सुकुम्बासी बस्तीमा हुकुमबासीको राज !
(यस कथाका घटना तथा पात्रहरु काल्पनिक हुन् । यदि कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुने छ । –लेखक)
कथा
सागर ‘मणि’ थापा
कीर्तिपुर–७, चोभार ओपी
पत्रकारले अगाडि भने, ‘म यो बस्तीको ‘रिपोर्ट’ बनाउन आएको हुँ ।’
आश्चर्यमा पर्दै दुःखी, गरीबहरूले दुखेसो पोखे, ‘यो बस्तीमा के छ र रिपोर्ट लेख्न आएका तिमी ?’
त्यसपछि अरु तीनजनाले पालैपालो धम्क्याए, ‘तिमी हाम्रो बस्ती किन्न आएको ?’
‘यो मान्छे जग्गा दलालजस्तो छ । ए, भन् त कस्ले पठायो तँलाई ?’
‘हैन, सरकारी मान्छेजस्तो छ यो ! अब हाम्रो बस्ती खाली गराउन आएको होला ! ठोकौँ यस्लाई ।’
लौ ! उनीहरू त आक्रमण गर्न पो तम्सिए ! तर पत्रकार हो भनेर जानेपछि गुण्डाहरू सशङ्कित भए ।
ती पत्रकारले सुनेका थिए, त्यो सुकुम्बासी बस्तीमा हुकुमबासीहरूको राज चल्दै आएको छ भनेर ! नभन्दै हो रहेछ । अचम्म ! झुप्राहरुका बीचमा भव्य महलहरु पनि !
पत्रकार केही टिपोट गर्दै थिए । हिउँदको कुहिरो फाटेझैँ पत्रकारको भ्रमको पर्दा हट्न त हट्यो तर आँशिक मात्र । तब उनले एक वृद्ध मानिससँग भेट गरे । उनको नाम कोकिलकान्त हो ।
जुगुप्सित मनलाई शान्त पार्नका लागि पत्रकारले सोधे, ‘यहाँ हुकुमबासीहरूको हैकम चलेको छ भन्ने सुनेर म आएको हुँ कोकिलकान्त बा । यसो बुझ्दाखेरी तपाईंबाट तथ्य कुरा खुल्लाजस्तो लाग्यो ।’
पत्रकार आत्मीयताको राजमार्गतिर लम्कँदै थिए । बूढा बा उनलाई चिया पिलाउने तर्खर गर्न लागे । चिया नपाकिन्लेसम्म पत्रकारका आँखा छाप्रोभित्र भएका भौतिक संसाधनतिर दौडिन थाले । त्यो छाप्रो एक लात्ती हान्दा भताभुङ्ग होलाजस्तो थियो ।
कोकिलकान्त बाले एक एक वयान गर्दै गए । उनको परिवार त्यहाँ आउँदा जम्मा तीनवटा मात्र झुप्रा थिए रे । एउटा झुप्रो बाढीले बिजोग पारेको परिवारको थियो रे । अनि अर्को पहिरोले पुरिएको परिवारको । त्यसैगरी अर्कोचाहिँ स्थानीय जमिनदारले उठीबास लगाएको परिवारको रहेछ ।
समय बित्तै जाँदा वनमा च्याउ उम्रेसरी रातारात छाप्राहरू त ठडिए नै । साथसाथै हुुकुमबासीहरूका भव्य भवनहरू पनि निर्माण हन थालेछन्, झुप्राहरूलाई खिज्याउँदै । तिनीहरुलाई संरक्षण दिनेचाहिँ राजनीतिक पार्टीहरु रहेछन् । ठूला नेताहरु रहेछन् ।
साप्ताहिक पत्रिका ‘भण्डाफोर’ को अर्को अङ्क प्रकाशित भयो । पत्रकार विष्फोटले मुख्य शीर्षक लेखेका थिए, ‘सुकुम्बासी बस्तीमा हुकुमबासीको राज !’
उक्त पत्रिकामा पत्रकार विष्फोटको समाचारसहितका अन्य सनसनीपूर्ण खबरहरु प्रकाशित थिए । तब त त्यो अङ्क बजारबाट केही घण्टाभित्रै सकियो । आफ्नो ‘स्थलगत अनुसन्धानमूलक’ समाचार नागरिकहरुले मन पराइदिएकोमा पत्रकार विष्फोट झनै उत्साहित भए ।
एकदिन रमणी नाम गरेकी चिया पसलनीसँग यसरी गफ सुरु भयो, ‘साहुनी, ‘स्पेसल चिया’ पाइन्छ होला ?’
‘चिसो कि तातो सर ?’
ती महिलाले उल्टै मसिनु स्वरमा प्रतिप्रश्न गरिदिइन् । तिनीको पाल्छी कुराले पत्रकारलाई एकपल ठट्टिन मन लाग्यो । पसल्नी दिदी भित्रभित्रै कुतकुतिएर मूच्र्छित पाराले हाँस्न लागिन् । त्यसै समयमा एकजना गुण्डोको आगमन भयो । उनको ‘छद्म नाम’ हुक्का रे !
हुक्काले पत्रकारलाई धम्क्याए, ‘म प्रधानमन्त्रीको मान्छे हुँ । मलाई नचिन्ने नेतै छैनन् । यो बस्तीको विज्ञापन गराउनु छैन हामीलाई । त्यही भएर अबदेखि यहाँ नआउनु नै जाती होला पत्रकार महोदय ! राम्रो मुखले भन्दाखेरी मान्नुभएन भने नराम्रो मुख बनाउन पनि आउँछ हामीलाई !’
पत्रकारले हातमा लिइसकेको चियाको गिलासलाई आँटीमा राख्दै बताए, ‘मलाई कसैको विरूद्धमा लेख्नु छैन हुक्काजी । म त चाहन्छु, यहाँहरुजस्ता सुकुम्बासीहरूको समस्यालाई सम्वन्धित निकायसामु पु¥याइदिऊँ । यो त मजस्तो पत्रकारको कर्तव्य हो । अनि धर्म पनि । कि कसो रमणी दिदी ?’
तिनीले हुक्कातिर कर्के नजर लगाउँदै अनभिज्ञता प्रकट गरिन्, ‘खै सर ! मजस्ती अनपढ गँवार आइमाईलाई के था । कसैले जमिन दिए बस्ने हो । नदिए जाने हो । खै कतातिर हो हाम्रा लागि घर बनाइदिएको छ रे सर्कारले भनेको सुनेकी हुँ । कसैले भन्छन् कि यहीँ जमिन पाइन्छ रे ।’
‘यस्तो कुरा गर्न थाल्यौ भने त भोलि नै पुलिसहरू आएर हामीलाई गोदेर लखेट्छ । हामीसँग लालपुर्जा छैन । तिमी बर्ता नबोल है !’
हुक्काको चम्चाले आफ्नै पोल खोल्यो । पत्रकार बहसमा उत्रिए । गुण्डाहरुसँग के तर्क हुन्थ्यो र । त्यही भएर हुक्काहरुले मुढेबलको भाषा बोल्न थाले । यस्तैमा हुक्काले रमणीको जँड्याहा लोग्नेलाई रक्सी खान पैसा दिए ।
रक्सी तुन्क्याएपछि उनी मुख छाड्न थाले, ‘आफ्नै पसलाँ किनेर खानुपर्ने मैले ? तेरा नाठाहर्लाईचाइँ उधारोमा देर मर्छेस् । जा पोइल । ए, हुक्का भाइ । लैजाऊ यो छँडुलीलाई ।’
‘लान्छु भन्या त हो नि । तिम्री बूढी नै मान्दिनन् ।’
हुक्काले छाडा बोली बोल्न थाले, ‘यस्तो खँदिलो ज्यान भएकी आइमाई पाए त दसै महिनामा घुत्मुने छोरो जन्माइदिन्थेँ ।’
उनका चम्चाले झनै हेपेर भने, ‘यो जँड्याहाले केही गर्न सकेन त । अब मेरै गुरुको भर त हो । कसो ए भट्टिनी ?’
‘तेरो मुखाँ कीरा परोस् !’
रमणी मुख छाड्न वाध्य भइन् । यस्तैमा प्रहरीको भ्यानको आवाज आयो । त्यो सुनेर हुक्का हत्त न पत्त भट्टीभित्र लुक्न गए । केही बेरपछि नै प्रहरीको भ्यान आइपुग्यो । इन्स्पेक्टरको फुर्ती हेर्न लायककै थियो । रिस उठ्दो अनुहार । मात्तिँदो खालको छनक–मनक !
इन्स्पेक्टरले रमणीको वक्षमा छडीले घोच्दै मुख छाडे, ‘कहाँ लुकाइस् तेरो नाठो हुक्कालाई ?’
‘मैले लुकाउनु पर्छ र त्यो तस्करलाई ?’
रमणीले नीडर भएर भन्दिइन््, ‘तपैँहरू नै तस्कर, ज्यानमारालाई छुटाउनुहुन्छ । फेरि आपैmँ खोज्दै भौँतारिनु हुन्छ ? सियो हो र पोल्टामा लकाउन ?’
हाकिमलाई मुख छाडेकी देखेर एक प्रहरीले भने, ‘साप ! यो भट्टिनी बढी भैछे ! हुक्का डाम्नो भागिहाल्यो । अब यसैलाई लैजाऊँ ।’
प्रहरीको ज्यादती अति भएपछि पत्रकार विष्फोटले आपत्ति जनाए । इन्स्पेक्टरले आँखा तरेर हेरे । पत्रकार डराएनन् । प्रहरीहरु गैसकेपछि हुक्का बाहिर आए । उनले रमणीलाई बेसरी गाली गरे । पत्रकारलाई पनि घुरेर हेरे ।
अपराधी हुक्का र उनको चम्चा चुपचाप बाटो लागे ।
साप्ताहिक पत्रिका ‘भण्डाफोर’ ले अर्को अङ्कमा फेरि अर्को सनसनीपूर्ण खबर छापिदियो । पत्रकार विष्फोटले सुकुम्बासी बस्तीलाई अपराधीहरू लुक्ने थलोको रूपमा पनि चित्रित गरिदिएछन् ! त्यो समाचारले सरकारको दिमाग खलबलाइदियो ।
सुकुम्बासी बस्तीमा भारतीय नागरिक ! उक्त खबर पढेर बौद्धिक जगत् छक्क प¥यो ! पत्रकार विष्फोटले गैरनेपाली सुकुम्बासी दुःखीरामसँग दोहोरो सम्वाद गरेका भनाइहरु जस्ताकोतस्तै प्रस्तुत गरेका रहेछन् ।
पत्रकारः ‘तपाईँलाई यहाँ कसले बस्न दियो ?’
सुकुम्बासी दुःखीरामले टुटेफुटेको लवजमा भने, ‘हाम्ले उसै बसेको छैन हजुर । दाम तिरेर बसेको छ ।’
पत्रकारः ‘कसलाई तिर्नुभएको छ पैसा ?’
दुःखीरामः ‘ऊ छ नि हजुर । हुक्का हो कि लुक्का नाम गरेको मानिस । हो, उसैको चम्चालाई रकम बुझाएछु हामीले ।’
पत्रकारः ‘कति भयो यो बस्तीमा बस्न थालेको ? अनि के के काम गर्नुहुन्छ नि ?’
दुःखीरामः ‘धेरै बरस भयो हामी बसेको । सुरुमा त सँुगुर पालन गरेको थियो । तर पछि छिमेकीले विरोध गरे । फेरि पछि गाईवस्तु पालेको । त्यो पनि विरोध गरिहाल्यो । गोबर गन्हायो रे । त्यसोभएपछि फेरि हामीले कवाडी सामान बेचेर बसेछौँ हजुर ।’
पत्रकार विष्फोटले अर्का सुकुम्बासीसँग भेट गरे । नाम दमननाथ । उनी श्रीमतीसँग बस्दै आएका थिए । पत्रकारलाई बस्ने मुडा दिँदै दमननाथले श्रीमतीसँग परिचय गराए । नाम कान्ता । तिनी पतिभन्दा झण्डै बीस वर्षले कान्छी रहिछन् ।
कान्ता घाइते अवस्थाकी थिइन् । खाटमा उठेर बस्दै पत्रकारलाई नमस्कार गरिन् । कान्ता ज्यालादारी काम गर्थिन् । घर बनाएको ठाउँमा बालुवा बोक्दाखेरी लडेकी रे । बूढाले बूढीलाई खाना दिए । उनीहरुको बुढेसकालको सहारा त्यही एउटा झुप्रो थियो ।
दमननाथ भन्दै थिए, ‘ल बाबु ! दाल र रोटी चाख तिमी पनि । हाम्रो चुलोमा अरू थोक पाक्तैन क्यारे । कुनै दिन मार्सी चामलको भात र लाहुरी भैँसीको दूध रुच्दैनथ्यो । तर अहिले सुकुम्बासी जिन्दगी गुजारिरहनुपरेको छ पत्रकार बाबु !’
देशमा बहुदलीय व्यवस्था पुनर्वहाली हुनुभन्दा कही समयअघि बहुदलवादीहरूले दमननाथको घरमा आगो लगाइदिएका रहेछन् ! गाउँमा टिक्न नसकेपछि दमननाथ परिवार लिएर काठमाण्डु पसेका थिए । २०६२÷०६३ को जनान्दोलनमा छोरा विष्णुनाथले शाहदत प्राप्त गरेका थिए ।
पत्रकार विष्फोटलाई त्यति कुरा बताई नसक्तै बूढाको घाँटीमा च्याम्पटी अड्केजस्तो भयो ।
पत्रकार भन्छन्, ‘बा त सहिद परिवारको अगुवा हुनुहुँदो रहेछ । अनि यो बस्तीकै जेष्ठ नागरिक पनि । सरकारले मासिक भत्ता दिन्छ त ?’
‘मासिक भत्ता !’
ओठमा रुन्चे मुस्कान भर्दै बूढाले भने, ‘भत्ता त होइन बाबु । बेलाबेलामा पुलिस आएर छाप्रोमा लात्ताचाइँ हान्छ । अनि गुण्डाहरू पनि मेरी पत्नीको सतित्व लुट्न तम्सिन्छन् । कतिलाई भन्नु ? कहाँ कहाँ उजुरी गर्नु ? अब त म थाकिसकेँ पत्रकार बाबु ।’
त्यति भनिरहँदा दमननाथका आँखा आँसुको दहमा डुबिसकेका थिए ।
कान्ताले बडो मार्मिक बोली बोलिन्, ‘त्यो गोली मलाई लाग्नु पथ्र्यो पत्रकारज्यू ! तर छोराको छातीमा लाग्यो । ऊ भएको भए बाको लालनपालन राम्रोसँग हुन्थ्यो । तर..तर ।’
कान्ताको गला अवरुद्ध भयो । आँसुले गह भिजे ।
बूढाले जम्ला हात जोरेर बिन्ती गरे, ‘बाबुले सही कुरा छापिदिनु प¥यो । म त डाँडामाथिको जून भैहालेँ । बूढीलाई सरकारले कतै काम दियो भने सुख पाउँथी कि ?’
फेरि अर्को चुनाव आयो । राजनीतिक पार्टीका नेताहरुको बाक्लै आइजाइ हुन थाल्यो, सुकुम्बासी बस्तीमा । बाढीले तहसनहस पारिदिँदा वास्ता गरेनन् । हुरीले ती छाप्राका छाना र भित्तालाई क्षतविक्षत पार्दा कसैले ‘एक बण्डल’ जस्तापाता उपलब्ध गराएनन् ।
तर चुनावमा नेताहरुलाई सुकुम्बासीहरुकै भोट चाहियो । गुण्डाका नाइके हुक्काले बस्तीमा सबैलाई भेला गराएर आदेश जारी गरे, ‘तिमीहरु सबैले ध्यान दिएर सून । यो पटक तिमीहरुले हाम्रो पार्टीलाई जिताउनै पर्छ ।’
हुक्काले बोलिसकेपछि उनका चम्चाले हकारेको स्वरमा सोधे, ‘कसैलाई केही भन्नु छ ?’
‘भन्ने कुराहरु त कति छन् कति !’
असली सुकुम्बासी कोकिलकान्तले मनको पीडा व्यक्त गरे, ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्तैन । सरकारले कतिवटा आयोग बनाइसक्यो । खै त के भयो अहिलेसम्म ?’
‘के हुनु प¥यो त बूढा ?’
हुक्काले खाउँलाभैmँ गरेर हकारपकार पार्न थाले, ‘राजधानीजस्तो ठाउँमा बस्न पाएकै छौ । जारको पानी पिउन पाएकै छौ । सित्तैँमा बिजुली बत्ती बाल्न पनि पाएकै छौ । अब यहाँभन्दा के खोज्छौ हँ तिमीहरु ?’
अब बोल्न दमननाथ अघि सरे । उनी भन्न थाल्छन्, ‘सुकुम्बासीहरूकोे आन्दोलनले सक्कली सुकुम्बासीहरूलाई केही भएन । बरू हुकुमबासीहरूले नै फाइदा लुटे । फेरि उनीहरुकै चुनावी नारा लाउनुपर्ने हामीले ?’
‘ए बूढा ! तँ बढी बोल्छस् !’
एक्कासि हुक्काले दमनको किलकिलेमा समातेर झपार्न थाले, ‘अरुलाई भनेजस्तो गरेर मलाई ‘शटायर’ मार्ने तँ ? एक लात्ती हानेर तेरो छाप्रो भत्काइदिऊँ म ?’
‘ल ल ! यो के नचाहिँदो कुरा गरेको तपाईँले !’
त्यहाँ टुप्लुक्क आइपुगेका पत्रकार विष्फोटले हुक्कालाई परतिर हुत्याइदिए । पत्रकारमाथि हात हाल्नका लागि हुक्काका चम्चाहरु अघि सरिसकेका थिए । हुक्काले नै रोके ।
पत्रकार कूटनीतिक भाषामा सम्झाएझैँ गर्छन्, ‘सुकुम्बासीहरु नै एकापसमा झगडा गर्न थालेपछि कसरी समस्या समाधान हुन्छ भन्नोस् त ? फेरि हुक्का भाइ पनि कस्तो मान्छे ! बूढोमान्छेलाई हात हालेर ठूलो काम गरेजस्तो लाग्छ ?’
हुक्काले पाखुरा सुर्केर नचाहिने कुरा भने, ‘तँ पत्रकार बढी नबोल् । तेरो पत्रिकामा छापेको खबरले हाम्लाई अप्ठेरो पारिसक्या छ । फेरि पनि लेखिस् भने मर्लास् नि पाजी !’
पत्रकार विष्फोट लरतरो पत्रकार थिएनन् । न त उनको पत्रिकाका सञ्चालक न कमजोर थिए । त्यही भएर अखबारको अर्को संस्करणमा अझ कडा शीर्षक लेखे, ‘सुकुम्बासी बस्तीमा गुण्डाहरुको आतङ्कः सुकुम्बासीहरु दलहरुका ‘भोट बैँक’ मात्र, स्थानीय सरकारको बेवास्ता !’
अन्ततः अर्को निर्वाचन पनि सम्पन्न भयो । स्वतन्त्ररुपमा उठेका व्यक्तिहरुले पनि चुनावमा विजय हासिल गरे । शासनसत्तामा नयाँ अनुहारहरुको बोलवाला भयो । धेरै सुकुम्बासीहरुले चिताएका थिए, अबचाहिँ राम्रो काम हुन्छ ।
जेष्ठ नागरिकहरु कोकिलकान्त, दमननाथलगायत पसलनी रमणीहरुजस्ता वास्तविक सुकुम्बासीहरुलाई सरकारले उचित व्यवस्था गर्ने छ । स्थायी बास पाउने छन् ।
त्यस कुरामा पत्रकार विष्फोट पनि निकै आशावादी थिए ।
अहँ, त्यस्तो भएन । बरू उल्टो कदम चालियो । गुण्डानाइके हुक्कासहित करिब तीन दर्जन तस्करहरु प्रहरीको खोरमा त जाकिए । तर पसलनी रमणीलाई अनाहकमा पक्रेर लगे । उनकै जँड्याहा लोग्नेले गलत वयान दिएछन् !
रमणीमाथि हुक्काहरुलाई संरक्षण दिएको र गैरकानुनी धन्दा चलाउन सहयोग गरेकी आरोप लगाइएको थियो । सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण र तथ्य कुरै नबुझी स्थानीय सत्ताले एक्कासि ‘डोजर’ चलाइदियो । त्यसको पहिलो सिकार हुन पुगे, गरीब दुःखीराम र उनको परिवार ।
त्यसैगरी क्रमशः पर्दै गए, कोकिलकान्त, दमननाथ, दलित हर्कबहादुर, कालीमाया, प्याकुलीदेवी, बेखालाल आदि ।
त्यो घटनाको दुई दिनपछि पत्रकार विष्फोट सुकुम्बासी बस्तीमा पुग्छन् । त्यहाँको दुर्दषाले उनको छाती चिरिन्छ । उनका केही थान पत्रिकाहरु हिलोमा गाडिएका पनि देख्छन् ! त्यहाँबाट उनी सरासर रमणीहरुलाई भेट्न हिरासतमा पुग्छन् ।
पसलनी रमणीले गहभरि आँसु पार्दै बिलौना पोखिन्, ‘के लेख्नुभयो पत्रिकामा तपाईँले ? किन हाम्रो उठीबास लगाउनुभयो पत्रकार बाबु ? किन, किन ?’
‘मलाई गलत नठान्नोस् पसलनी दिदी ।’
पत्रकारले मलिन अनुहार पार्दै वचन दिए, ‘मेरो उद्देश्य त तपार्ईँजस्ता वास्तविक सुकुम्बासीहरुलाई आवाद गराउनु थियो न कि वरवाद भएको देख्नु । यो सबै यो संघीय सत्ताको अकर्मण्यताको प्रतिफल हो दिदी । तर चिन्ता नगर्नोस् । हामी लड्छौँ सुकुम्बासीहरुको अधिकारका लागि ।’
पत्रकार विष्फोटलाई सुकुम्बासी कोकिलकान्तले भण्डाफोर साप्ताहिक पत्रिकाले झटारो हान्दै गाली गरे, ‘यही हो पत्रकारको कर्तव्य ? यही हो तिम्रो धर्म ? हामीलाई समाचार बनाएर तिमी पैसा कमाउने । तर बिल्लीबाठचाहिँ हाम्रो गरायौ हैन ?’
‘हेत् कोकिलकान्त दाइ !’
सुकुम्बासी दमननाथलाई चित्त नबुझेर भनिदिए, ‘हाम्रा झुप्राहरु भत्काइनुमा यो बाबुको के दोष ? यिनले त असली सुकुम्बासीहरुको न्यायका लागि लेखिरहेका छन् । अब पनि हाम्रै लागि आवाज उठाउने छन् । हैन त पत्रकार बाबु ?’
पत्रकार विष्फोटले जवाफ दिए, ‘हजुरले ठीक भन्नुभयो दमननाथ बा ! म यहाँहरुको उचित बासका लागि भोलि नै सर्वोच्च अदालतमा मुद्धा दायर गर्दैछु । तपाईँहरुलाई भनेर बनाइदिएको भवनमा नेताका आसेपासेहरुले रजाइँ गरेका छन् । हामी तिनीहरुलाई त्यहाँबाट हटाएरै छाड्छौँ ।’
त्यो ‘डोजर काण्ड’ को चौतर्फीरुपमा चर्चा हुन थाल्यो । कसैले ‘ठीक ग-यो’ भने । कतिपयले ‘डोजर चलाएर स्थानीय सत्ताका प्रमुखले ठूलो मूल्य चुकाउँदै छन्’ भनेर कडा आलोचना गरे । अरु त अरु भैहाले । ठूला भनिएका नेताहरुले समेत ‘लाजमर्दो टीकाटिप्पणी’ गरेको देखियो !
सबका सब मानिसहरु हावामा लौरो घुमाउन थाले । तर पनि देशको बौद्धिक समुदाय मौन भएर बसेको छ । आखिर किन ? कहिलेसम्म चल्न दिने हो, सुकुम्बासी बस्तीमा हुकुमबासीहरुको राज ? हेरौँ र पर्खौँ, ‘भण्डाफोर’ साप्ताहिकले अर्को अङ्कमा के समाचार लिएर आउँछ ?!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)