
साइकल छैन भतिजको खप्परमा !
कविता
पेशल आचार्य
साइकल छैन भतिजको खप्परमा
काकी उड्छिन् दिनै पिच्छे हेलिकप्टरमा ।
धुले बाटो हिँड्नलाई याँ सकस भो
चुनावमा त्यै बाटाको मुद्दा सहज भो ।
गरिब देशाँ चुनाव पनि नाटकै हुने भो
यै नाटक हेर्दाहेर्दा जीवनै जाने भो ।
साइकल छैन भतिजको खप्परमा
काकी उड्छिन् दिनै पिच्छे हेलिकप्टरमा ।
बुढा नेता चुन्न नि मन छैन
युवा नेता नभई नि भा छैन ।
चेतनाको पारो उठाउँ रोकौं बूढा नेता
दुःख गरौं युवा जिताऊँ जो भए नि एउटा ।
संसारमा युवा आए प्रभाव हाम्लाई पारे
देशभित्र कै बूढाहरुले सिष्टम सब बिगारे ।
यही पटक ठाउँका ठाउँ सबै बूढा रोकौं
सम्झाएर मान्दैनन् मतपत्रमा छाप ठोकौं ।
कसैगरी बूढा नेता अब मान्नु हुन्न
काम नगर्ने अल्झाउने नेता छान्नु हुन्न ।
कोरलीलाई बूढो गोरु छेकी मात्र रन्छ
हाम्रो मनले यही पटक बूढा फालौं भन्छ ।
दिदीभाइ, दाजुबहिनी कुरा सबले बुझ
सिष्टमलाई फलो गर्न तिमी सबै कुद ।
हात काटेर दिएपछि बूढा बन्छन् भाले
मिली हामी खाऊँ अब भाले कालेकाले ।
बेलायतमा बयालीस वर्षे प्रधानमन्त्री
हामी कहाँ जहिले नि सत्तरीको मन्त्री ।
बाँझो धर्ती फोर्न पनि युवा जुट्नु पर्छ
सिर्जनाका मुहानहरु अब फुट्नु पर्छ
त्यसैमा छ हाम्रो भलाई सबलाई रामराम
बूढा हराउन यसपालि हामी गाम जाम ।
साइकल छैन भतिजको खप्परमा
काकी उड्छिन् दिनै पिच्छे हेलिकप्टरमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



