
‘त्यो’ नलेखेसम्म अरु केहीले पनि उसको भोक मेटिँदैन
उनले भनिन्, ‘मैले ‘ओ नायक’ कवितासंग्रह बजारमा ल्याएँ । त्यसमा मेरो कविताको सिङ्गो रुप थियो । अर्थात मेरो सिङ्गो रुप थियो ।’ ‘नेपालनाम्चा’ ले सुरु गरेको नयाँ स्तम्भ ‘कविका कुरा’मा त्यही ‘ओ नायक’की नायिका सुनिता खनाल ।
किन र केका लागि कविता लेख्नुहन्छ ?
हरेक मान्छेभित्र फरक–फरक रुचि हुन्छ होला । त्यसैगरी मभित्र पनि लेखनको रुचि हुँदो हो । सुरुमा म रहर र आत्मसन्तुष्टिका लागि नै कविता लेख्थेँ । तर पछिल्लो समय म एउटा जिम्मेवारीका साथ कविता लेख्छु । मैले लेखेका कविताले परिवार, समाज र राष्ट्रका समस्या, वेथिति र अस्तव्यस्त व्यवस्थामामाथि थोरै मात्र पनि सम्बोधन गरोस् भन्ने सोचले जन्मिन्छन् मेरा कविताहरु । त्यो ठाउँमा पुग्ला नपुग्ला अलग कुरा हो, मैले गर्ने भनेको कोसिस नै त हो ।
कविता लेखेर के हुन्छ ?
खाना खाएर के हुन्छ ? भोक मेट्नैका लागि त अरु नै जे खाए पनि हुने हो नि । तर किन दाल, भात, तरकारी नै खान खोज्छ मान्छे । त्यसरी नै एउटा कविमा पनि कविताको त्यस्तै भोक हुन्छ । त्यो नलेखेसम्म अरु केही कुराले पनि उसको भोक मेटिँदैन । ऊभित्र मडारिइरहेको विचारको ज्वालालाई कवितामार्फत निकालेर शान्त हुन्छ एउटा कवि र त्यहि कविताको शक्तिले खबरदारीको संकेत गराइरहन्छ ।
कवि भएर चिनिनुमा कति मजा छ ?
आजभोलि एउटा उखान बडो प्रचलित रहेछ । ‘कुनै पनि ठूलो जमघटमा आधाभन्दा बढी त कवि नै हुन्छन् होला है ।’ यहाँ केलाई कविता भन्ने, त्यसको कुनै सुत्र छैन । हरेक मान्छभित्र कथा हुन्छ, भावना हुन्छ । त्यसलाई नै कविता भनेर जन्माइरहेका हु्न्छन् । तर वास्तविक कविता नै लेखेर चिनिने निकै कम छन् । कवितामा विचार बोक्ने कम छन् । कवि मात्रै भनेर चिनिनुमा मलाई मजा लाग्दैन । ठूलो भीडबीचमा पनि परैबाट कसैले चिन्न सके भने त्यो एउटा कविको सफलता हो र त्यसमा चाहिँ चुनौतिमिश्रित मज्जा हुनेछ ।
कविहरु आम मानिसभन्दा फरक हुन्छन् वा उनीहरु पनि आम मानिसजस्तै हुन् ?
कविहरु पनि आम मान्छे नै त हुन् । वस् अरु मान्छेका तुलनामा उनीहरुको सोच्ने तरिका फरक हुन्छ । जीवन र जगतलाई हेर्ने उनीहरुको फरक एङ्गल हुन्छ । कुनै पनि कुरालाई उनीहरु मिहीन ढङ्गले सोच्न रुचाउँछन् । त्यसैले त आम भाषाभन्दा फरक हुन्छ नि कविताको भाषा । मलाई लाग्छ, कविहरु जता पनि स्वीटेवल हुन्छन्, अर्थात डायनामिक हुन्छन् । जो आम मानिस हुन सक्तैनन् ।
कविता यदि सत्ता हो भने यो कस्तो सत्ता हो ? र, कवि कस्तो शासक ?
हुन त एउटा कविले पनि राजनीति बुझ्न जरुरी छ । तर, मलाई आजभोलि यो राजनीतिको कुरा नै दिक्क लाग्छ । सत्ता र शासकका कुरा गरेर गरिसक्नु छैन यहाँ । कविता र कविका कुरा गर्नुपर्दा कविताको लयमा कवि हिँड्छ जस्तो लाग्छ मलाई त । ऊभित्र उर्लिएर आएको विचारको लाभाले नै त कविलाई उठाउने हो । त्यसरी आफ्नो पहिचान बनाउने कवि कसरी शासक होला र । यदि कविता सत्ता नै हो भने त्यो विचारको सत्ताबाहेक अरु केही होइन ।
प्रेम हुन्थेन भने पनि कविता हुन्थ्यो ? हुन्थ्यो भने त्यो कस्तो कविता हुन्थ्यो ?
प्रेम बिनाको संसार त कल्पना गर्न सकिने कुरा नै भएन । कविले जुनै विषयमा कविता लेखे पनि त्यसको प्रेमले र मोहले नै त लेख्ने हो । त्यो प्रेम जुनै किसिमको पनि हुन सक्छ । तपाईको प्रश्नको आसय व्यक्ति प्रेम हो जस्तो लाग्यो मलाई । त्यसो हो भने प्रेम नै नभए पनि कविता त हुन्थ्यो होला, तर त्यो प्रेम कविता भने हुने थिएन । त्यसमा रस हुने थिएन । आधा चेहरा जस्तो बन्थ्यो होला सायद प्रेम विनाको प्रेम कविता ।
कविताको संसार कस्तो हुन्छ ? के त्यहाँ खुशी मात्र हुन्छ ?
कविताको संसार नबुझ्दासम्म अत्ति रमाइलो हुन्छ । आफूले लेखेका सबै हरफहरु भयंकर कविता भए जस्तो लाग्छ । जब कविताको गहिराई थाहा हुन थाल्छ, त्यसपछि आफ्नो कविताको निर्णायक आफैँ बनेर हेर्न मन लाग्छ । पहिला लेखेका त कविता नभएर कुरा पो रहेछ भन्ने आत्मानुभूतिले सताउन थाल्छ । त्यसपछि भने कविता लेखनको जिम्मेवारी बोधले झस्किन मन लाग्छ । सोचेर बुझेर र जिम्मेवारी बोकेर लेखिएको कविताले चाहिँ खुसी दिन्छ । यो मेरो नितान्त व्यक्तिगत अनुभूति हो । सबैसँग नमिल्न पनि सक्ला ।
‘कविता एक वाहियात विलाश हो’, यदि कसैले भन्छ भने, त्यसमा तपाईं के भन्नु हुन्छ ?
मलाई त्यस्तो लाग्दैन । यदि कसैले त्यसो भन्छ भने त्यो उसको वैयक्तिक स्वतन्त्रताको कुरा हो । त्यसमा मेरो भन्नु केही छैन ।
कविहरु जन्मन्छन् । तर, कहिल्यै मर्दैनन् । के यो सही हो ?
सही हो । कवि मात्रै नभएर कोही मान्छे पनि मर्दैनन् जस्तो लाग्छ मलाई त । मर्ने भनेको उसको शरिर हो । उसको चेहरा, उसका कुराहरु, उसले समाजमा छोडेका छापहरु त पछिल्ला पुस्ताहरुको मानसपटलमा भइरहन्छ नि । अझ कविका कुरा गर्नुपर्दा त कवि मात्रै नभएर राम्रा लेखकहरु कहिल्यै मर्दैनन् । उनका सिर्जनाले, कृतिले उनीहरुलाई कहिल्यै मर्नै दिँदैन । उनका विचारले नै उनीहरुलाई युगौँयुग बचाइरहन्छ ।
तपाईंका कविता पाठक र समाजका लागि कविता मात्र हुन् कि त्यसभन्दा बढी ?
मेरो व्यक्तिगत कुरा गर्नुपर्दा जब फूटकर रुपमा मेरा कविताहरु आइरहेका थिए । ती कविताहरु सायद निकै पाठकको हृदयमा पुग्यो । उहाँहरुकै आग्रहमा मैले ‘ओ नायक’ कविता संग्रह बजारमा ल्याएँ । त्यसमा मेरो कविताको सिङ्गो रुप थियो । अर्थात मेरो सिङ्गो रुप थियो । त्यसमा आएका सकारात्मक प्रतिक्रियाहरुले मलाई जिम्मेवारी बोध पनि भएको छ । पाठक खुसी भएपछि उहाँहरु बस्ने समाज त त्यसमा नै आइहाल्यो । त्यो भन्दा माथि चाहिँ मेरो लेखनले मलाई म पनि यो धर्तिमा छु है, लेखेरै भए पनि मैले मेरो जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने चाहिँ लागिरहन्छ । मेरा कविताले समाजमा थोरै मात्र पनि परिवर्तनको विगुल फुक्न सक्यो भने त्यही मेरो कविताको सफलता हुनेछ । त्यसभन्दा बढी केही होइन ।
थप केही … ?
थप कुरा, म अर्को संग्रहको तयारीमा नै छु । प्रश्नको उत्तर दिने क्रममा केही नमिलेको हुन सक्छ । त्यसमा क्षमा गर्नुहोला । यो अवसरको लागि नेपाललाम्चा परिवारलाई हार्दिक आभार ।