
कृष्ण पनि निर्दोष छैनन्, आग्रही नभई पढौँ गाथाहरू
मुक्तक
कृष्ण बाउसे
१
आफ्नै बेहोसीको चङ्गुलमा परेर लज्जाबोध गर्दैछु
पहिला जो मसँग लजाउँथ्यो उसकै छायासँग डर्दैछु
नेताले झैँ कुर्लन सक्दिनँ अपराधलाई बहादुरी भनेर
बौलाएँछु, स्वीकारेँ,अहिले त्यही घाउको खाटो भर्दैछु ।
२
मेरो मनको खटिरो कोट्याएर घाउ नबनाइदिनू फेरि
ओखती भन्दै त्यस घाउमा नुनचुक नलगाइदिनू फेरि
कुनियत नभए पनि बिस्फोट त तिम्रै कारण भएको हो
बिन्ती छ ! मेरो शान्तिक्षेत्रमा हिंसा नफैलाइदिनू फेरि ।
३
म बेलुन थिएँ, हठात् फुटेंछु र आफूलाई बिस्फोट सोचेंछु
म आँसु थिएँ, हठात् बगेंछु र आफूलाई नदि भन्न खोजेंछु
घोचिनुमा तिम्रो पनि केही त्रुटी थियोे कि ? तिमी नै बुझ !
म त पात थिएँ, हठात् सुकेँछु र अन्जानमै यत्रतत्र घोचेँछु ।
४
त्रुटीले दुर्घटनास्थल बन्छन्, हिँड्न बनाएका बाटाहरू
कृष्ण पनि निर्दोष छैनन्, आग्रही नभई पढौँ गाथाहरू
आफूलाई ज्योतिपुँञ्ज मात्र ठान्नु त महाभूल हुन्छ है !
सबैले नियालौँ आआफ्ना जीवनका अँध्यारा पाटाहरू ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



