पृथ्वी जयन्तीमा लीलाको ‘लोकतन्त्र’

लीला अनमोल

मेरो देशको हिमाल
हिउँको बिस्कुन लगाएर
चिस्याउँथ्यो तातिएका मनहरु
प्रकृतिले मुस्कुराएको यो देश
संस्कृतिको मुस्कान छरेर
खेलिरहेकै थियो धाननाच र साकेला
देउसी र बालन
दोहोरी र रोदी

च्याब्रुङको तालले
गाउँ एकताको गीत गाउँथ्यो
नदीको छालले
स्वतन्त्रताको खुशी मुस्कुराउँथ्यो
आइपरे सामाजिक बिपत्ति
सामुहिक निर्णयको खुशी छल्किन्थ्यो
एक अर्कामा सहयोगको होडबाजीले
प्लवित हुन्थ्यो गाउँले मन
तर
विभिन्न रङ्गहरुले रङ्गीन मेरो क्यानभास
लिपेर बिद्रोहको कालोले
तिमीले गलत स्वतन्त्रताको प्रयोग गर्यौ
सत्ताको चरित्रले चित्रित भएर
मेरो भावना भयभित बनायौ
र, असङ्गत खुशीहरु उरालेर
निरङ्कुशताले अङ्कमाल गर्यौ
स्वतन्त्रताका नाममा मेरो अमनचयन खल्बलायौ
एकतामा मुस्कुराउने
मेरो उज्यालो खुशी घाइते बनायौ
षड्यन्त्रको कालो आँखाले
हेरेर मेरो रातमा
झुठो सपनाको बिस्कुन लगायौ

प्रत्येक श्रमशील अनुहारलाई
तातो सडकमा उतारेर
मागको नाराबाजो उराल्यौ
र, दबाबको दबदबामा
सम्झौताको हस्ताक्षर गरायौ
घुमाएर राजनितीको चर्खामा
मेरो सँस्कृति र सभ्यतालाइ धुलो बनायौ
अधिकारको गुलियो महमा भुलाएर
मेरो गतिशीलतालाई पगारी लगायौ

एक अर्कासँँग मुस्कुराउने
मेरो प्रेमिल अपनत्व
बगाएर भ्रमको वाणीले
विलासितको आलिशान महल बनायौ

देशिय संस्कृतिको कमिज च्यातेर
नाङ्गो देखायौ छिमेकीलाई
र, परिवर्तनको विज्ञापन गरेर
आफ्नै पाखोबारी हरियो उमार्यौ

खै के भनौ !
तिम्रो कुदृष्टिले मेरो वर्तमानमा
विवादित छन् प्रत्येक वस्तुहरु
मेरो रङ विवादित छ
मेरो नाक विवादित छ
मेरो गोत्र विवादित छ
र, परेको छ मेरो घरको सिमाना पनि विवादमा

म तिमीले दिएको स्वतन्त्रताको कुन अर्थ लगाउँ ?
मेरो आकाशको जून मेरो होइन भन्छौ
मेरो धर्तीफुल मेरो होइन भन्छौ
प्रत्येक स्वतन्त्रतामा भ्रम छरेर तिमीले
यतिबेला
मेरो इश्वर पनि विवादित छ
खल्बलिएको छ मेरो मानिसिकता
तिम्रो विवादको झरीले निथ्रुक्क
मेरो मौलिकता भिजेको छ
लङ्गडो परिवर्तन प्रस्थान गरेर
तिमी कुन गन्तब्यमा पुर्यौउँछौ मलाई ?

के का निम्ति हो यो तिम्रो लडाइ ?
तिम्रो आशय
तमोरमा बाँध बाधेर
तराइमा बाली लगाउन उद्धत छ
पहाडको पाखो भत्काएर तिम्रो सपना
अवरोध गरेर तराइको सडक
प्राप्तिको बिहान झुल्कन लालायित छ
विदेशी बैंकमा धरौटी राखेर
तिम्रो रास्ट्रियता
स्वार्थको सभ्रान्त फाइल बनाउँछ
र, देशको धर्नाशो भाँचेर
मेरो अस्तित्व नामेट बनाउँछ

खबरदार !
मिठो आश्वासन बोकेर
एउटा देशद्रोही पसेको छ गाउँमा
सचेतनाको एम्बुस थापेर त्यसलाई
यातनाको उपहार दिलाउनु छ ।

One Comment

  1. अति समसामयिक र देशको मागलाई सम्बोधन गरिएको कविता ! कविको कलमलाई साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button