
नमस्कार ! म छोरी, म स्त्री, म आईमाई

छोरी, स्त्री, आइमाई
शान्ता सिम्खडा
नमस्कार !
म छोरी,
म स्त्री, म आईमाई
सुनेको छु मात्र हैन
महसुस पनि गरेको छु
स्त्री र पुरुष ईश्वरका
दुई विशेष भिन्न भिन्न शक्ति हुन्
जुन एक अर्कामा पुरक छन्
एउटाको अस्तित्व बिना
अर्काको अस्तित्व असम्भव छ
तर पनि छोरा र छोरीमा
भेद किन ????
स्त्री र पुरुषमा भेद किन ??
स्त्रीको परिभाषा शरीर भन्दा
पर किन छैन ????
स्त्री हुनुमा ग्लानी नै हुने
गरि अन्याय किन ????
त्यसैले, हुन्छ समाज
बरु हामीलाई बुर्का लगाउने
नियम बनाइदेउ
छोरी अंग लिएर धर्तीमा
पदार्पण गर्ने बित्तिकै पूर्णत:
शरीर ढाक्ने नियम बनाइदेउ
तर…
छोरी, स्त्री, आईमाईलाई
खेल्ने वा प्रयोग गरेर फाल्ने
वस्तु ठान्ने हिन मानसिकता भएका पुरुषहरूको ,
छोरीलाई छातीको उभार र
योनाङ्गको द्वार मात्र देख्ने
तुच्छ मानसिकताले भरिएका
मानसिक रोगी पुरुषहरूको,
छोरी हो भन्ने जानेपछी
स्त्री हो भन्ने माने पछि
बुर्का भित्रै पनि नङ्ग्याउने
दरिद्र, पैचाशी वृतिका पुरुषहरूको, हो समाज
यस्ता पुरुषहरूको
दुबै आँखा फुटाउने
कानुन बनाइदेऊ ।
ता कि म छोरीले पनि निर्भीक
बाँच्न सकुँ
म स्त्रीले पनि स्वछन्द भएर
खेल्न र हाँस्न सकुँ
मेरो हाँसोको अनर्थ लगाउने
कानहरूको जाली फुटाउने
विधान बनाइदेउ
हुन्छ,… समाज
म छोरीलाई बुर्का लगाउने
कानुन बनाइदेउ
म छोरी जन्मिएर फक्रन नपाउँदै
आमाको काख छोडी जमिनमा खुट्टा टेक्न नपाउँदै
म छोरीको अंग देखेर
आफूभित्रको पशु जगाउने
दानवहरूलाई के भन्छौ समाज ?
हो प्रश्न गर्छु, के भन्छौ ?????
मलाई थाहा छ,
जवाफमा सन्नाटा मात्र छ
यो समाज आँखामा पट्टि लगाएकी गान्धारी हो
सत्य सबै थाहा भएर पनि
पट्टीभित्रको अन्धकार नै प्रिय छ
सायद, त्यसैले भन्छन्
समाजको कानुन अन्धो छ
यदि छोरी भएकै कारण
गर्भमै निश्प्राण भएर
रक्तका टुक्रा टुक्रामा चोइटिएर
धर्तीमा मुल्यहिन बनाएर बगाउने
कानुन बनाउँछौ भने
स्त्रीको अस्मितालाई
धुल्याएर आकाशमा उडाउँदै
आँसु र रक्तको होली खेलेर
विजयी भएको ठान्छौ भने
भैगो समाज….. छोडिदेउ
बरु छोरीको अस्तित्व नै मेटाइदेऊ
अब नयाँ ज्ञान फुराइदेऊ
पुरुष र पुरुषकै भोगबाट
पुरुष नै जन्माउने विज्ञान बनाइदेऊ
होइन भने स्त्रीले स्त्री नै भएर बाँच्न पाउने
अपरिवर्तनीय संविधान बनाइदेऊ
बरु हामी छोरी, हामी स्त्री,
हामी आईमाई, जीवन भर
अन्धा बैरा पतीको सेवा गरि बस्नेछौँ ।
अन्धा बैरा छोराहरूको
हेरचाह गरि बस्नेछौँ
अन्धा बैरा दाजुभाइको
रेखदेख गरि बस्नेछौँ ।
अन्धा बैरा बाबुको
स्याहार गरि बस्नेछौँ।
हामीमा जन्मजातै त्यो तागत छ
ब्रह्म र ब्रह्माले हामीलाई
यो अर्थमा त विशेष शक्तिशाली बनाएकै छन्
किनकी व्यभिचारी पतीको पत्नी हुनु
मृत्यु वर्ण जत्तिकै कष्टकर छ
व्यभिचारी छोराको आमा हुनुमा
गर्भ तुहिए जत्तिकै पीडा छ
व्यभिचारी दाजुभाइको दिदीबहिनी हुनु
आत्मसम्मानको चिरहरण हुनु जत्तिकै छ
व्यभिचारी बाबुको छोरी हुनु
अनाथ हुनु जत्तिकै छ
त्यसैले त समाज
म छोरी/स्त्री/आइमाईको आग्रह
हामीलाई बरु बुर्का लगाउने नियम बनाइदेऊ
तर व्यविचारी पुरुष चरित्रको
निशान मेटाउने कानुन बनाईदेऊ
हुन्छ, समाज
बुर्का लगाउने कानुन बनाइदेऊ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



