
म सबै भावमा लेख्न सक्छु !
पेशल आचार्य
लेख्नु
यज्ञमा चरू हवन गर्नु जस्तै हो
लेख्नु
कसैलाई सुदूर बाटो देखाउनु जस्तै हो
लेख्नु
चौतारोमा बसेर
थकाइ मार्दै मिठा कथाहरू हाल्नु जस्तै हो
लेख्नु
कहिलेकाहीँ
आफ्ना वरिपरि
ससाना जिज्ञासु नानीहरू राखेर
तिनीहरूका प्रश्न सुन्दै
र आफूले जानेका उत्तर दिँदै
उहिलेका अनुभव बाँड्नु जस्तै हो
उहिलेका कथा हाल्नु जस्तै हो
आफूले सँगालेका
आफूले बुझेका
आफूले अनुभूत गरेका
भाव, अभाव र प्रभावलाई
कुसुलेले पुतली नचाएझैँ
छम्छमी नचाएर
आनन्द लिए जस्तै हो
त्यसैले म सबै भावमा लेख्न सक्छु,
अहिलेसम्म
कसैलाई गुरु थापेको छुइनँ
कसैलाई दुई रूपियाँ
गुरु दक्षिणा दिएको पनि छुइनँ
कसैको बाटो हिँडेको छुइनँ
कसैको भारी बोकेको छुइनँ
कसोकसो मैले
मनको आदेश मानेको छु
कताकता मैले
आफ्नो बाटो आफैँ तय गरेको छु,
टन्टलापुर घाममा
कहिलेकाहीँ आधाबाटो हिँडेर
मनमा केके गुनेर
मनमै केके ठानेर
फनक्क फर्किएको छु
कहिलेकाहीँ झरीमा झम्झमी रुझेर
ती बाटाहरू हिँडेको हिँडेई पनि गरेको छु
कहिलेकाहीँ
कुहिरा लागेका बाटाहरू
असाध्यै विराना जस्ता लाग्छन्
ती नजानेका बाटाहरू
गएको गएई पनि गरेको छु
भन्नेहरूले
कहिले हुस्सू भनेका छन्
कहिले लाठो पनि भनेका छन्
तर म रोकिएको छैन
तर म फर्किएको छैन
हिँडिरहनुको मज्जा बेग्लै हुन्छ
नफर्किनुको आनन्द अवर्णनीय हुन्छ
हिँड्नुको अतुल मज्जा लिएर
अझै हिँडिरहेको छु
हिँड्नुको आनन्द लिएर
हिँडिरहेको छु,
पैदल यात्रामा हिँड्न रहर लाग्छ
खाली खुट्टामा हिँड्न जाँगर चल्छ
कहिले भावमा हिँड्छु
कहिले अभावमा हिँड्छु
र दबाबमा हिँड्छु
त्यसैले म सबै भावमा लेख्न सक्छु,
रहरमा धेरै लेखेँ
कहरमा धेरै लेखेँ
दुःखका प्रहरमा धेरै लेखेँ
जेजेमा लेखे पनि
जेजेमा कथे पनि
मैले आफूलाई प्रकट गर्न लेखेको रहेछु
मैले आफूलाई चिनाउन लेखेको रहेछु
प्राप्ति होस् भनेर लेखेको छैन
सुविधा होस् भनेर पनि लेखेको छैन
सम्मान होस् भनेर लेखेको झन् छँदै छैन
पुरस्कारका लागि अहिलेसम्म लेखेको छैन
लेख्दा
कहिले योग गरेझैँ लाग्छ
लेख्दा
कहिले भोक मेटिएझैँ लाग्छ
लेख्दा
कहिले खुसीले झुसी हुन्छु
कहिले सुखले फुरुङ्ग पर्छु,
लेखिरहन्छु
सोचिरहन्छु
कथिरहन्छु
मैले मेरा मात्र
कविताहरू लेखेको छैन
मैले आफन्तका मात्र
कथाहरू लेखेको छैन
मैले सगोत्रीका मात्र
नाटकहरू पनि लेखेको छैन
सकेसम्म
जीवनका
कथा, कविता र नाटक लेखेको छु,
आदेशमा
परमादेशमा
र समादेशमा त झन् लेखेकै छैन,
म दुःखमा लेख्छु
म सुखमा लेख्छु
म दुःखसुख दुवैमा लेख्न सक्छु
म लेखेर दुःख महसुस गर्न सक्छु
म लेखेर सुख अनुभूत गर्न सक्छु,
म सबै भावमा सुख लेख्न सक्छु
म सबै भावमा दुःख पोख्न सक्छु
लेख्दा गाली वर्षिए
तर मैले लेखिँरहेँ
लेख्दा ताली पनि वर्षिए
तर मैले लेखिँरहे,
म सबै भावमा लेख्न सक्छु ।
म सबै भावमा भाव पोख्न सक्छु ।।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)