छोरीको लागि डिभोर्सको सट्टामा बेग्लाबेग्लै सुत्ने सहमति

यौन मनोविज्ञान कथाः म अर्थात् लोग्नेमान्छे

श्रीरामसिंह बस्नेत

“अब हामी डिभोर्स गरौं, अनुप”, रविनाले ओछ्यानमा तन्ना फेर्दै अनायास भनी ।

म एक छिन त जिल्ल परें तर उसले यो केही दिनदेखिको तयारीपछि आज भनेकी हो भन्ने मैले ठम्याएँ । सोधें, “ किन? किन गर्ने डिभोर्स ?’’

“तिमी मेरो शरीरबाट अघाइ सक्यौ, म तिम्रो व्यवहारबाट अघाएँ, अब के नै बाँकी छ र, त्यसैले”, उसले सहजै रुपमा भनी ।

मलाई झनक्क रिस उठेको त थियो तर पनि चुप लागें । किनकि उसले भनेको कुरा यथार्थमा आधारित थियो, कटु यथार्थ । वास्तवमा उसको शरीरमा म अब कुनै आकर्षण पाउँदिन थिएँ । त्यसैले ऊप्रति मेरो व्यवहार रुखो भएको हुनुपर्छ ।

डिभोर्सको कुरामा मैले कुनै टिप्पणी गरिनँ । त्यसैले चुपै लागें तर हाम्री एक नाबालक छोरीको भने मलाई चिन्ता लाग्यो । साँच्चै हाम्रो डिभोर्स भयो भने छोरीको के हालत होला ? मैले यही कुरा व्यक्त गरें, “हामीले डिभोर्स गर्नु त अब कुनै ठूलो कुरो भएन तर छोरीलाई के गर्ने नि ?”

“गरुँला कुनै उपाय”, रविनाले आत्मविश्वाससाथ भनी, मानौं अहिले नै डिभोर्स भै हाल्न लागेको हो कि जस्तो गरी ।

हाम्रो विवाह भएको छ वर्ष पुग्न लाग्यो, अहिले नै किन यस्तो अवस्था आयो भन्ने कथा अलि बेग्लै छ । विवाह हुनुअघि केही समय हामी प्रेमीप्रेमिका थियौं । त्यतिखेर धेरै घुमियो, डुलियो, रमाइलो निकै गरियो, गर्न हुने काम पनि गरियो, गर्न नहुने काम पनि गरियो । त्यो सबैको मिश्रित प्रभाव आजको अवस्था हो भन्ने मलाई लाग्दछ र यसमा धेरै हदमा रविना मलाई दोषी देख्छे, र म उसलाई । अर्थात् हामी दुवै उत्तिकै दोषी छौं ।

मैले मेरो भर्जिनिटी विवाहअघि नै कसैलाई खुशी पार्न सुम्पिसकेको थिएँ । धेरै पैसा कमाउने लालसामा विदेश गएको एउटा पोई कि तरुनी स्वास्नी, जो मभन्दा आठ बर्ष जेठी थिई, उसैले “भाई, बाबु” भन्दाभन्दै आफ्नो शारीरिक आवश्यकता पूरा गर्न मलाई उपयोग गरेकी थिई । पहिलो पटक त म निकै डराएको थिएँ । तर पछि बानी लागेपछि मैले नै उसलाई बेला बेलामा खोज्न थालें । यस क्रममा मलाई दुईवटा फाइदा थियो– मेरो पनि भरखर भरखर बंैस मौलाउँदै थियो, प्राकृतिक कारणले त्यस्तो बेलामा चाहिने विपरीत लिङ्गीसाथ सहजै पाएको थिएँ, अर्को, त्यो केटीले मलाई पटक पटक राम्रै रकम, महङ्गा उपहार दिनुकासाथै आफैले पकाएर अत्यन्त प्रेमपूर्वक मीठो परिकार पनि ख्याउँथी । त्यसैले म आफ्ना दुवै हातबाट लड्डुको स्वाद लिइरहेको थिएँ । यो क्रम झण्डै दुई वर्षसम्म चल्यो ।

त्यसपछि उसको लोग्ने आएर केही दिन यहीं बस्यो र फर्कदा स्वास्नीलाई पनि आफूसँगै विदेश लिएर गएपछि मात्र मेरो दुवै हातको लड्डु खोसियो । त्यो केटी यति बाठी रहिछ कि, लोग्ने आएको दिनदेखि त्यसले मलाई भेट्न त परै जावस्, एक कल फोन समेत नगरी पूरै सतीसावित्रीको रुप धारण गरेर मसँग सम्पर्क विच्छेद गरी । मैले पनि उसलाई लोग्नेको सामु अप्ठ्यारोमा पार्न चाहिनँ, किनकि त्यसो गर्दा मलाई पनि खतरा हुन्थ्यो । त्यसपछि पनि दुुई तीनटी केटीहरु मेरो सम्पर्कमा आए, मसँग घुमफिर गरे, गए । त्यसको केही समयपछि म जागीरको सिलसिलामा रविनाको सम्पर्कमा पुगें र हामी छिटै प्रेमी–प्रेमिका बन्यौं ।

आफू भर्जिन नभए पनि आफ्नी स्वास्नीभने भर्जिन हुनै पर्छ भन्ने कुरामा म निकै सजग थिएँ । सम्भवतःविवाह गर्नुअघि म रविनाको भर्जिनिटी परीक्षण गर्न चाहन्थे । घुमफिरकै क्रममा एक दिन धुलिखेलको होटलको आरामदायक कोठामा हामीले शारीरिक मिलन सम्पन्न ग¥यौं । त्यतिखेरको क्षण सम्झदा अहिले पनि अचम्म लाग्छ । किनकि हामीले मुखले एक शब्द पनि बोलेका थिएनौं । शरीरका अङ्गहरुले नै सबै संवाद र अन्तरक्रिया गरेका थिए । मैले उसलाई फकाउन परेको थिएन, भने उसको पनि कुनै नाईनास्ती थिएन । नबोलीकनै सबै काम सम्पन्न भएको थियो । तर मैले ऊ भर्जिन हो कि होइन भनेर राम्ररी भेउ पाउन सकिन ।

विभिन्न ठाउँमा गरेर विवाहअघि नै हामीले चार पटक ‘सुहागदिन’ मनाईसकेका थियौं । त्यसैले होला विधिवत् विवाह गरी रविनालाई दुलही बनाएर घरमा भित्राएपछिको हाम्रो वास्तविक सुहागरात मैले सोचे जस्तो कौतुहलपूर्ण र रोमाञ्चक भएन । चार पटक गरिसकेको उही काम पाँचौं पटक गरे जस्तो मात्र भयो ।

खासमा म छिटै विवाहबन्धनमा बाँधिन चाहन्न थिएँ । तर आमाले “अर्काकी छोरीलाई डुलाएर मात्र राख्छस् ? तेरा पनि बहिनी, भाञ्जी छन् होस् गर” भनेर अँठ्याएपछि मेरो बोल्ने ठाउँ रहेन । उता रविनाको बाबुआमातर्फबाट त झन चर्को दबाब थियो । उनीहरु जतिसक्यो छिटो विवाह गरी रविना मलाई जिम्मालगायर ढुक्क हुन चाहन्थे । हाम्रो स्वतन्त्र विचरण उनीहरुका लागि ठूलै टाउको दुखाई भई रहेको थियो ।

मलाई मेरो सुहागरात खल्लो भएकोमा निकै नमज्जा लाग्छ अझै पनि । र, म मनमनै विवाह त प्रेम विवाह होइन, मागी विवाह नै गर्नु पर्ने रहेछ भन्ने सोच्छु । कमसे कम सुहागरात त रोमाञ्चक हुन्छ । प्रेमिका छँदा रविना मलाई जति हँसिली, रसिली र मादक लाग्थी, स्वास्नी भएपछि बिस्तारै त्यस्तो लाग्न छोड्यो । ऊ पनि पहिलाको जस्तो प्रेमिल कुरा गर्दिन थिइ । खाली बजार जाने, सपिङ् गर्ने, नयाँ डिजाइनका गहना, लुगा, मेकअपका सामान, किचनका सामान, फर्निचर आदिमा नै उसको बढि अभिरुची थियो । उसले माइतीबाट पनि त्यस्ता थुप्रै सामान ल्याएकी थिई, बाबु र दाजुलाई मुर्गा बनाएर । बिवाह भएपछि मलाई पनि उसले नहुँदा पनि केही फरक नपर्ने कतिपय सामान किन्न लगाएकी थिई । आमाभने दङ्ग हुनुहुन्थ्यो, “बुहारी असाध्यै लक्षिनकी छे, ऊ आएपछि घरको रुपै बदलिएको छ, जता हे¥यो नयाँ सामानमात्र छन्, म त सबै सामान चलाउन पनि जान्दिन ।” मलाई भने यस्ता क्रित्रिम बस्तुमा कुनै रुची थिएन, सायद प्राकृतिकमै बीि रुची भएर हो कि ?

विवाहअघि नै रविनाले मलाई आफ्नो शरीर सजिलै सुम्पेकीमा म अहिले बेला बेलामा निकै सोचमग्न हुन्छु । उसले किन त्यसो गरी ? त्यो मप्रतिको अति विश्वास थियो कि विश्वासघात ? उसले त्यसो नगरेकी भए र विवाहसम्म मलाई पन्छाएकी भए अहिले हाम्रो जीवन बेग्लै रोमाञ्चक हुन्थ्यो, यस्तो रुखो हुँदैन थियो भन्ने लाग्छ मलाई । यो मामलामा म त बदमास थिएँ नै, तर ऊ त मजस्तो नहुनु पर्ने हो । यस्तै सोच्दासोच्दै मैले भेट्नु अघि नै उसले भर्जिनिटी गुमाई सकेकी हुनुपर्छ भन्ने सोच्न पुग्छु म, अनि ऊप्रति मेरो व्यवहार अस्वभाविक हुनपुग्छ । यद्यपि रविनासँग भेट हुनुअघि अन्य केटीहरुसँगको मेरो सम्बन्धबारे मैले उसलाई केही सुईंको दिएको छैन ।

छोरी गर्भमा आएपछि रविनामा धेरै परिवर्तन आयो, झन् जन्मिएपछि त पूरै । गर्भवती हुनुअघिसम्म रविनामा बेग्लै आकर्षण थियो । प्राकृतिक सुख भोगको मामलामा ऊ पनि कम उत्साही थिइन । बेलाबेलामा ऊ कामदेवकी रति जस्ती हुन्थी । तर छोरीकी आमा बनेपछि स्थिति पूरै बदलियो । अहिले ऊ मसँग सकेसम्म टाढै रहन चाहन्छे । म पनि ओइलाउँदै गएको फूलप्रति भ्रमरा आकर्षित नभई फक्रेका फूलहरु चहारे जस्तै अन्यत्रै चहार्थे । जुन रविनालाई सैह्य नहुनु स्वभाविकै हो । मेरो धारणा अलि फरक छ । म संसारका सबै प्राणी प्राकृतिक रुपमा दुई किसिमका मात्र हुन्छन्– भाले र पोथी भन्ने मान्यता राख्दछु । अरु विभेद वा वर्गीकरण सबै कृत्रिम र बनावटी मात्र हुन्, सामाजिक, आर्थिक कारणले लादिएका विभेद हुन् । यस हिसावले म भाले जाति हुँ र केटीहरु सबै पोथी हुन् भन्नेमा म विश्वस्त र अडिग छु, यो मेरो पुरुष अहम् पनि होला ।

आजकल रविनाले शारीरिक सुखभन्दा मनको सुखलाई महत्व दिन थालेकी छे । विहान, बेलुका ध्यान गर्छे । मलाई भने आँखा चिम्ली पलेंटी कसेर बस्दैमा मनको सुख शान्ति पाइने भए यो संसारमा कोही पनि दुःखी हुँदैन थियो, न कुनै द्वन्द्व नै हुन्थ्यो भन्ने लाग्छ ।

रविनाले उठाएकी डिभोर्सको कुरालाई हामीले एउटा अलिखित समझदारी गरी निष्कर्शमा पु¥यायौं । त्यो के भने औपचारिक डिभोर्स नगर्ने, एउटै घरमा बस्ने तर बेग्लाबेग्लै कोठामा सुत्ने, एक अर्काको गतिविधिप्रति कुनै चासो नराख्ने, छोरी आफैं कमाउने नभएसम्म वा उसको विवाह नभएसम्म छोरीको दायित्व दुवैले व्यहोर्ने, छोरीको उपस्थितिमा कुनै पनि अप्रिय कुरा नगर्ने, अभिनय नै गरेर भए पनि छोरीको सामु सकारात्मक रुपमामात्र प्रस्तुत हुने आदि ।

हेरौं, यो समझदारीले हामीलाई कहाँसम्म पु-याउँछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button