
जब लगाइयो ताला, नेता त नेता भए हजुर ! आउँथे पुजारी जब्दै श्रीहरिको माला
कविता: बेचिएको आवाज
सम्झना बस्नेत
रहरहरुको गादलाई सुकाई जब पराईको ओछयान भएँ
तब नष्ट भयो मेरो सतीत्व अनि गिद्दे नजर सल्बलाए
बिहारको त्यो कालो कोठामा जब लगाइयो फलामे ताला
नेता त नेता भए हजुर, आउँथे पुजारी जब्दै श्री हरिको माला ।
बेचिएको यो चेलीको क्रोदन अहं कसैले सुनेनन्
लाख बिन्ती गर्दै पाउ परे पनि नाङ्गो नबनाई छोडेनन्
कोही कोतर्ने त कोही लुछार्ने सबै मिली लडाउन तम्सिने
एक खेलौना बनी मनोरञ्जन दिँदा पनि हजुर बेसिया बनी यिनै पुरुष चम्किने ।
महोदय, भावनाहरू त हाम्रा पनि हुन्छन्, शब्द खोसिए कथा यसै टुंगिन्छन्
आवाज मागौं त शरीर ताकि ओछयानमा निमन्त्रणा दिन पुग्छन्
परिवारको सम्झनाले जब छाती पोल्न पुग्दछ,आँखाले याद सँगाल्छन्
अनि भकानिएको मनले बेश्या भनी आफैलाई बोलाउन थाल्दछन् ।
हिजो रातीको ग्राहक बाबुले खुब माया गरे झैं भनेथे
मेरो शरीरले तृप्त भए भनी केही कटकटाउँदो नोट गनेथे
यस्तै रहेछ मै राडीको यो अभागी पुर्पुरोमा
म त बेश्या भएछु हजुर, तिमी सबै पुग्नु पर्छ सफलताको चुचुरोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)