नसलाले बोक्सीको आरोप लगाउनलायक गरिब, विधुर, विधवा, असहाय कोही देखिन

लघुकथा: दाउन (साँठो)

हरिप्रसाद गौतम
गुल्मी, जुभुङ-७, हाल: स्वयम्भू, काठमाडौँ

‘आगाको आँच ठुलो भयो कि क्या हो बुढा ! रोटीको बाहिर बाहिर त सबै डढ्यो नि ! आगो घटाउनुस् भो !’, पहिलो सेलरोटी सहिद भएको देखेर नसलाले हातमा सिन्का समातेर कराइबाट रोटी निकाल्दै गरेका आफ्ना बुढालाई अह्राई ।

बुढाले निहुरेर रेगुलेटरतिर हात लम्काए र ग्यास घटाए ।

‘यो त झन् गोलो आकारकै भएन ! सिन्काले मिलाउनू न !’, दोस्रो रोटी पनि बिग्रिएपछि नसला सोचमा परी ।

‘छ्या, यो त बिनाकामको टटरो पो भयो । आगाको आँच बढाउनू भो बुढा !’, रोटीहरू सहिद हुने क्रम नरोकिएपछि नसला चिन्तित हुँदै बोली अनि पूजामा व्यस्त पवित्रा दिदीलाई सोध्न गई ।

‘दिदी ! पिठोमा के के हाल्नुभएको हो ?’

दिदीले पनि सम्झे जतिका कुरा भनिन् ।

नसला भान्छातिरै फर्की र काममा लागी । तर, फेरि पनि उस्तै हालत भएपछि उसले बुढालाई अलिकति तेल थप्न भनी । तैपनि, कुनै सुधार आएन । रोटीहरूले बिचित्रका रूप धारण गरिरहे । एउटा रोटी पनि यज्ञमा चढाउनलायक, प्रसाद भनेर बाँड्नलायक, नाङ्लामा राखेर सजाउनलायक बनेनन् । आफूले पहिले पहिले पकाउँदा त यस्तो कहिल्यै भएको थिएन ! उसले एकछिन खुबै सोची ।

कहिलेकाहीँ आमाले गाउँमा रोटी पकाउँदा यसरी नै बिग्रेको सम्झी । यस्तो बेलामा आमाले बोक्सीका आँखा फुटाउन भुङ्ग्रोमा डल्ले खुर्सानी डढाएको कुरा सम्झी । तर, सहरमा त आफूले चिनेकामध्ये बोक्सीको आरोप लगाउनलायक त्यस्तो गरिब, विधुर, विधवा, असहाय कोही देखिन तैपनि ‘मनको सन्तोष’ भन्दै एउटा कागजको टुक्रो र एउटा खुर्सानी आगामा जलाई । त्यसलाई फाल्ने ठाउँ कतै भेटिन अनि हात धुने बेसिनमा लगेर झ्वाइँय्यँ पारेर बोक्सी बुझाई । भान्छामा धुवाँ र पिरोको खार लागेर बसिनसक्नु भयो ।

अब त कसो नबन्लान् र भन्दै फेरि रोटी पकाउन बसी तर केही पनि परिवर्तन भएन । निराशै निराशाका बिचमा टटरा र टटरी रोटीको थुप्रो लाग्यो । उता पूजा पनि सकियो । जस्ता टटरा डाम्ना भए पनि ती रोटीहरू तत् तत् ठाउँमा पुगे ।

सबै काम सकियो । बेलुका फेरि दिउँसो बाँकी रहेका भिजेका चामलको सेल पकाउने कुरा भयो । चिनी र भिजेका चामल हालेर ग्राइन्डरमा पिनी । लेदो तयार भयो । अब पिठोमा मिसाउने दाउनका लागि घिउ खोज्दा पो थाहा भयो, दिउँसो सेल पकाउने बेला पिठोमा घिउको दाउन हालेर फाउन बिर्सिएको रहेछ ।

अहिले चाहिँ सोचेजस्तै राम्रा रोटी बने । ऊ आफैले पकाएका रोटी देखेर मख्ख परी । काम सकेर हात धुन बेसिनमा गई । बेसिनमा अघि डढाएको कागजको टुक्रो र खुर्सानी देखेपछि आफ्नै अज्ञानता सम्झेर लजाई । साँनो छँदा गाउँमा आफूहरूले अनाहकमा कसैलाई बोक्सी सम्झिने गरेकोमा आफैलाई धिक्कारी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button