसलमा थिए । विदुरले महाकालीसँग बिहेको प्रस्ताव राखे । महाकालीले एक्लो दाजुलाई छाडेर कतै जान नसक्ने विवशता सुनाइन् । विदुरले आफ्नो योजनाबारे प्रष्ट पारे ।
अन्ततः श्रीकृष्ण जन्माष्टमीको दिन भीमसेनले महाकाली र विदुरको विवाह गराइदिए । कृष्णमन्दिर परिसरमा राधा र कृष्णको भेषमा खूब नाचगान गरे ।
करिब पाँच वर्ष बित्यो…।
विदुरले आमा, बालाई बिर्सिसकेका थिए । उनका लागि महाकाली र भीमसेन नै असल परिवारको रूपमा स्थापित भइसकेका थिए । त्यसमा एक छोरी थपिएकी थिइन् । नाम हो, विपश्यना । छोरीको जन्मसँगै विदुरको व्यापारको क्षेत्र पनि बढ्दै गयो ।
सानो मासु पसल ठूलो बन्यो । चिया पसलको स्तरोन्नति भएर पर्यटकस्तरीय रेष्टुराँ खुल्यो । रेष्टुराँमा ‘बार’ राखेपछि मासु र रक्सीको राम्रो संयोजन भइहाल्यो । अनि त व्यापार चकाचक !
उनले बजारमा एउटा घर पनि बनाए । त्यति हुँदाहुँदै पनि विदुर सन्तुष्ट थिएनन् । किन कि जन्मदिने बा, आमाले घरमा बोलाएनन् ।
उता क्यानाडा पलायन भएका विदुरका भाइ विशेषले चाहिँ बा, आमालाई माया मारेजस्तै गरिसकेका थिए । उनले विदेशमै घरजम गरिसकेका थिए । फोनमा सम्पर्क हुँदा अर्को साल दशैँको छेकोमा आउने कुरा गर्थे । तर त्यस्तो दसैँ कहिल्यै आएन ।
एक दिन महाकाली मासु बेचिरहेकी थिइन् । मासु किन्न आएकी एक महिलाले नमिठो वचन लगाइन्, ‘तिमीहरूलाई अलिकति पनि लाज लाग्दैन हगि ! घरमा सासू, ससुरा बिरामी परका छन् । तातोपानी खुवाउने मान्छे छैन । तर तिमीहरू भने मस्ती गरेर बसेका छौ !’
महाकालीलाई नमज्जा लाग्यो । पछि तिनीले विदुरलाई सबै कुरा बताइन् र घरमा जान अनुरोध गरिन् । विदुरका जेठान भीमसेनले पनि बहिनीको विचारमा सहमति जनाए ।
विदुरले विगतका एक एक घटनाको लगत राखेका थिए । त्यो घरले कति हेलाँ ग¥यो । सम्पत्तिको नाउँमा तुनाको धरो पनि पाएनन् । आज जे जति प्रगति गरे, आफ्नै परिश्रमको बलमा गरे । त्यस्ता बा, आमाको मुख किन हेर्ने हँ ?
तर महाकालीले विदुरलाई त्यत्ति धेरै निष्ठूरी बन्न दिइनन् । पतिको हातमा केही उपहारहरू दिएर बा, आमालाई भेट्न पठाइन् । तर विदुर यो के देख्दैछन् ! घरको पिँढीमा त छिमेकीहरूको बैठक बसिरहेको रहेछ ।
आमा शिवकुमारी चिया बाँड्दै रहिछन् । विदुर स्तब्ध हुन पुगे ! उनलाई बुझ्न गाह्रो भएन, उनीमाथि नियोजित षड्यन्त्र भएको रहेछ !
उनलाई देख्नासाथ बाले दपेटीहाले, ‘तँ जुन बाटो आएको होस्, त्यही बाटो फर्के हुन्छ । गइहाल यहाँबाट । तँलाई बगरेका सन्तान !’
‘यो के बोलेको बूढा !’
शिवकुमारीले आपत्ति प्रकट गरिन्, ‘सन्तान त हाम्रै हो नि । कर्म पो गतिलो गरेन त । बोल्दाखेरी अलि भाँत पु¥याएर बोल्नोस् न ।’
विदुरले गाउँले प्रमुखतिर आशातीत नेत्र बिछ्याए । जे भए पनि उनी त कानुन बुझेका मानिस थिए । गाउँमा कसैलाई अन्याय पर्दा न्यायका लागि वकालत गर्ने प्रमुख व्यक्ति ।
अहँ, विदुरले सोचेको जस्तो भएन । गा. प्र. को बुद्धिमा पनि कीरा परेको रहेछ ! अनि पो उल्टै अखानु बनाए, ‘हेर् विदुर ! तेरो कारणले गर्दा पण्डित बाको अकालैमा ज्यान गयो । तेरै कारणले यो घरको इज्जत, प्रतिष्ठाको धज्जी उड्यो । अब तैँ भन् त तेरा बा, आमाको निर्णयको खिलाफमा म कसरी जान सक्छु ?’
‘भनेपछि यो ‘मिटिङ्ग’ मलाई सदाको लागि यो मूलघरको ढोका बन्द गर्न बसेको रहेछ हैन त बा ?’
विदुरले हातको झोला सानो पिँढीतिर फाल्दै सवाल गरे, ‘कान्छो परदेश भासिएको छ । जेठोलाई घरमा आउन प्रतिवन्ध लगाउनुभयो । भनेपछि मर्नलाई काशी नै जाने हो त बा ? हँ आमा ?’
‘चुप लाग् पाजी !’
रामचन्द्र जुरुक्क उठे । विदुरको नजीक आए । बायाँ गालामा एक चड्कन हान्दै अन्तिम निर्णय सुनाए, ‘तँजस्तो कपुतको मुख पनि देख्न नपरोस् । गैहाल् यहाँबाट । तँलाई बगरेका सन्ता…!’
त्यति भएपछि बैठकमा सामेल भएका छिमेकीहरू विदुरलाई ‘खाइस् कि’ भन्ने भावले आँखा तर्दै आ-आफ्नो घरतिरको बाटो लागे । गाउँले प्रमुख पनि हिँड्न खोज्दै थिए । विदुरले बाटो छेकेर पलभर रोकिन आग्रह गरे ।
जेठो छोराले अब के ‘करामत’ गर्नेभयो भनेर शिवकुमारी ट्वाँ परेर हेर्दै थिइन् । नभन्दै विदुर सरासर ठूलो पिँढीतिर अघि बढे र परालको धुस्नो धमाधम आँगनतिर हुत्याउन थाले । बा हकार्र्दै थिए । गा.प्र. चाहिँ निरुद्देश्य हेरिहेका थिए ।
उनीहरूले देख्दादख्दै विदुरले एउटा गज्जबको मूढो निकाले । उनको ज्यान हेर्दा त बोक्न सक्ने होेइन । तर उनलाई गाह्रो भएन । जुरूक्क उचालेर काँधमा हाले । सायद जेठानको नाम मनमनै जपेका हुँदाहून् कि ?
बाले बाटो छेक्दै बेसरी हकारे, ‘कहाँ लान लागिस् यो काठ ? खुरूक्क लगेर राख् । यसलाई दाउरा बनाएर जाडोमा आगो ताप्नुपर्छ ।’
‘ताप्छौ बूढा आगो !’
विदुरले जवाफ दिए, ‘तपाईँहरूको जात, सँस्कार र पेसा मलाई चाहिएन । म मासु व्यापारी हुँ । मासु बेच्छु । मलाई नयाँ अचानो चाहिएको छ । त्यही भएर यो काठ बोकेर हिँडेको । आमाले पनि सुन्नोस् । अब यो काठ मासु पसलेको अचानो बन्छ ।’
विदुरको भनाइ सुनेर गा.प्र. मरी मरी हाँसे । एक पटक पालैसँग रामचन्द्र र शिवकुमारीका अनुहारतिर हेरे । त्यसपछि सरासर बाटो लागे । त्यसपछि विदुरले आमा र बालाई हेरेको हे-यै पारी लमक लमक लम्किए । फर्केर टुलुक्क पनि हेरेनन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)