
कहिले गोरुगाडा त कहिले सवारी दायाँबायाँ
टंक सुवेदी
कहिले लेक कहिले बेशी
कहिले स्वदेशी कहिले परदेशी
कहिले स्थिर कहिले विचलित
सदाबहार तरङ्गित अविरल यात्रा ।
कहिले माइती कहिले पराइघर
नजीकका टाढा अपरिचित नजिक
जुटाउने, छुटाउने, मिलाउने र टुटाउने
उतारचढाव रहस्यमय जीवनयात्रा ।
कतै सुख्खा त कहिले कतै अरुण गड्गडायो
कहिले नदी नै सुक्यो तैपनि बाढी आयो
कहिले मेचिले सिमा बिर्सिएर भारत छोयो
कहिले कोशीमा झैँ जीवनमा सबै अटायो ।
न सुक्यो जीवन खाडीको गर्मीमा
न सन्तोष मान्यो सन्तोसाको पानीमा
सिड्नी हार्वर होस् या लन्डन पूल घुमोस्
रमायो त जीवन आफ्नै हावापानीमा ।
न रम्यो जीवन युरोप घुमेर बिकास हेर्दा
न त रंगीयो जीवन लसभेगास सहर छिर्दा
गाउँघरको माया शहरको म:म कता बिर्सनु
यत्रतत्र सर्बत्र अबिरल यात्रा यो जिन्दगी ।
कहिले घरको माया कहिले माइतीको माया
कहिले गोरुगाडा त कहिले सवारी दायाँबायाँ
कहिले यात्रु कहिले चालक रुप फेरिएको
रोचक छ चित्र जीवनयात्रामा आफै कोरेको ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)