
राराको चश्मामा बडिमालिकाको चौरजस्तो सुन्दर सपना
टंक सुवेदी
कर्मशिल जीवनको यात्रामा
भेटिएका लगनशील मित्रहरू
अध्यनशिल पलहरुमा
सिकाएर ओझेलमा परेका
महान गुरुहरु
साझा उद्धेश्यमा डोरिएर
छुटेका सहयात्रीहरु
सम्मान छ
सलाम छ
सम्झना छ ।
यात्रा त जारी नै छ
हातहरु छुटेछन्
साहस अझै कायम छ
साथहरु टुटेछन्
मन बाँध्ने काम निरन्तर छ
वाचाहरु सुकेछन्
बादल नलाग्दै किन
मन गर्जदैछ
इन्द्रेणी नदेखी
धरा बर्सदैछ ।

एक कदम आशाको
मृगतृष्णा प्यासाको
तिन्जुरेको गुराँस जस्तो
मुस्ताङको स्याउजस्तो
विशाल राराको चस्मामा
बडिमालिकाको चौरजस्तो
सुन्दर सपनाहरु
मिठा कल्पनाहरु
हेर्न मन छ
सुन्न मन छ
भन्न मन छ ।
मनदेखी मनसम्मका त्यान्द्राहरु
दुलो परेको छानाबाट देखिने
सम्पन्न आकाशका पुन्जहरु
अज्ञान, ज्ञान र महाज्ञान जोड्ने
ठूलो बाटोका साना खाल्डाहरु
सोचेर गम्भीर भएको बेला
सोच्न मन छ
सोध्न मन छ
बुझ्न मन छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



