
मान्छे एउटा मन्दिर हो, समग्रमा सिङ्गो चिहान हो
कविता
मछिन्द्र आचार्य
मन बेला, अबेला
ढुङ्गाजस्तै हुने,
आत्मा पत्थरको मूर्ती जस्तै बस्ने
मान्छे आफैमा एउटा मन्दिर हो ।
अस्तीपञ्जरमा मासु छालाको थुप्रोले
सजिएको
रहस्यमय रुपमा ठडिएको
मान्छे एउटा स्तूप पनि हो ।
बाध्यता र रहरले झुण्डाएको
आफैले आफूलाई सूलीमा चढाएको,
मान्छे आफैमा एउटा गिर्जाघर हो ।
जिम्मेवारीको थुप्रोले पुरिएर
बनावटी मुस्कानको च्यादरले छोपिएर
समवेदनाहिन हुँदा
मान्छे एउटा मस्जिद पनि हो ।
छातिमा हजार सपनाहरुलाई गाडेर,
मान अपमानलाई छातिमा दबाएर
फेरी नटुसाउने गरी,
रहरहरुलाई तिलान्जली दिएको
समग्रमा मान्छे एउटा सिङ्गो चिहान हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



