
ढुङ्गाेलाई चिमाेट्दा दुख्दैन कत्ति पनि
कठपुतलीहरु
सुनील गाैतम
हेटाैंडा
मैले, च्यात्नुअघि
भ्रमपूर्ण विश्वासका पर्दाहरु,
म भित्रकाे बुद्दत्वलाई,
किन घाेचिरहन्छाै वारम्वार
ढलाउन शालिनताकाे माैन शालिक
जान्दा जान्दैपनि बाघले
अहिंसाकाे बाह्रखरी बुझ्दैन भनेर ।
जब मेटि नै सकेपछि दसगजा,
निर्थक छन् पूराना सुगाैली सन्धीहरु
अनि ढलेका छन् गर्ल्याम् गुर्लुम्
मनकाे हाता भरीकाे ग्रेटवाल
र पनि नादानीकाे
भिरेर एकथान टेलिस्काेप,
खाेजिरहन्छाै उस्तै सद्भाव
बुझ्दा-बुझ्दै पनि ढुङ्गाेलाई
चिमाेट्दा दुख्दैन कत्ति पनि भनेर ।
जब,
क्रमहरुकाे रखाईमा क्रमहरुकै,
बढ्न थालेपछि क्रमहीनता
मैले सक्दै सकिँन जाेगाउन
अह ! सक्दै सकिँन बचाउन
पानीमाथि आगाेका लप्काहरुलाई
र पनि ओकलेर कुभावकाे
अलिकति म्याग्मा आँखाहरुमा
कतिन्जेल नाच्छन् र महाशय !
भ्रमपूर्ण ईन्कालावका कठपुतलीहरु … ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



