बगेपछि पानी र जवानी समयका कहानी रहेछन्

बगेपछि

टंकमणि अधिकारी

मन पग्लिएर मनको बगर बगेपछि
भिजेका रित्ता आँखाहरू
वर्षाउन सक्तैनन् बरर स्नेहका आँशुहरू
मैन पग्लिसकेपछि
प्रज्ज्वलित रहँदैनन् बलेका दीपशिखाहरू
हिमाल बगेर सागर
सागर बगेर हिमाल छचल्किँदोरहेछ ।

जीवन ढलेर माटो
माटो पग्लिएर छल्कन्छन् जीवनोत्सवहरू
मनका बगरहरू
मानवताका पुलकित अजस्र किनाराहरू
बगेपछि फर्किएनन् खोलाहरू
रित्तिएपछि आँशु
कलकल बगेनन् आँखाहरू
जिन्दगी बगिजाने खोला रहेछ
र,मान्छे आफूलाई आँफै बोक्ने झोला रहेछ ।

हो, बगेपछि पानी
र जवानी समयका कहानी रहेछन्
डढेलो रित्तिएपछि वन
सिँदुर पुछिएको
खाली सिँउदो झैँ लाग्दोरहेछ
गुँड गुमाएका कोइलीहरू
विरहको दु:खान्त गीत गाइरहेका हुनन्
जीवनका रहर बगेपछि
मुस्कुराउन्नन् नव-यौवना कोइलीहरू ।

बगेपछि पसिना विदेशमा
रोइरहन्छन् स्वदेशी आमाका आँखाहरू
डसिरहन्छ मान्छे
मान्छेलाई नै पटक-पटक
मान्छेकै नैतिकता रित्तिएर बगेपछि ।

भूगोल मान्छेको हो
मान्छेकै लागि हो प्रकृति भने
विश्व-रङ्गमन्चमा
जिन्दगीको नदी मान्छे स्वयंले बगाउनुपर्छ
भनिन्छ, नदी बगेपछि शुद्ध हुन्छ
जीवन पनि
प्रयासका पत्थरमा बगेर नै सफा हुन्छ
जीवनको अवसानपछि
पुन: नयाँ जीवनको शुरुआत हुन्छ
जसरी रात ढलेपछि
सुनौलो बिहानको पुनरागमन हुन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button