‘प्रेमविना केही पनि संभव छैन, न जीवन न कविता’
अढाई दशकअघिदेखि कथा र कविताको क्षेत्रमा सक्रिय मणि लोहनी पेशाले टेलिभिजन पत्रकार हुन् । २०३२ भदौ २१ गते नुवाकोटमा जन्मिएका लोहनीको पहिलो कवितासंग्रह ‘आन्दोलनले छट्पटाएका कलमहरु’ २०४९ सालमा प्रकाशित भएको हो । उनका कथा र कविताका गरी ६ कृति प्रकाशित छन् । २०६१ सालमा प्रकाशित ‘मलामी साँझ’ कवितासंग्रहसंगै नेपाली कवितामा जवरजस्त उपस्थिति देखाएका लोहनीका २०६७ को ‘परास्त प्रेम’ र २०६९ को ‘निर्वस्त्र मन’ प्रसिद्ध कथा संग्रह हुन् । २०७६ सालमा प्रकाशित उनको कवितासंग्रह ‘मृत्युको अघिल्तिर’ चर्चित छ । भानुमोति पुरस्कार २०५८, बिसाप पुरस्कार २०५८, सर्वोकृष्ट कथा पुरस्कार २०६३, युवावर्ष मोति पुरस्कार २०६८, सतिशचन्द्र अतुल स्मृति युवा सम्मान २०६९, दीपज्योति सम्मान २०७०, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०७४, बनिताश्री व्यथित काव्य पुरस्कार २०७५ र संसाक कथा पुरस्कार २०७६ बाट सम्मानित भइसकेका छन् उनी । प्रेम, जीवन र मानिसका सम्वन्धहरुमा कलम चलाउने लोहनी पछिल्लो समय मृत्युपछिको महाशुन्यता र रहस्यमाथि कथा कविता लेखिरहेका छन् ।
र, नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ ‘कविका कुरा‘मा यसपटक उनै कवि मणि लोहनी ।
किन र केका लागि कविता लेख्नुहन्छ ?
कविता लेखनका प्रारम्भिक दिनहरुमा त रहरले लेखेँ । मानिसहरुले चिनुन् भनेर लेखेँ । अहिले म किन कविता लेख्छु ? भन्न त्यति सहज छैन । जीवन र जगतलाई बुझ्ने क्रममा भोगेका देखेका अनुभूतिहरु म कवितामा लेखिरहेको छु । समाज रुपान्तरणमा कविताको शक्ति र सामर्थ्यमाथि मलाई भरोसा छ । म हरेकका जीवनलाई सहज र सार्थक बनाउन कविता लेखिरहेको छु ।
कविता लेखेर के हुन्छ ?
बिहान उदाउँदै गरेको सूर्यलाई हेरेर के हुन्छ ? फक्रिदै गरेको फूल र बगिरहेको खोला देख्दा किन मन प्रशन्न हुन्छ ? डुब्दै गरेको घाम र गुँड फर्किरहेका चराहरु हेरेर प्राप्त हुने आनन्द कस्तो हो ? बालकको मुस्कान या आमाको शौन्दर्य हेरेर मिल्ने सन्तुष्टीलाई के भन्ने ? कविता मन र मष्तिष्कसँग जोडिएको कुरा हो । शक्तिशाली कविता पढ्नु या उत्कृष्ट पेन्टिङ हेर्नु उस्तै हो । उदाउँदै गरेको सूर्यमा भेटिने आशा या बालकको मुस्कानमा देखिने खुशी जस्तै हो, कविता लेख्नु । कविता लेखेर या कविता पढेर धेरै थोक मिल्छ । मानिसको मन र मष्तिष्कलाई प्रफुल्लर प्रष्ट बनाउने सामर्थ्य एउटा सुन्दर कवितासँग हुन्छ ।
कवि भएर चिनिनुमा कति मजा छ ?
मज्जा छ । अनुभूति र सम्वन्धलाई पहिल्याउन सक्छ यसले भनेर बुझ्नछन् मानिसहरु । रमाइलो लाग्छ । कवि हुनुमा गर्व छ ।
कविहरु आममानिसभन्दा फरक हुन्छन् वा उनीहरु पनि आम मानिसजस्तै हुन् ?
आम मानिस नै कवि हो । तर, कविले अनुभूत गर्ने तरिका केही फरक हुन्छ । संवेदनशील हुने भएकाले कुनै पनि घट्ना परिघट्नाप्रति उसको दृष्टिकोण आममानिसको भन्दा फरक हुन सक्छ ।
कविता यदि सत्ता हो भने यो कस्तो सत्ता हो ? र, कवि कस्तो शासक ?
सत्ता र शासकको परिभाषा त म बुझ्दिन । तर, कवि आम मानिसको पक्षमा हुन्छ । र, आम मानिस शासक र सत्ताभन्दा शक्तिशाली हुन्छन् । कविले कुनै निश्चित वर्ग र झुण्डको पक्षमा वकालत गर्दैन । समग्र मानवको पक्षमा उभिने कवि सन्तुष्ट र उर्जावान हुन्छ । र, उसले बाँचिरहेको समय उत्तिकै सशक्त हुन्छ ।
प्रेम हुन्थेन भने पनि कविता हुन्थ्यो ? हुन्थ्यो भने त्यो कस्तो कविता हुन्थ्यो ?
प्रेम हुन्थेन भने मानव समाज नै हुन्थेन । मानव समाज नभएको भए कविता पनि हुन्थेन । प्रेम मानिसको सवभन्दा ठुलो शक्ति र सामर्थ्य हो । तपाइ हामी प्रेमकै उपज हौ । प्रेम मानव जीवनको सवभन्दा ठूलो शौन्दर्य हो । प्रेमविना केही पनि संभव छैन, न जीवन न कविता ।
कविताको संसार कस्तो हुन्छ ? के त्यहाँ खुशी मात्र हुन्छ ?
कविताको संसार मानिसको बीचमा हुन्छ । जस्तो समाज छ त्यस्तै हुन्छ कविता । तर, सत्य के हो भने कविताले हरेकलाई सत्यतर्फ र खुशीतर्फ उन्मुख गराउँछ । जीवनप्रति सकारात्मक बन्न प्रेरित गर्छ ।
‘कविता एक वाहियात विलाश हो’, यदि कसैले भन्छ भने, त्यसमा तपाईं के भन्नु हुन्छ ?
जसले कवितालाई सम्मान गर्न सक्दैन उसँग बहस गर्न सकिदैन । र, बहस गर्नु हुदैन पनि ।
कविहरु जन्मन्छन् । तर, कहिल्यै मर्दैनन् । के यो सही हो ?
सच्चा कविहरु कहिल्यै मर्दैनन् । उनीहरु आफ्ना कवितामा युग युगसम्म बाँचिरहन्छन् ।
तपाईंका कविता पाठक र समाजका लागि कविता मात्र हुन् कि त्यसभन्दा बढी ?
कविता त कविता नै हो नि । तर, यसलाई पढिसकेपछि पाठक अब पाठक मात्र रहदैन । ऊ सत्यका पक्षमा उभिनेछ । ऊ न्यायका पक्षमा बोल्ने छ । र, ऊ प्रेमले भरिने छ ।
अन्त्यमा ?
समग्र जीवनलाई उर्जावान बनाउन समग्र समाज रुपान्तरणको आवश्यकता छ र त्यसका लागि साहित्य सहज र प्रभावकारी हुनसक्छ । यसप्रति सबै सचेत बनौं । साहित्य र सर्जकलाई सम्मान गरौं ।
“शक्तिशाली कविता पढ्नु या उत्कृष्ट पेन्टिङ हेर्नु उस्तै हो ”
कविता विधामा स्थापित नाम हो मणि लोहनी ।
लेख्ने व्यग्रता र साधनाले सफलता दिएको हो उनलाई ।
साहित्य यात्रा यसरी नै निरन्तर बगिरहोस।
धेरै धेरै शुभकामना छ मेरो ।