रेडियोरिता: ‘सेतो सारीमा रातो रङ्ग’ र अरु रङ्गहरु

समीक्षा: ‘रेडियोरिता’मा घोत्लिँदा

नैना अधिकारी
कामरूम, असम, भारत

भन्ने र सुन्ने मौखिक पद्धतिबाट प्राचीन कालदेखि नै मानवसमाजमा प्रचलित हुँदैआएको साहित्यको लोकप्रिय विधा हो कथा । मानवले आफ्ना स्वकीय अनुभव अरूसमक्ष प्रकट गर्दा कथाको प्रारम्भ भएको अलिखित मौखिक परम्पराबद्ध इतिहास छ । मानव जीवनको उषाप्रहरदेखि नै प्रयोगमा रहेको कथा प्राचीन ग्रन्थहरूमा धर्म, ज्ञान, उपदेश, दृष्टान्त जनाउने अर्थमा प्रयोग भएको देखिन्छ भने समयको कालखण्डमा कथाको प्रयोग सामाजिक सत्यका विषयसँग सम्बद्ध बनेर लिपिबद्ध हुँदा १९ औँ शताब्दीमा आधुनिक कथाका नामबाट परिचित बनेको हो । आज कथाका विषयहरू ईश्वर र दानव, परी र पंक्षी, भूत र प्रेत, राजा-महाराजामा मात्र बन्दी छैन, तीलस्मी र जासुसी कुराहरू मात्र छैनन्, पद्यात्मक प्रस्तुति मात्र पनि छैन । आधुनिक कथाले आधुनिक मानव जीवनका भौतिक र मानसिक अनुभूतिका विविध पक्षलाई समेटेर नित्य नयाँ ढाँचा र शैली अँगाल्दै, रूप-रङ बदल्दै अघिबढेको छ। वर्तमान समयमा धेरै युवा कथाकारहरू यिनै नयाँ प्रयोग चलाउँदै कथा लेखनतर्फ अग्रसर भएको देखिन्छ ।

मणिपुरका बासिन्दा हर्कबहादुर लामगादे ‘रोहित’ पनि समग्रमा साहित्यक्षेत्रमा र विशेषगरी कथा बाटिकामा धेरै सम्भावना बोकेर निस्केका युवा हुन् । उनी उनको कथा सङ्ग्रह ‘रेडियोरिता’ (२०२२) लिएर झुल्केका छन् । यो उनको दोस्रो साहित्यिक कृति र पहिलो कथा सङ्ग्रह हो र उनले सन् २०२१ मा ‘मन बल्झिन्छ’ शीर्षक कविताकृति प्रकाश गरेर नेपाली साहित्य जगतमा कविको रूपमा पहिलो कदम चालेका हुन् ।

‘रेडियोरिता’ कथाभित्र

अम्बर पब्लिकेशन हाउस, नयाँ दिल्लीद्वारा प्रकाशित ‘रेडियोरिता’ शीर्षकमा नै हल्का रहस्य छोपिएको अनुभव हुन्छ । अलि अलग प्रकारको छ जस्तो अडकल काट्न सकिन्छ । यस पुस्तकमा कुनै भूमिकाकारको भूमिका गाभिएको पाइँदैन । केही वरिष्ठ साहित्यकाहरूका शुभकामनाका शब्दहरू भने गाभेको पाइन्छ ।

हर्कबहादुर लामगादे ‘रोहित’ले मानव समाज र व्यक्तिजीवनका आरोह-अवरोह, व्यक्ति र परम्पराबिचको द्वन्द्व, नारी समाजप्रति सामाजिक सोच र उनको विचार, समाजमा व्याप्त विकृति, विसङ्गति, प्रेम-प्रणय, अन्यजातसँगको विवाह र परिवारमा परेको प्रभाव, आफ्ना सन्तानप्रति परम्परावादी आमा-बाबुको चाहना, नयाँ र पुराना पुस्ताको बिचको मान्यताको द्वन्द्व र स्वाधिकारको चाहना आदि विविध विषयलाई उनका कथाका विषय बनाएका छन् । यसमा सङ्गृहीत केही कथामा गरिबीको रेखामुनि रहेर जीवन जिएका आम मान्छेका भोगाइ तथा अनुभव र अनुभूति गाँसिएका छन्। उनका कथामा कोरोना सङ्क्रमणकालमा जनताले भोगेका पीडासमेत समेटिएको छ । यसरी उनले यस कृतिलाई वर्तमान समयको दस्तावेज पार्ने प्रयास गरेका छन्। प्राय: सबै कथाका मूल पात्रहरू प्रायःजसो नारी नै छन् ।

विषय विस्तार

कुनै एक वरिष्ठ कथाकारले भनेका थिए, ‘कथा लेख्न बस्दा आएको प्रवाहलाई बग्न दिनुपर्छ । तर, बग्न दिइसकेपछि बाँध बाँधेर त्यसबाट बिजुली निकाल्नुपर्छ । कथा बगाइ मात्र होइन, बिजुली पनि हो, अर्थात् उज्यालो । पढेपछि मनोलोकको अँध्यारो कोठामा झिलिक्क बत्ती बलोस् ।’ यही मान्यताको तराजुमा ‘रेडियोरिता’ का १३ वटा कथालाई जोख्न सकिन्छ ।

‘रेडियोरिता’ हर्कबहादुरको पहिलो कथा सङ्ग्रह हो । प्राचीन होस् कि आधुनिक प्रत्यक्ष वा परोक्षरूपमा कथाले केही न केही सन्देश बोकेको हुन्छ । उनका हरेक कथाले पनि केही न केही सन्देश दिने प्रयास गरेका छन् । उनको सङ्ग्रहको दोस्रो कथा ‘भुल’बाट सुरुवात गरौँ । यस कथामार्फत् कथाकारले सन्तानले गरेको भुललाई आमाले ढाकछोप गर्ने हुँदा भएको झन् ठुलो भुललाई सहज तरिकाले दर्शाएका छन् । सही समयमा सन्तानलाई सही शिक्षा दिएर मार्गदर्शन गर्न नसक्ताको परिणाम पनि यस कथामा पढेर पाइन्छ ।

कथा साहित्यको मनोरञ्जनात्मक विधा हो । कथामा आउने पात्रहरू नै कथाको मुटु हुन् । जसले कुनै कथालाई पाठकसमक्ष चिनाउने राम्रो ऊर्जा बोकेको हुन्छ । कथामा सातवटा तत्त्व हुने गर्छन्। जस्तै: विचार (थिम), पात्र, कथानक (प्लट), परिवेश, संवाद, वर्णन, भाषाशैली ।

कथालाई रोचक बनाउन सहायक तत्त्वको रूपमा द्वन्द्व र कौतूहलको सशक्त भूमिका रहन्छ । हर्कबहादुरले पनि आफ्ना कथा सुन्दर बनाउन भरसक प्रयास गरेका छन् ।

उनको कथा ‘लक्ष्मणरेखा’ एउटी मानसिक द्वन्द्वमा भोगेकी युवतीको पीडाको कथा हो । यस कथामा एउटी छोरीले आफ्नो इच्छा र रहरको बलि दिएर बुबाको दबाबमा बाच्नु परेको र अन्त्यमा घर नै छोडेर जानलाई विवश भएको कथानक छ । यसका साथै आमा नहुनाले सन्तानको यस्तो दुर्दशा भएको भनेर बुझाउने प्रयास पनि छ कथामा । अर्को तरिकाले हेर्नु हो भने अभिभावकले आफ्नो खुसीका लागि सन्तानको परीक्षामा आफूले चाहेजस्तो नम्बर ल्याउन दबाब दिनु ठिक होइन भन्ने सन्देश पनि यस कथामा दिन खोजिएको छ ।

यसैगरी उनको अर्को कथा ‘डिस्को गर्ल’मा आर्थिक अभावले गर्दा अथवा अरूको देखासिकी गर्ने होडमा एउटी नारीले देह व्यापारजस्तो कार्य गर्न बाध्य भएको कुरा स्पष्ट भएको छ भने माया मनदेखि भयो भने एउटी पतित नारीलाई पनि आफ्नो जीवनसङ्गिनी बनाउन सकिन्छ भन्नेकुरा पात्रद्वारा कथाकारले दर्शाएका छन् ।

हर्कबहादुरलाई चलिआएको परम्परा, समाज व्यवस्थालाई मानेर कथा लेख्ने कथाकार भन्न सकिन्छ । उनका कथामा अन्याय र पीडाबोध छ, क्षोभ पनि छ तर विद्रोह खासै छैन । उनको अर्को कथा ‘दुई किनार’ पढ्दा अन्तिममा ‘हिंसक असामाजिक मन्तव्य राख्नेको जीत भएको छ’ भन्ने हरफले नै कथाकार निराश भएको प्रतीत हुन्छ । यो कथामा हिन्दु- मुसलमानको प्रेमलाई ‘लभ जिहाद’को नाउँ दिएर पवित्र प्रेमको बलि चडेको देखाइएको छ ।

कथाहरूमा कथाकारको सोच आधुनिक भए तापनि परम्परा र संस्कृतिको नाउँमा भएका विभिन्न घटनाहरूलाई समर्थन गरेको र साँचो भन्नू हो भने आत्मसमर्पण गरेको देखिन्छ । यस्तै कुरालाई उजागर गर्ने चाहना हर्कबहादुरको पनि देखिन्छ ‘हग’ शीर्षकको कथामा । साथीलाई हग अर्थात् अङ्कमाल गरेको देखेको निहुँमा एउटा गरिब किशोरले पाएको पीढा यस कथामा उल्लेख गरिएको छ ।

यसैगरी कोरोनाकालमा गरिब जनताको दुर्दशा र भोगाइ देखिन्छ उनको अर्को कथा ‘मालती साइँली’मा ।

आत्महत्या गर्नु अथवा गर्ने मन हुनु एउटा मानसिक बिमार हो । जब मान्छेले जीवनका पीढाहरूदेखि हार खान्छ उसले आत्महत्या जस्तो बाटो रोज्छ । आत्महत्या गर्नेमा पुरुषभन्दा बडी महिला भएको देखिन्छ । हर्कबहादुरको ‘मेरो के दोष थियो’ कथामा पनि एउटी सोह्र वर्षको उमेरकी युवतीले भागेर विवाह गरी पाँच महिना गर्भवती भएको अवस्थामा आत्महत्याजस्तो कदम उठाउनुपर्ने बाध्यताको अति मार्मिक चित्रण भएको छ ।

यस सङ्ग्रहको ‘डि – पेपर’ कथामा पनि पात्राले आफ्नो इच्छाको विपरीत गएर बाबुआमाको कुरा मान्नुपर्ने बाध्यतामा मन नपरेको केटासँग विवाह गर्नुपर्ने भएको र पछि आफूले मन परेको केटासँग गएर आफ्नो श्रीमानलाई डिभोर्स दिएको देखिन्छ ।

युवा मनमा कुनै न कुनै समय प्रेम हुन्छ नै । त्यसै पनि युवा मनहरू कल्पनामा उड्ने गर्छन् ।

हर्कबहादुरले प्रेमिल कल्पना विषयमा लेखिएको कथा हो ‘मुसलधार पानीमा वर्षासँग’ ।

यस पुस्तकको शीर्षकको शीर्षकमै रहेको कथा हो ‘रेडियोरिता’ । कुनै समयमा रेडियो नै मान्छेको मनोरञ्जनको लागि बज्ने लोकप्रिय माध्यम थियो । तर ग्याजेट्सको अतिक्रमणले रेडियो हामीमाझबाट हराइसक्यो । मोबाइल फोनमा रेडियो सुनिन्छ, किन चाहियो सेट भनिने जमानामा रेडियोलाई केन्द्र बनाएर कथा लेख्ने कथाकार हर्कबहादुरको यस कथाकी मूल पात्रा हो “रिता” नामकी एक युवती । कथाकारले पात्रासँग रेडियोको लगावलाई कथामार्फत सुन्दर तरिकाले दर्शाएका छन् । एक सैनिककी पत्नी रिता आफ्नो पतिको याँदमा रेडियोलाई साथी मानेर बसेकी र अन्त्यमा त्यहीँ रेडियोमा उसको पति सहिद भएको खबर सुन्दा मर्माहत भएको दृश्य देखाएको छ यो कथाले ।

फेरि अर्को कथा ‘सुसाइड नोट’मा मर्नलाई सुसाइड नोट लेख्दै गरेकि पात्राको सुसाइड नोटबाट र अन्त्यमा प्रेमीले दिएको धोकाको बदला लिन पात्राको नमर्ने निर्णयमा कथाको अन्त्य हुन्छ। यो कथा एकालाप जस्तो छ । पात्रको चिठीद्वारा नै कथाको प्रारम्भ, विकास र अन्त्य भएको छ । यो कथा निकै कौतूहलपूर्ण लाग्छ ।

एक सुन्दरी विधवाको प्रेममा परेको युवकको कथा हो ‘सेतो सारीमा रातो रङ्ग’ । विधवा भनेर नजान्दै बसेको प्रेम, जानेपछि पनि यथावत् रहेको राम्रो कथा हो यो पनि । कथाको बुनोट र विचारको एक असन्तुलित कथा हो ‘सेतो सारीमा रातो रङ्ग’ ।

बाबुआमाले कष्ट गरेर सन्तानलाई कमाउने योग्य बनाएपछि बुढेसकालमा सहायक हुनाको साटो टाढा रहेर समयमा भेट्न समेट नआएको, विवेकहीन छोराको यादमा तड्पिएर मरेका वृद्ध दम्पतीको अर्को एक मार्मिक र यथार्थवादी कथा हो ‘काइँलाकाइँली’।

यस सङ्ग्रहको सबैभन्दा लामो र अन्तिम कथा हो ‘चौतारी’ । यो कथा पढ्दा कुनै सिनेमा हेरेको जस्तो भान हुन्छ । यसमा पाठकले प्रेम, हर्ष, विषाद, सबै पाउन सक्नेछन् ।

‘रेडियोरिता’ सङ्ग्रहभित्रका नारी पात्र

हर्कबहादुर लामगादेको कथा-सङ्ग्रह ‘रेडियोरिता’का कथाहरू विशेषगरी नारी पात्रहरूलाई लिएर लेखिएका कथा हुन् । तर, कथाहरूमा यी नारी पात्रहरू अलिक मौन र असहाय जस्ता देखिन्छन् । जस्तै- उनको सङ्ग्रहको पहिलो कथा हो ‘नौ महिने पाहुना’। विज्ञानको नयाँ प्रयोग ‘सेरोगेट मदर’ अर्थात कोख भाडामा लिएर बच्चा जन्माउने र कुमारी केटीले डिम्ब दान गरेर बच्चा जन्माउन मदत पुर्‍याउने र आर्थिक अभाव पूरा गर्ने जस्तो विषयमा लेखिएको यो कथाले दुईजना पात्र ‘सीमा’ र ‘माया’द्वारा आधुनिक युगमा पनि नारीहरू कमजोर नै भएको छर्लङ्ग पारेको छ । नौ महिनाको लागि अर्काको बच्चा आफ्नो पेटमा राखेर जन्मिएपछि बच्चा दिएर पैसा पाए पनि एउटी आमाले भोग्नुपरेको कष्ट यस कथामा बुझ्न सकिन्छ। अब अर्को एउटा उदाहरण हेरौँ-

कथाकारले उनको ‘अधीन’ शीर्षकको कथामा पात्रको नाउँ नदिएर ‘छोरी’ भनेरै कथा सुरुदेखि अन्त्य गरेका छन् । यस कथामा पात्रले विष खाएको कारण थियोे बाबुआमाको मायाको अभाव अनुभव गर्नु, पात्रको माहिली दिदीले तल्लो जातको केटासँग भागेर विवाह गरेको कारण उसलाई पनि बन्देजमा राख्नु । यो कथामा अर्को जातको केटा भन्ने ठाउँमा लेखकले ‘अजात’ शब्दको पनि प्रयोग गरेको पाइन्छ । यहाँ कथाकारलई एकजना परम्परावादी सोच भएको कथाकार भन्न सकिन्छ । यसरी उनका कथाका नारीहरू लाचर, विवश, हताश र दयाका पात्र छन्, सबल र प्रवल आशावादी जुझारु छैनन् ।

उपसंहार

कथा हाम्रो जीवनको अभिन्न भाग हो । परापूर्वकालदेखि नै कथा भनिँदै र सुनिँदै आएको छ । प्राचीनकालदेखिको मौखिक कला–संस्कृति समयक्रममा लिपिबद्ध हुन थाल्यो र कथा लेखनको अवस्था, स्वरूप, प्रवृतिस्तरमा यथेष्ठ विकास हुन थाल्यो। यस्ता परिवर्तनले प्रमाणित गर्छ कि कथालाई एउटा निश्चित परिभाषामा समेट्न सकिँदैन । एउटा कथाकारले कथा लेख्दा कथामा रहेका पात्रहरू, विषयवस्तु, परिवेश, संवाद, दृष्टिकोण र विचारको सशक्त प्रस्तुतिको बारेमा सोच्नुपर्ने हुन्छ । कथामा प्रस्तुत गर्न खोजिएको जीवनको अंशलाई कसरी प्रभावशाली र रोचक ढङ्गले पाठकका सामु प्रस्तुत गर्ने, कथाले कसरी पाठकलाई तान्न सक्छ र कथा कसरी सुदृढ बनाउन सकिन्छ भन्ने बारे पनि सोच्नुपर्ने हुन्छ ।

हर्कबहादुरले कथाहरू वर्णनात्मक र विवरणात्मक शैलीमा लेखेका छन् । कतै पत्रात्मक शैली पनि छ । कथाहरू विषयको ऐनामा हेर्दा राम्रा छन् तर विचारको तराजुमा जोख्ता परम्परागत सोचमा अल्झिएको पाइन्छ । भाषा सरल छ । तर पात्रअनुसारकै भाषा छ भन्नचाहिँ मिल्दैन । संवादशैलीको प्रयोगले कथालाई जीवन्त पार्ने प्रयास छ । भाषामा मिठास भने अलि कमै छ । हिज्जेहरूमा त्रुटी छन् । उनी मणिपुरका बासिन्दा भए पनि हाल दिल्लीमा बस्तै आएकाले होला कथामा हिन्दी भाषाको प्रभाव पनि धेरै मात्रामा देखिन्छ ।

कथाहरूमा कौतूहल निर्वहनमा जति कसरत गर्नु थियो कथाकारले त्यति ध्यान दिएका छैनन्। कथाहरू चरित्रप्रधान होइन, घटनाप्रधान छन्।उनलेे उनका कथामार्फत सामाजिक समस्या देखाएका त छन् तर सामाजिक बाध्यता मान्नुपर्छ भन्ने खालको विचारभित्र बाँधिएर कथाहरू लेखेका छन् ।

समग्रमा भन्नुपर्दा ‘रेडियोरिता’का कथाहरू पाठकले पढेर मनोरञ्जन नै पाउँछन् । कथा पढ्दा पाठकलाई झर्को लाग्दैन । उनका कथामा आजको समाजको सही चित्र छ । अन्त्यमा, अझै बडी मेहनत र अध्ययन गरेर भविष्यमा अझै खारिएका रचनाहरू लिएर हर्कबहादुर निस्केको देख्ने आशाका साथ अहिलेलाई यति नै ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button