ऐश्वर्यको ‘यौटा मान्छेको मायाले कति’ छाने युवराज दीपेन्द्रले

चाँदनी शाहलाई सम्झिँदा

प्रीति आत्रेय ज्ञवाली

“शुभकामना भरी”, “यौटा मान्छेको मायाले कति”, “उकाली ओरालीहरूमा”, “आमा भएर बोकी हेर” जस्ता धेरै सदाबहार रचनाहरूको रचना गरी नेपाली साहित्यमा स्थापित नारीको साहित्यिक उपनाम हो चाँदनी शाह । तत्कालीन समय, २०५८ जेठ १९ सम्म नेपालकी रानीको रूपमा रहेकी श्री ५ ऐश्वर्यराज्यलक्ष्मीदेवी शाह नै चाँदनी शाह हुन्, जसले कविता एवं गीत लेख्दा चाँदनी शाहका नामले लेख्ने गर्दथिन् ।

चाँदनी शाहलाई मैले साहित्यकारको रूपमा तब चिनेँ, जब विद्यालयको नेपाली पुस्तकमा उनको प्रसिद्ध कविता उकाली ओरालीहरूमा भत्रे कविता पढें । उनका प्रणय, समर्पण, प्रकृतिप्रेम जस्ता कविताहरू निकै लोकप्रिय छन् जसले मनको भित्री गहिराईसम्म छुन्छन् ।

उनी राजपरिवारकी सदस्य भएर पनि शिष्ट, सभ्य, विनम्र स्वभावकी थिइन् भत्रे कुरा तत्कालीन राजगुरु स्व.पं श्री हरिश्चन्द्र न्यौपानेज्यू (जो मेरी साहिँली फुपू उमा शर्मा न्यौपानेका ससुरा हुनुहुन्थ्यो) ले प्रत्यक्ष भेटघाट हुँदा भत्रे गर्नुहुन्थ्यो । उनको हँसिलो स्वभाव र मुहारको कान्तिले पनि यो कुरा प्रष्टरूपले झल्किन्थ्यो ।

प्रणयमा, पतिप्रेममा समर्पित उनको कविताले उनी पतिव्रता भएको प्रष्ट झल्किन्थ्यो । उनी आफै चाँदनी भएकोले उनका साथले, श्रीमान् तत्कालीन राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहको जीवनकालमा कहिल्यै पनि प्रत्यक्ष रूपमा औँसीको प्रभाव परेन । जुन दिन पर्यो, त्यो त्यही जेठ १९ को दरबारकाण्ड, जुन विना औँसीको कालो रात थियो जसमा उनी आफैले पनि त्यस कहालीलाग्दो रातमा होमिएर प्राण नै त्याग्नु परेको थियो । त्यसपछि उनी नेपाल र राजाका निम्ति सदाकालागि अस्ताएकी थिइन् ।

“तिम्रो पाउमा म सधैँ झुकिरहन्छु” र “शुभकामना भरी” यी दुवै कविता पूर्णरूपले पतिप्रति समर्पित छन् । यी कवितामा उनले पतिको दीर्घायुको कामनाका साथै सदैव सौभाग्यवती रहन पाऊँ, भनेर हरेक नारीका मनका भावनाहरूलाई, आफ्नै मनका भावनामार्फत व्यक्त गरेकी छन् ।

आफ्ना रचनामा जस्तै उनले आफ्नै जीवनकालमा पनि आफ्नो सौभाग्यको दीर्घायुको र नछुट्टिने साथको कामना गर्दागर्दै अन्तिम समयमा पनि पतिकै साथमा सौभाग्यमै श्रीमान्कै पाउमा झुकेर देहत्याग गरिन् । सौभाग्यले सजिएको उनको चिता श्रीमान्कै चिता पछि राखिएको थियो । उनले कवितामा जस्तै, जीवनको अन्तिम घडीमा त्यस भयानक रातमा पनि, आफ्नो जीवनसाथीको साथ र हात दिँदै सँगसँगै यस धर्तीबाट बिदा भइन् । भलै, त्यो घटना विदारक थियो, आफ्नो लेखनीको मान राख्दै आफ्नो भरोसालाई पूरा गरेरै उनी अस्ताइन् । उनका रचनाहरू पढ्दा र सुन्दा कतै उनी अघोषित दूरदर्शी, आफ्नो जीवन जानेकी भविष्यवेत्ता पो थिइन् कि जस्तो भान हुने गर्दछ ।

उनी कवयित्री, गीतकार मात्र नभएर सम्पूर्ण नेपाल देशकी महारानी थिइन् । उनको अभिभारामा आफ्ना तीन सन्ततिबाहेक देशको पनि जिम्मेवारी थियो । उनको “आमा भएर बोकी हेर सन्तानका पीरहरू”, भन्ने गीतले नेपालको, आमाको प्रतिनिधित्व गर्दै आमा हुन भनेजस्तो सजिलो छैन भत्रे भाव मार्मिक ढङ्गले व्यक्तिएका पाइन्छ ।

आफ्नो लागि त सबै बाँच्दछन् यस लोकमा
अरूको लागि बाँची हेर सन्ताप अनि दुःखमा

धर्ती भई एकचोटि सही हेर अरूले कुल्चेको
आगो भई एकचोटि बली हेर अरूले तापेको

“उकाली ओरालीहरू”मा भत्रे कवितामा पनि प्रकृति र प्रेम दुवैलाई सँगसँगै उतारेकी छन् । एक रूपले उकाली—ओराली, भञ्ज्याङ्ग, चौतारी, नदी जस्ता प्रकृतिपरक कुराहरूलाई र अर्को रूपले जहाँ जहाँ जान्छौ तिमी, म तिमीलाई नै पछ्याइरहन्छु जस्ता भावले प्रकृति र आफ्ना श्रीमान् जताजता जान्छन् म पनि उतै उतै जान्छु, होस्टेमा हैँसे बन्दै म तिमीलाई साथ दिन्छु भनेर श्रीमान्लाई भनेको भाव यहाँ प्रष्ट हुन्छ । कवितामा जस्तै उनी प्रायः हरेक यात्रामा आफ्ना श्रीमान्सित कहिले सँगसँगै त कहिले पछि पछि लागेर देश—विदेशमा हिँडेका दृश्य एवं चित्रहरू हामी टिभीमा र पत्रपत्रिकाहरूमा देख्न पाउँथ्यौँ । एक पटक उनी आफ्ना श्रीमान्सित राजदरबार परिसर बाहिर जमल वरिपरिको क्षेत्रमा आफ्नी छोरी श्रुतिको घरतर्पm, नीलो सारीको सामान्य परिधानमा सँगसँगै अनौपचारिक रूपमा पैदल यात्रा गर्दै जाँदै गरेको दृश्य कुनै दैनिक पत्रिकाले छापेको थियो ।

उनका रचनाहरू उनका सन्तानका पनि प्रिय थिए । एक पटक कुनै यौटा नयाँ एफ.एम.को कार्यालय उद्घाटनका क्रममा रिबन काटिसकेपछि उनका जेठा छोरा तत्कालीन युवराज दीपेन्द्र वीर विक्रम शाह (उनलाई कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोलाइएको थियो) लाई पहिलो पल्ट गीत बजाउने क्रममा, आफूलाई मन पर्ने गीत छान्न भनिरहँदा, उनले आफ्नै आमाको “यौटा मान्छेको मायाले कति” भत्रे गीतलाई आफ्नो मनपर्ने गीतको रूपमा छानेका थिए । यसबाट पनि उनका सन्तानमा पनि उनको गीतको प्रभाव परेको कुरा बुझ्न सकिन्छ ।

चाँदनी शाह, नामले मात्र नभै आफ्नै व्यक्तित्वले पनि चाँदनीकै रूप थिइन् । उनले आफ्ना लेखकीय प्रतिभाले नेपाली साहित्यमा चार चाँद लगाउने काम गरिन् । नरेन्द्र राज प्रसार्इँद्वारा सम्पादित “चाँदनी शाहः आफ्नै आकाश, आफ्नै परिवेश” (२०४३) नामक यौटा ठुलै समालोचनात्मक ग्रन्थ प्रकाशित छ, जसमा विभित्र नेपाली धुरन्धर साहित्यकारहरूको समीक्षा रहेको छ । थरीथरी भाषामा उनका गीत कविताहरू अनूदित छन् । उनी अहिले यस संसारम छैनन् तापनि उनका रचनाहरूमा, नेपाली साहित्याकाशमा उनी सधैँ चाँदनी नै बनेर रहिरहने छिन् । आफ्नो जीवन छउन्जेल उनी एक कुशल साम्राज्ञी, धर्मपरायण पतिव्रता सहधर्मिणी, एक जिम्मेवार आमाका साथसाथै सदाबहार नारी हस्ताक्षरका रूपमा पनि स्थापित भइन् ।

उनका प्रायः सबै रचनाहरू मलाई प्रिय छन् । “यौटा मान्छेको मायाले कति” भत्रे गीत त मेरो परिवारमा सबैलाई मन पर्छ । उनका रचनाका एक एक शब्द सुन्दर, कर्णप्रिय एवं मर्ममै प्रहार गर्ने भावना र बिम्बले ओतप्रोत भएका छन् । उनलाई अबका पुस्ताले पूर्वसाम्राज्ञीका रूपमा चिन्लान् नचिन्लान्, तर गीतकार चाँदनी शाह भनेर सम्झी नै रहनेछन् । त्यस्तै उनका धेरै कालजयी गीतहरू युट्युबमा छन् । प्रायः नारायण गोपाल र तारादेवीका स्वरमा उनका भावनाहरू सधैँ सुनिइनै रहनेछन् ।

आज कार्तिक महिनाको बाइस गते । बाँचिराखेकी भए आज चाँदनी ७३ वर्ष पार गरेर ७४ मा टेक्ने थिइन् । आज नेपालमा उनको जन्मोत्सव मनाइन्थ्यो होला । अभैmसम्म उनका अरू कति कति थप कालजयी सिर्जनाहरू रचिन्थे होलान् । देशको अवस्था पनि अहिलेको जस्तो हुँदैनथ्यो होला । खैर, अब त उनी सम्झनामा मात्र छिन् । उनको जन्मदिवसको सम्झनामा उनको जन्मजयन्तीका दिन आज मैले उनलाई उनकै रचनाद्वारा सम्झिने जमर्को गरेँ । उनीप्रति आफ्नो मनमा लागेका भावनाहरूलाई यहाँ शब्दमार्फत उतारेँ । उनको व्यक्तित्व र कृतित्वको जति बयान गरे पनि कमै हुन्छ, मैले त केवल आफ्नो मनले खाएको केही रचनाको मात्र यहाँ उल्लेख गरेकी हूँ ।

अन्त्यमा,

अनुष्ट्प् छन्दमा सिर्जित मेरो कविता यहाँ राख्दै आफ्ना शब्द र भावमयी गुच्छालाई श्रद्धासुमनका रूपमा चाँदनी शाहप्रति अर्पण गर्दछु ।

तिमीलाई जुनीजुनी

चाँदनी नामकी जस्तै देशकी थ्यौ धरोहर
प्रीतिका कविता कोरी लेख्दथ्यौ सुमनोहर
प्रकृति प्रेममा डुब्दै रचेकी रचना तिमी
गीतमा सम्झिनेछन् है तिमीलाई जुनीजुनी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button