लोकतन्त्रः आम्मै ! अहो ! हैट ! छ्या ! छिः ! थुक्क !

पुनेश कोइराला

आम्मै ! यो लोकतन्त्र
सुरुमा
बोलाउँदा नि घुर्की देखाउने
बिन्ती बिसाउँदा झन् मुड्की देखाउने
माग के हो सोध्दा हेर्न नचाहने
गुप चुप आउ न भन्दा रँडाको मच्चाउने ।

अहो ! यो लोकतन्त्र
भित्राउनलाई नै के के गरिएन
घाम, पानी, भोक, तीर्खा कहिल्यै भनिएन
टाउकोमा कफन बाँधी ‘तन्त्र’ फेर्न आतुर भइयो
आन्दोलनमा होमिदा कति लाठी गोली सहियो ।

हैट ! यो लोकतन्त्र
बल्ल बुझ्दै छु
भाउ पनि उधुमै खोज्ने
शान्ति हैन अस्थिरता रोज्ने
जनता ‘जनार्दन’? का रौं एक–एक गन्ने
गद्दार सामु बैतर्णीकी गौ माता बन्ने ।

छ्या ! यो लोकतन्त्र
जनको स्वतन्त्रतालाई तमासा बनाउने
भ्रष्टलाई आदर्शको बादशाह जनाउने
देशद्रोहीलाई तक्मा र स्याबासी दिने
सोझाको अमन,चैन सर्वश्व लिने ।

छिः ! यो लोकतन्त्र
हत्यारालाई महानताको पगरी गुँथाउने
निर्दोलाई झ्यालखानाको छिंडीमा सुताउने
बलात्कारीलाई नायक भन्ने
निमुखाको सदा खैरो खन्ने ।

थुक्क ! यो लोकतन्त्र
चाहिदैन तँ यस्तो ताल हो भने
हुने छैनन् तेरो कोही विधी सहने
खवरदार ! भासिएकाहरुको संघारमा लागेमा
मासिने छस् अब तिनै एकदिन जागेमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button