
किन देवकोटा ‘शून्यमा शून्य सरी’ ?
देवकोटाको ‘शून्यमा शून्य सरी बिलाएँ’को आध्यात्मिक चिन्तन तथा अद्वैत वेदान्तको प्रभाव
महेश न्यौपाने ‘पराग’
हुन त महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रायजसो सबै खाले कृतिहरूमा आध्यात्मिक चेतनाको विम्व महसुस गर्न सकिन्छ । देवकोटाका कवितामा व्याख्यात्मक प्रस्तुति दिने सामर्थ्य त मेरो कहाँबाट हुनु र ? तैपनि देवकोटाप्रतिको श्रद्धा र उनका कृतिहरूमा आफूले पाएको आध्यात्मिक चेतनाको विम्वहरूलाई मनन गर्दै जाँदा प्रस्तुत ”शून्यमा शून्य सरि बिलाएँ” भन्ने कवितालाई अद्वैतपरक हुने गरेर व्याख्या गर्ने एक झिनो कोसिस गरेको छु । अद्वैतदर्शनपरक व्याख्या लेख्ने क्रममा भएका कमीकमजोरीहरूलाई आगामी दिनमा सुधार गर्दै लैजाने प्रण गर्दै प्रस्तुत कविताको व्याख्याका क्रममा आउने गाली-ताली दुवैलाई हृदयान्तरदेखिकै स्वागत गर्नेछु । देवकोटाका कृतिहरूमा विशेष गरेर ‘प्रश्नोत्तर’,’गरीब’ ‘भिखारी’ जस्ता कविताहरूमा पनि आध्यात्मिक चेतनाको निकै गहिरो प्रभाव देख्न सकिन्छ। अद्वैतपरक आध्यात्मिक विवेचनको क्रममा प्रस्तुत छ – ”म शून्यमा शून्य सरि बिलाएँ !”
२०१६ भदौ २९ को बिहान ७ बजेतिरको बेलामा महाकवि देवकोटाले कविता लेख्न भनी कागत र कलम मागे र शान्त भवन अस्पतालको ओछ्यानमा बसेर कविता लेख्न थाले । जीवनको अन्तिम समयमा उनले लेखेको अन्तिम कविता थियो – ” म शून्यमा शून्यसरी बिलाएँ’। अद्वैतपरक आध्यात्मिक विवेचनको क्रममा प्रस्तुत छ – ”म शून्यमा शून्य सरि बिलाएँ”
संसार रूपी सुख स्वर्गभित्र,
रमें रमाएँ लिइ भित्र चित्र ।१
सारा भयो त्यो मरुभूभि तुल्य,
रातै परेझैं अब बुझ्छु बल्ल ।२
रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।३
आखीर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, नभो विवेक ।४
महामरुमा कण झैं म तातो,
जलेर मर्दो बिनु आश लाटो ।५
सुकी रहेको तरु झैं छु खाली,
चिताग्नि तापी जल डाल्न फाली ।६
संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।७
जन्में म यो स्वर्गविषे पलाएँ,
आखीर भै खाक त्यसै बिलाए।।८
१) संसार रूपी सुख स्वर्गभित्र,
रमें रमाएँ लिइ भित्र चित्र ।
जब म संसारमा सबैथोक गर्न सक्षम थिएँ, त्यो बेला ममा भौतिकवादी आकर्षण अत्यन्तै तीव्र रूपले बढेको थियो । परिवर्तनशील संसारमा म आफूलाई अपरिवर्तनीय रहेको सम्झन्थे तर पनि मेरा मन भने ती परिवर्तनहरू केवल मेरा लागि नै रहेका हुन् र त्यसको भरपूर उपयोग र प्राप्ति नै मेरा लागि सर्वस्व रहेको सम्झन्थे । म मेरा भौतिक इच्छा-चाहनाहरू पूर्ति गर्नु नै जीवनको मुख्य लक्ष्य रहेको ठान्ने गर्दथे। त्यहि नै मेरा लागि स्वर्ग थियो । त्यहि नै मेरा लागि संसारको परमोच्च सफलता थियो । सांसारिक सुखभोग क्षणिक रहेको जान्दाजान्दै पनि आफूलाई सदावहार ठान्ने मेरो त्यो कल्पना त्यसबेला मेरा लागि स्वर्गको अमृतको घडाझैं थियो, जो अप्सराको हातबाट अमृतपान गर्न लालायित रहेको थियो । सांसारिक सुखको त्यो अमृतपान गर्नु नै मेरा लागि अजर-अमर बन्ने एक मात्र साधन भएझै लाग्ने गर्दथ्यो । जीवित रहँदा मेरा रंगीन सपनाहरूलाई मनभित्रै साँचेर संसारमा रमाउनुमै मेरा सारा सामर्थ्यपूर्ण ऊर्जावान समय व्यतीत हुन पुग्यो ।
२) सारा भयो त्यो मरुभूभि तुल्य,
रातै परेझैं अब बुझ्छु बल्ल ।
३) रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
मेरा लागि संसार अनि सांसारिक सुखहरू त्योबेला मात्रै निर्जन मरुभूमितुल्य हुन पुग्यो, जतिबेला सुखभोग गर्ने मेरा इन्द्रियहरू सिथिल र कर्महीनताको अवस्थामा पुगेका थिए । संसार मेरा लागि मरुभूमिसमान निर्जन-जर्जर-रूख्खासुख्खा प्रतीत भइरहेका बखतमा इन्द्रिय र प्राण समेत जर्जर बन्दै गएका अवस्थामा मेरा लागि जीवनको दिन ढलेर रात पर्दैपर्दै जान थालेको महसुस भयो । जीवनको दिन छँदा ज्ञानका कुरामा लाग्न नसक्दा, त्यतातर्फ ध्यान दिन नसक्दा तुच्छ क्षणिक सुखभोगहरूमा मन दिएर ज्ञानको ज्योति पाउन नसक्दा मेरो समग्र जीवन नै निस्पट्ट अँधेरी रातमा ढलिरहेको महसुस गर्न पुग्दैछु ।जसलाई मैले अमृतसमान सुख दिने चिज भन्ने बुझें, त्यो सबै मेरो गलत बुझाई रहेको कुरा अहिले आएर बुझ्दैछु। संसार क्षणिक रहेको र क्षणिक सुख दिने ती सबै तुच्छ विषयसुखप्रतिको लम्पटता नै सांसारिक जीवनको घोर निरवता र निशा रहेछ।सांसारिक सुखको नशामा म यसरी निर्धक्क भै लट्ठ परेको रहेछु कि मलाई आफू सक्षम र सामर्थ्यवान हुँदा जीवनको मूल्य र महत्त्वको ख्यालै रहेन ।
ज्ञानको महत्त्वलाई उमेरमै बुझ्न नसकेकोमा पश्चात्तापमा जलिरहेको महसुस गर्दैछु। सांसारिक सुखमा यसरी लट्ठ भएछु कि मानौ, म नै सर्वशक्तिमान रहेको र संसारमा आफूलाई अपरिवर्तनीय ठान्ने मेरो गलत बुझाईलाई आज आत्मसात गरिरहेछु । जीवन ढल्दै गर्दा मेरा लागि ज्ञानको समयको दिवा ढलेर रात पर्दै गएको महसुस मैले गर्दै जान थालें ।
४) आखीर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो,ज्ञान,नभो विवेक।
यो संसार सत्त्व-रज-तमले बनेको भन्ने जान्दाजान्दै पनि मलाई त्यसतर्फ पटक्कै मन गएन । संसारको भवसागर पार गर्नका लागि मसंग कुनै साधन रहेन । न श्रीकृष्णप्रतिको भक्ति मसंग थियो, न तत्त्वज्ञान थियो, न त संसार बुझ्ने वैराग्य विवेक नै। भक्ति,ज्ञान र वैराग्यमध्ये मैले तीमध्ये कुनै पनि छान्न सकिनँ । भौतिक सुखको नशामा लट्ठ भएर नै मैले मेरा सामर्थ्ययुक्त समयलाई त्यसैत्यसै व्यतीत गरिदिएँ । त्यहि नशामा लट्ठ हुँदा मैले आफूभित्रको श्रीकृष्णलाई चिन्न सकिनँ । चिन्ने प्रयाससम्म पनि नगर्नु मेरो अवश्यै ठूलो भूल थियो । मैले सामर्थ्ययुक्त जीवन रहँदा श्रीकृष्णको भक्ति मात्रै पनि गर्न सकेको भए आज म मुक्त हुने थिएँ । न त मैले जीवनमा ज्ञानको स्वयंप्रकाशकत्वलाई बुझ्न सकेँ । न मैले जीवनमा आत्मज्ञान नै गर्न सकेँ । न त मैले जीवनमा वैराग्यरूपी बन्चरोको सहायताले संसारको भवसागर नै पार गर्न सकेँ । जीवनमा भक्ति – ज्ञान र विवेक कुनै पनि साथमा नहुँदा जीवन नै मलाई महामरूझैं लागिरहेछ र म आफूलाई एक परम अज्ञानीको रूपमा देखिरहेको छु ।
५)महामरुमा कण झैं म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
६)सुकी रहेको तरु झैं छु खाली,
चिताग्नि तापी जल डाल्न फाली।
संसाररूपी महामरूमा अनेकौं बालुवाका कणहरूमध्येको म पनि एक कण हुँ ।
जसरी मरुभूमिको कणले सोच्दो हो – म आफ्नै तापले तातप्यमान छु । म सूर्यको प्रकाशले तातिएको होइन । म त आफ्नै बाहुबलले तातिएको हुँ र म तातो नै रहनेछु । तर मैले यतिसम्म पनि सोच्न सकिनँ कि सांसारिक विषयवासनाले उन्मत्त रहँदा म आफैं सूर्यको तातोले तात्तिएको हुँ जसरी संसारमा जीवहरू ब्रह्मको(आत्मतत्त्वको) सत्ता पाएर जीवन धारण गरिरहेका छन् । ब्रह्मको (आत्मतत्त्वको) सत्ता स्वीकार गरेर नै जीवको अस्तित्व कायम रहेको छ । तर मलाई के थाहा ? म सूर्यको तापले तातिएको हुँ भनेर । स्वतापले तातिएको हुँ भन्ने भ्रमले मलाई अन्तिम समयसम्म पनि भैरह्यो । सूर्यास्त भएसंगै मरुभूमिको तातो बालुवा चिसो कणमा परिणत भएजस्तै आत्मतत्त्वले छोड्दै गर्दा आज म पनि आफूलाई चिसो-रूखो-सुखो महसुस गरिरहेछु ।
जीवन रहुन्जेलसम्म त म पनि तातो नै थिएँ, जल्दोबल्दो नै थिएँ । बालुवैबालुवाको मरुभूमिमा एक प्यासीले कतै दूर-दूर पानीले भरिएको जलाशय भ्रमवश देख्ने गर्छ, ठीक त्यस्तै गरेर मैले पनि सांसारिक भौतिक सुखमा आफूले परमानन्दको अनुभूति गरेझैं लाग्दै थियो ।
जीवन रहुन्जेलसम्म त म पनि तातो नै थिएँ, जल्दोबल्दो नै थिएँ । बालुवैबालुवाको मरुभूमिमा एक प्यासीले कतै दूर-दूर पानीले भरिएको जलाशय भ्रमवश देख्ने गर्छ, ठीक त्यस्तै गरेर मैले पनि सांसारिक भौतिक सुखमा आफूले परमानन्दको अनुभूति गरेझैं लाग्दै थियो ।
संसारमा देहलाई नै मैले सबै थोक ठाने । अनित्यको संसारमा आफूलाई नित्यरूपले स्थापित भएको देख्दै थिएँ । तर आज म आफै अज्ञानको दावानलमा जल्न पुगिरहेको छु । तैपनि मभित्र एक झिनो आशाको त्यान्द्रो अझै पनि जीवित नै रहेको पाउँछु । कतै केहि उपाय भए मैले पनि ज्ञान प्राप्त गर्ने थिएँ र अज्ञानको दावानलबाट मुक्त रहेर ब्रह्ममा लीन हुन सक्ने थिएँ ।
गरूँला गरूँला नि भन्दै म आएँ ।
बिना कामले आयु मैले गुमाएँ…… भनेजस्तै आज प्रतीत भैरहेको छ । आज अज्ञानको दावानलमा ज्ञानको झिनो आशा राख्ताराख्तै आफ्ना बेहोशीका क्षणहरूलाई सम्झेर पुन: त्यस्तो हुन नदिने प्रतिज्ञा गर्दै अज्ञानको ज्वालाले आज म सुक्तैसुक्तै गइरहेको छु । अमृतमय वर्षाजलको अभावले, लामो खडेरीको प्रभावले,आवारा डढेलोजस्ता अनेकौं कारणहरूको माध्यमबाट वनमा भएको एक रसिलो,हरियो,परियो,झर्झराउँदो,दूधिलो वृक्ष जसरी क्रमैसंगले सुक्तैसुक्तै खक्रक्क परेका बेलामा वनमा लागेको डढेलोको शिकार भएर जल्दछ ठीक त्यस्तै गरेर म पनि अहिले अज्ञानको दावानलमा जल्न लागिरहेछु । वनको सुकेको त्यो छायाहीन वृक्षझैं रसहीन भएर व्यर्थरूपले आफूलाई विल्कुल खालीखाली, खोक्रोखोक्रो, रुखोसुखो जीवनलाई पनि चिताग्निको ज्वाला तपाएर त्यसको भस्मीभूत अवशेषलाई पवित्र नदीको जलले पखाल्दै आफूलाई सोही पवित्र जलमा भए पनि समाहित गर्न पाएको खण्डमा जीवन केहि धन्य रहन्थ्यो कि भन्ने आशा अझै पनि जीवित नै छ ।
७) संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
८)जन्में म यो स्वर्गविषे पलाएँ,
आखीर भै खाक त्यसै बिलाएँ।
खाटदेखि घाटसम्मको यो जीवनयात्रामा अनेकौं उल्झनहरू, झन्झटहरूलाई यहीं नै समाप्त पार्न चाहन्छु । यो संसारचक्रको प्रारम्भ भएपश्चात हालसम्म पनि यो जीवन-मृत्युको चक्र चलिरहँदा पनि यो जीवनमा वैराग्य भन्ने चीज आउन नसकेको देख्दा आफैंलाई अचम्म अनि उदेक लागेर आइरहेछ ।
जीवन-,मृत्युका यी चक्र, ईश्वरको महिमा, प्रकृतिको शक्तिको बारेमा बुझ्न नसक्नु पक्कै पनि मेरो जीवनको व्यर्थता नै हो ।
ज्ञानको महत्ता र अज्ञानको निबड़ता जान्दाजान्दै पनि जीवन निरर्थक भएर नै बितेकोमा मलाई निकै नै पछुतो छ । ऋषिको शोणीत बोक्ने यो जीवनम़ा ऋषित्वको भावसम्म पनि नहुनु पक्कै पनि लज्जाको विषय हो । ऋषिको सन्तान भएर पनि ऋषित्वको गुण ममा नहुनुले आज म आफैंले आफैंलाई संस्कारहीन महसुस गरिरहेछु र आफूले पाएका संस्कारहरू पनि यहीं नै समापन भएको महसुस गर्दैछु । यो पवित्र हिमवत्खण्डमा जन्मेर पनि ममा पवित्रताको अणुसम्म पनि नहुँदा आज म आफूलाई संस्कारहीन, निर्लज्ज महसुस गर्दै शून्यमा शून्य सरि विलीन हुँदैछु। अज्ञानमा अज्ञान सरि नै बिलय भैरहेछु । म ब्रह्म हुन सकिनँ । म ईश्वर हुन सकिनँ । अहम ब्रह्मास्मि, तत्त्वमसि जस्ता श्रुतिका महावाक्यहरुको बोधन मबाट हुन सकेन । मैले ती वाक्यहरूलाई कतै सुने, कतै पढेको भए पनि त्यसलाई मैले आफ्नो जीवनमा चरितार्थ गर्न सकिनँ । पूर्णमद: पूर्णमिदंको भावमा पुग्न सकिनँ । भौतिक जीवन नै सबैथोक हो भन्ने मेरो बुझाइले आज म आफैं सांसारिक जन्जालमै फसेर आफूलाई मुक्तिको पथमा लैजान असमर्थ भएको छु ।
आफ्नो आत्मालाई चिन्न नसकेर नै जीवहरू पुनर्जन्मको चरणमा पुग्ने गर्दछन भन्ने कुरालाई मैले बिर्सिएँ । पूर्ण बन्न नसक्दा आज म शून्यमा शून्य सरि रहन पुगे ।
यो पवित्र हिमवत्खण्डमा जन्मिन पुग्नु मेरो अहोभाग्य थियो । जहाँ मैले कोसिस गरेको भए मेरा साथमा दिनरात ईश्वर रहने थिए । मैले पनि ईश्वरको सान्निध्य पाउने थिएँ । जसमा मलाई कहीं कतै कुनै डर हुने थिएन । यस्तो रसिलो पोसिलो धर्तीमा जन्म लिनु पाउनु नै मेरो अहोभाग्य थियो, जहाँ मैले आफ्नो पुण्यले आर्जन गरेको समयसम्म सुखभोग गरें । मलाई पालन गर्ने यो धर्तीको म सदासदा ऋणी रहनेछु । मलाई पालन गर्ने यो धराले आज मलाई आफ्नै साथमा लिएर जाँदैछ र म आफ्नी धरासंग जान पाउँदा आफूलाई प्रफुल्लित भएको महसुस गरिरहेछु । यो धर्तीमा समाहित हुनकै लागि म आज खाक (खरानी ) बनेर विलिन हुँदैछु जसरी संसारका सबै प्राणीहरू पन्चतत्त्वमा विलिन हुन्छन् त्यस्तै गरेर म पनि यो धर्तीमा खाक भएर विलिन हुँदैछु ।
यसरी देवकोटाको ‘ शून्यमा शून्य सरि बिलाएँ ” भन्ने कवितामा दर्शनको प्रभाव निकै रहेको र शून्यतालाई अज्ञान अनि पूर्णतालाई ज्ञानको रूपमा परिभाषित गर्दै ज्ञानमार्गमा लाग्न नसक्दा जीवको दशा अत्यन्तै दुखदायी हुने र त्यसले बडो पुण्यपूर्वक पाएको मानव जीवन व्यर्थ जाने सन्देश बोकेर जीवनमा ज्ञानको महत्त्वलाई उजागर गर्ने कोसिस गर्दै जीवनलाई व्यर्थमै खाक हुन नदिन सबैमा प्रेरणा दिने कोसिस समेत गरिएको पाइन्छ ।
आखीर भै खाक त्यसै बिलाएँ ।।
आखीर भै खाक त्यसै बिलाएँ ।।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)